+
+
Shares

नागढुंगामा वैशाखबाट सुरुङ खन्न थालिने, तयारी तीव्र

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ३० गते ११:२६

३० मंसिर, काठमाडौं । धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा (दहचोक) सुरुङमार्ग निर्माणको प्रारम्भिक काम सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली असोज ४ गतेसुरुङमार्ग निर्माणको शिलान्यास गरेका थिए ।

पूर्वतयारीको काम लगभग सकिन लागेको आयोजना प्रमुख श्याम खरेलले जानकारी दिए ।

‘धादिङतर्फको भागमा मेसिनहरु लैजान बाटो बनाउने, झाडीहरु फाँडेर सफा गर्ने लगायतका काम सुरु भइसक्यो,’ खरेलले भने, ‘खन्ने काम थाल्न भने अझै केही समय लाग्छ ।’

आयोजनाका लागि आवास गृह र कार्यालय बनाउने लगायतका काम पनि भइरहेको छ । ठेकेदार जापानी कम्पनी ‘हाज्मा आन्दो’ ले सुरुङ खन्नका लागि मेसिनहरु ल्याउने प्रक्रिया अघि बढाएको छ ।

‘मेसिन ल्याउन आयोजनास्तरबाट सडक विभागमा प्रस्ताव पुगेको छ, त्यहाँ भौतिक पूर्वाधार मन्त्रालय हुँदै अर्थमन्त्रालयले स्वीकृत गर्नुपर्छ,’ खरेल भन्छन्, ‘त्यसपछि मेसिनहरु ल्याएर सुरुङ खन्ने काम सुरु गरिनेछ ।’

त्यसका लागि वैशाखसम्म लाग्ने अनुमान छ । खरेलले ठेकेदार कम्पनीले ४२ महिनाको समय पाएको भन्दै कार्यतालिका अनुसार नै काम भइरहेको बताए । ‘यो आयोजना गत नोभेम्बर १४ बाट चालु भयो,’ उनले भने, ‘अब ४१ महिनामा सुरुङमार्ग बनेर सञ्चालनमा आउँछ ।’

सर्भेसहित व्यवस्थापकीय काम

सुरुङमार्ग २.६८ किलोमिटर (२ हजार ६ सय ८८ मिटर) लामो हुनेछ । ठेकेदार हाज्मा नेपालमा निर्माणको काममा राम्रो रेकर्ड भएको जापानी कम्पनी हो । कोटेश्वर-सूर्यविनायक खण्डलाई ८ लेनमा विस्तार गर्ने काम यही कम्पनीले गरेको थियो । यसले नै विपी राजमार्गको निर्माण गरेको हो ।

‘५० प्रतिशत काम त सुरुङभन्दा बाहिर नै गर्नुपर्ने छ,’ आयोजना प्रमुख खरेल भन्छन्, ‘सडक र फ्लाइओभर निर्माणका लागि पनि आधारभूत काम थाल्न लागेका छौं, सब कन्ट्रक्याक्टरहरु फिल्डमा छन् ।’

यो आयोजना करबाहेक साढे १३ अर्बमा आयोजना ठेक्का लागेको छ । यो सुरुङमार्गलाई त्रिभुवन राजपथसँग जोड्न २.८७ किलोमिटर (२ हजार ८ सय ७२) को पहुँचमार्ग पनि बनाउनुपर्छ ।

सुरुङसम्म पहुँचमार्गका लागि गुर्जुधाराचोक र सुरुङको मुखभन्दा मुनि २ वटा फ्लाइओभर बन्नेछन् । गुर्जुधारामा बन्ने फ्लाइओभर ६१० मिटरको हुने छ ।

कलंकीबाट बलम्बु हुँदै नागढुंगा जोड्ने सडक क्रस गराउन अर्को पनि फ्लाइओभर बनाइनेछ यो करिब १५० मिटरको हुनेछ । यी नेपालकै पहिलो फ्लाइओभर हुनेछन् । यी कामहरु गर्न सर्भे लगायतका काम अघि बढेको आयोजनाले जनाएको छ ।

कसरी बन्दैछ सुरुङमार्ग ?

२ लेनको यो सुरुङमार्गमा १० मिटर चौडाइको भेन्टिलेसन र जेट फ्यान जडान गरिनेछ । आकस्मिक समयमा उद्धारका लागि अर्को एक लेन (४ मिटर) को सहायक सुरुङ पनि बन्नेछ । कुनै दुर्घटना भए सहायक सुरुङबाट गएर उद्धारको काम गर्न सकिनेछ । सुरुङमार्गका दुबैतर्फ सडक दस्तुर असुल गर्ने काउन्टर र सुरुङ व्यवस्थापन कार्यालय खोलिनेछ ।

यो सुरुङमार्ग बनाउन टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग गरिने छैन । बिष्फोटक पदार्थ प्रयोग गरेरै सुरुङमार्ग निर्माण गरिने आयोजना प्रमुख खरेल बताउँछन् । अष्ट्रेलियन टनेलिङ मेथडबाट यो सुरुङमार्ग बन्नेछ । यस अन्तरगत जम्बो डि्रलिङ मेसिनहरु पनि प्रयोग गरिन्छ ।

सुरुङमार्ग बनाउन ५ देखि ६ सय मेटि्रक टन विष्फोटक पदार्थ लाग्ने अनुमान छ । नेपालमा आयोजनाहरुका लागि आवश्यक विष्फोटक पदार्थ नेपाली सेनामार्फत लिनुपर्छ ।

सुरुङमार्ग र पहुँचमार्गमा करिब २२ अर्ब खर्च हुने अनुमान । सरकारले सुरुङ तथा पहुँचमार्गका काठमाडौं जिल्लातर्फका प्रभावितलाई करिब ५ अर्ब मुआब्जा बाँडिसकेको छ । धादिङतर्फको भागमा मुआब्जा बाँडेर जग्गाको लगत कट्टा गर्न लागिएको छ ।

तर, त्यसमा सरकारीस्तरबाटै असहयोग भएको आयोजनाको गुनासो छ । ‘गत असोज ५ गते नै जग्गाको लगत कट्टा गर्न धादिङको मालपोत र नापीलाई पत्र लेखेका थियौं, तर अहिलेसम्म त्यो काम भएको छैन,’ आयोजना प्रमुख खरेल भन्छन्, ‘यसैकारण त्यहाँको प्रमुख जिल्ला अधिकारीलाई नै यसबारे जानकारी दिएका छौं ।’

उनले यसबाहेक आयोजना अघि बढाउने सवालमा अरु समस्या नभएको बताए ।

यो आयोजनामा जापान सरकारको ऋण १६ अर्ब ६० करोड र नेपाल सरकारको ५ अर्ब ५३ करोड रुपैयाँ खर्च गरिँदैछ । ०.०१ प्रतिशत व्याजदरमा जापानले ४० वर्षका लागि ऋण उपलब्ध गराएको हो ।

नौबीसेदेखि थानकोटसम्मको सडकखण्ड घुमाउरो र उकालो ओरालो भएका कारण यो क्षेत्रमा ट्राफिक जाम हुने गरेको छ । यस्तो ट्राफिक जाम न्युनीकरण गर्ने उद्देश्यले सरकारले यो सुरुङ बनाउन लागेको हो ।

अहिले सडकमा सानो अवरोध आउँदा पनि नौबिसेदेखि काठमाडौ प्रवेश गर्न नाकामै घन्टौं जाममा बस्नुपर्ने बाध्यता छ । सुरुङमार्ग निर्माण भएपछि २० मिनेटमा काठमाडौं प्रवेश गर्न सकिने विभागको दाबी छ । यसले नागढुंगाको उकालोमा सवारी आएर घन्टौं लाइन बस्नुपर्ने बाध्यता हटाउने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?