Comments Add Comment

नेपालीलाई प्रयोग गरी सामाजिक सञ्जालमार्फत नाइजेरियनको ठगीधन्दा

२५ मंसिर, काठमाडौं । शान्ता राईलाई केही दिनअघि ह्वाट्सएप तथा इमोमा एक विदेशीले चिठ्ठा परेको भन्दै म्यासेज पठाए । शुरुमा उनलाई विश्वास लागेन । तर निरन्तर म्यासेज आइरह्यो ।

प्रमाणस्वरुप म्यासेज पठाउने व्यक्तिले उनलाई विभिन्न कागजातहरु पठाए । जब शान्ताले त्यसलाई रेस्पोन्स गरिन्, चिठ्ठा वापतको रकम लिन केही रकम कर स्वरुप तिर्नुपर्ने ती व्यक्तिले बताए । शान्ता कन्भिन्स भइन् र पटक–पटक गरेर ७ लाख ४० हजार रुपैयाँ ती व्यक्तिलाई पठाइन् ।

रकम पाएपछि ती व्यक्ति सम्पर्कविहीन भए । शान्ता अनि पो निद्राबाट ब्यूँझिए झैं भइन् । अनि आफू ठगिएको निवेदन लिएर नेपाल प्रहरीको अपराध महाशाखा टेकु पुगिन् ।

अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार अनुसन्धान गर्दै जाँदा शान्ताले पठाएको रकम रमेश खड्का भन्ने व्यक्तिले बुझेका रहेछन् । प्रहरीले मंगलबार दोलखा घर भइ काठमाडौं बस्ने ५२ वर्षीया खड्कासहित ३ जनालाई पक्राउ गर्यो ।

तर मूख्य योजनाकार भने खड्का होइनन् । खड्कालाई नाइजेरियन नागरिक पिटर हेर्मन असेंगाले एजेन्टको रुपमा प्रयोग गर्दै आएको खुलेको छ ।

यो पनि पढ्नुहोस चिठ्ठा पर्‍यो भन्दै झण्डै १५ करोड ठगी

अनलाइन कारोबारमा ठगी गर्ने गिरोहका अर्का नाइके भने ब्रिटिश नागरिक स्मिथ मोरिस रहेको प्रहरीले बताएको छ । पीडितको उजुरीपछि अनुसन्धान गर्दा ठगिएको रकम उनीहरुको खातामा पुगेको थाहा पाएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पिटर र खड्काबीचको कनेक्सन

भाइवर, ह्वाट्सएप, ईमो, फेसबुक लगायत सामाजिक संजालहरुको प्रयोग गरी ठगी भएको नयाँ घटना होइन । यसअघि पनि धेरै व्यक्तिहरु यसरी ठगीमा परेको भन्दै महाशाखामा उजुरी लिएर जाने गरेको एसएसपी सहकुल बताउँछन् ।

पक्राउ परेका ३ व्यक्ति र दुई विदेशीको कनेक्सन चाहिँ कसरी भयो त ? एसएसपी थापाका अनुसार खड्काले ठमेलमा होटल व्यवसाय सञ्चालन गर्दै आएका थिए । तर केही वर्षदेखि उनी बेरोजगार छन् । होटल पनि अर्कैलाई बेचीसकेका छन् ।

ठमेलमा होटल चलाउँदै आएका खड्कासँग पिटरको सन् २०१० मा भेट भएको थियो । पिटर नेपाल आउँदा २०१० मा ठमेलस्थित खड्काकै होटलमा बसेका थिए । उनीहरुको सम्बन्ध झाँगिदै गयो ।

इजी मनि इन्कम (छिटो पैसा कमाउने तरिका) पिटरबाट पाएपछि खड्काले होटल व्यवसायबाट हात झिकेका हुन् । पक्राउ परेका अर्का व्यक्ति तिवारी खड्काकै होटलमा काम गर्ने कर्मचारी हुन् । खड्काले होटल व्यवसाय छाडेपछि तिवारीलाई समेत ठगी काममा सँगै लिएर हिडेका थिए । अर्का कलवार भने विदेशी नोट सटही काउन्टर चलाइरहेका व्यवसायी हुन् । विदेशी नोट सटहीकै क्रममा पिटरसँग चिनजान भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरीका अनुसार चिठ्ठा परेको तथा पार्सल पठाएको भन्दै विभिन्न नागरिकहरुलाई पिटरले म्यासेज पठाउँथे । स्थानीय प्रतिनिधिको रुपमा खड्का लगायतलाई सम्पर्कका लागि भन्थे । यसरी प्राप्त भएको रकमको १५ देखि २० प्रतिशतसम्म रकम स्थानीय एजेन्टले लिने र बाँकी रकम पिटरले नै लैजाने गरेका थिए ।

कमिसन कटाएर बाँकी रहेको रकम कसरी पठाउँथे उनीहरुले भन्ने विषयमा थप अनुसन्धान पछिमात्रै खुल्ने प्रहरीले बताएको छ । खड्काजस्ता ४० जनाभन्दा बढी नेपालमा एजेन्ट रहेको प्रहरीको दावी छ ।

बैंक ह्याकिङमा पनि संलग्न रहेको आशंका

यो गिरोहले भारतको दिल्ली, मुम्बइ, पाकिस्तान, चीन, तान्जानिया, इथोपिया तथा बेलायतमा बसी नेपालका नागरिकहरूलाई एजेण्ट बनाई लामो समयदेखि विभिन्न सामाजिक संजाल प्रयोगमार्फत करोडौं रकम ठगी गरेको प्रहरीको दाबी छ ।

केही समयअघि पानस रेमिट तथा कृषि विकास बैंकको सिस्टम ह्याक भएर चोरी भएको घटनामा समेत यही गिरोहको संलग्नता रहेको प्रहरीको दाबी छ । ठगी भएको रकम समेत उनीहरुले बैंकबाटै कारोबार गर्ने गरेका थिए ।

प्रहरीका अनुसार उक्त रकम नेपालका १७ बैंक तथा वित्तीय संस्थाहरुबाट कारोबार भएको छ । यही आधारमा प्रहरीले बैंकिङ ह्याकिङमा उनीहरुको संलग्नता रहेको हुन सक्ने अनुमान गरेको छ । प्रहरीका अनुसार ती १७ बैंक तथा वित्तीय संस्थाहरुबाट हालसम्म १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ शंकास्पद रुपमा कारोबार भएको छ । उक्त रकम नेपालका कृषि विकास बैंक र पानश रेमिटबाट ह्याक भएको तथा अन्य १७ वटा बैंक उक्त ठगी कार्यका लागि प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको दाबी छ ।

गत असोजमा कृषि विकास बैंकको सिस्टम ह्याक गरेर रकम झिकिएको थियो । कृषि विकास बैंकको सिस्टम ह्याक गरेको अभियोगमा पक्राउ परेकाहरुसँग समेत उनीहरुको कनेक्शन देखिएको प्रहरीले बताएको छ ।

उजुरीका लागि आह्वान

प्रहरीले यस्ता ठगीको शिकार भएका सबैलाई उजुरीका लागि आह्वान गरेको छ । हालसम्म ९ जना पीडितहरु सम्पर्कमा आएको भए पनि अझ धेरै पीडितहरु रहेको हुन सक्ने भन्दै प्रहरीले उजुरी आह्वान गरेको हो ।

महाशाखाका प्रहरी उपरीक्षक इश्वर कार्कीले पीडितहरु धेरै रहेको र धेरैले उजुरी दिए अनुसन्धानमा सहयोग पुग्ने बताए । ‘पीडितको उजुरीले अनुसन्धानमा थप सहयोग पुग्नेछ’ उनले भने, ‘यसकारण पनि म अन्य पीडितहरुलाई उजुरी गर्नुहुन अनुरोध गर्न चाहान्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment