Comments Add Comment

सुआरेजको १ गोल र ३ असिस्टमा बार्सिलोना विजयी

६ पुस, काठमाडौं । लुइस सुआरेजको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले स्पानिस ला लिगामा अलाभेजलाई ४–१ ले पराजित गरेको छ । पेनाल्टीबाट एक गोल गरेका सुआरेजले तीन गोलका लागि सहयोग गरेका थिए ।

सुअरेजसँगै बार्सिलोनाको जितमा एन्टोनी ग्रिजमन, अर्टुरो भिदाल र कप्तान लिओनल मेस्सीले गोल गरे ।

घरेलु मैदान क्याम्प नोउमा १४ औं मिनेटमा सुआरेजको पासमा ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यमा सुआरेजकै पासमा भिदालले गोल गर्दै अग्रता दोब्बर पारे ।

५६ औं मिनेटमा अलाभेजका पेरे पोन्सले गोल गर्दै गोलअन्तर घटाएका थिए । तर ६९ औं मिनेटमा कप्तान मेस्सीले सुआरेजको पासमा गोल गर्दै अग्रतालाई ३–१ बनाए । असिस्टमा ह्याट्रिक गरेका सुआरेजले ७५ औं मिनेटमा पेनाल्टीबाट गोल गरेपछि बार्सिलोनाले सहज जित हात पारेको हो ।

दुई दिनअघि भएको एल क्लासिकोमा रियल मड्रिडसँग गोलरहित बराबरी खेलेको बार्सिलोनाले यस जितपछि शीर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता बनाएको छ । १८ खेलबाट बार्सिलोनाको ३८ अंक हुँदा एक खेल कम खेलेको रियल ३५ अंकसहित दोस्रोमा छ ।

यस्तै मालोर्कालाई २–० ले पराजित गर्दै सेभियाले १८ खेलबाट ३४ अंक जोडेको छ र रियललाई पछ्याइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment