Comments Add Comment

आउँदो दशकको विज्ञान जगत : चन्द्रमामा पुनरागमनदेखि बुढ्यौली रोक्ने प्रविधिसम्म

प्रविधि जगतमा पछिल्लो १० वर्षमा व्यापक परिवर्तन तथा विकास देख्न पाइयो । अबको दशक प्रविधि उद्योगका लागि कस्तो रहला ? आउँदो २०३० सम्ममा प्रविधिको क्षेत्रमा कस्ता कस्ता आविष्कारहरु होलान् ?

आजभन्दा दश वर्षअघि स्मार्टफोन बजारमा सबैभन्दा आधुनिक स्मार्टफोन भनेकै थ्रीजी युक्त आइफोन थियो । जसमा ३.५ इन्चको स्कृन थियो । अहिलेको आइफोन एक्स एस को साढे ६ इन्च ठूलो स्कृनको तुलनामा त्यो निकै सानो थियो ।

स्मार्टफोनको क्षेत्रमा मात्र होइन प्रविधिका अन्य क्षेत्रहरुमा पनि यो दशकमा ठूला ठूला परिवर्तनहरु भए । त्यसोभए आगामी दशकमा चाहिँ यस क्षेत्रमा कस्ता कस्ता परिवर्तन होलान् ? केही अनुमान यस्ता छन्  :

१. चन्द्रमामा पुनरागमन  : यो वर्ष चन्द्रमामा पहिलोपटक मानिसले पाइला टेकेको स्वर्णजयन्ती पनि हो । विश्वमा अहिले धेरै सरकारी निकाय तथा प्राइभेट कम्पनीहरुले समेत सन् २०३० सम्ममा चन्द्रमामा पुनः मानिस पठाउने भन्दै योजना बनाइरहेका छन् ।

अमेरिकी अन्तरीक्ष संस्था नासाले त सन् २०३० अगाडि नै चन्द्रमामा मात्र होइन मंगल ग्रहमै मानिस पठाउने योजना बनाएको छ । तर मंगल ग्रहमै मान्छे पठाउने कुरा एक दशकमै पूरा हुन गाह्रो छ ।

नासाका अधिकारीका अनुसार चन्द्रमामा बसेर बाँकी ब्रम्हाण्डको गहन खोज गर्ने समय अब टाढा छैन । अन्तरीक्ष विज्ञानमा अर्को महत्वपूर्ण कुरा त के भने सन् २०२४ मा नासाले पहिलोपटक चन्द्रमामा महिला अन्तरीक्षयात्री समेत पठाउँदैछ ।

स्पेस एक्स कम्पनीका मालिक एलोन मस्कले पनि चन्द्रमामा व्यवसायिक रुपमा पर्यटक पठाउने योजना अघि सारेका छन् । तर चन्द्रमामा मान्छे पठाउनु भन्दा नासालाई आफ्नो योजनामा सहमत गराउनु गाह्रो काम रहेको उनी बताउँछन् ।

यस्तै विश्वका नम्बर वान अर्बपति जेफ बेजोसले त चन्द्रमामा यान पठाउने भन्दै आफ्नै निजी कम्पनी खोलेका छन् ।

उता चीनले पनि आगामी १० वर्ष भित्रमा चन्द्रमाको दक्षिणी ध्रुवमा मान्छे उतार्ने योजना बनाएको छ । आािखर अब चन्द्रमामा को पहिला पुग्नेछ, त्योचाहिँ समयले नै बताउनेछ ।

२. व्यक्तिगत उडान यातायात  : अहिले सार्वजनिक यातायातमा उडान भन्ने बित्तिकै हेलिकप्टर वा हवाइजहाज नै हो । यद्यपि केही वर्षयता थुप्रै जेटप्याक तथा पर्सनल फ्लाइङ मेसिनको विकास भएको छ र विश्वका विभिन्न देशमा वैज्ञानिकहरुले यस्ता मेसिनमा मानिसहरुलाई उडाउन पनि सफल भएका छन् ।

फ्रेन्च वैज्ञानिक फ्रान्की जापाटाले फ्लाइबोर्डमै उडेर समुद्र पार गरे । त्यस्तै बेलायती सेनाका एकजना वैज्ञानिकले आफैले आविष्कार गरेको जेटशूटमा उडेर आकाशमा कठीन सैन्य तालिमसमेत पूरा गरे ।

उता दुबई पुलिसले समेत उड्ने बाइकको परीक्षण सुरु गरेको छ । त्यसैले मान्छेहरु एक्लै उडेर यात्रा गर्ने यस्ता साधनहरु आगामी दश वर्षमा व्यापक रुपमा आविष्कार हुने र प्रयोगमा आउने अपेक्षा गर्न सकिन्छ ।

३. घर बन्नेछ स्वचालित तथा स्वनिर्भर प्रणाली : बेलायतको न्युक्यासल विश्वविद्यालयका प्राध्यापक राचेल आर्मस्ट्रंग प्रयोगात्मक वास्तुकला विषयका विज्ञ तथा लिभिङ आर्किटेक्चर परियोजनाका संयोजक हुन् । उनका अनुसार सन् २०३० सम्म आवासीय घरहरु ऊर्जाको मामिलामा स्वनिर्भर हुनेछन् र घरेलु प्रयोजनमा जिवांश ऊर्जाको प्रयोग हट्नेछ ।

सुक्ष्म जीवहरुको प्रयोगबाट हरेक घरबाट उत्सर्जन हुने पिसाब र फोहोर पानी लगायतका अन्य तरल फोहोरलाई प्रोसेसिङ गरेर त्यसलाई सफा पानीमा परिणत गर्ने र त्यसबाट ऊर्जा समेत उत्पादन गरिनेछ भने घरभित्रै बगैँचा तथा इण्डोर विरुवाका लागि आवश्यक मल समेत उत्पादन हुनेछ ।

पिसाब तथा अन्य तरल फोहोरबाट निकालिने बिजुलीले घरभित्र रोबोट लगायतका अटोमेटेड मेसिनहरु चलाइनेछ । यो स्वचालित प्रणालीलाई घर आवासलाई जिवित आवासको रुपमा परिणत गर्नेछ ।

४. मानवीय स्वभाव जस्ताको तस्तै : सांस्कृतिक मानवशास्त्रमा विद्यावारिधी गरेकी प्राध्यापक जेनेभिभ बेलले इन्टेल कम्पनीमा लामो समय काम गरेपश्चात् हाल अस्ट्रेलियाको थ्री ए इन्स्टिच्यूटको नेतृत्व गरिरहेकी छिन् । उनले आर्टिफिसियल इन्टेलिजेन्सले मानिसमा पार्ने प्रभावको अध्ययन गरिरहेकी छिन् ।

उनका अनुसार प्रविधि जति तिव्र गतिमा परिवर्तन हुन्छ मानवीय तत्व तथा प्रवृत्तिहरु त्यहीँ गतिमा परिवर्तन हुँदैनन् । विश्व अहिले औद्योगीकरणको चौथो तरंगमा प्रवेश गरेको छ र साइबर फिजिकल सिस्टमको सुरुवात भएको छ ।

ड्रोन, स्वचालित सवारी साधन, निर्माण रोबाट तथा स्मार्ट लिफ्ट जस्ता प्रविधिले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगमै उल्लेख्य परिर्वन ल्याइदिएको छ । यद्यपि यी सबै परिवर्तनका बाबजुत मानवीयता चाहीँ परिवर्तन हुनेछैन र मानव मूल्यमा कमी आउने छैन ।

५. आर्टिफिसियल इन्टेलिजेन्सले प्रभाव जमाउनेछ तर मानिसलाई विस्थापित गर्ने छैन : वैज्ञानिकहरुका अनुसार आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा अझै कैयन् गुणा अत्याधुनिकता थपिनेछ र यसले मानव जिवनमा अवश्य पनि प्रभाव पार्नेछ । भविष्यमा कामका सिलसिलामा मानिस र मेसिनले एक अर्काको शक्तिको दुरुपयोग गर्नेछन् अगमेन्टेड इन्टेलिजेन्समा ।

आगामी दशकमा गेम खेल्ने, स्टक बजारको विश्लेषण, आलेख तयार गर्ने लगायतका संरचनाबद्ध तथा अनुमानयोग्य वातावरणका कार्यहरु गर्न मानिसको तुलनामा मेसिनलाई निके सजिलो हुनेछ ।

भविष्यमा मेसिनमाथि मानिसको विश्वास बढ्दै जानेछ र सन् २०३० सम्ममा जहाज उडाउने, रोगको निदान तथा वित्तिय क्रियाकलापको व्यवस्थापन जस्ता गम्भीर कार्यहरु समेत मेसिनलाई सुम्पिने क्रम बढ्नेछ ।

स्मार्ट सिटी तथा स्मार्ट कारहरुको विकाससँगै आर्टिफिसियल इन्टेलिजेन्स समग्र यातायात प्रणालीको अभिन्न हिस्सा बन्नेछ । तथापि प्रविधिको विकास जुन स्तरमा पुगे पनि त्यसले एउटा नैतिकताको द्विविधा सिर्जना गर्नेनै छ र त्यो द्विविधाको अन्त्य मानिसबाट मात्रै सम्भव हुनेछ ।

६. बुढ्यौली रोकिनेछ : विज्ञहरुका अनुसार मानिसहरुको बुढ्यौली रोक्न वैज्ञानिकहरु सफल हुनेछन् । वैज्ञानिकहरुले मानिसको जिनहरु मोडिफिकेसन गर्ने पद्धतिको विकासमा अहम सफलता प्राप्त गरिसकेका छन् । अहिले वैज्ञानिकहरु डिएनएमा रहेका बुढ्यौली गराउने तत्वलाई हटाउने जैविक प्रविधिको विकासमा लागिरहेका छन् ।

वैज्ञानिकहरुले त यस्तो सम्म कल्पना गरिरहेका छन् कि मस्तिष्क लगायतका मानिसका सरीरका अंगहरु चाहेको बेला गाडीका पाटपुर्जा फेरझैँ फेर्न सकिनेछ ।

७. बेलायत बन्नेछ जासूस राज्य : मानव अधिकारवादीहरुका अनुसार सन् २०२० बेलायतमा राज्य निगरानी प्रविधिको भविष्यका लागि कोशेढुंगा हुनेछ ।

सम्भवतः युरोपेली अदालतले यो वर्ष राज्यले गर्ने आम निगरानीले नागरिकको मानव अधिकारको उल्लंघन भए नभएको फैसला सुनाउनेछ ।

फेसियल रिकग्नीसन प्रविधि, सोसल मिडिया मनिटरिङ, ब्याकडोर्स इनक्रिप्सन, अटोमेटेड डिसिजन मेकिंग तथा प्रेडिक्टिभ एनालिटिक्स जस्ता राज्य तथा कर्पोरेट जगतले प्रयोग गरिरहेका पद्धतिहरुमाथि पनि प्रश्न उठिरहेको छ । आगामी १० वर्षमा बेलायतका सबैजना मानिसहरुलाई सरकारको डिजिटल निगरानी तथा ट्रयाकिङमा हुनेछन् ।

८. डाटा इमान्दार बन्नेछ : यस दशकमा विश्वमा डाटाको महत्व सामुहिक रुपमै अनुभुत गरिनेछ । वास्तवमा डाटा समाजका लागि एक महत्वपूर्ण पूर्वाधार हो । सन् २०३० सम्ममा डाटाको संसार अहिलेको तुलनामा व्यापाक बन्नेछ । सटिक, सत्य तथा आधिकारिक डाटाको उपलब्धता सुनिश्चित बन्दै जानेछ ।

९. मानव पहिचानको पुनर्परिभाषा : विज्ञहरुका अनुसार फेसबुक तथा गुगलले अबलम्बन गरेका बजार केन्दि्रत मानवीय पहिचान सम्बन्धी अवधारणा स्खलित हुँदै जानेछ । आम नागरिकले नै अहिले उत्साहमा रमाइरहेका विज्ञहरुालई झट्का दिनेछन् । मानिसहरु प्रविधिको दासत्वबाट बाहिर निस्किएर आफ्नो नयाँ पहिचान खोज्नेछन् ।

१०. ठूला प्रविधि कम्पनीहरु नियमनको सकस : विज्ञहरुका अनुसार अहिले युरोपमा अमेरिकी कम्पनीले सिर्जना गरेको प्रतिस्पर्धाको संकटको विषय निकै जटिल बनिरहेको छ ।

धेरै अमेरिकी कम्पनीहरुले युरोपेली बजारमा कब्जा जमाइसकेका छन् । त्यस्ता कम्पनीहरुलाई नियमन तथा नियन्त्रण गर्न अब निकै कठिन हुनेछ । यद्यपि युरोपेली आयोगले गुगल तथा फेसबुक जस्ता कम्पनीहरुलाई प्रतिस्पर्धा नियम उल्लंघनको लगायतका अभियोगमा जरिवाना गर्दै आएको छ ।

साथै अमेजन तथा एप्पल जस्ता कम्पनीहरुलाई करछलीमा समेत कारवाही गरेको छ । तर यस्तो जरिवानाले मात्र ती कम्पनीको प्रभुत्व रोकिनेवाला छैन । एजेन्सकिो सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment