Comments Add Comment
राष्ट्रियसभा चुनाव :

जीवनभर त्याग, नजित्ने चुनावमा टिकट !

गोपालमानका बागी उम्मेदवारले अक्मकाउँदै भने, ‘हुन्छ त नि’

२० पुस, पोखरा । २०४८ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउँदै गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । २०५१ सालको जेठमा सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम पारित हुन सकेन । नीति तथा कार्यक्रम नै फेल भएपछि कोइरालाले संसदको विघटन गर्दै मध्यावधी निर्वाचनको घोषणा गरे ।

मध्यावधि निर्वाचनमा कांग्रेसकै दुई समूहबाट उम्मेदवार खडा भए । कोइराला नेतृत्वको सरकार असफल बनाउन कांग्रेसकै ‘छत्तिसे समूह’ सक्रिय भएको निष्कर्ष निकाल्दै त्यतिबेला ठाउँठाउँमा बागी उम्मेदवार खडा गरिएको थियो । २०५१ सालको कात्तिक तेस्रो साता भएको त्यही मध्यावधि निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर २ का बागी उम्मेदवार थिए, सूर्यप्रसाद रेग्मी । पार्टीका आधिकारिक उम्मेदवार थिए, कांग्रेस नेता गोपालमान श्रेष्ठ ।

७ हजार मत पाउका सूर्यप्रसादले जीत हाँसिल गर्न त सकेनन्, तर गोपालमानलाई हराउन उनले प्राप्त गरेको मत काफी बन्यो । कांग्रेसीको झगडाको फाइदा उठाउँदै तत्कालीन नेकपा एमालेका धुर्व लम्साल सांसद बने ।

त्यसपछि थुप्रै चुनाव भए, कांग्रेस कहिले नेतृत्व त कहिले गठबन्धन दल बनेर धेरै पटक सत्तामा पुग्यो । तर सूर्यप्रसादले चुनाव र सत्तामा कहिल्यै अवसर पाएनन् ।

यो पनि पढ्नुहोस राष्ट्रियसभाका १८ पदमा ४५ जनाको उम्मेदवारी

शनिबार अनौठो संयोग उनीसामू आइपर्‍यो । २०५१ को मध्यावधि चुनावमा जोविरुद्ध बागी उठेका थिए, उनै गोपालमानले माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा पार्टीले टिकट दिने निर्णय गरेको खबर सुनाए । उनी एकछिन् अक्कमकाए ।

अनि भने, ‘हुन्छ त नि ।’

बीपीबाट निष्ठा सिके, अवसर छोप्न जानेनन्

२००७ सालमा प्रजातन्त्र स्थापनापछि कांग्रेसले थालेको सरकारको भद्र अवज्ञाका एक अभियान्ता थिए उनी । २०१४ सालमै उनी कांग्रेसमा आवद्ध थिए । तत्काल संसदीय निर्वाचन गर्न दबाब दिन वनारसबाट हस्ताक्षर संकलन गरेर तत्कालीन राजा महेन्द्रलाई पठाउनेमध्येका एक सूर्यप्रसाद पनि हुन् ।

‘वनरसमा अध्ययन गर्न जाँदा तत्काल निर्वाचन गराउन माग गर्दै सिग्नेचर क्याम्पेन गरेर राजा महेन्द्रलाई पठाएका थियौं,’ त्यो बेलाको घटना स्मरण गर्दै सूर्यप्रसादले भने, ‘२०१५ सालमा आम निर्वाचन भयो । तर केही वर्षमै महेन्द्रले ‘कू’ गरिहाले ।’

वनारसबाट बीपी कोइरालाको आह्वानमा राजनीतिक आन्दोलनमा लागेका सूर्य छात्र संघको कोषाध्यक्षसम्म बने । त्यही बेला उनले बीपीलाई पहिलो पटक भेटेका थिए । उहाँ पनि जेल पर्नुभयो र म पनि २२ सालमा जेल परें । २५ सालतिर उहाँसँग फेरि भेट भयो,’ सूर्यप्रसादले भने, ‘कांग्रेसले सशस्त्र संघर्ष थाल्ने निर्णय गर्दा सर्वस्वहरण गर्ने घोषणा गर्‍यो । हामी फरार भएर बाहिर गर्‍यौं ।’

सुवर्णशमशेरले थालेको पञ्चायतविरोधी आन्दोलन चलिरहँदा सूर्य पनि संघर्षमा लागे । परिवर्तनका निम्ति हरेक राजनीतिक आन्दोलनमा नेपाल कांग्रेसको झण्डा बोकेर सक्रिय भएर लागेका सूर्यले ७ वर्ष जेल जीवन बिताएका छन् ।

बीपी कोइरालासँग वनारसमा भेटेको र निष्ठाले राजनीतिमा लाग्न पैरित भएको उनी सुनाउँछन् । ‘वीपी, गणेशमान, गिरिजादेखि सुशील कोइराला र शेरबहादुर देउवासम्म ब्यहोरें,’ सूर्यप्रसादले भने, ‘निरन्तर पार्टीमा निष्ठाको राजनीतिमा लागिरहें, तर पछिल्लो समय निष्ठा हराउँदै गयो । हामी छाँयामा पर्दै गयौं ।’

लामो समय स्याङ्जा जिल्ला पार्टी राजनीतिको केन्द्रमा रहेका महाधिवेशन प्रतिनिधिभन्दामाथि जान सकेनन् । भद्र अवज्ञादेखि हरेक राजनीतिक आन्दोलनमा सहभागी हुँदै जनआन्दोलन २०६२/०६३ सम्म उनी होमिए । ‘कहिल्यै पदको लोभ गरिन । एक दिन पार्टीले हेर्छ, निष्ठाका साथ लाग्नुपर्छ भनेर झण्डा बोकेर हिँडिरहें,’ सूर्यप्रसादले अनलाइनखबरसँग भनेका छन्, ‘न कुनै उपल्लो पदमा पुगें न कुनै संसदीय निर्वाचनमा पार्टीको टिकट पाएँ ।’

सूर्यप्रसादले आफ्नो नाममा जायजेथा पनि जोडेका छैनन् । अहिले पनि दाइको परिवारसँगै बस्छन् । किन भन्ने प्रश्नमा उनी भन्छन्, किन चाहियो र सम्पति ?’

गोपालमानको त्यो फोनले निद्रा परेन

दुबै हात हल्लाउँदै भाषण गर्न थालेपछि माहोल आफ्नो पक्षमा पार्नसक्ने सूर्यप्रसादलाई कांग्रेसका कार्यकर्ता सिद्धान्त, निष्ठा र विचारको राजनीति गर्नुपर्छ भन्ने अग्रज नेताका चिन्छन् ।

अप्ठ्यारो अवस्थामा पनि उनी संस्थापन पक्षमै उभिन्थे । ‘म सधैं पार्टीको संस्थापन पक्ष हुँ । अहिले शेरबहादुर देउवा मेरा नेता हुन्,’ सूर्यप्रसाद खुलेर भन्छन् । तर अवसर पाउन मामिलामा भने उपेक्षामै परे । राजनीतिक प्रभाव देखाउने पद र अवसर नपाउँदा पछिल्लो समय सूर्यप्रसाद गुमनामजस्तै थिए । न पुराना पुस्तासँग जोडिइरहने ठाउँ पाए, न नयाँ पुस्तामाझ चिनिने ।

शनिबार उनी घरमै थिए । फोन आयो । कांग्रेस नेता गोपालमान श्रेष्ठको फोन रहेछ । ‘सूर्यप्रसादजी तपाईंलाई राष्ट्रिय सभा सदस्यको लागि निर्णय गरेका छौं है,’ गोपालमानले भने ।

सूर्य अक्मकिए । के कसो सोध्दै थिए, फेरि गोपालमानले नै थपे, ‘राष्ट्रियसभामा तपाईं उम्मेदवार पक्का भयो । तयारी गर्नुहोस् ।’ सूर्यप्रसादले हुन्छ भन्दै फोन राखे । अरु नेता र पार्टी कार्यकर्ताको पनि फोन आयो । सूर्यप्रसादलाई निद्रा परेन । कोल्टे फेर्दै सोंचिरहे, ‘योबेला किन पार्टीले पार्टी सम्झियो ?’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुमत रहेकाले राष्ट्रिय सभामा गण्डकीबाट कांग्रेसले जित्ने सम्भावना लगभग छैन भन्ने सूर्यप्रसादलाई पनि थाहा छ । अन्तिममा सूर्यप्रसादले चित्त बुझाए, ‘ठिकै छ पार्टीले ढिलै भए पनि न्याय गरेको छ । पार्टीले जित्ने अवस्था हुँदा त मभन्दा राम्रा र ऊर्जा भएका व्यक्तिले ठाउँ पाउनुपर्छ । अप्ठ्यारो अवस्थामा योगदान गरेको हुँ । जीत सुनिश्चित नभए पनि म उम्मेदवार हुनैपर्छ ।’ अनि आइतबार सूर्यप्रसादले निर्वाचन कार्यालय कास्की पुगेर राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराए ।

जित्ने कुरा ‘परमात्माको भरोसा’

गण्डकी प्रदेशमा महिला र अन्य समूहबाट एकएक जनाका लागि राष्ट्रिय सभा सदस्यको चुनाव हुँदैछ ।

कांग्रेसका सुरेन्द्रराज पाण्डे र विन्दा देवी आले (राना) को पदावधि सकिन लागेकाले उनीहरुको ठाउँमा निर्वाचन हुन लागेको हो । गण्डकी प्रदेशमा नेकपाको सहज बहुमत भएकाले यो चुनावमा कांग्रेसले २ सिट गुमाउने निश्चित छ ।

आइतबार मनोनयन दर्तापछि सूर्यप्रसादले राष्ट्रियसभा सदस्यमा जित परमात्माको हातमा रहेको प्रतिक्रिया दिए ।

नागरिकताअनुसार २००५ साले सूर्यप्रसादले यो उमेरमा पार्टीले विश्वास गरेर टिकट दिएको खुसी व्यक्त गर्दै जित सुनिश्चित गर्ने कुरा आफ्नो हातमा नरहेको बताए ।

बुढेसकालमै भए पनि पार्टीले पत्यायो । जित्ने कुरा त उनै परमात्माको हातमा छ,’ उनले भने । उनले जीवननै निष्ठाको राजनीतिमा समर्पण गरेको बताउँदै अब पैसा कमाउँला भन्ने लाभ, लालच नभएको बताए ।

‘छोरा छैनन् । मेरो नाममा एउटा घर र एक टुक्रा जमिन पनि छैन । मलाइ किन चाहियो पैसा ?’ उनले भने, ‘जिते ठिकै छ, नत्र समाजसेवा गर्छु, बस्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment