Comments Add Comment

ललितपुरमा नाम मात्रैको साइकल लेनले दुर्घटनाको जोखिम बढ्यो !

सिताराम हाछेथु भन्छन्- त्यहाँ साइकल लेन बनाउनै मिल्दैन

१ पुस, काठमाडौं । ललितपुर महानगरपालिकाले बनाएको साइकल लेनले त्यहाँको सडकमा दुर्घटनाको जोखिम बढ्ने देखिएको छ । अव्यवस्थित तरिकाले साँघुरो बाटोमा महानगरले बनाएको साइकल लेनका कारण दुर्घटनाको खतरा उच्च भएको विज्ञहरु बताउँछन् ।

‘पाइलट प्रोजेक्ट’ को रुपमा ललितपुर महानगरपालिकाले साइकल लेन निर्माण सुरु गरेको थियो । महानगरका मेयर चिरिबाबु महर्जनले २ साताअघि कुपण्डोलमा साइकलेनको शुभारम्भ गरेका थिए । चालु आर्थिक वर्षका लागि ५० लाख रुपैयाँ बजेट महानगरले साइकल लेनका लागि विनियोजन गरेको छ ।

महानगरले अहिले कुपोन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मंगलबजारसम्म साइकल लेन बनाएको छ । पुल्चोकबाट सिधै मंगलबाजारसम्म पनि साइकल लेन बनाउने महानगरको योजना छ ।

नाममात्रैको साइकल लेन

महानगरले कुपण्डोलदेखि पुल्चोकसम्म एक साता अघि नै साइकल निर्माण गरिसकेको छ । यसका लागि ५ लाख रुपैयाँ खर्चिएर ३ ठाउँमा साइकल स्ट्याण्ड तयार गरिएको छ ।

महानगरपालिकाले कुपण्डोल-पुल्चोक-जावलाखेल-मंगलबजार साइकल लेन निर्माणका लागि ३ ठाउँमा साइकल स्ट्याण्ड तयार पारेको हो । महानगरका प्रवक्ता राजु महर्जनले पुल्चोकस्थित महानगरको कार्यालय परिसरसहित जाउलाखेल र मंगलबजारमा साइकल स्ट्याण्ड तयार भएको जानकारी दिए । प्रवक्ता महर्जनका अनुसार ती स्ट्याण्डमा ५० वटा साइकल अट्ने छन् । बाँकी ५० वटा अट्ने स्ट्याण्ड पनि चाँडै सकिने उनले बताए ।

स्ट्याण्ड बनाइसकेको महानगरले साइकल लेनका लागि ३२ लाखमा ठेक्का लगाइएको थियो । रमिट कन्ट्रक्सनले पाएको ३२ लाख रुपैयाँमा ठेक्का पारी काम समेत लगभग सक्नै लागिसकेको छ ।

तर यो साइकल लेन नाम मात्रैको हुनेछ । अर्थात ठूला यात्रुबाहक बस कुद्ने सडकभित्रै ‘साइकल लेन’ छुट्याइएको छ । हाल भएको सडकको १.५ मिटर चौडाइलाई साइकल लेनका रुपमा मार्किङ गरिएको हो । तर त्यहाँ अन्य सबै गाडीहरु कुद्न पाउने महानगरका मेयर महर्जन नै बताउँछन् । तर त्यस क्षेत्रमा साइकललाई प्राथमिकता दिनुपर्ने उनको कथन छ ।

१ं५ मिटर साइकल लेनलाई छुट्याउँदा सडकको झण्डै आधा भाग मात्रै बाँकी रहनेछ । अहिलेकै सडक सानो भइसकेको अवस्थामा साइकल लेनलाई छाडेर गाडी कुद्ने हो भने अत्यन्तै साँघुरो हुन्छ र जामको समस्या बढ्छ ।

अर्कोतर्फ यात्रुबाहक गाडीहरुले यात्रु चढाउने तथा ओराल्ने ठाउँमा समेत साइकल लेन छ । यात्रु बाहक बस साइकल लेनमै रोक्नु पर्ने हुन्छ । यसकारण पनि साइकल लेन नाम मात्रैको देखिएको हो ।

ट्राफिक विज्ञको आलोचना

काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनको लामो अनभुव भएका पूर्वट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथु ललितपुर महानगरको सडक क्षेत्रमा साइकल लेन बनाउनै नमिल्ने बताउँछन् । सडक नै साँघुरो भएका कारण जबरजस्ति रेखांकन गरेर साइकल लेन बनाउनुको कुनै अर्थ नरहेको उनको भनाइ छ ।

आफूले कुपण्डोल क्षेत्रमा स्थलगत अवलोकन समेत गरेको भन्दै उनले त्यहाँ भएको साइकल लेनका कारण दुर्घटनाको खतरा रहेको ‍‍औ‌ंल्याए ।
‘सडकमा साइकल यात्री, पैदलयात्रीदेखि सार्वजनिक बसमा यात्रा गर्ने सबैको सुरक्षा हुनुपर्छ । अहिले भएको लेनले कसैको सुरक्षा हुँदैन,’ उनले भने ।

मात्र रेखांकन गरेको भरमा महानगरले साइकल लेन बनाएको भन्दै हल्ला गरेको हाछेथुको टिप्पणी छ ।

‘दुई लेनको सडकमा करिब आधा त्यसरी छुट्याउँदा अन्य सवारीसाधनहरुलाई हिँड्ने ठाउँ खै ? यसले झन् दुर्घटना बढाउने देखिएको छ,’ हाछेथुले भने, ‘पैदलयात्री पनि नागरिक हो, बसमा यात्रा गर्ने यात्री पनि नागरिक हो, सुरक्षा त सबैको हुनु पर्छ ।’

उनले त्यस ठाउँमा साइकलले प्राथमिकता पाउने सम्भावना पनि एकदमै कम रहेको बताए । साइकल यात्रुहरु धेरै कम रहेकाले पनि ठूला सवारीसाधनहरुले नै त्यस क्षेत्र ओगट्ने उनको भनाइ छ ।

‘५ मिनेटमा एउटा साइकल पनि आउन गाह्रो पर्छ तर १ मिनेटमा ८० वटा अन्य सवारीसाधहरु आउछन्, अनि कसरी साइकलले प्राथमिकता पाउँछ ?’ हाछेथुले प्रश्न गरे ।

अहिले मोटसाइकल तथा अन्य सवारीसाधनहरुलाई मात्रै नभएर साइकल यात्रु स्वयम्लाई समेत साइकल लेन बनेको छ भन्ने जानकारी नभएको उनले बताए ।

‘एक त त्यो साइकल लेन नै होइन, अर्को भएकालाई प्रयोग गर्न पनि महानगरले बुझाउन सकेको छैन,’ हाछेथुले भने, ‘अहिले पनि म कुपण्डोलमै छु, एउटा साइकल बिचमा हिँडेको छ, साइकल लेन भनिएकोमा गाडीहरु निर्वाध चलिरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment