Comments Add Comment

नेपाल आइडल जितेर घरको समस्या टारेँ : रवि ओड

२३ पुस, धनगढी । सांगीतिक प्रतियोगिताबाट उदाएका प्रतिभाहरुसँग सधैं एउटा चुनौती रहन्छ, सुरुवाती दिनमा पाएको चर्चा र तरंगलाई कसरी दीर्घकालीन बनाउने ?

करियरको सुरुवातमा उनीहरु चर्चाको उत्कर्षमा रहन्छन, क्रमशः त्यसको राप र ताप सेलाउँदै जान्छ । अन्ततः उनीहरु दृश्यपलटबाट छायाँमा पर्छन् ।

रवि ओडलाई पनि लाग्न थालेको छ, ‘आफू पनि त्यसरी नै ओझेलमा परिने पो हो कि ?’

नेपाल आइडलको दोस्रो संस्करणबाट उदाएका गायक हुन्, रवि ओड । कञ्चनपुरको गुलरियास्थित सामान्य परिवारमा जन्मिएको ठिटो । बाल्यकाल गरिबी र अभावमा बित्यो । बुबा भारतमा रोजगारी गर्थे । बनिबुतो जिन्दगी चलेकै थियो ।

रविलाई भने गीत–संगीतमा औधी रुची । गाउँथे, रमाउँथे । तर उनको गायकी फक्रन पाएको थिएन । नेपाल आइडलको प्लेटफर्मबाट भने उनले सार्वजनिक चिनारी बनाए । यद्यपि यो चिनारी सधैं कायम राख्न सकिएला वा नसकिएला भन्नेमा उनी आफै सशंकित छन् ।

यसै सेरोफेरोमा अनलाइनखबरकर्मी भानुभक्त अचार्यले गायक ओडसँग गुरेको कुराकानीः

नेपाल आइडल–२ को उपाधि जित्दाको क्षणलाई कसरी सम्झनुहुन्छ ?

त्यो मेरो जीवनकै महत्वपूर्ण क्षण हो, जहाँबाट मैले सबैमाझ चिनिने मौका पाएँ । थुप्रै शुभचिन्तक कमाएँ । नेपाल आइडलले मलाई त्यो लोकप्रियता र मञ्च उपलब्ध गराइदियो ।

मैले नेपाल आइडल जित्नुमा सबैको शुभेच्छा र मप्रतिको विश्वास नै हो । उनीहरुको विश्वासलाई मैले गुमाउन दिनहुन्न । मैले नेपाल आइडलको उपाधिलाई कहिलेसम्म जोगाउन सक्छु ? यो मेरो लागि चुनौती हो ।

उपाधि पाउँदा तपाईंका केही सपना थिए । नयाँ घर बनाउने, बुवालाई भारत जानबाट रोक्ने । ती सपनाहरू पूरा भए ?

पक्कै पनि मेरा धेरै सपना थए । घर बनाउने, पारिवारिक पृष्ठभूमिलाई बलियो बनाउने । ती सबै राम्रो भएको छ ।

उपाधि जितिसकेपछि सबै व्यवस्थित भएको छ । पहिलेजस्तो पैसाको आवश्यकता पर्ने गरेको थियो त्यो अहिले छैन । अहिलेसम्म मेरो बोली बिकिरहेको छ । टाउको बिकिरहेको छ । जे होस् राम्रो छ । पहिलेको भन्दा त धेरै राम्रो छ ।

तपाईंलाई आफू पनि यस क्षेत्रबाट गुमनाम बन्छु भन्ने डर हो ?

नेपाल आइडल पहिलो संस्करणका विजेता बुद्ध लामा गुमनाम छैनन् । आफ्नो काम गरिरहेकै छन् । मैले पनि आफ्नो लय गुमाएको छैन जस्तो लाग्छ ।

हामीले आफ्नो कामलाई निरन्तरता दिइरहने कुरा हो । निरन्तरताका लागि मिहिनेत, लगाव र गुणस्तर आवश्यक हुन्छ । पूर्ण रुपले मिहिनेत गरेपछि सकारात्मक नतिजा आउँछ जस्तो लाग्छ ।

सुरुवाती क्षणमा पाएको चर्चालाई कायम राख्न चुनौतीपूर्ण होला है ?

कलाकारिता आफैमा चुनौतीपूर्ण क्षेत्र हो । आज चर्चा छ, भोलि गुमनाम । सधै आफ्नो चर्चा र लोकप्रियतालाई जोगाएर राख्न गाह्रो छ ।

तर, आफ्नो काममा इमान्दार हुने हो भने धेरै डराउन पनि आवश्यक छैन । हाम्रो संगीत क्षेत्र त्यति ठूलो छैन । यहाँ ठूलो स्टार बनेर पनि काम छैन । जे छ त्यसमै सन्तोष गर्नुपर्छ । मिहिनेत गर्न छाड्न हुँदैन ।

तपाईंले उपाधि जितिसकेपछि सुदूरपश्चिममा संगीतको क्रेज बढेको हो ?

मलाई त्यस्तै लाग्छ । अहिले नेपाल आइडलको सिजन ३ मा पनि धेरै प्रतियोगी सुदूरपश्चिमबाट सहभागी छन् । विगतमा त्यस्तो क्रेज थिएन ।

पहिले–पहिले सुदूरपश्चिम पिछाडिएका भन्थे । विकासमा मात्र होइन, गीत संगीतका क्षेत्रमा पनि उत्साहित भएर लाग्ने माहौल थिएन । हामीलाई कसैले सहयोग गर्दैन, साथ दिँदैन भन्ने लाग्थ्यो । तर, त्यो भ्रम रहेछ । यहाँ भूगोल भन्दा पनि प्रतिभालाई ठाउँ दिइने रहेछ ।

अहिले कति व्यस्त हुनुहुन्छ ?

अहिलेसम्म मैले सबैको साथ, सहयोग पाएको छु । चलचित्रको गीत गाउने काम पाइरहेको छु । अहिले चल्तीमा रहेका संगीतकर्मीहरुले मलाई रुचाइदिनुभएको छ ।

अबको लक्ष्य के छ ?

खास यही गर्छु भन्ने छैन । आफ्नो कामलाई निरन्तरता दिने हो । आफ्नो काममा केन्द्रित रहने हो । आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने हो ।

सुरुका दिनहरुमा सबैमा यस्तै उत्साह हुन्छ, पछि सेलाउँदै जान्छ नि ?

विगतका चर्चित कलाकारहरू प्राय विदेश पलाएन भइरहेका छन् । कोही अमेरिका छन्, कोही कता । जबकी उनीहरु आफ्नो समयमा निकै चर्चित थिए । अहिलेका पुस्तालाई उनीहरुको नाम पनि थाहा हुन छाडिसक्यो होला । उहाँहरुलाई सम्झँदा मलाई डर लाग्छ । मेरो पनि भविष्य त्यस्तै पो हुने हो कि भन्ने लाग्छ ।

सिजन थ्रीको बिजेता आएपछि तपाईं हराउने पो हो कि ?

सबैले आ–आफ्नो भाग्यको खाने हो । आफ्नो भाग्यमा जे छ त्यही गर्ने हो ।

मलाई त म नियमित काम गर्छु भन्ने लाग्छ । एक वर्ष नहुँदै मेरो १०/१२ वटा गीत रिलिज भइसकेको छ । भोलि म एक सालमा एउटै मात्रै गीत रिलिज गर्न सक्छु । दुई टा मात्रै रिलिज गर्न पनि गर्छु होला ।

तपाईंलाई सुदूरपश्चिम प्रदेश सरकारले पर्यटन दूतका रूपमा पनि नियुक्त गरेको छ । यहाँको प्रचार प्रसार गरिरहनु भएको छ ?

मैले प्रदेशको पर्यटन प्रवर्द्धन पनि गरिरहेको छु । योजना नै बनाएर म अगाडि बढिरहेको छु ।

अब माघदेखि हामी निरन्तर यसैमा लाग्छौँ । माघमा सुदूरपश्चिम प्रदेशको डकुमेन्ट्री बनाउने, नौ वटै जिल्लाको कला संस्कृति, भाषाको प्रवद्र्धन गर्ने र यहाँका पर्यटक क्षेत्रको प्रचार प्रसार गर्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment