+
+
Shares

सिन्धुलीमा कर तथा राजश्व सम्वन्धी अन्तरक्रिया

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते ६:३९

२२ असार, सिन्धुली । कर प्रणालीप्रति नागरिकको बुझाइ बढाउने र करदातामैत्री वातावरण बढाउने उद्देश्यले करदाता सेवा कार्यालय सिन्धुलीले शनिवार एक दिने कर तथा राजश्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रममा करदाता सेवा कार्यालय सिन्धुलीका प्रमुख मनोजकुमार न्यौपानेले आयकर, मूल्य अभिवृद्धि कर, प्यान दर्ता तथा नवीकरण र कर प्रशासनको डिजिटल रूपान्तरणबारे जानकारी गराएका थिए ।

‘कर तिर्नु नागरिकको कर्तव्य’ भएको बताउँदै उनले भने, ‘यस्ता कार्यक्रमबाट हामी करदातासँग प्रत्यक्ष संवाद गरेर उनीहरूका समस्या बुझ्ने र समाधानका उपाय खोज्ने अवसर पाउँछौं ।’

उनका अनुसार स्थायी लेखा नम्बर, दर्ता तथा अनुमति प्रमाण पत्र, नवीकरण भएको इजाजत पक्र, बिल विजक, अद्यावधिक गरिएको खरिद बित्री खाता, स्टक खाता, मूल्य सूची कारोबार स्थलमा राख्नुपर्दछ । यदि यसो नगरेको पाइएमा कानुनले तोके अनुसारको जरिवाना हुन्छ ।

सबै प्रकारका करदाताले आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र आय विवरण बुझाउनु पर्दछ । साउन महिनामा नवीकरण गराएमा जरिवाना नलाग्ने र भदौदेखि कात्तिकसम्म नवीकरण गरेमा नवीकरण दस्तुरको २५ प्रतिशत, मंसिरदेखि माघ महिनासम्म ५० प्रतिशत, फागुनदेखि वैशाखसम्म नवीकरण गराएमा ७५ प्रतिशत र त्यसपछि नवीकरण गराएमा १०० प्रतिशत जरिवाना लाग्दछ ।

‘आय कर दर्ता वालाले ५ वर्ष र मूल्य अभिवृद्धि कर दर्ता वालाले ६ वर्षसम्म कारोबारसँग सम्बन्धित अभिलेख सुरक्षित राख्नुपर्छ,’ न्यौपानेले भने ।

इजाजत नलिई अन्त शुल्क लाग्ने बस्तु उत्पादन वा पैठारी वा सेवा प्रदान गरेमा जफत गरी बिगो बमोजिम जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने भन्दै उनले इजाजत लिएर मात्र व्यवसाय गर्न उनले आग्रह गरे । दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न आग्रह पनि गरे ।

कर सेवा कार्यालय सिन्धुलीका अनुसार जिल्लामा हालसम्म व्यक्तिगत प्यान १७ हजार २६४ रहेकोमा १७ हजार २५३ सक्रिय अवस्थामा छन् । व्यावसायिक प्यान १७ हजार ४३५ रहेकोमा १६ हजार ५४ सक्रिय र ५२० वटा प्यान बन्द छन् ।

कार्यक्रममा स्थानीय व्यवसायी, उद्यमी, नागरिक समाजका प्रतिनिधिहरू, पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए । उनीहरूले कर तिर्ने क्रममा आउने व्यवहारिक समस्याहरू, प्यान दर्ता र नवीकरणमा देखिएको ढिलाइ, अनलाइन प्रणालीको प्रयोगमा हुने कठिनाइ, कर दरबारे भ्रम र जानकारीको अभावजस्ता विषयबारे छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?