Comments Add Comment

एक सातादेखि मृगौला प्रत्यारोपण ठप्प, बिरामीको विचल्ली

१० पुस, काठमाडौं । झापाको बुधबारे ४ की मनिषा मगर मृगौला प्रत्यारोपणका लागि डेढ महिनाअघि बाबुसँग काठमाडौं आइन् । सबै परीक्षण सकेर उनीहरु प्रत्यारोपणको पर्खाइमा रहँदा मृगौला तस्करीको आरोपमा पुल्चोकस्थित निदान अस्पतालका चिकित्सकहरुसहित केही पक्राउ परे ।

यसले मृर्गौला प्रत्यारोपण ठप्प भयो । वैदेशिक रोजगारीका लागि दुवईमा रहेका मनिषाका बाबु दुवै मृगौला फेल भएकी छोरीलाई बचाउनकै लागि नेपाल आएका थिए । आफ्नै मृगौला दिएर छोरीलाई ठिक पार्न आतुर छन् उनी ।

तर, अस्पतालमा प्रत्यारोपण सुचारु नहुँदा उनको खर्च बढिरहेको छ भने मनिषाको शारीरिक कष्ट लम्बिएको छ । भक्तपुर स्थित मानव अंग प्रत्यारोपण केन्द्रमा भेटिएकी मनिषा भन्छिन्, ‘पछिल्लो ५ महिनादेखि हरेक हप्ताको दुई पटक डायलासिस गराइरहेको छु । छिट्टै मृगौला प्रत्यारोपण गरौं भनेर बुबालाई पनि बोलाएँ, तर अहिले मृगौला प्रत्यारोपण गर्ने काम रोकिएको छ ।’

प्रत्यारोपणका लागि तयारी अवस्थामा रहन चिकित्सकहरुले सुझाव दिएपछि मनिषा र उनका बुबा भक्तपुरमै एउटा फ्ल्याट लिएर बसिरहेका छन् । नियमित डायलासिस गर्नुपर्ने भएकाले उनलाई खाना नरुच्ने लगायत थुप्रै समस्याले सताइरहेको छ ।

पाँच वर्षदेखि मृगौलाको समस्या झेलिरहेकी तारा श्रेष्ठको अवस्था पनि उस्तै छ । डायलासिस गरेर जीवन लम्ब्याउँदै आएकी उनले बल्लबल्ल प्रत्यारोपणका लागि मृगौला पाइन् । तर, प्रत्यारोपण गर्ने बेला अस्पतालमा पालो पाइनन् ।

बुधबार अस्पतालमै पुगेर निमित्त कार्यकारी निर्देशक डा. कल्पना श्रेष्ठसँग उनले आफ्नो गुनासो पोखिन् ।

तर श्रेष्ठ भन्छिन् ‘३७ जना उहाँभन्दा अघि नाम टिपाएका छन् । लिगल कमिटी नभएका कारण प्रत्यारोपण गर्न सकिएको छैन । उहाँहरुको पनि आफ्नै पीडा छ । तर हामीले पनि यो समस्या नसुल्झिएसम्म केही गर्न सक्ने अवस्था छैन ।’

उनले केन्द्रमा मात्रै नभएर देशभरका अरु अस्पतालहरुमा पनि मृगौला प्रत्यारोपण हुन नसकेको बताइन् । मनिषा र तारा जस्तै अहिले तीन दर्जनभन्दा बढी मृगौलाका बिरामीहरु केन्द्रमा प्रत्यारोपणको मिति कुरेर बसिरहेका छन् । केन्द्रमा पछिल्लो एक सातादेखि मृगौला प्रत्यारोपणको काम ठप्प छ ।

निदान अस्पतालमा नक्कली व्यक्ति खडा गरेर मृगौला प्रत्यारोपण गराइएको आरोपमा ५ जना पक्राउ परेका थिए । सोही घटनामा अस्पतालका कानून अधिकृत पनि प्रहरीको हिरासतमा पुगे । त्योसँगै लिगल कमिटीको मुख्य पद नै खाली भयो ।

आफूहरुको सुरक्षा नभएको भन्दै समितिमा रहेका चिकित्सकहरुले पनि राजीनामा दिए । अरु चिकित्सकहरु समितिमा बस्न मानेनन् । जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, अस्पतालका प्रशासन प्रमुख, कानून अधिकृत र कार्यकारी निर्देशकले तोकेका एक जना चिकित्सक सो समितिमा रहने प्रावधान छ ।

लिगल कमिटी भंग भइसकेपछि पनि पहिले पारित भइसकेको ४ जनाको मृगौला प्रत्यारोपण गरेको थियो । त्यसपछि कसैको प्रत्यारोपण हुन सकेको छैन । यसअघि सामान्यतया अस्पतालले हप्तामा तीन दिन मृगौला प्रत्यारोपण गर्ने अस्पतालका प्रशासन विभागका अनिश श्रेष्ठले जानकारी दिए ।

अस्पताल प्रशासनका अनुसार अहिले मृगौला प्रत्यारोपणको पखाईमा रहेका ३७ जना बिरामीमध्ये अधिकांश उपत्यका बाहिरका छन् । बिभिन्न जिल्लाबाट काठमाडौंमा बसोबास गरिरहेका बिरामीहरु पैसाको समस्या सुनाउँछन् । अस्पतालकी निमित्त कार्यकारी निर्देशक डा. श्रेष्ठले यो प्रक्रिया समयमा नै नसुल्झाउने हो भने यसले बिरामीको स्वास्थ्यमा थप समस्या ल्याउने चिन्ता व्यक्त गरिन् ।

यस्तो छ प्रक्रिया

मृगौला प्रत्यारोपण गर्नको लागि सबैभन्दा पहिले मृगौला दिने र लिने दुबैले अस्पतालमा निवेदन दिनुपर्छ ।

दाताको मृगौला रोगीको शरीरमा मेल खान्छ कि खाँदैन चिकित्सकहरुले परीक्षण गर्छन् । सो परीक्षणबाट सकारात्मक नतिजा आएमा फाइल लिगल कमिटीमा जान्छ । लिगल कमिटीमा कानूनले तोकेको नाता सम्बन्ध भए–नभएको, दिने र लिनेले राम्रोसँग बुझेर लिए नलिएको निश्चित गरेपछि मात्रै प्रत्यारोपणको प्रक्रिया सुरु हुन्छ ।

तर अहिले लिगल कमिटी खारेज भएपछि प्रत्यारोपण अघि बढ्न नसकेको अस्पतालले जनाएको छ । चिकित्सकहरुले आफ्नो पेशागत सुरक्षाको ग्यारेन्टी नभएसम्मसमितिमा नबस्ने अडान लिएका छन् । यस विषयमा स्वास्थ्य र गृहमन्त्रालयमा पटक पटक छलफल भइरहेको छ, तर निष्कर्ष निस्कन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment