Comments Add Comment

प्रम ओलीको ‘दोस्रो प्रत्यारोपण’ ढिलो हुँदा के हुन्छ ?

२२ पुस, काठमाडौं । गत कात्तिक २४ गतेदेखि नियमित डायलासिस गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला आरामको मुडमा छन् । विभिन्न सार्वजानिक कार्यक्रममा कमै मात्र उपस्थित हुन थालेका उनलाई निजी चिकित्सक दिव्या सिंह बारम्बार भनिरहन्छिन्, ‘दोस्रो प्रत्यारोपणका लागि ‘रिकभर’ हुनुको विकल्प छैन् । र, ‘रिकभर हुनका लागि आरामको विकल्प छैन ।’

गत मंसिर १० ‘एपेण्डिसाइटिस’ को अपरेशन गरेर अस्पताल बसेयता प्रम ओलीले चिकित्सकको निर्देशन मानिरहेका छन् । अपवादबाहेक अन्य कार्यक्रममा उपस्थित नभइकन स्वास्थ्यको ख्याल राखिरहेका उनी क्रमश स्वस्थ हुँदैछन् । डाक्टर दिव्या भन्छिन्, ‘उहाँले पहिलेदेखि आफ्नो ख्याल गरेको भए पछिल्लो पटकको जस्तो स्वास्थ्य समस्या आउँदैन थियो कि ।’

यो त विगतको कुरा भयो । डाक्टर दिव्याकै कुरा मान्ने हो भने अहिले प्रधानमन्त्री स्वास्थ्यप्रति सचेत मात्रै होइन, चिकित्सकको निर्देशन मान्ने समेत भएका छन् । ‘एपेण्डिसाइटिस’को अपरेशनले उनलाई ‘सचेत’ बनाएको छ । आजकाल उनी समयमै औषधि खान्छन् । कमै मात्र मानिसहरु भेट्छन् । लामो समयसम्म कुरा गरेर बस्दैनन् । र, धेरैजसो कार्यक्रमहरुमा जाँदैनन् पनि । उनी भन्छिन्, ‘यो सबै तयारी दोस्रो प्रत्यारोपणका लागि हो ।’

उनी बारम्बार दोहोर्‍याइरहन्छिन्, ‘उहाँ (प्रम ओली) को आत्मबलका कारणले पनि यसरी सक्रिय भइराख्नुभएको छ । आत्मबलकै कारण धेरै हदसम्म रोगलाई जित्न सकिन्छ ।’

स्वाभाविक रुपमा प्रश्न उठ्छ, ‘आत्मबल मात्रैले बिरामी मानिस सक्रिय हुनलाई गाह्रो पर्ला नि ? प्रत्यारोपण गर्नुको विकल्प त नहोला नि ?’

‘नियमित डायलासिस गराइरहेको छौँ नि’ डाक्टर सिंह उत्तर दिन्छिन्, ‘प्रत्यारोपणको तयारी पूरा नहुजेलसम्म त डायालासिसको विकल्प नै छैन् ।’

अर्को प्रश्न उठ्छ, ‘डायलासिस कहिलेसम्म ?’

उनी भन्छिन्, ‘दोस्रो प्रत्यारोपणको तयारी पूरा नहुञ्जेलसम्म ।’

‘के डाइलासिस भरपर्दो उपचार विधि हो त ?’ प्रश्न सकिन नपाउँदै डाक्टर सिंह उत्तर दिन्छिन्, ‘हो । हाम्रो अस्पतालमै डायलासिस गरेको भरमै लामो जीवन बाँच्नेहरु धेरै छन् ।’

विश्व चर्चित स्वास्थ्य साइट वेवमेडका अनुसार किड्नी फेल भएका बिरामीलाई प्रत्यारोपण नगर्दासम्म बचाउने उपायमात्रै डायलासिस हो । मिर्गौला प्रत्यारोपण अगाडिको एउटा प्रकियाको रुपमा डायलासिसलाई लिइन्छ ।

वेभमेडले लेखेको छ, ‘डायलासिस गरिरहेका बिरामीले गुणस्तरीय जीवन बिताउन पाउँदैनन् । सामान्य मानिसको तुलनामा उनीहले धेरै शारीरिक र मानसिक समस्या भोग्नुपर्ने हुन्छ । साताको कम्तिमा तीन दिन अस्पताल आउनुपर्छ । चार घण्टा मेसिनमा जोडिनुपर्छ । यसले गर्दा बिरामीको दैनिकीमा असर पर्छ।’

हेल्थलाइन डटकमले लेखेको छ, ‘डायालासिसले बिरामीको सुगर र पोटासियमको लेभल बढाएर अन्य शारीरिक समस्या निम्त्याउन सक्छ । त्यसैले डायलासिस नलम्ब्याइकन प्रत्यारोपण गर्नुको विकल्प नै छैन।’

पहिलो प्रत्यारोपणको १२ वर्ष नाघेपछि प्रम ओली दोस्रो प्रत्यारोपणको तयारीमा छन् । यस्तो अवस्थामा डायलासिस लम्ब्याउँदा पहिलो प्रत्यारोपणको भन्दा बढी जटिलता देखिने विभिन्न अनुसन्धानहरुले बताएको छ । अधिकांश अनुसन्धानको निष्कर्ष छ, ‘डायलासिसको भर नपर्नु जतिसक्दो छिटो प्रत्यारोपण गर्नु ।’

प्रत्यारोपण किन ढिला भइरहेको छ त ?

डाक्टर सिंहको अनुसार प्रम ओली प्रत्यारोपणको लागि पूर्ण तयार हुन केही समय लाग्ने भएकाले प्रत्यारोपण ढिला भएको हो । प्रत्यारोपणका लागि उनका दुई आफन्त तयारी अवस्थामा रहे पनि प्रत्यारोपण कहाँ र कहिले गर्ने निर्णय भइसकेको छैन । प्रम ओली र उनलाई किड्नी दिने आफन्त चिकित्सकको नियमित निगरानीमा रहेको उनी सुनाउँछिन् । ‘कहाँ र कहिले प्रत्यारोपण गर्ने भन्ने टुंगो लाग्न बाँकी छ, उनी भन्छिन्, ‘नेपालमै गर्ने भन्ने पनि सल्लाह भइरहेको छ । तर, अहिले कुनै टुंगो लागेको छैन।’

दोस्रो प्रत्यारोपणको ढिलो हुदाँ के हुन्छ जटिलता ?

प्रत्यारोपण गर्ने व्यक्ति र उनलाई अंग दिने दाताको स्वास्थ्य अवस्थाले प्रत्यारोपणको जटिलता निर्धारण गर्ने चिकित्सकहरु बताउँछन् । उमेर, खानपान र शारीरिक सक्रियता अनुसार जटिलता फरक पर्न सक्छ।

अमेरिकाको नेशनल किड्नी फाउण्डेशनको विभिन्न अनुसन्धानले दोस्रो प्रत्यारोपणको जटिलता, मानिसको सक्रियता र प्रत्यारोपणपछिको बाँच्ने उमेर पहिलो प्रत्यारोपणसँग तुलना गरेको छ ।

यदि पहिलोपटक प्रत्यारोपण गरेको ५ वर्षभित्रमा दोस्रो प्रत्यारोपण गरिन्छ भन्ने त्यसको सफलताको दर उच्च हुन्छ । अझ किड्नी दिने व्यक्ति ४० वर्षभन्दा कम उमेरको छ भने जटिलता कम देखिन्छ । यद्यपि दोस्रो प्रत्यारोपण जति ढिलो गर्‍याे त्यति नै खतरा हुनेमा अधिकांश अनुसन्धानको उस्तै निष्कर्ष छ ।

समयमै गरिएको दोस्रो प्रत्यारोपणलाई पहिलोजस्तै जोखिमकै रुपमा लिनुपर्ने अवस्था छैन । ठीक समयमा गरिएको दोस्रो प्रत्यारोपणको सफलताको दर वर्षेनी बढ्ने क्रममा बढेको छ । प्रत्यारोपणका लागि किड्नी दिने र लिने व्यक्तिको स्वास्थ्य अवस्था र उमेरको अवस्था मिलेमा पहिलो र दोस्रो प्रत्यारोपणको जटिलता खासै फरक नहुने चिकित्सकहरु बताउँछन् ।

सामान्यतः पहिलो प्रत्यारोपण असफल भएको अवस्थामा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिन्छ । यसैलाई आधार मानेर चिकित्सकहरुले भनेका छन् कि पहिलो प्रत्यारोपण असफल भयो भन्दै दोस्रो पनि असफल हुन्छ भन्ने हुँदैन । दोस्रो प्रत्यारोपण सफल हुने सम्भावना कायमै रहन्छ, तर त्यसको लागि प्रमुख शर्त भनेको पहिलो र दोस्रो प्रत्यारोपणवीचको समय अविधि हो ।

केही अनुसन्धानहरुले दोस्रो प्रत्यारोपणलाई उच्च जोखिमका रुपमा चित्रण गरेको छ । तर, ती अनुसन्धानहरुलाई नेशनल किड्नी फाउण्डेशनले परम्परागत अनुसन्धान भनेको छ । दोस्रो प्रत्यारोपण सफल भएका मानिसहरु धेरै रहेको बताउँदै उसले लेखेको छ, ‘हाम्रो अध्यनले दोस्रो प्रत्यारोपण पनि पहिलो झै सफल हुने देखाएको छ ।’

नेशनल किडनी फाउन्डेशनले थपेको छ, ‘पहिलो प्रत्यारोपण असफल भएर दोस्रो प्रत्यारोपण गराउनेहरु आत्तिनु पर्दैन । उनीहरु पहिलो प्रत्यारोपणझैं जिन्दगीको आशा गरेर अस्पताल पुग्न सक्छन्।’

जति प्रत्यारोपण ढिलो, त्यति नै जीवित दर कम

अध्ययनहरुलाई आधार मान्ने हो भने प्रत्यारोपण पुरानो र ढिलो हुँदै गएपछि मानिस बाँच्ने सम्भावना पनि कम हुन्छ । सन् १९८७ देखि २०१२ सम्म गरिएको अध्यनमा प्रत्यारोपण गरिएको सुरुको १० वर्षमा ९० प्रतिशत सर्भाइभल रेट थियो । र, त्यसको अर्को १० वर्षमा सर्भाइभल रेट ४४ प्रतिशतमा घटेको थियो ।

अंग प्रत्यारोपण नेटवर्कको अध्ययनअनुसार मानिस मर्नासाथ लिएको किड्नीबाट १ वर्षमा ४ प्रतिशत र ५ वर्षमा २१ प्रतिशत फेल हुने सम्भावना हुन्छ । त्यस्तै सकुशल मानिसबाट लिएको किड्नी फेल हुने सम्भावना एक वर्षमा ३ प्रतिशत र ५ वर्षमा २१ प्रतिशत हुन्छ ।

‘ब्रेन डेथ’ भएका मानिसको मिर्गौला लिइएको छ भने प्रत्यारोपणपछि सरदर १२ वर्ष र जीवित मानिसको मिर्गौला लिइएको छ भने १५ वर्षको अनुपातमा बाँच्न सक्ने किड्नी फाउण्डेशनले लेखेको छ ।

प्रत्यारोपण गरेको १० वर्षपछि १० जनामध्ये ५ जनाको बाँच्ने सम्भावना ५० प्रतिशत भएको विवरणमा उल्लेख छ। यसमा मानिसको उमेर, स्वास्थ्य अवस्थालगायतले फरक पार्ने बताइएको छ ।

अमेरिकामा प्रत्यारोपणपछिको जीवित दर हेर्दा ८३ देखि ९४ प्रतिशतसम्म छ । यो प्रत्यारोपणपछिको सुरुवाती वर्षको तथ्यांक हो ।

विश्वव्यापी ट्रेन्डलाई हेर्दा प्रत्यारोपण गरेको ५ वर्षभित्रको जीवित दर ९५ प्रतिशत भन्दा बढी छ। तर, प्रत्यारोपणपछिको दरका बारेमा नेपालमा कुनै अनुसन्धान भएको छैन।

वर्षौंदेखि रोगसँग संघर्ष गर्दै

‘मेनिन्जाइटिस’ भएर सन २०१३ मा प्रम ओली शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गर्न पुगेका थिए । त्यहाँ उपचार गरेको केही दिनपछि डा. दिव्याले ग्राण्डी ‘रिफर’ गरेकी थिइन् । ग्राण्डीमा पनि उपचार नभएपछि उनी ओलीसँगै बैंकक गएकी थिइन् । बैंककमा महिना दिनभन्दा लामो उपचारपछि ओलीको अवस्था खतराबाट मुक्त बनेको थियो ।

त्यतिबेला कडाखालको ‘मेनिन्जाइटिस’ सँगै निरन्तर लामो समयसम्म टाउको दुख्ने समस्या थियो । स्वास्थ्यमा हेलचेक्र्याइँ र चिकित्सकको सल्लाहबिना औषधि खाएकाले सिकिस्त भएका थिए । कडा मेनिन्जाइटिसले गर्दा ढाडबाट पानी झिक्नुपर्ने अवस्था थियो । त्यहीबेलादेखि (सन् २०१३) देखि प्रम ओलीका निजी चिकित्सकका रुपमा काम गरिरहेकी डाक्टर दिव्या भन्छिन्, ‘उहाँ एकदम पुरानो बिरामी हो । वर्षौंदेखि रोगसँग संघर्ष गर्दै आउनुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment