Comments Add Comment

सेना र खेलकुद छाडेर ‘गोर्खा ट्वीड्स’

१३ पुस, काठमाडौं । सरकारी जागिरमा मरिहत्ते गर्नेहरुको संख्या अहिले पनि ठूलो छ । केही वर्ष अघिसम्म त जागिर भनेकै सरकारी हो भन्ने बुझाइ थियो ।

तर, कर्णालीमा जन्मिएका दीपबहादुर शाहीले खाइरहेको सरकारी जागिर छोडिदिए । किनकि, उनी अरुभन्दा फरक सोच्थे । सरकारी जागिर छोडेर आफ्नै व्यवसाय सुरु गरेका शाहीले कालान्तरमा आफ्ना उत्पादन युरोप-अमेरिकासम्म पुर्‍याउन सफल भएका छन् ।

खेलाडीका रुपमा नेपाली सेनामा प्रवेश गरेका उनी राष्ट्रिय टिममा परेर पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउँदैन्थे । सेनाभित्र खेलाडी छनोटमा पनि ‘नातावाद-कृपावाद’ व्याप्त रहेको उनको अनुभव छ । ऐथ्लेटिक्सको राष्ट्रिय टोलीमा रहेका शाहीले दोस्रो र तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिएका थिए । अन्तर्राष्ट्रिय खेलका लागि विदेश जाने खेलाडीको सूचीमा पनि उनको नाम थियो ।

तर, अन्तिममा आएर उनको ठाउँमा अर्कै खेलाडी विदेश उड्यो । त्यसपछि भने उनलाई झोक चल्यो । त्यही झोकमा जागिरे जीवन अन्त्य गरे । त्यसपछि गलैचा व्यवसायमा हात हाले । उनैले स्थापना गरेको ब्रान्ड ‘गोर्खा ट्वीड्स’ अहिले चर्चामा छ ।

अवसरको खोजीमा काठमाडौं

शाही साविक कर्णाली प्रदेशको दैलेखमा जन्मिएका हुन् । कृषक परिवारमा जन्मेका उनको बाल्यकाल सामान्यरुपमै बित्यो । युवावयमा प्रवेश गरेपछि चाहिँ उनमा केही गरौं भन्ने हुटहुटी बढ्न थाल्यो । त्यसपछि उनी अवसरको खोजीका लागि भनेर नाइट बस चढेर काठमाडौं आए ।

‘बुवा सामान्य किसान, जेनतेन परिवार चलेकै थियो’ उनी भन्छन्, ‘तर गाउँमा बसेर केही हुन्छ भन्ने लागेन, त्यसपछि २०३३ सालमा काठमाडौं आएँ ।’

उनीजस्तै अवसरको खोजीका लागि काठमाडौं आउनेहरु त धेरै हुन्छन् । उनीहरुले थोरैले मात्रै सोचेजस्तो अवर पाउँछन् । हातमा विशेष सीप नभएकाहरुलाई त कठिन नै हुन्छ काठमाडौंमा टिक्न ।

तर, कसैको त भाग्य पनि कस्तो ? शाहीले काठमाडौंमा धेरै भौतिरिनु परेन । काठमाडौ आएको एक वर्षभित्रै उनी सरकारी जागिरे भए । कसरी त ?

२०३३ सालको अन्त्यतिर उनी एथ्लेटिक्स खेलाडीका रुपमा तत्कालीन शाही नेपाली सेनामा भर्ति भएका हुन् । उनलाई शाही सेनाले खेलको प्रशिक्षण दियो । सेवा प्रवेश गरेको २ वर्षमा उनी राष्ट्रिय टिममा पर्न सफल भए ।

‘दुई वर्ष प्रशिक्षणमा राम्रै मिहिनेत गरेँ, त्यसपछि भने म नेपालको राष्ट्रिय टिममा पर्न सफल भएँ’ उनी सम्झन्छन्, ‘त्यसै वर्ष हो म पहिलो पटक क्लोज क्याम्प पसेको र दशरथ रंगाशाखमा खेलेको ।’

तत्कालीन राजा वीरेन्द्रले उद्घाटन गरेको पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता र विरगञ्जमा भएको तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत उनी सहभागी भए । त्यसपछि उनी खेलाडीका रुपमा नेपाली सेनामा भर्ती भए ।

नातावाद-कृपावादले पीडित

दोस्रो र तेस्रो राष्ट्रिय खेलुकदमा सहभागी भइसकेका शाही अन्तर्राष्ट्रिय खेलका लागि समेत छनोटमा परेका थिए । नवाैं एशियाली खेलकुद प्रतियोगिता दिल्लीमा आयोजना हुँदै थियो । त्यसमा शाही एथलेटिक्सका लागि नेपालबाट छानिएका थिए ।

पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा खेलमा भाग लिन पाउँदा उनी दंग थिए । तर अपसोच, अन्त्यमा आएर उनको नाम काटियो ।

‘खेलमा पनि नाताबाद चल्ने रहेछ, राखेपकै दोष त होइन, त्यहाँका केहि मान्छेहरु त्यस्ता हुने रहेछन्, म त अचम्ममा परेँ,’ उनी सम्झन्छन् ।

आफ्नो नाम काटिएर अर्कै खेलाडी दिल्ली पुगेपछि त्यही झोकमा उनले राजीनामा ठोकिदिए । ‘खेलाडी छनोटको सम्पूर्ण अधिकार राखेपलाई हुन्छ, सेनाले त मलाई धेरै कुरा सिकाएको थियो, त्यहिँ पनि मलाई जागिर खाइरहन मन लागेन’ उनले भने ।

शाहीले दिएको राजिनामा तत्कालीन शाही नेपाली सेनाले स्वीकृत गरेन । तर, पनि उनी ब्यारेक फर्किएनन् । राजीनामा स्वीकृत नहुँदा ३ वर्षसम्म तलव आइरहेको शाही सुनाउँछन् ।

‘३ वर्षपछि राजीनामा स्वीकृत भयो, अनि तलव आउन रोकियो,’ उनले हाँस्दै भने ।

त्यसबेला देशमा जनआन्दोलनको माहोल सुरु भइसकेको थियो । उनी २०४६ सालमा भएको जनआन्दोलनमा समेत सहभागी भए ।

व्यवसायिक यात्रा

राजीनामा दिँदै गर्दा उनले सोचेका थिए, अब जागिर होइन व्यवसाय गर्छु । व्यवसाय आफ्नै भएपछि न नाताबाद न कृपाबाट ।

उनले गाउँको भेडाको रौ बेच्दा राम्रै फाइदा हुन्छ भन्ने सुनेका थिए । ‘मेरो गाउँमा धेरै भेडा पालिन्थ्यो,’ उनी भन्छन्, ‘मलाई गाउँबाट भेडाको राैं ल्याएर काठमाडौंमा बिक्री गरे पैसा कमाइन्छ भन्ने लाग्यो ।’

नभन्दै उनले भेडाको ऊन काठमाडौं ल्याएर बेच्न थाले । कहिले आफैं गए, कहिले अरुलाई पठाउन लगाए । त्यसलाई उनले आफैं प्रशोधन गर्ने योजना बनाए । ४ वटा मेसिन किनेर उनले भेडाको रौंलाई प्रशोधन गरेर ऊन बनाए । भेडाको ऊनलाई धागो बनाएर गलैंचा उद्योगहरुमा बेच्न थाले ।

करिब ५ वर्ष धागो सप्लायरका रुपमा काम गरेपछि उनलाई गलैंचा उद्योग नै सञ्चालन गर्ने रहर जाग्यो । उनले काठमाडौंमा सानै लगानीमा गलैंचा उद्योग सुरु गरे ।

सुरुमा गलैंचाबाट सोचेभन्दा राम्रो भएको उनी सुनाउँछन् । अमेरिकामा राम्रो निर्यात हुने गरेको थियो उनको गलैंचा । तर, त्यो क्रम लामो समय टिकेन । व्यापार खस्कँदै गयो । तुलनात्मक हिसाबले ब्यापार खस्किए पनि उनले उद्योगबाट हात झिक्न भने सकेनन् ।

यसरी जन्मियो गोरखा टि्वड्स

गलैंचा व्यापार निरन्तर ओरालो लाग्दै गए पनि उनले जेनतेन सञ्चालन भने गरिरहे । ‘अहिलेसम्म पनि चलाएकै छु, पहिलेको तुलनामा त व्यापार नै हुँदैन भने पनि हुन्छ’ उनी भन्छन्, ‘केही अमेरिकी पुराना ग्राहकहरु छन्, उनीहरुले कहिलेकाहीँ माग गर्छन् ।’

तर, गलैंचा व्यवसायमा धेरै टिक्न सकिँदैन भन्ने उनले सोचिसकेका थिए । युरोप, अमेरिका लगायतका देशहरुमा उनी त्यसबेला गलैंचा निर्यात गर्थे । निकै महंगा गलैंचा बनाएर विदेश निर्यात गरेका उनको विदेशका व्यापारीहरुसँग पुरानो सम्बन्ध थियो । आफ्नो बजारबारे बुझ्न र केही ग्राहकहरुलाई भेट्न भन्दै उनी विदेश भ्रमणमा निस्किए ।

सन् २०१५ मा लण्डन पुगेका उनलाई एउटा अंग्रेजी शब्दले कौतुहल जगायो । त्यो शब्द थियो ‘ट्वीड्स’ । ‘लण्डनमा एउटा आउटलेट थियो, त्यहाँ हृयारिस ट्वीड्स लेखिएको रहेछ’ उनी सम्झन्छन्, ‘ती दुई शब्दको अर्थ के होला भन्ने मेरो मनमा लागिरहृयो ।’

उनले गुगललमा खोजे । केही जान्नेहरुलाई सोधे पनि । अनि थाहा भयो कि यो त धेरै चर्चित र महंगो ब्राण्ड रहेछ । ट्वीड्सको अर्थ थाहा पाएपछि झनै दंग परे ।

‘त्यो त हाम्रो बख्खु नै पो रहेछ,’ उनी भन्छन्, ‘हामी कहाँ यतिधेरै श्रोत-साधन छ । तर, केही गर्न सकेका छैनौं । तर उनीहरुले सामान्य कुरालाई महंगो ब्रान्ड बनाएका थिए ।’

त्यसपछि उनलाई त्यस्तै नेपाली ब्राण्ड बनाउन मन लाग्यो । नेपाली ऊनीका कपडाहरुको छुट्टै ब्राण्ड बनाए त्योभन्दा चर्चित बन्ने उनले सोचे । उनले २०१६ मै ‘गोर्खा ट्वीड्स’ नामक ब्राण्डको परिकल्पना गरे ।

त्यसपछि उनले कर्णालीबाट भेडाको उन मगाएर व्यवसाय थाले । कर्णालीका भेडाको उनलाई कपडाका लागि अन्तिम अवस्थाको कच्चा पदार्थ बनाउँछन् । त्यसलाई कुन रंग दिने, कुन फेसनमा बनाउने भनेर डिमान्ड अनुसार बनाउछन् । तयारी पोशाकको रुपमा उनले कोट, पाइन्ट लगायतको प्रोडक्टहरु बिक्री गर्छन् ।

‘म व्यवसायिक रुपमा कपडा बेच्दिनँ, यदि व्यक्तिगत कसैले कोट सिलाउन कपडा दिनुस भन्यो भने म दिनसक्छु तर मेरो ब्राण्ड नै मर्ने गरेर कच्चा पदार्थको रुपमा कपडा व्यवसायीलाई चाहिँ दिन्नँ’ उनी भन्छन् ।

अहिले उनले ऊनबाट बनेको कोट-पाइन्टमात्रै होइन, ल्यापटप ब्याग, पर्स तथा जुत्ताहरु समेत बनाइरहेका छन् । प्रकृतिसँग मिल्ने रंग दिएर उनी आफै नयाँ उत्पादन गर्छन् । अहिले उनले लाजिम्पाटमा गोर्खा ट्वीड्को आउटलेट स्थापना गरेका छन् ।

अहिले उनको आउटलेटमा तयारी कोट १७ हजार रुपैयाँदेखि माथिको छ । उनले मध्यम र उच्च वर्ग लक्षित गरेर उत्पादनहरु गरिरहेका छन् । कच्चा पदार्थका रुपमा शाहीले भेडाको ऊन केही समय विदेशबाटै आयात गरे । अहिले भने उनले कर्णालीबाट आयात गर्ने गरेका छन् । विदेशबाट आयात गर्दा केही सस्तो पर्ने भए पनि नेपालको जस्तो गुणस्तरीय अलि नहुने उनी बताउँछन् ।

शाहीको व्यापारको मुख्य लक्ष्य भने युरोप र अमेरिका हो । अहिले व्यवसायिक रुपमा भने उनले निर्यात सुरु गरेका छैनन् । थोरै परिमाणमा व्यक्तिगत हिसाबले आएका अर्डरहरु भने उनले अमेरिका, युरोपका साथै जापनमा समेत पठाउने गरेका छन् ।

अमेरिकी दूतावासका केही अधिकारीहरुसमेत अहिले गोर्खा ट्वीड्स ब्राण्डको नियमित ग्राहक बनेको उनी बताउँछन् । नेपालका केही ठूला नेता तथा उच्च अधिकारीहरुले उक्त ब्राण्डका कोटहरु धेरै अर्डर गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment