Comments Add Comment

हलेसीको सेरोफेरो : कस्तो छ जनजीवन ?

पूर्वी नेपालको पवित्र धार्मिक स्थल हलेसी क्षेत्र नपुग्दासम्म धेरैलाई अचम्म लाग्नसक्छ त्यहाँका स्थानीयबासीले भोग्नुपरेको पीडाको कथा । अभावले जकडिएको काठमाडौंमा पानीको अभाव मान्नेहरुले कस्तो सम्झिएलान्, हलेसीको यात्रा ? नक्सामा हेर्दा दुधकोशी र सुनकोशीको किनारमा रहेको यो नगरपालिकाले पानीको त्यति धेरै पीडा भोगेको छ भन्ने कुरा पत्याउन धेरैलाई गाह्रै पर्ला । तर, हलेसीबासीको जीवनशैलीमा कुनै ठूलो बाधा छ भने त्यो हो पानीको बाधा ।

राई संस्कृतिमा रमाइरहेकाहरुले भोगेको प्राकृतिक पीडाले त्यो क्षेत्रका मानिसहरुलाई पूर्णतया प्रभावित छन् । सिञ्चाई आवश्यक पर्ने कुनैपनि उत्पादनको सम्भावना नै भएन । कसै कसैले सुन्तलाको खेती गर्छन् । धेरै ठाउँमा तरकारीको पकेट क्षेत्र भनिएको छ । तर, यसले पानीको अभावमा तरकारीको पकेट क्षेत्रले अपेक्षित उपलब्धी हाँसिल गर्न सकेको छैन ।

पश्चिममा दुधकोशी नदी र दक्षिणमा सुनकोशी नदी बगिरहेको छ । त्यही किनाराका मानिसहरुलाई सुसाएको नदीले गिज्याइरहेको छ । केन्द्र सरकारले दूधकोसीको पानी हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर २, डिकुवाको भुम्जुडाँडा र वडा नम्बर ७, महादेवस्थानको काभ्रेडाँडामा ल्याउने भनेर सुरु गरेको खानेपानी योजनाको प्रगति करिब पाँच प्रतिशतको हाराहारीमा छ । न त यो क्षेत्रलाई प्रकृतिले उपयुक्त ठहरायो न त जनताकै सेवा गर्न गएका जनप्रतिनिधिहरुले नै । यहाँका जनताहरु त्यही पानीको संघर्षमा नै आफ्नो उमेर कटाउन बाध्य छन् ।

पवित्र स्थलमा पानीको संकट

पूर्वको पशुपतिनाथको नामले परिचित छ खोटाङको हलेसी मन्दिर । हिन्दू बौद्ध र किरातहरुको पवित्रताको संगमस्थल यो भूमिले आफैंमा हिन्दुहरुको ओमकार, बौद्धहरुको शान्तिको पाठ र किराँतहरुको किराँतेश्वरको एउटा अनुपम मेल गराउने ठाउँ हो, हलेसी । वि.स. १८६१ मा सदर भएको लालमोहरको ताम्रापत्रसँगै ऐतिहासिकताको प्रमाण बोकेको यो क्षेत्रमा पाइने विभिन्न गुफाहरु यो क्षेत्रका गहनाहरु हुन् ।

व्यवस्थापन गर्नुपर्ने प्रशासनले अवहेलना गर्‍यो, सिंगो प्रकृतिले अवहेलन गर्‍यो । तर, पनि यही पवित्र भूमिको ऐतिहासिकता सम्भिmएर वसन्तको पर्खाइमा छन् हलेसीबासीहरु । हलेसी महादेवस्थान, दुर्छिम, मंगलटार, वडहरे, च्यास्मीटार, डिकुवा, बाहुनीडाँडाका स्थानीयहरु अहिले चरम रुपमा पानीको संकटमा गुजि्रइरहेको स्थानीयहरुको गुनासो छ । अरु जनजीवन सबै सुन्दर र लोभलाग्दो छ । तर, त्यसैलाई चुनौती दिएको छ खानेपानीको अभावले ।

हलेसीको विशिष्ठता

नगरिपालिकाको पश्चिम क्षेत्रमा अवस्थित हलेसी मन्दिर सम्पूर्ण हिन्दू, वौद्ध तथा किरातहरुको पवित्र संगम स्थल हो । यस ठाउँमा दुई वटा अलौकिक गुफाहरु पाइन्छ । एउटा गुफा शिवलिङ्ग स्थलको पश्चिमतर्फ पर्दछ । यसलाई वसाहा गुफा भनिन्छ । सरदर १५० फिट लामो २० फिट चौडाई १५ फिट उचाई भएको यस गुफाको प्रवेशद्वारसंगै वसाहाको आकृति भएको पत्थर प्राकृतिक रुपले वनेको शिवलिङ्ग मानिन्छ ।

यसलाई महादेवको स्वरुपमा पूजा गरिन्छ । यो हलेसी महादेवस्थान वि.स १८४३ सालमा नै प्रीति गुठी विर्ताको रुपमा कायम भइ आएको ताम्रापत्र भेटिएकोबाट यसको पुरातात्विक महत्व प्रष्ट हुन्छ । यहाँ प्रत्येक दिन महन्तद्वारा पूजा हुनुको साथै प्रत्येक रामनवमी, बालाचतुर्दशी, तीज र शिवरात्रीमा ठूलो मेला लाग्दछ ।

दिक्तेलवाट ११ कोषको दूरीमा रहेको यस देवस्थानसँगै बौद्ध गुम्वा पनि रहेको छ जसलाई मारातिका गुम्वाको नामले चिनिन्छ । बौद्ध धर्मालम्वीहरु पनि यस देवस्थानमा दर्शन गर्न आउने गर्दछन् । हरेक बौद्ध तथा हिन्दू धर्मावलम्बीले महादेव र वुद्ध दुवैको दर्शन गरी पूजा पाठ गर्दछन् ।

अभाव टार्ने अपूर्ण प्रयास

एउटा बहुप्रतिक्षित आयोजनाको माध्यमबाट सरकारले अभाव टार्ने प्रयास पनि नगरेको भने होइन । तर, दुधकोशीको पानी तान्ने प्रयासमा ठेकेदारको ढिलासुस्तीको नगरबासी शिकार बनेका छन् । नगरपालिकाका अनुसार कूल ३० हजार मानिसहरु खानेपानीको अभावमा गुजि्रएका छन् । अहिले सरकारले महादेववेशी, भुङ्जी डाँडा र हलेसीमा डेढ लाख लिटर अट्ने ट्यांकी निर्माण हुँदै छ । तर, त्यसको सुस्त कामका कारण अझैसम्म पनि स्थानीयहरु एक ट्यांकर पानीको लागि ३५ सय देखि ५ हजार रुपैयाँसम्म तिर्न बाध्य छन् ।

दिक्तेलदेखि हलेसीसम्मको यात्रा

खोटाङ सदरमुकाम दिक्तेलबाट ११ कोषको दुरीमा यात्रा गरेपछि पुगिन्छ गुफै गुफाको गन्तब्य । यो केवल एउटा धार्मिक स्थान मात्रै होइन । एउटा कला र संस्कृतिको खुल्ला विश्वविद्यालय हो । गुफै गुफाहरुले बनेको सुन्दर प्राकृतिक सौन्दर्यले भरिएको क्षेत्र हो भने विकासको सम्भावना बोकेको मानिसहरुको बसोबास रहेको क्षेत्र हो ।

नगरपालिकाका सूचना अधिकृत समेत रहेका रविकिरण आचार्य सो क्षेत्रमा हतपती पानी नपर्ने र पानीको मुहान समेत खासै धेरै नभएको बताउँछन् । त्यसैले त्यो पवित्र धार्मिक भूमिमा पानीको चटारो चलिरहेको उनी बताउँछन् । ‘नगरपालिकाबासीहरु अरु त सबै चाहानाहरु बरु आफैं पूरा गर्थे ।’ स्थानीय श्रीकृष्ण बस्नेत बताउँछन् । ‘खानेपानीको व्यवस्था मात्रै नगरपालिकाले गरिदिए बाँकी समस्याहरुसँग आफैं जुध्न सक्थ्यौं । उता नगरपलिकाका प्रमुख इवन राई भने केन्द्र सरकारको परियोजना समयमा नबन्दा नगरबासीहरु पानीको संकटमा बाँच्नुपरेको सुनाउँछन् ।

काठमाडौंदेखि हलेसीसम्मको यात्रास्मरण

नेपालमा रहेका विभिन्न धार्मिक स्थलहरूको  नाम लिँदाहलेसी महादेवकोे नाम पनि अग्रपङ्तिमा आउँछ । सगरमाथा अञ्चलको खोटाङ्ग जिल्लामा यो मन्दिर रहेको छ । सडक सञ्जालले नछोइँदासम्म हलेसी यात्रा काठमाडौँ र यस वरपरका मानिसहरूका लागि एकादेशको कथा जस्तै थियो । तर, सडकको सुगमतासँगै अब हलेसी यात्रा सहजबनेको पाइन्छ ।

यस्तै सहजताको फाइदा उठाउँदै हाम्रो टोली हलेसी यात्राका लागि तयार भयो । धापासीबाट हाम्रो यात्रा शुरु हुँदै थियो ।एउटा स्कार्पियो भ्यान । होचो भ्यान बस्न केही गाह्रो भयो । आठ जना कोचाकोच गरेर बस्यौँ । अरनिको राजमार्गमा स्कार्पियोले गति लिन थाल्यो । बडो सकस छ पछाडि बस्न । त्यसमाथि सानो छोरालाई काखमा बोक्नुपरेको छ । अति साँगुरो हुने रहेछ । झोला राख्ने ठाउँ पनि नहुने। करिव एक घण्टामा भ्यान धुलिखेल पुग्यो । त्यसपछि वीपी राजमार्गतिर तेर्सियो । हामी काभ्रेको पात्ले खेतमा पुगेर रोकियौँ ।सामान्य खाजा खाने काम भयो ।

हामी विस्तारै ओरालिन थाल्यौँ भकुण्डेवेसीतिर । वीपी राजमार्ग निर्माण गरेताका राम्रो भए पनि हिजोआज बाटो बिगि्रसकेको रहेछ ।गाडीले उचाल्दैपछार्दै नेपालथोक पुर्‍यायो । हेर्न लायक केही छैन । दायाँबायाँ अग्लाअग्ला पहाड। रोसी खोलाको तिरैतिर बाटो दुम्जातिर लाग्यो । दायाँतर्फ खोलापारि रामेछाप । वारिपट्ट िसिन्धुली जिल्ला । केही वेरमा हामी कुशेश्वर मन्दिर छेउ दुम्जा पुग्यौँ ।

गाडीले वीपी राजमार्गमा आफ्नो गति राम्ररी लिन थाल्यो । मूलकोटबाट केही माथि पुगेपछि एक्कासि घुमाउरो सडक आयो । गाडीभित्र बस्नेहरू वाककर्ममा पनि लागे । सानो छोरो पनि त्यसमा सहभागी भयो । अव त झन भित्रको के कुरा गर्नु !

बल्लबल्ल खुर्कोट बजार आरुइपुग्यो । एउटा होटेलको अगाडि रोकियो भ्यान । हामी त्यसपछि पानीको बाल्टी ल्याएर गाडी सफा गर्‍यौँ।सफा गरेर हामीले पनि चिया पियौं । केही बेरमा गाडी चल्यो । केटो अब त फर्तिलो छ । बायाँतिर सुनकोसी नदी छ । केहीबेरमा हाम्रो भ्यान बर्दीवास जाने बाटो छाडेर पूर्वतिर लाग्यो ।

हलेसी जान खुर्कोटबाटै पूर्व लाग्नुपर्दोरहेछ उदयपुर ओखलढुङ्गातिर । त्यता लागेपछि राजमार्गमा जस्तो गाडी धेरै हुँदो रहेनछ । तामाकोशी नदी आएको छ रामेछापतिरबाट । हामी तामाकोशीको तिरैतिर पूर्व गुडिरहेका छौं । तामाकोशीको वायाँतिर रामेछापका सुख्खा डाँडाहरू छन् । राम्ररी बोटविरुवा पनि नउम्रेका । देख्दै विरसिला रातो माटाको डाँडा । मैले सम्झेँ रामेछापका हरिहर दाइलाई ।

जहिले पनि पहाड घुम्न जाने कुरा गर्‍यो भने भन्नुहुन्थ्यो -‘ के हेर्नु पहाडका रुख्खा डाँडा, के नै हुन्छ र हेर्न लायक !’ त्यस्तै नरमाइला डाँडा हुने भएत के हेर्नु त नि जस्तो लाग्यो । श्राप परेका पहाड रहेछन् जस्तो लाग्यो । हैन भने नेपालका हिमाल र पहाड हेर्न विदेशबाट समेत कति धेरै पर्यटक आउँछन् वर्षेनी । त्यस्तै पहाड भए को आउँथ्यो होरा र ! मेरो मनले त्यही भन्यो । रामेछापकै वासिन्दा हरिहर दाइले ठीकै भनेका रहेछन् जस्तो लाग्यो रामेछापका पहाड हेरेर ।

ओखलढुङ्गा र रामेछापको सिमानामा लिखु खोला रहेछ । लिखुको सिमाना काटेपछि पारि ओखलढुङ्गा । तामाकोशीको नाम पनि दुधकोशी बन्दो रहेछ । सिन्धुली सकिएपछि उदयपुरको सिमाना छोइयो राजमार्गको क्षेत्रमा ।केही बेर गुडेपछि उदयपुरको घुर्मी बजार आइपुग्यो । चिया खाने र केही बेर हेर्ने विचार थियो । तर, ड्राइभरले रोकेनन् । घुर्मीबजारमा तराईबाट गाडीहरू पनि आउँदा रहेछन् । पहिलापहिला ओखलढुङ्गासम्म बाटो नबन्दा यहीँ झरेर हिँड्दा रहेछन् ओखलढुङ्गतिरका मान्छे ।

हामी त्यहाँ नरोकिई हिँड्यौ अगाडि । घुर्मीको पुल तर्‍यौँ । ओखलढुङ्गा छोयौँ । मलाई जीवनमा धेरै पछि नेपालको नयाँ जिल्ला छुन पाएकोमा आनन्द लागिरहेको थियो ।दूधकोशी नदीको तिरैतिर हामी अगाडि बढिरहृयौँ । कतै सामान्य उकालो कतै तेर्सो बाटो रहेछ । दूधकोशी नदीको स्वरूपमा कुनै परिवर्तन देखिएन ।केही बेरमा जयराम घाट आइपुग्यो । गाडी रोकियो । सामान्य पसलहरू रहेछन् । खाजा खाइयो ।

त्यसपछि हामी दूधकोशी तरेर खोटाङ्गतिर लाग्यौँ । यो पनि मैले छुन पाएको नयाँ जिल्ला थियो । अब झन् कस्तो होला नयाँ ठाउँ भन्ने उत्सुकता मनमा रहिरहृयो । यताउता हेर्दैमा समय गयो । जतिजति माथि गयो त्यतित्यति रमाइलो ।दूधकोशी तलतल । हरिया पहाड । भर्खर पालुवा चढेका रुखहरू । त्यस्तै हरियालीको बीचबाट अगाडि बढेको बाटो । डाँडाकाँडा पनि कति अग्ला हुन् ।अचम्म लाग्दा ।

माथि जाँदै गर्दा चिसाको अनुभव हुन थाल्यो । जयरामघाटबाट हिँडेको एक घण्टामा हलेसी पुगियो । हलेसी पुग्ने बेलामा डाँडाको पाटो परिवर्तन हुँदो रहेछ ।  हामी पुगेर बजारमा रोकियौँ । बस्ने होटेलको वन्दोवस्त गरेर बाहिर आयौँ । खाजा खाएर माथि डाँडातिर घुम्न गयौँ । हलेसी महादेवको मन्दिर खोटाङ्गको हलेसी तुवाचुङ्ग नगरपालिका वार्ड नं ७ मा पर्दोरहेछ । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजारभन्दा ३७ किलोमिटर उत्तरमा हलेसी महादेवको मन्दिर अवस्थित रहेछ । हिउँदमा सुख्खा डाँडामा सिरिरी हावा चलिरहेको छ । हामी आनन्दसँग हिँडिरहेका छौँ । घाम डाँडाबाट तल्तिर जान तयार छन, रातै भएका छन् । गएको दिन सामान्य घुमेर केही कुरा सोधपुछ गरेर हामी बस्यौँ ।

रुखैरुखको थुम्कोमा रहेछ हलेसी मन्दिर । बुद्ध र हिन्दुधर्म मान्नेहरूको उत्तिकै आस्थाको केन्द्र  । त्यसमाथि किरात धर्म मान्नेहरूका लागि पनि उत्तिकै महत्वपूर्ण । काठमाडैँबाट हलेसीको दूरी २ सय २२ किलोमिटर रहेछ । हलेसी महादेवको मन्दिर गुफामा श्री ५ गीर्वाणयुद्ध वीर विक्रम शाहदेवको पालामा ताम्रपत्र दिइएको बताइन्छ ।

विसं १८६१ मा गीर्वाणले महन्त मनोहर गिरीको नाममा ताम्रपत्र लेखेर दिएपछि पूजागर्न शुरु गरिएको इतिहास छ । हलेसी गुफमा पुग्ने जो सुकैलाई पनि यो गुफाले आकर्षण गर्ने गर्छ । मन्दिरको बाहिर रहेको गणेशको पूजा गरेर मूलद्वारबाट भित्र छिरेपछि गुफा ६० मिटर तल गहिरामा छ । मन्दिर छिर्ने ठाउँहरूमा विभिन्न घण्टाहरू झुण्ड्याइएका छन् । हलेसी महादेवको छेवैमा बैद्धधर्मावलम्वीहरूको एउटा गुम्वा पनि रहेको छ ।

भोलिपल्ट विहानै दर्शनका लागि जाँदा दर्शनार्थीको ताँती लागिसकेको रहेछ । हामी पनि मिसियौँ । विस्तारै ताँती सर्दै गयो । त्यसरी जाँदा पहिल्यै पार्वती रहेको स्थान आउँछ । त्यो मूर्ति देव्रेतर्फ छ । त्यहाँ जान केही सिँढी चढेर जानुपर्छ । तर, त्यहाँ पूजा महादेवलाई गरेपछिमात्र गर्ने चलन रहेको छ । त्यहाँबाट अगाडि बढेपिछ पापद्वारको छेउ हुँदै  गणेश सुतेको कोक्रो भनिने ठाउँमा पुगिन्छ ।  गणेश सुतेको ठाउँमा एक जना बालक घोप्टो परेर सुतेको शिला रहेको छ ।

हामी पनि त्यहीँ पुग्यौँ । त्यसपछि महादेवको स्वरूपमा ठडिएको ढुङ्गामा पूजागर्न अगाडि बढ्यौँ । महादेवको स्वरूप वरिपरि कुमार, विष्णु, ब्रहृमा र गणेश रहेछन् । महादेवको स्वरूप शिला रहेको ठाउँलाई वार लगाएर घेरिएको छ  गुफाभित्र पापद्वार, पुण्यद्वार रहेका छन् ।पुण्यद्वारबाट छिर्नसके धर्मात्मा र छिर्न नसके पापी होइने विश्वास रहेछ । त्यसैले मान्छेले आफूलाई धर्मात्मा सावित गर्न जसरी पनि छिर्ने कोशिश गर्ने गरेको देखियो । त्यसकै निम्ति लामो ताँती ।

हलेसी महादेवको मन्दिरमा महन्त मनोहर गिरीका वंश उत्तराधिकारी अविवाहित केटाले पूजागर्ने चलन रहेछ । हालका पुजारीमा नौ वर्षीय सुशील गिरी र आठ वर्षीय सुदिन गिरी छन् ।

हलेसी गुफा भएको डाँडोलाई दाहिना पारेर तल घुम्दा अर्को रमाइलो ठाउँ आउँछ । सिँढी लगाएर राम्रो पारिएको ठाउँ छ । तल वसाह गुफ। यस गुफालाई यहाँ भएका गुफामध्ये सबैभन्दा ठूलो मानिँदोरहेछ ।

वसाह गुफाको प्रवेशद्वार गोलो आकारको छ । गुफाभित्र प्रवेश गरेपछि फराकिलो हुँदै गएको छ । गुफाको अन्तिम भागमा पुगेपछि माथितिर हेर्दा एउटा ठूलो भ्वाङ देखिन्छ आकाशतिर । त्यहाँबाट जङ्गलका केही रुख र खाली आकाश देखिन्छ । गुफाको भित्तामा विभिन्न थरी आकारका शिलाहरू छन् । तिनै आकारलाई बौद्ध धर्मावलम्वी र हिन्दुधर्मावलम्वीले विभिन्न देवदेवीको रूपमा पुजा गर्नेे गरेको पाइन्छ । बौद्ध धर्मावलम्वीहरूले वसाह गुफालाई डाकिनी देवीको सभागृह र त्यसमा पद्य्मसंभव शरीरको आकृति रहेको विश्वास गर्दछन् ।वसाह गुफामा छिर्ने वित्तिकै देब्रे भित्तामा एउटा प्वाल छ । त्यसलाई ‘गौरीशफ्’ भन्ने चलन छ ।

जमिनबाट साढे चार फिट जति उचाइमा रहेको यसलाई आगन्तुक तीर्थयात्रीले मुख जोडेर बजाउने गर्दछन् । त्यसरी फुक्दा भित्रैसम्म शफ्को आवाज राम्ररी सुनिने रहेछ । त्यसबाट भित्र केही उकालो उकालो जाँदा गुफमा गाईका थुन आकृतिका शिलाहरू देखिन्छन् । तिनै शिलाहरूकाट पानी झरिरहेको हुन्छ । त्यसरी आएको पानीलाई तीर्थालुहरू कामधेनु गाईको दूध मानेर शिरमा छर्कने, आचमन गर्ने गर्दछन् । त्यसरी त्यहाँको जल सेवन गरे पाप नष्ट हुने , मनोकाङ्क्षा पूरा हुने , रोग हरण हुने विश्वास त्यहाँ रहेको छ ।

त्यस्तो ठूलो पर्वको दिन पुग्दा पनि हलेसी महादेवको माथि राखिएको जलहरिबाट पानीका धारा शिवलिङ्गमा पारिएको देख्न पाइएन । जलहरि रित्तो थियो । पूजा सामाग्री लिंदा र प्रसाद दिंदा व्यवस्थित तवरले दिएको पाइएन ।

यसवाहेक बौद्धधर्मावलम्वीले यहाँ ल्होसारका दिन विशेष पूजाहुँदोरहेछ । उनीहरूले त्यस दिन नृत्य पनि प्रस्तुत गर्ने चलन रहेछ । त्यसैगरी किरातीहरूले हलेसीलाई सुम्निमा र पारुहाङका रूपमा पूजागर्ने चलन पनि रहेछ ।

हलेसी महादेव मन्दिरका वरिपरि बसाहाथान गुफा, भैरवथान गुफा,मञ्जुश्री गुफा रहेका छन् ।यो मन्दिर हिन्दुधर्मावलम्वीका लागि भगवान् शिव, बौद्धमार्गीका लागि गुरु पद्मसंभव र किरातीहरूका लागि किराँत पुर्खा रैछाकुलेसँग सम्वन्धित रहेछ । गुफाभित्रका मूर्तिलाई धर्मअनुसार फरकफरक रूपमा पुजिने गरेको पाइन्छ । हिन्दुले पार्वती मानेका लाई बौद्धमार्गीहरू आयुकलश मान्दारहेछन् । गुफमा बत्ती बाल्छन् । ध्यान गर्छन् ।

हलेसीको गुफा किरात पुर्खा रैछाकुलेले पत्ता लगाएको विश्वास गरिन्छ । त्यसैले किरातीहरूले हलेसीलाई पितृको रूपमा पनि मान्ने गरेका रहेछन् । गुफाको छेउमा रहेका गुम्वाको नाम क्षिमेत ताक्तेन क्षोलिङ गुम्वा रहेछ । अर्का तर्फ  गणेशको मन्दिर छ । गुम्वाभित्र शाक्यमुनि गौतमबुद्ध र अवलोकितेश्वर र पद्यमसंभवका मूर्ति रहेका छन् ।उत्तरतर्फ मञ्जुश्री पर्वत छ । सवै डाँडाहरू बैद्धमार्गीले टाँगेका लुङ्दारले रङ्गीन छन् । ज्यादै सुन्दर छ । स्थानीय मानिसका अनुसार हलेसी गुफमा बुद्धपूणिर्मा, लोसार, शिवरात्री, रामनवमी, तीज, बालाचतुदर्शी । मङ्सिर र बैशाख पूर्णिमा  ( उभौली र उधौली)मा विशेष मेला लाग्ने गर्दछ । यी बाहेक अरू दिन सामान्य रूपमा पूजाआजा रदर्शन गर्नेहरू भेटिन्छन् । यस्ता दर्शनार्थी सधैँ आइरहन्छन् ।

डाँडामा भएका कारण खाने पानीको राम्रो सुविधा छैन । मन्दिरमा आउने भक्तहरूले स्नान गर्ने सुविधा चाहे जसरी पाउँदैनन् । जुन होटलमा बस्यो त्यो होटलले पानीको समस्या हेरेर नुहाउन अनुरोध गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment