Comments Add Comment

रंगशाला निर्माणका लागि हेटौंडा उपमहानगरपालिकाद्वारा ३० लाख आर्थिक सहयोग

२२ पुस, चितवन । चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हेटौंडा उपमहानगरपालिकाले ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले रंगशाला निर्माणस्थलमा नै पुगेर मंगलबार ३० लाख रुपैयाँको चेक धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसलाई हस्तान्तरण गरे ।

क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग गर्ने हेटौंडा उपमहानगरपालिका पहिलो स्थानीय तह बनेको छ । सोमबार मात्रै रंगशालाको अवलोकन गर्न पुगेका महतले तत्कालै निर्णय गराएर रकम दिएका थिए । उनी मंगलबार आफैं चेक बोकेर रंगशालामा आएका थिए ।

धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मस र उपाध्यक्ष कुन्जना घिमिरे सुन्तलीले हेटौंडा उपमहानगरपालिका रंगशाला बनाउन आर्थिक सहयोग गर्ने पहिलो स्थानीय तह बनेको भन्दैं महानगरपालिका र हेटौडा नगरवासीलाई धन्यवाद दिए । फाउण्डेशनका अध्यक्ष कट्टेलले हरेक जिल्लाको प्रतिनिधित्व हुने गरी रंगशालाका कक्षहरु बनाइने हुँदा सबै जिल्लाका नागरिक, संघसंस्था र स्थानीय तहको सहयोग आवश्यक पर्ने बताए ।

रंगशाला बनाउन भरतपुर महानगरपालिकाले ६ करोड ५० लाख रुपैयाँ रकम दिने घोषणा गरेको छ । यो रकम दिने प्रक्रिया अघि बढेको महानगरले जनाएको छ । यस्तैं प्रदेश ३ सरकारले रंगशालाका लागि ५ करोड रुपैयाँ रकम दिने घोषणा गरेको छ । घोषणा गरेको रकम भरतपुर महानगरपालिकाको खातामा पठाएको छ । चितवनका अन्य स्थानीय तहले भने अहिलेसम्म रकम दिने घोषणा गरेका छैनन् ।

सबै स्थानी तहले साथ दिनुपर्छ : महत

हेटौंडा उपमहानगरपालिकाका प्रमुख महतले देशकै गौरव बढाउने अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा देशभरका सबै स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताए ।

कुनै भूगोल बिषेशमा रंगशाला बनिरहेको भएपनि तीन करोड नेपालीको साझा गौरव र धरोहर भएकोले रंगशाला बनाउन सबै तहले साथ दिनुपर्ने महतको भनाइ छ । उनले हेटौंडा उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट जम्मा भएको रकम रंगशालाका लागि सहयोग गरेको बताए । ‘सबै स्थानीय तहले जति सक्छ त्यति सहयोग गरौं, कोही पनि नछुटौं,’ नगरप्रमुख महतले भने, ‘८०/९० वर्षका बुवाआमाले आफ्नो वृद्ध भत्ता ल्याएर दिनुभएको छ भने, हामीले सहयोग गर्नुपर्दैन र ?’

दुई वर्षभित्र निर्माण सक्ने गरी २०७५ माघ १६ गते अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरिएको थियो । चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसरको शान्तिचोकमा रहेको २० बिघा ८ कठ्ठा क्षेत्रफलमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुबिधा सम्पन्न रंगशाला निर्माण भइरहेको छ । दैनिक जसो सर्वसाधारण नागरिक तथा समाजका विभिन्न संघसंगठनहरुले स्वतस्र्फूत रुपमा रंगशालामा नै पुगेर सहयोग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment