Comments Add Comment

बरण्डामै बित्यो कामु उपकुलपतिको तीन महिने कार्यकाल

विद्यार्थीको बार्गेनिङले तालाबन्दी खुलेन

८ पुस, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका निमित्त उपकुलपतिको कार्यकाल कार्यकक्षमा प्रवेश गर्न नपाई सकिएको छ । निमित्त कुलपतिको नियुक्ति लिएर आएका प्रा.डा. बिजुकुमार थपलियाको तीन महिने कार्यकाल कार्यकक्षमा प्रवेश गर्न नपाई सकिएको हो ।

विश्वविद्यालयका कुलपति घनश्यामलाल दासको कार्यकाल सकिएपछि शिक्षा मन्त्रालयले गत भदौ ५ गते थपलियालाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिएको थियो । मंसिर ५ गते उनको कार्यकाल सकिएको छ । कार्यकाल सकिएपछि मन्त्रालयले व्यवस्थापन संकायका डिनसमेत रहेका थपलियालाई नै अर्काे व्यवस्था नभएसम्मका लागि पुनः सोही जिम्मेवारी दिएको छ । तर विद्यार्थी संगठनले पाँच महिनाअघि गरेको तालाबन्दीका कारण उनले कार्यकक्षमा प्रवेश गर्न पाएका छैनन् ।

तालाबन्दीका कारण उनी कार्यकक्ष अगाडिको बरण्डाबाट काम गरिरहेका छन् ।

उपकुलपति कार्यकक्षमा तीनवटा ताला झुण्डिएका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियू र अखिल क्रान्तिकारीसहित विद्यार्थी संगठनले संयुक्त दुईवटा ताला लगाएका छन् । एउटा ताला भने विश्वविद्यालय आफैंले सुरक्षाका लागि लगाएको हो ।

कार्यकक्ष बाहिरै बसेर थपलियाले विश्वविद्यालयको दीक्षान्त समारोह सफल बनाएका छन् । तीन वर्षसम्म रोकिएको दीक्षान्त समारोह गत मंसिर २७ गते भएको थियो । ‘तालाबन्दीले गर्दा काम गर्न गाह्रो भयो,’ उनी भन्छन् ‘वार्ता गर्ने धेरै प्रयास पनि गर्‍यौं ।’

‘पूर्ण कार्यकालका लागि आउने उपकुलपतिलाई अफ्ठयारो नपरोस् भनेर बोल्ड डिसिजन गरिनँ,’ उनले भने, ‘आउने उपकुलपतिलाई मेरो कारणले कुनै अफ्ठयारो नपरोस् ।’

आफूले पूर्ण कार्यकालको जिम्मेवारी पाएको भएको भए विद्यार्थी संगठनहरुसँग वार्ताको विषयमा रिक्स लिएर निर्णय गर्ने उनी बताउँछन् । ‘ठूला काम गर्दा सबैको सहयोग रहयो,’ उनी भन्छन्, ‘विश्वविद्यालयको हितका लागि भन्दै असन्तुष्टलाई बुझाउँदै काम गर्‍यौं ।’

पूर्णरुपमा उपकुलपतिको नियुक्ति नभएसम्म समस्या समाधान नहुने उनको भनाइ छ ।

एक मत छैनन् विद्यार्थी

विद्यार्थी संगठनहरुले उपकुलपति प्रा.डा. घनश्यामलाल दासको कार्यकालकै बेला गत साउन अन्तिम साता तालाबन्दी गरेका थिए ।

छुट्टाछुट्टै तालाबन्दी भएका कारण सहमतिमा एकैपटक ताला खोल्ने प्रयास गरिएको थियो । तर नेबिसंघले नमानेको अखिल क्रान्तिकारी मोरङ संयोजक ताजिम अन्सारी बताउँछन् । ‘दीक्षान्त समारोहका बेला हामीले ताला खोलौं भनेका थियौं,’ अन्सारी भन्छन्, ‘नेबिसंघका साथीहरुले हुँदैन भने ।’

नेविसंघले छुट्टै तालाबन्दी गरेको थियो । सत्तापक्षका विद्यार्थी संगठन ताला नखुल्नुको दोष नेबिसंघलाई दिइरहेका छन् । नेपाल विद्यार्थी संघका नेता कृष्ण कार्की भने पूर्वाञ्चल विश्वविद्यालयमा पनि दुई तिहाई सरकारको दम्भ देखिएको बताउँछन् ।

तालाबन्दी गरेको लामो समय भए पनि माग सम्बोधन गर्न विश्वविद्यालयले चासो नदिएको उनको आरोप छ । ‘विश्वविद्यालय आफ्नो क्यालेन्डर अनुसार चल्नु पर्याे, विगतमा नेविसंघसँग भएको सहमति कार्यान्यन हुनुप¥यो’, उनी भन्छन्, ‘तर हाम्रो माग सम्बोधन भएको छैन ।’

यता नेकपा निकट अनेरास्ववियूका केन्द्रीय सदस्य भाष्कर खनाल संगठनको तालाबन्दी नभएको बताउँछन् । आफ्ना माग सम्बोधन गर्ने विषयमा विश्वविद्यालय तयार रहेका कारण तालाबन्दी फिर्ता लिएको बताए । ‘हाम्रो माग सम्बोधन भएको छ,’ उनले भने, ‘नेविसंघको पनि तालाबन्दी भएका कारण प्रशासनलाई चाबी जिम्मा दिएका छौं ।’

विवादको चुरो होटलको अन्तर्वार्ता

गत साउन अन्तिम साता पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगले प्राध्यापक नियुक्तिका लागि होटलमा अन्तर्वार्ता लिएपछि विद्यार्थी संगठनहरु आन्दोलित भएका हुन् ।

तत्कालीन सेवा आयोगका अध्यक्ष बद्रीनाथ श्रेष्ठले कार्यकाल सकिन तीन दिन बाँकी रहेको अवस्थामा काठमाडौंको एक होटलमा प्राध्यापक र सहप्राध्यापकको अन्तर्वार्ता भएको थियो ।

विभिन्न पदमा विज्ञापन भए पनि प्रध्यापकका उम्मेदवार प्रा.डा. जीवनकुमार ढकाल र सहप्राध्यापक शैलेन्द्र शिवाकोटीको मात्र अन्तर्वार्ता लिएर फाइल पठाएपछि सत्ता पक्षका विद्यार्थी संगठनले नियुक्ति दिन नमिल्ने बताउँदै तालाबन्दी गरेका हुन् । नेपाल विद्यार्थी संघले प्राध्यापक र सहप्राध्यापकलाई नियुक्ति दिनुपर्ने माग गर्दै तालाबन्दी गरेको हो ।

पछिल्लो समय भने दुवै विद्यार्थी संगठनले तालाबन्दीलाई वार्गेनिङको विषय बनाएका छन् । तालाबन्दी गर्ने विद्यार्थी संगठनसँग वार्ता गरेका उपकुलपति थपलिया पनि बार्गेनिङको मात्र विषय बनाएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment