Comments Add Comment

उधौली पर्व : कहाँ छन् कुबी र बिजुवाहरु ?

यतिबेला किराँत समुदाय उधौली पर्व मनाइरहेका छन् । प्रकृतिपूजक किराँतहरुले मनाउने यो पर्व एउटा समय-सूचक पनि हो । खेतीपाती एवं पशुपालन गर्ने किराँतका पूर्खाहरुले प्रकृतिसँग लय मिलाउँदै यो उत्सव मनाउन सुरु गरेका हुन् । सुनुवार, राई, लिम्बु, याख्खा जातिले यो उत्सव मनाउने गर्छन् ।

किराँत परम्परा अनुसार उधौली र उभौली पर्व मनाउने बेला नागपूजा/भूमेपूजा गरी साकेवा कुबी(धामी)ले खोलाबाट सखेवालुङ (पूजाथानमा पुजिने अण्डा आकारको ढुङ्गा) निकालेर साकेला थानमा चढाउनु पर्ने प्रचलन छ । यस्ता कुबीहरु पनि जो पायो उहीले सिकेर पूजा गर्न सक्दैनन् । यस्ता कुबीहरुले सपनामा नै मुन्धुमी विद्या पाएर आएको हुनुपर्ने मान्यता छ ।

मुन्धुमहरुको पूजाको पनि दुई किसिमका विधि छन् । पहिलो सत् गतिमा मरेका पितृहरुको पूजा गर्ने कुबीहरु थानको भित्र बसेर पूजा गर्छन् भने असत् गतिमा मरेकाहरुको पूजा बिजुवा नामक पुजारीहरुले बाहिर पूजा गर्छन् । अहिले कुबी र बिजुवाहरुको समेत अभाव खडि्कन थालेको साकेला गाउँपालिका २ का मुन्धुम सम्बन्धी जानकार सनबहादुर राईले जानकारी दिए ।

यो पर्वमा भाले चढाएर पूजा गरिन्छ । त्यसपछि  घरघरमा सेउली जान्छन् । यो बढीमा १५ दिनसम्म मनाउने गरिन्छ । साकेला थानमा मात्रै गरिन्छ भने सेउली साकेला पछि गाउँगाउँमा पुगेर मनाइने परम्परा हो । सबैजना भेला भएर थानमा साकेला पूजा गरिसकेपछि कटुसको हाँगा काटेर त्यो ठाउँठाउँमा गाढेर ढोल झम्टा लिएर नाच्ने गरिन्छ । राईका अनुसार यो पूर्णिमा पछि औंशीभन्दा लिनसम्म मात्रै चल्ने गर्छ । कुबीहरुको अभावका कारण १५ दिनमा पनि यो काम सक्न धौ धौ पर्न थालेको छ । पितृ पुजाहरु सकेर सेउली जाने गरिन्छ । यो काममा पनि कुबीहरु आवश्यक हुन्छन् । अहिले एउटै कुबीले ४/५ सय घर धान्नुपर्ने अवस्था रहेको राई बताउँछन् ।

शिकारी युगबाटै सुरुवात

जङ्गली तथा शिकारी युगबाट कृषि पेशामा आबद्ध भएदेखि सुरुभएको विश्वास गरिने उधौली पर्व यो वर्ष पनि धुमधामका साथ मनाईंदै छ । खोटाङ जिल्लाबाट सुरु भएको यो पर्व देशका विभिन्न स्थानमा  विशेषगरी किराँतहरुले र अहिले गैर किराँतहरुले समेत मनाउने गर्दछन् ।

उधौली र उभौली मध्ये (मंसिरे धान्य पूणिर्मा)मा उधौली र -बैशाखे चण्डी पूणिर्मा)मा उभौली पर्व मनाउने गरिन्छ । किराँतहरु प्रकृतिपूजक सम्प्रदायहरु हुन् । किराँतीहरुले खोला, नदीमा पाइने माछा ओरालो (उँधो) धेरै पानी भएको ठाँउतिर फर्किएको समयलाई उधौली भनेर मान्ने गर्छन् । त्यसैले यो पर्व मौसमी सूचना दिने सूचक पनि हो । भोजपुर र खोटाङको सिमानामा पर्ने छोङ्खा साकेन्वा (चाडको समयमा पूजा गरिने देवस्थल)लाई सबैभन्दा पुरानो साकेन्वा थानको रुपमा मान्ने गरिन्छ । यो कुरालाई विभिन्न शिलालेखहरुमा पनि उल्लेख गरेको पाइन्छ ।

के-के गरिन्छ यो पर्वमा ?

यो पर्वको समयमा सबै जना एकै ठाउँमा भेला भएर साकेला सिली नाच नाच्ने गर्छन् । पूजा सकिएपछि सखेवालुङ अर्थात् धीःलाई पूजाथानमा नै गाडेर राख्ने गर्दछन् । यो प्रक्रिया दोहोरिरहन्छ । प्रत्येक पूजाको समयमा सखेवालुङलाई खनेर निकाली पूजा गर्ने चलन छ ।

त्यसपछि १०-१५ दिनसम्म विभिन्न गाउँका गाउँलेहरु मिलेर ढोलझ्याम्टा बजाउँदै साकेला नाच नाच्दै रमाइलोसँग यो चाड मान्ने गर्दछन् । यसरी साकेला नाच्दा साकेला थानमा सिपालु मासुमी (विशेषगरी महिलाहरु) सक्रिय हुन्छन् । तर, भूमेथानभन्दा अन्यत्र भने प्रायः महिला-पुरुष संयुक्त रुपमा नाच्ने गर्दछन् । यो नाच सहरबजारतिर पनि निकै लोकपि्रय बन्दै गएको देखिन्छ । यसलाई सहरतिर चण्डी नाच पनि भन्ने गरिएको छ । तर, चण्डी नाच भन्नु गलत भएको स्थानीय ज्ञाता र समुदायको भनाइ छ ।

त्यस्तै, घरभित्र विधिपूर्वक कुबीले चुला पूजा गर्ने हुँदा अगेनाको छेउमा थान तयार गरिन्छ । पूजामा एउटा कलश, दुई कठुवा रक्सी, जोडी चिण्डोमा चोखो जाँड, काँसेथालमा केही अक्षता र जोडी दियो बालेर राखिन्छ । यसपछि कुबीले विधिपूर्वक आफ्नो मुन्धुमअनुसार पूजा सुरु गर्दछन् । कुबीको साथमा एक तायामी, जोडी मासुमी, जोडी ढोलेसमेत हुनुपर्दछ । मासुमीहरु झ्याम्टा बजाउँछन्, ढोलेहरु ढोल बजाउँछन् र तायामीले कुबीलाई पूजा गर्नमा सहयाग गर्दै कुबीले कतै गलत बाटो लिएमा सम्झाएर सही ठाउँमा ल्याउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment