Comments Add Comment

तारे होटलका ४५ प्रतिशत कोठा खाली, साना होटलसँग मूल्यमा प्रतिस्पर्धा

२२ पुस, काठमाडौं । सरकारले तामझामसँग भ्रमण वर्षको सुरुवात गरिरहँदा तारे होटेलहरुको व्यवसाय भने खस्केको छ । अधिकांस तारे होटेलका आधाउधी कोठाहरु खाली छन् ।

सन् २०१८ मा नेपाल आउने पर्यटक उल्लेख्य संख्यामा बढेका थिए । पहिलोपटक १० लाख पर्यटकको आँकडा नाघ्दा होटेल र पर्यटन व्यवसायीलाई उत्साहित बने । तर, सन् २०१९ ले फेरि उनीहरुलाई निराश बनाएको छ ।

अघिल्लो वर्षकै २५ प्रतिशत वृद्धिदर कायम रहेको भए यस वर्ष पर्यटक झण्डै १३ लाख पुग्न सक्थे । अझ, भ्रमण वर्षको हल्लाखल्ला सुरु भएकाले व्यवसायीहरु निकै आशावादी थिए । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१९ को ११ औं महिनासम्म १० लाख ९७ हजार ५ सय ७१ जना पर्यटक नेपाल आए । १२ औं महिनाको तथ्यांक आउन बाँकी छ ।

कूल पर्यटक आगमन वृद्धिदर सन् २०१९ को तुलनामा सामान्य बढेको छ । तर, त्यो उत्साहित बनाउने खालको छैन । अर्कोतर्फ सन् २०१९ को प्रारम्भबाटै ठूला र स्तरीय होटेलमा कोठा संख्या थपिए । यसले गर्दा धेरै होटेलहरुमा अकुपेन्सी न्यून देखिएको छ ।

काठमाडौंस्थित पाँचतारे होटेल सांग्रीला एण्ड रिसोर्टका प्रवन्ध निर्देशक प्रविण पाण्डेका अनुसार सन् २०१९ मा तारे होटेलमा औसत ५५ प्रतिशत मात्र अकुपेन्सी रह्यो । सन् २०१८ मा औसत ६५ प्रतिशतको अकुपेन्सी थियो ।

यस वर्ष पर्यटक आगमनको वृद्धिदर मात्र खस्किएको छैन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने हवाई यात्रुको संख्यामा समेत कमी आएको छ । त्यसको असर पर्यटक आगमन र होटेलको विजनेशमा समेत देखिएको प्रवन्धक निर्देशक पाण्डे बताउँछन् ।

यसै वर्ष सञ्चालनमा आएको पाँचतारे होटेल मेरियटका प्रवन्ध निर्देशक शशिकान्त अग्रवालले अपेक्षित पर्यटक नआएकाले मूल्यमा सहुलियत दिनुपरेको बताए

तारे होटेलमा ‘प्राइस वार’

साना होटेलका सञ्चालकहरुले ठूलो लगानीका तारे होटेलले मूल्यमा अस्वस्थ प्रतिस्पर्धा गर्न थालेको आरोप लगाएका छन् । पाँचतारे होटेलले ६०/७० डलरमै कोठा बिक्री गर्न थालेकाले साना होटेलहरु मर्कामा परेको उनीहरुको गुनासो छ ।

प्लाजा ग्रुपका अध्यक्ष तथा होटेल संघ नेपाल (हान)का कार्यकारी सदस्य युवराज श्रेष्ठ ठूला होटेलले सस्तो मूल्यमा कोठा बेच्दा सानो स्तरका होटेललाई मार परेको बताउँछन् ।

‘दुई/तीन तारेले बेच्नु पर्ने मूल्यमा पाँचतारे होटेलले कोठा बेच्न थालेपछि साना होटेललाई मार पर्नु स्वाभाविक हो,’ उनले भने ।

तर, सांग्रीलाका प्रवन्ध निर्देशक पाण्डे मूल्यमा हुने प्रतिस्पर्धालाई अनुचित ठान्दैनन् ।

‘नयाँ होटेलहरु थपिँदा आफ्नो होटेलको प्रवर्द्धनका लागि शुरुवाती मूल्य कम राखेका हुन्छन्, यो विजनेशको सामान्य नियम हो, यसले हामी स्थापित होटेललाई केही असर गरे पनि समग्रमा मुलुकको प्रवर्द्धन र थप पर्यटक आकर्षित गर्न सहयोग गर्छ,’ उनले भने ।

नेपालमा पाँचतारे होटेलको औसत मूल्य १ सय डलर प्रतिदिनभन्दा माथि छ । यसबाट केही तलमाथि भए पनि ठूला होटेलको आगमनले पर्यटनमा सकारात्मक प्रभाव पर्ने व्यवसायीहरु बताउँछन् ।

यसै वर्ष सञ्चालनमा आएको पाँचतारे होटेल मेरियटका प्रवन्ध निर्देशक शशिकान्त अग्रवालले अपेक्षित पर्यटक नआएकाले मूल्यमा सहुलियत दिनुपरेको बताए ।

उनले भने, ‘होटेलको कोठा आज बिक्री भएन भने भोलि होला भनेर कुर्न सकिँदैन, त्यसैले सस्तोमा पनि दिनुपर्ने स्थिति आउँछ,’ उनले भने, ‘होटेलको कोठा एक रात खाली बस्यो भने त्यो दिनको लगानी खेर जान्छ ।’

यद्यपि, अरुको तुलनामा आफ्नो होटेलमा मूल्य ‘राम्रो’ राखेको उनको भनाइ छ । ‘मूल्यमा सम्झौता नगर्दा पनि मेरो होटेल अहिले पनि घाटामा नै चलिरहेको छ, किनकि अकुपेन्सी राम्रो छैन,’ उनले भने ।

भ्रमण वर्षप्रति आशावादी

होटेल व्यवसायी भ्रमण वर्ष २०२० लाई लिएर भने निकै आशावादी छन् ।  सांग्रीलाका प्रवन्ध निर्देशक पाण्डे भन्छन्, ‘अग्रीम बुकिङ राम्रो छ, थप वायुसेवा कम्पनीले सेवा थाल्दैछन्, नेपाल एयरलाइन्सले उडान बिस्तार गर्दैछ, आशा गरौं, यो वर्ष निकै राम्रो हुनेछ ।’

पर्यटक संख्या कम भएकै कारण सन् २०१९ मा मूल्यमा समेत प्रतिस्पर्धा भएको उनको स्वीकारोक्ती छ । यो प्रवृत्ति सन् २०२० मा सुधार हुनेमा उनी आशावादी छन् । त्यसो त होटेल संघ नेपाल (हान)मार्फत नै होटेल व्यवसायीले सन् २०२० मासमेत विभिन्न छुट योजना ल्याएका छन् । त्यसले पनि पर्यटक आवागमन बढ्ने अपेक्षा व्यवसायीको छ ।

५ वटा पाँचतारे होटेल थपिए

सन् २०१९ भित्रै ४ वटा नयाँ पाँचतारे होटेल सञ्चालनमा आए । बन्द अवस्थामा रहेको एभरेष्ट होटेल पनि आंशिक रुपमा सञ्चालन आइसकेको छ ।

एभरेष्ट होटेल

एक वर्षकै अवधिमा १ हजारभन्दा बढी पाँचतारे रुम र बेड बढेका छन् । सोहीअनुसार एकतारेदेखि चारतारे होटेल थपिने क्रम पनि जारी छ । तर, त्यसको तुलनामा पर्यटक आगमनको वृद्धिदर कम हुँदा होटेलका कोठा अपेक्षित भरिन नसकेको व्यवसायीहरु बताउँछन् ।

पर्यटन विभागका अनुसार फागुन २०७५ मा बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजा पाँचतारे वर्गीकरणमा परेको थियो । सोही महिना नेपालगन्जको सोल्टी वेस्टेन्ड प्रिमियरले समेत पाँचतारे होटेलको मान्यता पायो । काठमाडौंको नक्सालमा काठमाडौं मेरियट होटेलले २ असारमा पाँचतारे प्रमाणपत्र प्राप्त गर्‍यो । १६ असारमा होटेल अलफ्ट काठमाडौंले पाँचतारे मान्यता पायो । असोजमा बानेश्वरस्थित एभरेष्ट होटेलले पनि सेवा प्रारम्भ गर्‍यो । यो होटेल २०७२ को गोरखा भूकम्पपछि बन्द थियो ।

पर्यटन मन्त्रालयको तथ्यांकअनुसार २०७५ को एक वर्षको अवधिमा पर्यटकस्तरीयभन्दा माथि दुई दर्जन नयाँ होटेल निर्माण भई सञ्चालनमा आएका थिए । ती होटेलका कारण १ हजार २३ बेडसंख्या बढेका थिए । सरकारको पछिल्लो तथ्यांकअनुसार अहिले देशभर १ सय ३६ तारे होटेल छन् । १ हजार १ सय २५ वटा पर्यटकीयस्तरका होटेल छन् । तारे र पर्यटकीय होटेलमा गरी ४१ हजार बेड पर्यटकको सेवाका लागि तयारी अवस्थामा रहेका छन् ।

साना होटेल र होमस्टेको धक्का

पर्यटकीय सिजन र आन्तरिक पर्यटकको संख्या पनि बढ्दा साना होटेल र होमस्टेमा भने पाहुनाको कमी छैन । देशभर ६ सय होस्मटे सञ्चालनमा छन् ।

अधिकांश स्थानका होटेल र होमस्टेमा उस्तै पाहुना पुगेका छन् । यसमा आन्तरिकको भूमिका देखिए पनि अलि लामो समय नेपाल घुम्न आइपुगेका पर्यटक ‘बेड एण्ड ब्रेक फास्ट’ सेवा दिने साना होटेल र होमस्टेतर्फ आकर्षित हुने गरेका छन् । ठूला होटेलको विजनेश बीएडबी सेवा दिने साना होटेल र होमस्टेले खोस्दासमेत ठूला होटेलमा क्रमशः विजेनश प्रतिस्पर्धी बन्दै गएको हो ।

होटेलमा कुन वर्ष कति प्रतिशत अकुपेन्सी (प्रतिशतमा) ?

सन् २०१४ : ६१ प्रतिशत

२०१५ : ३०/३५ प्रतिशत

सन् २०१६ : ६०/६५ प्रतिशत

सन् २०१७ : ६०/६५ प्रतिशत

सन् २०१८ : ६५ प्रतिशत

सन् २०१९ : ५५ प्रतिशत (अनुमानित)

कुन वर्ष कति पर्यटक आए ?

सन् २०१४ : ७९०११८

सन् २०१५ : ५३८९७०

सन् २०१६ : ७५३३००

सन् २०१७ : ९४०२२८

सन् २०१८ : ११७३०७२

सन् २०१९ : १०९७५७१ (११ महिना)

आतिथ्य सेवामा ६० प्रतिशतभन्दा माथि कोठा बिक्री भएमा राम्रो अवस्था मानिन्छ । अकुपेन्सी ७० प्रतिशत कट्दा उत्कृष्ट मान्ने गरिन्छ । अकुपेन्सी ५० प्रतिशत हाराहारी मात्र रहृयो भने सर्भाइभ (सञ्चालनमा मात्र सीमित) रहेको अवस्थामा मान्ने व्यवसायीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment