+
+
Shares

सुन्दर सुदूरपश्चिम, कुरुप उत्पीडन !

नारायण नेपाल नारायण नेपाल
२०७६ मंसिर २६ गते १३:१९

मेरो सुदूरपश्चिमको यात्राको प्रारम्भमा कर्णालीको चिसापानीमा यसपालि पहिलो पाइला टेकियो । पहिलो पटक पश्चिमको यात्रा मेरा लागि रोचकसँगै अध्ययनको नयाँ अवसर पनि थियो । कर्णालीको चिसापानी पुलमा राखिएको होडिङ बोर्डले मेरो मन छोयो, जसमा सुन्दर सुदूर पश्चिममा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ लेखिएको थियो ।

सुदूरपश्चिम साँच्चै सुन्दर रहेछ । बर्दिया राष्ट्रिय निकुञ्ज, खप्तड, कर्णाली, महाकाली, टीकापुर यसका केही प्रतिनिधि क्षेत्रहरू हुन जस्तो लाग्यो । प्राकृतिक सम्पदा र स्रोतमा धनी सुन्दर पश्चिमको पहाडहरूको सुन्दरताले हरेक नेपालीलाई मोहित नै बनाउने गरेको छ जस्तो लाग्यो ।

देशभक्त अमरसिंह थापाको १८१७ को अमरगढी किल्ला, किसान नेता भिमदत्त पन्तको विद्रोह उर्लेको ऐतिहासिक थलो सुन्दर सुदूर पश्चिम साँच्चै एउटा प्रतिरोधी समाजको सुन्दरताको विम्ब रहेछ । प्राकृतिक सम्पदासँगै सांस्कृतिक सम्पदामा पनि धनी नै रहेछ सुन्दर पश्चिम क्षेत्र ।

सांस्कृतिक पक्षको पनि एउटा रोचक र फरक प्रचलन रहेछ । छलिया, नाच, हुर्केलीनाच, शुभकार्यका बेला विवाहमा समेत ढाल तरवार प्रदर्शन गरी नाच्ने प्रथाको एक ऐतिहासिक तथ्य प्रतिरोध पूर्ण सङ्ख्या इतिहासको गाथा हो जस्तो लाग्छ । जस्तो कि विलासी संस्कृतिको मारुती नाच र पश्चिमको छलिया नाच, विलासीता र विद्रोही संस्कृतिको पर्यायवाचीको जस्तो लाग्छ । यो क्षेत्रले जनयुद्धको तेस्रो पिल्लरका रुपमा पछिल्लो समय आˆनो प्रतिरोधी इतिहासलाई कायम गरेको रहेछ ।

सुदूरको सुन्दरताले हामीलाई जति मोहित बनाउँछ, आनन्दित तुल्याउँछ, सुदूरको समाज सम्पदा र जनजीवन माथिको उत्पीडन विभेद र लुटको कहालीलाग्दो चित्र हेर्दा लाग्छ- यो सुन्दरता आˆनो इज्जत दुनियाँलाई लुटाउँदै अस्तित्वको व्यापार गर्नेहरूले लाली पाउडर घसेको सुन्दरता जस्तो पो लाग्न थाल्यो !

दार्चुलाको उच्च क्षेत्रको पाण्डव विवाह, देउकी प्रथा, अछाम डोटी डडेल्धुरा बैतडी बाजुराको छाउपडी प्रथा, बाँके बर्दिया कैलाली कञ्चनपुरको कमैया प्रथा हलिया प्रथा पश्चिमेलीहरूको उत्पीडन कुरूप अनुहार बनेको छ । आजसम्म छाउगोठमा मर्ने चेलीहरुको लोकतन्त्र पश्चिम नेपालतिर पाइला टेकेको छैन ।

आदिमकालीन मानवसभ्यताको झझल्कोमा बाँचेका राउटेहरूको फिरन्ते जिन्दगी सुदूरको समृद्धिको बाधक गलगाडा जस्तो लाग्छ । राउटेहरुको व्यापार गर्ने धन्दा गैरसरकारी संस्था र केही लाउरेहरूले गरेका गर्‍यै छन् राउटेले घरबार गरे उनीहरुको धन्दा खत्तम हुने डरले उनीहरू राउटेको जीवन बदल्ने होइन, राउटे नै बनाउन उद्दत्त देखिन्छन् भन्ने कुराको अनुभूति डडेल्धुराको परशुराम नगरपालिकाको बासगैरामा बसेको राउटे बस्ती देखेपछि भयो ।

आजसम्म बाजुरा जिल्ला मानव विकास सूचकाङ्कको कान्छो सूचिमा छ । मुगुमा हरेक वर्ष औषतमा ९ जना महिलाले सुत्केरी हुन नसकेर आˆनो ज्यान गुमाउने गरेका छन् । त्यस्ता सङ्कटमा परेकाहरूलाई उपचार गर्ने खर्च सिटामोल बाँडेको भरपाईमा सकिने गरेको रहेछ । हेलीको सस्तो प्रचारले छोएको छैन उनिहरुलाई आखिर केही कागजपत्र मिलेपछि चल्ने देश न हो । नेपालमा हामी नेपाली भएर बाँचेको उत्पीडनको जिन्दगी र उपेक्षाको जीवन त केवल सुदूरपश्चिमको मात्र हो जस्तो लाग्यो ।

ब्रह्मदेवको नाकामा महाकालीको कञ्चन निर्मल बहाव देख्दा मन असाध्यै लोभियो । तर, टनकपुरमुनिको मरुभूमिझैँ खण्डहर नेपाली भूभाग देख्दा मनै रोएर आयो । अनयासै दुई थोपा आँसु तपक्क चुहिन पुग्यो महाकालीको किनारमा । यो दृश्यले मेरो अतीतको एक याद स्मृतिमा पुनर्जागृत भयो ।

म नुवाकोटमा स्कुल पढ्दै थिएँ । राजनीतिप्रति खासै मतलब थिएन । ०५४ सालतिर झिल्टुङको डबलीमा भएको एउटा कार्यक्रममा डा प्रकाशचन्द्र लोहनीले लामो भाषण गरेका थिए । के-के बोले, अरू सम्झना छैन । तर, एउटा कुरा मस्तिष्कमा अझै ताजा गुन्जिरहेको छ- महाकाली नदी साझा हो, बिजुली पानी आधा-आधा हो ।

लोहनी महाकाली सन्धीका पक्षपाती रहेछन् उतिबेला । तर, के आज उनले महाकालीको यो किनारामा उभिएर महाकालीको पानी आधा हो भनेर भन्लान् ?

ब्रहमदेव नहर हिउँदभरि सुख्खा हुन्छ । नेपाली भूमि मरुभूमिझैँ सुख्खा छ । दोधारा र चाँदनीले टनकपुर नहरबाटै पानी पाउनुपर्ने महाकाली सन्धिमा लेखिएको छ, तर थोपासम्म पानि चुहिन दिँदैन भारतीय पक्षले । गड्डा चौकी क्षेत्रको अतिक्रमण त भारतीयको दादागिरीको पराकाष्टा नै नाघेको छ ।

महाकाली नदी साझा हो भने वनवासाको पुल वीचमा नेपाल र भारतको झण्डा राख्नुपर्ने हो । किन गड्डा चौकीमा बस्छन् भारतीय सीमा सुरक्षाबलका जवानहरु ? भारतीय उत्पीडनको कुरूपताको झल्को गड्डा चौकीमा दिनको घामझैँ छर्लङ्गै छ । महाकालीमा नाङ्गै छ ।

मेरो मनभित्र उद्देलना पैदा भइरहेको थियो । महाकाली र यसको जलाधार क्षेत्रमाथिको भारतीय प्रभुत्वलाई वैधानिकता दिने काम महाकाली सन्धीले गरेको छ भन्ने मेरो बुझाइ प्रष्ट भयो ।

हामी सुदूरपश्चिमको यात्रामै थियौं । मलाई भने पश्चिमको यात्रासँगै के अनुभूति भयो भने राजधानीमा उफ्रने नेताहरु सुदूरपश्चिमको स्वार्थ र फाइदा होइन, आफनो स्वार्थभन्दा माथि उठ्न सकेका छैनन् आजसम्म । उनीहरु आफ्नो फाइदाका लागि जे पनि गर्छन् । यो उनीहरुको विशेषता हो । सुदूरपश्चिमको मात्रै कुरा गर्ने हो भने महाकालिसन्धी र पञ्चेश्वर बाँधको विरोधमा नेपालका कम्युनिस्ट पार्टीहरू र हामीजस्ता युवा होइन, शेरबहादुर देउवाले बोल्न र लड्न पर्दथ्यो ।

यदि देउवा पश्चिमभन्दा माथि नउठेको भए त लड्थे होला । तर, किन लडेनन् उनी ? हिजो जनयुद्धमा टाउकोको मोल तोक्ने उनका हातमा फेरि यो देशको शासन सत्ता सुम्पने हो भने के कस्तो त्रासदी भोग्नु पर्ला नेपालले ? हिजो एमालेले महाकाली बेच्यो भनेर माओवादीतिर फाल हानेका कामरेडहरु देश बचाउने भन्दै एमालेतिर समाहित भएका बेला फेरि लिम्पियाधुरा-लिपुलेक समेत लुटिइरहेको छ । नेपाल अझै कति लुटिइरहला, त्यसको कुनै अनुमान छैनजस्तो लाग्छ ।

माथिल्लो कर्णाली भारतीय कम्पनी जीएमआरलाई दिए सुदूरपशिचममा आगो बल्छ भन्दै हिजोका एमाले नेता भीम रावल निकै पड्किएका थिए । तर, पश्चिममा उनले जीएमआरविरुद्ध बालेको आगो त के, कुनै खरानीको निशाना पनि भेटिएन । मेरो मनमा एउटा प्रश्न कमरेड रावललाई गर्ने मन लाग्यो- कमरेडको आगोमा कसले खन्यायो पानी ?

आखिर यथार्थ यही हो सुदूरपश्चिमको । यो उत्पीडन र लुटको गाथाभित्रको यर्थाथ यही रहेछ । जब धन बोल्छ, सत्य चुप लाग्छ । वर्गीय आन्दोलन अझकल्टो छाड्दा गलत हुन्छ भन्दै लेनिनले भन्नुभएको थियो आधा सकिएको कति धेरै खतरनाक हुन्छ भनेर । त्यस्तै क्षेत्रीयतावाद र जतिवादको अन्धताले जरो गाडेर थरूहट र अखण्ड सुदूरपश्चिमको अतिवादी आन्दोलनको बिजारोपणले थारु र पहाडिया जातिवादी द्वन्द्व बिस्टाएको रहेछ । वर्गीय आन्दोलन कमजोर हुँदा जातिवाद र क्षेत्रीयतावादका तुवाँलोहरू कसरी छाउँछन् र ती कति खतरनाक हुन्छन् भन्ने पाठ टीकापुर काण्डले दिएको रहेछ । २०१७ सालमा खनायोवासको किसान विद्रोहलाई तामाङ र बाहुनको उग्रजातिवादको भडकावमा धकेलेर संसदीय प्रजातन्त्रलाई राजा महेन्द्रले लात मारेझैँ ।

सुदूरपश्चिम जति सुन्दर छ, त्यति नै ठूलो उत्पीडन र लुटमा छ । मुख्यतः सुदूरका युवायुवतीका जवानीहरू लुटिएका छन् । महाकाली र कर्णालीको पानी लुटिएको छ । आजभोलि पश्चिममा सामन्तवादी उत्पीडकहरू बौरिएका छन् । परिवर्तनकारी क्रान्तिकारीहरू चाउरिएका छन् । भीमदत्तको किसान विद्रोहले सामन्तवादको जरो राम्रैसँग हल्लाएको थियो । जनयुद्धको खहरे भेल उर्लिएर आयो, केवल एक बाली मात्रै लतारेर गयो ।

सुदूरको नाम भँजाएर क-कसले के-के तर मार्छन्, शहरमा त्यो मतलव छैन, तर आफूलाई सुदूरपश्चिमका बुद्धीजीवी र सम्भ्रान्त हाैं भन्ने जान्ने ठान्नेहरूले शहर र काठमाडौँमा बसेर उपदेश दिने होइन, पश्चिमको समाजमा सामाजिक जागरणको नयाँ अभियान ल्याउन सक्नुपर्छ । निरन्तर उत्पीडनका कुरूपताहरू मेटाउन प्रयत्न गर्न जरुरी छ ।

सप्ताहव्यापी पश्चिम भ्रमणको मेरो अन्तिम निष्कर्ष यही हो- उत्पीडनको कुरूपता मेटाउने हो भने सुदूरको सुन्दरता अझै चम्काउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?