Comments Add Comment

काँडामा फूलेका कालीप्रसाद

भारतका ख्यातिप्राप्त कवि अज्ञेयले भनेका थिए, ‘आत्मकथामा झूठ लेख्न सजिलो हुन्छ, उपन्यासमा सत्य ।’ कतिपय सन्दर्भमा यो भनाइ सत्य लाग्न सक्छ, कतिपय सन्दर्भमा असत्य ।

बितेको दशक नेपाली पुस्तकको बजारमा आत्मकथाहरु प्रशस्तै आए । आएका मध्ये अधिकांश जसको आत्मकथा हो, तिनले लेखेका थिएनन् । भरिया लेखकले लेखिदिएका थिए । अंग्रेजीमा सभ्य प्रकारले यसलाई ‘घोष्ट राइटिङ’ भनिन्छ । अर्थात्, ‘प्रेत लेखन’ । यस्ता कितावहरु आत्मश्लाघाले लफ्रक्कै भिजेका हुनाले पाठकहरुको मन जित्न असमर्थ रहे । यद्यपि, केही कृति रुचाइएको नपाइएको पनि होइन ।

आत्मकथा लेख्न चानचुने साहसले पुग्दैन । सत्यलाई लेख्ने बडो ठूलो हिम्मतको आवश्यकता पर्छ । विश्व साहित्यमा जाँ ज्याक रुसोको ‘आत्मस्वीकृति’ आत्मकथाको दुनियाँमा एउटा अद्वितीय कृतिका रुपमा आजपर्यन्त खोजी-खोजी पढिन्छ । सन् १७८२ मा पहिलोपल्ट प्रकाशित यो कृतिलाई तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले अनुवाद परियोजना अन्तरगत अनुवाद गराई नेपाली भाषामा पनि प्रकाशित गरेको थियो ।

मल्टिपल माइलोमा भएर रोगसँग जुधिरहँदा समर्थ साहित्यकार जगदीश घिमिरेले लेखेको ‘अन्तरमनको कथा’ पछिल्लो समयको एउटा बेजोड आत्मकथात्मक कृति थियो । यसले प्रतिष्ठित उत्तम शान्ति पुरस्कार तथा मदन पुरस्कार समेत प्राप्त गर्न सफल भएको थियो र छोटो समयको अन्तरालमा धेरै संस्करण छापिएका थिए ।

तर, पछिल्लो चरणका आत्मकथाहरुले बजार लिन सकेनन् । वा, त्यति लोकप्रिय हुन सकेनन् । यद्यपि विजय कुमारको खुशीले भने केही हल्लाखल्ला गर्न सक्यो ।

हुन त लेख्न नसक्नेहरुको जीवन अनुभव अरुका लागि उपयोगी हुन सक्छ भन्ने तर्क पनि बलियो नै मानिन्छ । तर, तिनलाई त्यही रुपमा इमान्दारीसाथ प्रस्तुत नगरिदिँंदा आत्मकथाको बजारमा ग्रहण लागेको छ ।

त्यतिबेला कालीप्रसादको एउटा कविताले जागिर खोस्यो, अर्काे कविताले जागिर थमायो भन्ने हल्ला नै चलेको थियो काठमाडौंको साहित्यिक वृत्तमा । तर, जागिर जोगाउने कुन कविता थियो, कसैले पत्तो पाएनन्

अहिले प्रकाशनमा आएको सफल कवि, लोकप्रिय गीतकार कालीप्रसाद रिजालको आत्मकथात्मक कृति ‘काँडामा हाँसेको जिन्दगी’ यौटा गहकिलो कृतिका रुपमा देखा परेको छ । यौटा कविले प्रशासक भएर भोगेको जिन्दगीको उतार-चढाव, पञ्चायती कालको प्रशासन, प्रशासनभित्रका अनेक दाउपेच, दरबारसँगको सम्वन्ध र सम्पर्कलगायतलाई कवि कालीप्रसाद रिजालले निर्भिकतापूर्वक आफ्ना अनुभवलाई खुलस्त उतारेका छन् । उनी आफैंले यसलाई ‘आत्मवृतान्त’ भनेका छन् ।

उनको पुर्ख्यौली पृष्ठभूमि सबैका लागि रुचिकर नभए पनि बाल्यकालदेखिका उनका अनुभव र कथाहरु भने निकै रोचक र मनैदेखि लेखिएका छन् । तिनमा कालीप्रसादको आत्मा बोलेको बुझ्न सकिन्छ ।

कालीप्रसाद रिजालसँग संगत र बसउठ गर्नेले उनले लेखेको यो आत्मवृत्तान्त पढ्दा उनी आफैं अगाडि बसेर पुटुपुटु बोलिरहेको अनुभव गर्न सक्छन् । उनको बोलीको ध्वनी, अभिव्यक्तिको शैली र भाषा नितान्त निजात्मक छ । यसलाई ‘अर्ग्यानिक आत्मकथा’ भन्दा फरक पर्दैन  ।

यो आत्मवृत्तान्त पढिरहँदा एउटा रोचक, जीवनका ओराली-उकालीहरुसहितको उपन्यास पढेजस्तो अनुभूत गर्न सकिन्छ । यद्यपि फरक-फरक शीर्षकमा लेख्दा पुनरुक्ति दोष ठाउँठाउँमा दाँतमा ढुंगा लागेझैं लाग्छन् पनि । तर, तुरुन्तै फरक परिवेश र नयाँ कथाको उठान हुन थालेपछि त्यो पुनरुक्ति दोष पखालिँदै जान्छ ।

कालीप्रसादले चढ्दो उमेरमै धनकुटा बहुमुखी क्याम्पसमा प्रिन्सिपलको अनुभव सँगाल्न पाए । त्यहाँ रत्तिँदा रत्तिँदै ‘दरबारको इच्छा’मा भूमिसुधार अधिकारीको जिम्मेवारी सम्हाल्न पुगे । त्यहाँबाट अध्ययनका लागि अमेरिका पुगे । भारतको नेपाली दूतावासमा सांस्कृतिक सहचारी हुने सपना पाले । त्यसको पृष्ठभूमिका लागि सूचना विभागको निर्देशक बन्न पुगे ।

वास्तवमा उनको सूचना विभागको जागिरको कालखण्ड उनको जीवनकै अति महत्वपूर्ण, जटिल एवं सौभाग्य र दुर्भाग्यको अनौठो तालमेल सावित भयो ।

बनारसमा अध्ययनका क्रममा कवि वासु शशीसँग उनको संगत रोचक र सुन्दर छ । काठमाडौंमा ठूला साहित्यकारहरुसँगको सत्सँगको उनको दृढ लालसा पनि कम महत्वपूर्ण छैन । उनको विवाहको प्रसंगमा भवानी भिक्षुसँग सोधेको प्रश्नको उत्तरले मनलाई विषादमय तुल्याइदिन्छ ।

सूचना विभागको महानिर्देशकको पदमा छँदा गाईजात्रा महोत्सवमा उनले सुनाएको “गाईजात्राको जरुरी सूचना” ले उनले खोसुवा पूर्जी पाएका थिए । तर, पछि दरबारको ईशारामा उनको त्यो जागिर थामिएको थियो ।

त्यतिबेला कालीप्रसादको एउटा कविताले जागिर खोस्यो, अर्को कविताले जागिर थमायो भन्ने हल्ला नै चलेको थियो काठमाडौंको साहित्यिक वृत्तमा । तर, जागिर जोगाउने कुन कविता थियो, कसैले पत्तो पाएनन् ।

कालीप्रसाद रिजाल प्रशासकका रुपमा त्यतिखेरका पञ्चायती कालका जङ्गबहादुर मानिने सूर्यबहादुर थापाको आँखी बने । गज्जबको संयोग मान्नुपर्छ, प्रधानमन्त्री सूर्यबहादुर थापा फुटेको आँखाले हेर्न नचाहने, तर दरबारले भने रिजाललाई माया गर्ने । सूर्यबहादुर थापाले हुत्याएका कालीप्रसाद रिजाल दरबारको पोल्टोमा परे । सजायँ त पुरस्कारको रुपमा परिणत भयो । उनले रानी ऐश्वर्यसँग प्रत्यक्षरुपमा साथै रहेर काम गर्ने अवसर पाए ।

सूचना विभागमा छँदा नारायण गोपालले शुरुमा गाएका दुई गीत जनजनको जिब्रोमा झुण्डिए, ‘आँखा छोपी नरोउँ भनी भन्नु पर्‍या छ, मुटुमाथि ढुँगा राखी हाँस्नु पर्‍या छ ।’

अनि ‘झरेको पात झैं भयो उजाड मेरो जिन्दगी…।’ तर तिनै गीत झण्डै फाँसीको फन्दा बनेर आए । मुटुमाथि ढुंगा राखी हाँस्नु पर्‍या छ गीतले पञ्चायत व्यवस्थाप्रति वितृष्णा फैलाएको आरोपमा फाँसी दिनुपर्छ भनेर दरबारमा विन्तीपत्र हालेर उनलाई थरहरी समेत पारेको थियो ।

शुरुमा खास सहयोग नगरेका तर कविताको प्रभावले पछि निकै सहयोगी र असल सम्वन्ध भएका सचिव तीर्थराज तुलाधरको विषयमा पढ्दा आङ नै जिरिङ्ग हुन्छ पाठकको । उनको जीवनको उत्तरार्द्ध कति पीडादायी रहृयो र उनले आत्महत्याको मार्ग रोजे, पढ्दै जाँदा पाठकले लख काट्न सक्छ ।

कालीप्रसादले भोगेको भुक्तमानको यो दृष्टान्तले तत्कालीन समयको धेरै कुरा छर्लङ्ग पार्दछ :

‘के कारणले हो कुन्नि, दरबारका सचिवहरु आफ्नो निवासमा भेट गर्नेहरुको भीड भएको देखाउन चाहँदा रहेछन् । म शुरु-शुरुमा कसैकहाँ पनि जान्नथेँ । पछि सचिवले एकदिन आफैं ‘भेट्नुस् न’ भनेपछि जान थालें । तर, सचिवको ढोकामा गएर मैले अत्यन्त आत्मग्लानी र मानसिक पीडा अनुभव गरें । कर्मचारी भएकाले आफूले कुरेर बस्नुपर्ने, सचिवले पत्रकार, गुप्तचर विभागका मान्छे, पञ्च पदाधिकारीहरुलाई प्राथमिकता दिएर भित्र बोलाउने । कति त मैले पढाएका व्यक्ति पनि हुन्थे । उनीहरु भित्र कुरा गरेर फर्कन्थे । आफू भने बाहिर चउरमा ।

कहिलेकाहीँ त भेटघाट नगरी फर्कूँ जस्तो हुन्थ्यो । तर, सचिवले नै भेट्नू भनेकाले केही नभनी र्फकन पनि भएन । अपमान र आत्मग्लानीको थुक निलेर छटपटाउँदै पर्खिरहनुपर्थ्यो । अन्त्यमा सचिवले बाहिर निस्केर ‘अब अफिस जाने बेला हुन लाग्यो, अर्को दिन कुरा गरौंला’ भनेर फर्काइदिन्थे । बाहिर सबैले हाँसेर नमस्कार गरिरहेको, हजुर-हजुर भनेर आदेशको तामेल गरिरहेको, दौरासुरुवालभित्र आफूलाई पोको पारेर हिँडिरहेको देख्थें । तर, भित्र मेरो छातीमा आगो बलिरहेको हुन्थ्यो । आत्माले विद्रोह गरिरहेको हुन्थ्यो । यसप्रकार म दुईटा व्यक्तित्व बाँचिरहेको थिएँ । एउटा- निम्छरो कर्मचारीको, जो लाए अह्राएको काम चुपचाप गर्ने गर्थ्यो । अर्को, कवि-साहित्यकारको चेतनशील व्यक्तित्व, जो मलाई सधैं विद्रोहका लागि उत्प्रेरित गरिरहन्थ्यो, आफैंलाई धिक्कारेर आक्रोश प्रकट गर्थ्यो र केही नलागेपछि एकान्तमा रुने गर्थ्यो । यही मनस्थितिमा कहिलेकाहीँ म आफूलाई कवितामा व्यक्त गर्ने गर्थें । ‘मन फर्फराएर उड्न खोज्छ’, ‘मन्त्रीज्यूको ढोका कुर्दा’, ‘के छ र जिन्दगी बिताइदिन्छु’, ‘यो प्रश्न कोसित सोधौं’ जस्ता कविता मेरो त्यही मनस्थितिका उपज हुन् ।

कालीप्रसादले आफ्नो जागिरे जीवन र साहित्यलाई साथसाथै लगे । साहित्यले उनलाई उचाल्ने-पछार्ने कामचाहिँ गरिरह्यो । उनी रानी ऐश्वर्यका प्रिय बने । सोही कारणले नारायण गोपालको उपचारका लागि रानीलाई विन्ति चढाएर विदेशमा उपचार गराउन सफल बने । आफ्नो उपचार पनि विदेशमा गराउन सफल भए । उनका गीतहरु लोकप्रिय भए । कविताहरु चर्चित भए ।

तर, स्वयं कालीप्रसाद भने लोकप्रिय हुन सकेनन् । आम मान्छेका प्रिय हुन सकेनन् । साहित्यिक जमातमा प्रिय हुन सकेनन् । यसको कारण थियो- उनी कि त आफ्नो लेखनमा एकोहोरिए । कि त प्रशासक बनेर प्रशासनको सुख-दुःखमा मात्र अल्झिए ।

उनलाई साहित्य जगतमा हिमचिम गर्न खासै समस्या थिएन । आफ्नो पहुँच भएका बेला साहित्य जगतलाई र साहित्यकारहरुलाई हित हुने काम गर्न सक्थे । तर, उनी आफैंमा अल्झिए, आफ्नै समस्यामा अल्झिए । खुशी हुँदा पनि उनी एक्लै खुशी भए । दुःखी हुँदा पनि उनी एक्लै दुःखी भए । समूह र समुदायमा उनी गएनन्, भिजेनन् । अलि बल गरेर साहित्य जगतलाई फाइदा पुर्‍याउन गर्न सकिने सम्भावनालाई उनले सोच्ने जमर्काे नै गरेनन् । उनी कवि भए पनि प्रशासक व्यक्तित्वले किच्यो ।

रिजाल कतिसम्म समुदायबाट बाहिर रहने खालको स्वभावले ग्रस्त थिए भने ०४६ सालको राजनीतिक परिवर्तनपछिको जननिर्वाचित सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पुराना पञ्चायतकालीन प्रशासकहरुलाई जागिरबाट बिदा दिँदा रिजालका सहकर्मीहरु सो निर्णयविरुद्ध सर्वाेच्च गए, मुद्दा जिते र अवकाश हुँदा राम्रो सुविधा पाए । तर, रिजाल सर्वाेच्चमा सबैको साथ लागेर गएनन् र त्यो पाउन सकिने सुविधाबाट आफ्नै कारणले बञ्चित भए । अरु सर्वाेच्च गए, उनीचाहिँ रोम जल्दा पनि बाँसुरी बजाएर बस्ने निरोझैं कविता लेखेर बसे ।

पिँजडाबाट

कसैले निकालिदिएपछि

मलाई हराएको आकाश

पाएजस्तो लागिरहेछ

आफ्नो व्यापकता अपरिमितताको

आभास भइरहेछ !

राजदरबारसँग नजिक र रानी ऐश्वर्यसँग निकट भएका कारण रानीका गीतहरु कालीप्रसाद रिजालले लेखिदिएका हुन्थे भन्ने हल्ला निकै चलेको थियो साहित्यकारको वृत्तमा । म आफैंले अन्तरवार्ता लिँदा पनि उनले परोक्ष ढंगमा अलिकति चुहाएका थिए, ‘निकट भएका कारण यसो हेरियो होला, सच्याइयो होला ।’ यो उनको संकेतले बजार हल्लालाई कताकता पुष्टि गर्न खोजेको देखिन्छ । यस विषयमा उनको आत्मवृत्तान्तमा कहीँ कतै उल्लेख छैन । यसबारे केही आइदिनुपर्थ्यो भन्ने मलाई पुस्तकको अन्तसम्मै अपेक्षा थियो ।

त्यस्तै तीर्थराज तुलाधरले जीवनमा एउटा मात्र त्यति गतिलो गीत कसरी लेखे होलान् र उनले नातिकाजीलाई दिएर गाउन लगाए होलान् भन्ने कुराले पनि झस्को पस्छ ।

पुस्तकका अन्तिम दुई परिच्छेद ‘मैले बुझेको दरबार’ र ‘दरबारका अन्तिम दिनहरु’ मा उनले अलि कम शब्द खर्च गरेको भए हुन्थ्यो भन्ने लाग्छ । उनका कतिपय ‘हाइपोथेटिकल’ कुरा सन्दर्भ र विशेष रानी ऐश्वर्यका कुराहरु अलि बढी लेखिएका हुन् कि भन्ने भान पर्छ ।

तर, यति हुँदाहु्ँदै पनि यो समर्थ कविले आत्मैबाट लेखेको आत्मकथा भएकाले आधिकारिक र चोखो हो भन्नेमा चाहिँ कुनै शंका गर्नुपर्ने देखिँदैन । कालीप्रसादले फुटकर लेखेका गद्यहरु कतिले सम्झेका होलान् वा बिर्सेका होलान्, तर उनी गतिलो गद्य लेखक हुन् भन्ने ती पुस्तकाकारमा नआएका गद्यहरुले पुष्टि गरेका थिए । तर, यो सग्लो पुस्तक ‘काँडामा हाँसेको जिन्दगी’ले त्यसलाई पुनर्पुष्टि मात्र होइन, अब्बल दर्जाको गद्यको दृष्टान्त दिन सफल छ । नेपालको एउटा खास कालखण्डको यो अनौपचारिक ऐतिहासिक दस्तावेजका रुपमा यसलाई मज्जाले स्वीकार्न सकिन्छ ।

-फल्स चर्च, भर्जिनिया । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment