Comments Add Comment

भूकम्पले क्षति पुगेका गुम्बा बनाउन ६ अर्ब लाग्ने, पाँच श्रेणीमा राखेर काम

प्राधिकरणले स्थानीय तहसँग साझेदारी गर्ने

फाइल तस्वीर ।

९ पुस, काठमाडौं । भूकम्पले भत्काएका गुम्बाहरु राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र स्थानीय तहको साझेदारीमा पुनर्निर्माण हुने भएका छन् । भूकम्पमा क्षति पुगेका १२ सय २७ गुम्बाको पुनर्निर्माण तथा मर्मतका लागि ६ अर्ब लाग्ने अनुमान छ ।

क्षति पुगेकामध्ये ८ सय ९५ वटा गुम्बाहरुको जगैदेखि पुनर्निर्माण गर्नुपर्ने देखिएको प्राधिकरण स्रोतले बतायो । यी गुम्बामध्ये २ सय ६५ वटा त १ सय वर्षभन्दा पुराना छन् । बाँकी गुम्बाहरु सामान्य मर्मत सम्भार गरे पुग्छ ।

नयाँ कार्यविधिअनुसार स्थानीय तह र स्थानीय गुम्बा विकास समितिले कम्तिमा ५० प्रतिशत लागत व्यहोर्नुपर्ने छ । बाँकी रकम केन्द्र सरकारले व्यहोर्ने पुनर्निर्माण प्राधिकरणअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइका परियोजना निर्देशक गणेशराज वस्तीले जानकारी दिए ।

केन्द्र सरकारले गुम्बा पुनर्निर्माणका लागि झण्डै ५८ करोड रुपैयाँ बजेट छुट्याएको छ

गम्भिर क्षति पुगेकामध्ये २ सय ६५ वटा क्षेत्रफलको हिसाबले २ हजार वर्गफिटभन्दा बढी र एक सय वर्षभन्दा पुराना भएकाले तिनीहरुको पुनर्निर्माण गर्दा लागत अत्यधिक लाग्छ । यी गुम्बाहरु प्राधिकरण आफैंले पुनर्निर्माण गर्ने भएको छ । यसका लागि भने केन्द्रबाट नै टेन्डर गर्ने तयारी भइरहेको छ ।

कार्यविधिमा केही संशोधन गर्नुपर्ने देखिएकाले गुम्बा पुनर्निर्माणको कामले गति लिन सकेको थिएन । यसअघि बनाइएको कार्यविधिमा स्थानीय तहमा पैसा पठाउने उल्लेख थियो । तर, नयाँ कार्यविधिमा जिल्लास्तरीय आयोजना कार्यान्वयन इकाइमा पैसा पठाउने उल्लेख छ । गुम्बा पुनर्निर्माणको लागि प्राधिकरणले दिने ५० प्रतिशत रकम केन्द्रीय आयोजना कार्यान्वयन इकाइले कामको मूल्यांकनअनुसार दिने गरी संशोधन भएको हो ।

किन भयो ढिलाइ ?

भूकम्पपछिको पुनर्निर्माणमा निनी आवासले प्राथमिकता पाउने भएकाले गुम्बाको पुनर्निर्माणमा ढिलाइ भएको प्राधिकरण बताउँछ ।

‘सबैको ध्यान निजी आवासतिर गएको र गुम्बा पुनर्निर्माणको लागत अत्यधिक भएकाले यसलाई प्राथमिकतामा राख्न सकिएन,’ प्राधिकरण स्रोतले भन्यो ।

गुम्बाको क्षतिसम्वन्धी प्रतिवेदन बनाउन पनि धेरै समय लागेको थियो । परियोजना निर्देशक वस्तीका अनुसार गुम्बा पुनर्निर्माणको लागि अनुमानित लागत अत्यधिक देखाइएपछि प्राधिकरणले सर्वेक्षणको लागि कर्मचारी खटाएको थियो । पहिले ९ अर्ब लागत अनुमान गरिएकामा सर्भेक्षणपछि ६ अर्बमा झारिएको हो । केन्द्र सरकारले गुम्बा पुनर्निर्माणका लागि झण्डै ५८ करोड रुपैयाँ बजेट छुट्याएको छ । पुनर्निर्माणमा लाग्ने बाँकी रकम भने विभिन्न स्रोतबाट जुटाउने योजना छ ।

५ श्रेणीमा वर्गीकरण

क्षतिग्रस्त गुम्बालाई ५ वटा श्रेणीमा वर्गीकरण गरिएको छ । पहिलो नम्बरमा सामान्य मर्मत गरेर हुनेलाई राखिएको छ । अलि धेरै मर्मत सम्भार गर्नुपर्नेलाई २ र ३ नम्बरमा राखिएको छ । ४ र ५ माचाहिँ जगैदेखि पुनर्निर्माण गर्नुपर्ने गुम्बाहरु छन् । यसरी वर्गीकरण गरी मोटामोटी ६ अर्ब लाग्ने अनुमान गरिएको छ ।

मन्त्रालयबाट पनि यो अनुमान सदर भइसकेको छ । अब गुम्बाहरुको पुरातात्विक र धार्मिक विशेषता कायम रहने गरी डिजाइन गर्नुपर्ने हुन्छ । एक सय वर्षभन्दा पुराना गुम्बाहरुको पुनर्निर्माण प्राचीन स्मारक ऐन २०१३ अनुसार गर्नुपर्ने छ ।

वस्तीले सकेसम्म छिटो काम अघि बढाउन खोजिएको भए पनि प्रकृयालाई मिचेर जान नमिल्ने बताए । उनका अनुसार अघिल्लो वर्ष २ अर्ब २५ करोड रकम निकासा भएको थियो । तर प्रकृया नपुगेकाले काम अगाडि बढ्न सकेन ।

रीतिरिवाजमा समस्या

बौद्ध धर्मावलम्बीहरुको विवाह, व्रतवन्ध लगायतका पुनित कार्यहरु गुम्बामा आयोजना गरिन्छ । पुनर्निर्माणमा ढिलाइ हुँदा यो समुदायलाई समस्या आफ्नो रितिरिवाजमा समस्या परिरहेको सिन्धुपाल्चोकका स्थानीय मिङमार लामा बताउँछन् ।

लामाले भने, ‘हामी तामाङ समुदायको मर्दापर्दा हरेक काम गुम्बामा नै हुन्छ । भूकम्पपछि विवाह–व्रतवन्धलगायतका कामहरु गोठमा वा टहरो बनाएर गर्दै आइरहेका छौ ।’

२०७२ को भूकम्पले २५ जिल्लाका गुम्बाहरुमा क्षति पुर्‍याएकोमा सबैभन्दा बढी सिन्धुपाल्चोकका गुम्बाहरु छन् । केही जिल्लामा स्थानीय तह र समुदायबाट खर्च जुटाएर गुम्बा पुनर्निर्माण भइरहेका छन् । प्राधिकरणबाट रकम नपाएपछि गाउँले आफैंले बनाउनुपर्ने बाध्यता परेको सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका प्रवक्ता छिरिङ लामाले बताए ।

उनले भने, ‘यहाँ हजारौं वर्षदेखिका गुम्बाहरु छन् । ती समयमै मर्मत–सम्भार गरिएन भने ऐतिहासिक महत्व पनि मर्दै जान्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment