Comments Add Comment

अझै २ वर्ष नेपालको वृद्धिदर ६ प्रतिशतमाथि : विश्व बैंक

विश्वबैंकको नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडा । तस्वीर : रासस

२६ मंसिर, काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर अझै कम्तीमा २ वर्षसम्म ६ प्रतिशत भन्दा माथि रहने प्रक्षेपण गरेको छ ।

विश्व बैंक ग्रुपले बिहीबार सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ ले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ । त्यस्तै सन् २०२० को ६.४ प्रतिशत र सन् २०२१ को ६.५ प्रतिशत रहने विश्व बैंकको अनुमान छ ।

विप्रेषण, पर्यटनसहित सेवा क्षेत्र र कृषिले नेपालको आर्थिक वृद्धिमा मूख्य भूमिका खेल्ने विश्व बैंकको भनाइ छ । खुद्रा व्यापार, रियल इस्टेट, यातायात र होटल तथा रेष्टुरेन्ट सेवाको व्यापार फस्टाउने उसले जनाएको छ ।

प्रतिवेदनअनुसार व्यक्तिगत खर्च बढाउन विप्रेषणको ठोस भूमिमा देखिएको छ भने मनसुनले कृषि उपजको उत्पादनमा भूमिका खेलेको छ । नियमित विद्युत आपूर्तिका कारण निजी लगानी आकर्षित हुन थालेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।

‘निजी लगानीका लागि राजनीतिक र नीतिगत स्थायित्वले सकारात्मक प्रभाव पारेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

तर, भूकम्पले भत्काएका निजी घरको पुनर्निर्माण तथा निर्माणको अन्तिम चरणमा रहेका दुई राष्ट्रिय गौरवका आयोजना मेलम्ची खानेपानी आयोजना र माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा भएको ढिलाइले आर्थिक वृद्धिदरको उत्साहमा केही ब्रेक लाग्न पुगेको प्रतिवेदनमा जनाइएको छ ।

एक दशकको आर्थिक वृद्धि ४.१ प्रतिशत

विश्व बैंकका अनुसार सन् २००७ देखि २०१६ को बीचमा नेपालको आर्थिक वृद्धिदर औसत ४.१ प्रतिशत मात्र थियो । तर, पछिल्लो वर्षमा भने आर्थिक वृद्धिदर बढाउन नेपाल सफल देखिएको छ ।

सन् २०१७ मा सबैभन्दा राम्रो (८.२ प्रतिशत) आर्थिक वृद्धि कायम भएको थियो । सन् २०१८ मा ६.७ प्रतिशतको आर्थिक वृद्धिदर भएको विश्वबैंकले उल्लेख गरेको छ । आगामी दुई वर्ष सन् २०२० र २०२१ मा समेत नेपालले लगातार ६ प्रतिशत माथिको आर्थिक वृद्धिदर कायम राख्ने प्रक्षेपण विश्व बैंकको रहेको छ ।

सन् २०२० र यसपछिका वर्षमा हुने आर्थिक वृद्धिदरको आधार भने सेवा क्षेत्र हुनेछ । खासगरी नेपाल भ्रमण वर्षका कारण हुने पर्यटक आगमनको वृद्धि, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भइसक्ने र केही ठूला निर्माणाधीन होटलले सेवा प्रारम्भ गर्ने भएकाले आगामी दिनमा अर्थतन्त्रका सूचक सकारात्मक रहने अनुमान विश्व बैंकको रहेको छ । यसबाहेक नेपालले भारत, अष्ट्रेलिया, कम्बोडिया, भियतनाम र यूएईसँग गरेको हवाई सेवा सम्झौताका कारण थप हवाई सञ्जालको बिस्तार यस अवधिमा हुने अनुमान रहेको छ ।

सिमेन्ट र जलविद्युतमा आकर्षित भइरहेको नयाँ लगानीले औद्योगिक उत्पादनमा सहयोग गर्दासमेत आर्थिक वृद्धिमा सकारात्मक भूमिका खेल्ने विश्व बैंकले उल्लेख गरेको छ । नेपाल इन्फ्रास्ट्रचर बैंकको सञ्चालनपछि ठूला प्रकृतिका पूर्वाधारमा लगानीको अभाव नहुने अपेक्षा विश्व बैंकले गरेको छ ।

विद्युतको निर्यातका लागि वातावरण बन्दै जादा त्यसले व्यापार घाटा कम गर्न सहयोग गर्ने, सरकारले निर्यातजन्य उद्योगमा लिएको सहुलियत दिने नीतिले समेत सकारात्मक प्रभाव पार्दा आगामी दिनमा आर्थिक वृद्धिमा सहयोग पुग्ने विश्वबैंकको विश्लेषण रहेको छ ।

मूल्यवृद्धि सामान्य

विश्व बैंकका अनुसार नेपालको मूल्यवृद्धि औसत रहने छ । सन् २०१९ का लागि ४.५ प्रतिशत मूल्यवृद्धिको अनुमान गरेको विश्व बैंकले त्यसपछिका दुई वर्षमा समेत मूल्यवृद्धि भने नियन्त्रणमै रहने बताएको छ ।

विश्व बैंकको तथ्यांक अनुसार सन् २०१६ मा ९.९ प्रतिशतको मूल्यवृद्धि भएको थियो । त्यसपछि भने मूल्यवृद्धि घट्दै गएको छ । सन् २०१६ मा अर्थतन्त्रका अधिकांश सूचकांक खस्कनुको कारण भने सन् २०१५ को भूकम्पको प्रभाव हो ।

सन् २०१७ मा ४.४ प्रतिशत मूल्यवृद्धि रहेको थियो । सन् २०१८ मा ४.२ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ । सन् २०२० र २०२१ मा भने ५ प्रतिशतको मूल्यवृद्धि रहने छ ।

कुन वर्ष कति आर्थिक वृद्धि ?

२०१६ : ०.६ प्रतिशत
२०१७ : ८.२ प्रतिशत
२०१८ : ६.७ प्रतिशत
२०१९ : ७.१ प्रतिशत (अनुमान)
२०२० : ६.४ प्रतिशत (प्रक्षेपण)
२०२१ : ६.५ प्रतिशत (अनुमान)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment