Comments Add Comment

ऐतिहासिक सफलतामा पनि गुमनाम कबड्डी

२५ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले थुप्रै कीर्तिमान रच्यो ।

त्यसमध्ये एक थियो, कबड्डीमा पहिलो पटक रजत । तर उस्तै इतिहास रचेका अरु खेल (भलिबल) झैं महत्व नदिएका कारण कीर्तिमानी खेलाडीहरु खिन्न देखिएका छन् ।

महिला कबड्डी र भलिबलको समानता पनि गज्जबको छ । औपचारिक रुपमा घोषणा नगरिए पनि एक समय कबड्डीलाई जनजनले राष्ट्रिय खेलका रुपमा लिएका थिए । अहिले भलिबलले राष्ट्रिय खेलको मान्यता पाएको छ । दुबैमा नेपालले यसअघि कांस्य जितेको थियो । यो पटक रजत पदक जित्न सफल भएको छ ।

अनि दुबै खेलमा नेपालले समूह चरणमा श्रीलंका र बंगलादेशलाई हरायो, भारतसँग हार्‍यो । फाइनलमा पनि दुबै टिमले भारतसँग खेलेका थिए र हार व्यहोरेका छन् ।

चर्चा भने भलिबलको बढी छ ।

उस्तै ऐतिहासिक पदक जितेर पनि आफूहरु ओझलेम परेको गुनासो छ, रजत विजेता टिमकी कबड्डी टिमकी कप्तान कोषमाया बस्नेत र प्रशिक्षक तारा सिंह भाटको ।

‘१२ औं सागमा भारतमा कांस्य जितेका थियौं । यस पटक आफ्नै भूमिमा ऐतिहासिक रजत पदक जितेका छौं’, कप्तान कोषमाया भन्छिन्, ‘भलिबल र हामीले उस्तै पदक जितेका हौं । उनीहरुले श्रीलंका र बंगलादेशलाई हराए, भारतसँग पराजित भए । हाम्रो पनि त्यही भएको हो , र हाम्रो खासै चर्चा भएन ।’

एक त राष्ट्रिय खेल, त्यसमाथि भर्खर सेन्ट्रल जोन प्रतियोगितामा स्वर्ण पदक जितेर आएका कारण भलिबलले सबैको ध्यान तान्नु अस्वाभाविक होइन ।

यसको अर्थ कबड्डी ओझलमा पार्नुपर्छ भन्ने पनि होइन ।

तर कबड्डी पनि खेल हुन्छ र ? यो कबड्डी हो कि कबाडी हो भन्ने जस्ता टिप्पणी पनि सुन्न परेको तीतो अनुभव खेलाडीहरुसँग छ । ‘त्यही इखले पनि अहिले रजत जित्दै ऐतिहासिक सफलता हात पारेका छौं । कबड्डी पनि खेल हो भनेर चिनाएका छौं’, नेपाली सेनामा आबद्ध ३१ वर्षीया कोषमायाले भनिन् ।

१३ औं सागको महिला कबड्डीमा ४ टिम मात्र थिए । राउण्ड रोविन लिगको आधारमा खेलाइएको प्रतियोगितामा नेपालले बंगलादेश र श्रीलंकालाई पराजित गर्दै भारतसँग खेल खेल्नुअघि नै फाइनलमा स्थान पक्का गरेको थियो । तर लिगको अन्तिम खेलमा भारतसँग हार्‍यो । फाइनलमा पनि भारतसँगै पराजित भयो

गत सोमबार हलचोकस्थित सशस्त्र प्रहरी क्लबको हलमा भएको महिला फाइनल खेलमा नेपाल, भारतसँग ५०–१३ को अंकमा पराजित भएको थियो ।

‘भारतसँग परेपछि हारिहालिन्छ भन्ने हुन्छ । हाम्रो पनि त्यही भयो’ कप्तान कोषमाया भन्छिन्, ‘हाम्रो लक्ष्य त भारतलाई हराउने नै थियो, दुई टिमको लेवल धेरै फरक छ ।’

यस पटक सागका लागि नेपालको कबड्डी टिमले भारतमा गएर करिब २० दिनको तयारी गरेको थियो । त्यसक्रममा महिला टिमले ६ खेल खेल्न पाए । हामीले त्यो सबै खेल जितेका थियौं । भारतमा तयारी राम्रो भएकाले नै सागमा ऐतिहासिक सफलता पायौं नभए सम्भव थिएन’ प्रशिक्षक तारा सिंह भाटले भने ।

यद्यपि अब नयाँ नयाँ खेलाडीहरु पनि कबड्डीमा आउन थालेको कप्तान र प्रशिक्षकको भनाइ छ । नियमित प्रतियोगिता भए छिट्टै सफलता मिल्नेमा दुबै आशावादी पनि छन् ।

हेर्नुहोस् प्रशिक्षकको भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment