Comments Add Comment

डा. भक्तमान अपहरण प्रकरणका आरोपित योञ्जन पक्राउ

३ पुस, काठमाडौं । नौं वर्षअघि भएको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न भएको आरोप लागेका गौतम योञ्जन पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले योञ्जनलाई महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको हो।

ब्युरोका एसपी बेलबहादुर पाण्डेले योञ्जनलाई २१ माघ ०७५ मा उच्च अदालतले ९ वर्ष जेल र ५० हजार रुपैयाँ जरिवाना सजाय तोकेको बताए । उनका अनुसार योञ्जनलाई फैलसा कार्यान्वयनका लागि बिहीबारै अदालत हाजिर गराइएको छ ।

उनलाई जिल्ला अदालत, चितवनले २३ जेठ २०६९ सालमा सफाइ दिएको थियो । तर, उच्च अदालत, पाटनको हेटौंडा इजलासले जिल्लाको आदेश उल्ट्याउँदै कैद सजाय तोकेको थियो ।

अहिले त्यससम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

४ जेठ २०६७ मा भिमसेन पण्डित, रोहित पालिवाल लगायतको समूहले डा. श्रेष्ठको अपहरण गरेको थियो । अपहरणपछि काठमाडौंको विभिन्न ठाउँमा उनलाई बन्धक बनाएर राखिएको थियो । योञ्जनको बुढानिलकण्ठस्थित फार्म हाउसमा पनि श्रेष्ठलाई केही दिन राखिएको अनुसन्धानबाट खुलेको थियो ।

बन्धक बनाएको १९ दिनपछि भारत, उत्तरप्रदेशको कानपुर नजिकै अपहरणकारीलाई तीन किलो ६ सय ग्राम सुन फिरौती बुझाएपछि उनी छाडिएका थिए ।

प्रकरणका मुख्य अभियुक्त मानिएका पण्डित भने अझै फरार छन् । उनी भारतका विभिन्न शहरमा लुकेर बसेको आशंका गरिन्छ ।

अनुसन्धान अधिकृतहरु योञ्जनलाई पण्डित निकटस्थ व्यक्ति मान्छन् । अपहरणपछि योञ्जन भागेर सिक्किम पुगेका थिए ।

हालै उनी अमेरिका छिर्ने तयारीमा थिए । तर, अमेरिकी दूतवासबाटै सूचना प्राप्त भएपछि पक्राउ परेको स्रोत बताउँछ ।

रोहित र भीमसेन समूहले त्यसवेला भीओआईपी कलबाइपास प्रयोग गरेर परिवारसँग सम्पर्क गरेका थिए, जसका कारण प्रहरीले फोन कहाँबाट आयो भन्ने अत्तोपत्तो पाउन सकेको थिएन ।

यो पनि पढ्नुहोस अपहरण र फिरौती : १० वर्षे द्वन्द्वले फैलाएको अपराध

पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पालिवाललाई भने भारतको उत्तर प्रदेशस्थित कानपुरमा रहेको घरबाटै पक्राउ गरेको थियो । त्यसक्रममा फिरौती लिन आउने व्यक्ति पनि रोहित नै भएको खुलेको थियो ।

किन पक्राउ पर्दैनन् पण्डित ?

प्रहरीका विभिन्न निकायले मुख्य आरोपित पण्डितको खोजी जारी राखे पनि अहिलेसम्म पक्राउ परेका छैनन् । पालिवाल पक्राउ पर्दा उनी पनि भारतमै रहेको बताइन्थ्यो ।

पालिवाल पक्राउ पर्नुअघिसम्म उनलाई भारतीय नागरिक मानिएको थियो । तर, पछि उनी नुवाकोटमा भएको खुलेको थियो । उनको परिवारका सदस्य अझै त्यहीँ छन् ।

तर, परिवारसँग पनि सम्पर्कबाट टाढै रहेका कारण उनलाई प्रहरीले समात्न सकेको थिएन । उनी मोबाइल वा सञ्चारको अन्य साधानबाट टाढै बस्छन् । त्यसैले प्राविधिक पाटोबाट उनीसम्म पुग्ने ‘क्लू’ प्रहरीले पाउने सकेको छैन ।

त्यसो त एक वर्षअघि उनी नेपाल छिरेको प्रहरीको इन्टलिजेन्सले पत्ता लगाएको थियो । तर, ढिला गरी सूचना प्राप्त हुँदा पक्राउ गर्न असफल रह्यो ।

पण्डितको समूहले १५ भदौ ०६४ मा व्यवसायी सचिन गुप्तामाथि गोली प्रहार गरी अपहरण प्रयास गरेको थियो भने २ पुस ०६४ मा विनोद शर्माको अपहरण गरी फिरौती असुली गरेको थियो ।

२२ पुस ०६४ मा ओमकार भट्टचनलाई पनि यही समूहको निशानामा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment