Comments Add Comment

रंगमञ्चमा आयातित नाटकको बाहुल्यता, किन कमजोर छ नेपाली कथा ?

केही समय अगाडि काठमाण्डौको प्रज्ञा प्रतिष्ठानको ठुलो हलमा नाटक ‘मार्क्स फर्किए’ मञ्चन गरियो । यो नाटकको चर्चा निकै चल्यो । मिडियोदेखि नाट्य क्षेत्रमा लागेका हरेक व्यक्तिले यो नाटकमा विशेष चासो राखे । सुनिल पोखरेल, निशा शर्मा लगायतका कलाकार यो नाटकको मुख्य पात्रमा प्रस्तुत हुनुले पनि नाटकलाई थप चर्चा दिएको थियो ।

निकै मंहगो टिकट भएपनि प्रज्ञा भवनको ठुलो हल भरिभराउ थियो । तर, नेपाली दर्शकले हेरेको उक्त नाटक अर्गानिक नाटक भने थिएन । यो नाटक विदेशी पुस्तक ‘मार्क्स इन साहो’बाट अनुवाद गरेर मञ्चन गरिएको थियो । यो नाटकका नाटककार हावार्ड जीन हुन् ।

मार्क्स फर्किए मात्र होइन, धेरै नाटकहरु छन्, जुन विदेशी नाटकहरुबाट अनुवाद गरेर नेपालमा मञ्चन गरिएको छ ।

गत शुक्रबारबाट शैली थिएटरमा ‘विवाहको प्रस्ताव’ नामक नाटक मञ्चन सुरु भएको छ । जुन नाटक पनि आयातित नाटक हो । रुसी साहित्यकार एन्टोन चेखबले लेखेको यो नाटकलाई नेपालीकरण गरेर मञ्चन सुरु गरिएको हो । सविन न्यौपानेले अनुवाद गरेको यो नाटकलाई नवराज बुढाथोकीले निर्देशन गरेका छन् ।

केही समय अगाडि मण्डलामा मञ्चन भएको नाटक ‘महाभोज’को चर्चा निकै चल्यो । नाटक हेरेका धेरैले यो नाटकको प्रशंसा गरे । अनुप बरालको निर्देशनमा तयार भएको यो नाटकमा नाट्य क्षेत्रका चिनिएका व्यक्तिहरुको बाहुल्यता थियो । मञ्चमा दयाहाङ राई, रमेश बुढाथोकी, सिर्जना सुब्बा, राजन खतिवडा, विजय बराल, बुद्दि तामाङ, आर्जेश रेग्मी लगायत देखिएका थिए ।

तर, यो नाटक पनि नेपाली लेखकले लेखेको नाटक भने होइन । भारतमा निकै लोकप्रिय भएको यो नाटकलाई नेपालीकरण गरेर मण्डलामा मञ्चन गरिएको थियो । नाटकलाई विप्लप प्रतिकले नेपालीमा अनुवाद गरेका थिए ।

रंगमञ्चको दुनियामा सर्वाधिक सफल मानिएको नाटक ‘टलकजंग भर्सेस टुल्के’ पनि अर्गानिक कथामा बनेको नाटक होइन । यो नाटकलाई पनि खगेन्द्र लामिछानेले नेपालीकरण गरेका हुन् । बाहिरी देशमा मञ्चन भइसकेको यो नाटकलाई खगेन्द्रले नेपाल ल्याएका हुन् । यो नाटकको निर्देशन अनुप बरालले गरेका थिए ।

चलचित्रको पर्दामा खगेन्द्रलाई मुख्य भूमिकामा देखाइएता पनि नाटकको मञ्चमा भने आशान्त शर्मा मुख्य भूमिकामा देखिएका थिए ।

कुञ्ज नाटकघर खुल्दै गर्दा मञ्चन गरिएको नाटक ‘अँधेरी नगरी चौपट राजा’ पनि आयातित नाटक हो । यो नाटकलाई हिन्दी साहित्यकार भारतेन्दु हरिश्चंन्द्रले लेखेका हुन् । जुन नाटकलाई नेपालीकरण गरेर मञ्चन गरिएको थियो । हाँस्यस्पद रुपमा प्रस्तुत गरिएको यो नाटकलाई आशिष घिमिरे र संगीत सापकोटाले निर्देशन गरेका थिए ।

माथि उल्लेखित नाम त उदाहरण मात्र हुन् । यस्ता धेरै नाटकहरुलाई नेपालीकरण गरेर मञ्चन गरिएको छ । चर्चा भएका नाटकहरु हेर्ने हो भने आयातित नै बढी छन् । त्यसैले धेरैले नेपालमा आयातित नाटकहरुको बाहुल्यता बढेको टिप्पणी गरिरहेका छन् ।

तर, नाट्यकर्मी सुनिल पोखरेल भने यो कुरालाई स्विकार्दैनन् । उनले भने–‘आयातित नाटकहरु धेरै छन् त्यो कुरा साँचो हो । तर, नेपाली नाटकभन्दा बढी विदेशी छन् भन्नु गलत हो । विभिन्न थिएटरहरुमा नेपाली लेखककै नाटकहरु मञ्चन भएका छन् ।’

नेपालमा नाटक लेख्ने लेखकहरु कम हुँदा विदेशी नाटकलाई रोज्नु परेको सुनिल बताउँछन् । उनले थपे–‘यहाँ नाटक लेख्दिने मान्छेहरु नै हुनुहुन्न । त्यसैले पनि हामी विदेशी नाटक लिन बाध्य छौँ । यदि नेपालीले नै नाटक लेख्नुहुन्छ भने त हामीले विदेशी लिनै पर्ने थिएन ।’

विदेशबाट लिएका नाटकहरु देखाउन गाह्रो हुने सुनिलको बुझाई छ । नेपाली भाषामा अनुवाद गरेर, नाटकको मर्म नमारी मञ्चन गर्नु चुनौतीपूर्ण नै भएको सुनिल बताउँछन् । ‘यहाँ लेखिएको भए त नेपाली भाषामा नै हुन्थ्यो । सजिलो भइहाल्थ्यो । तर, विदेशी नाटकलाई त नेपाली भाषा दिदा गाह्रो हुन्छ,’ सुनिल भन्छन् ।

नाट्यकर्मी अनुप बराल पनि विदेशी नाटक बढि मञ्चन गरिएको कुरालाई स्विकार्न तयार देखिएनन् । तर, नेपाली नाटक भन्दा पनि विदेशी नाटकको चर्चा बढी हुने भएकाले विदेशी धेरै भएको जस्तो लागेको उनी बताउँछन् ।

उनले भने–‘यहाँ विदेशी नाटकहरुको चर्चा बढी हुन्छ । त्यसैले पनि नेपाली नाटकहरु छायामा परेका हुन सक्छन् । तर, संख्यात्मक रुपमा हेर्ने हो भने नेपाली नाटक नै बढी मञ्चन भइरहेका छन् ।’ विदेशी कृतिहरु नै वजनदार हुने भएकाले त्यहाँको नाटकहरुको बढी चर्चा हुने अनुपको बुझाई छ ।

विदेशी नाटकहरुलाई प्रस्तुत गर्दा पनि नेपाली जस्तै बनाएर प्रस्तुत गर्ने गरेको अनुप बताउँछन् । उनले भने–‘अरुको विषयमा त म भन्न सक्दिनँ । तर, मैले विदेशी नाटक मञ्चन गर्दैछु भने कतै पनि विदेशी लाग्ने गरी गर्दिनँ । हरेक रुपमा त्यसलाई नेपालीकरण गर्न खोज्छु ।’

त्यस्तै, कलाकार तथा निर्देशक आशान्त शर्मा नेपाली नाटकमा कथाको अवस्था त विजोग नै भएको बताउँछन् । अहिले राम्रो नाटक भेट्न गाह्रो भएको उनको भनाई छ । उनी भन्छन्–‘खै ! नाटक लेख्ने मान्छे नभएर हो कि के हो, नाटकको अवस्था त नाजुक नै छ ।’

आयातित नाटकहरुलाई प्रस्तुत गर्न सहज हुने भएकाले धेरैको आकर्षण विदेशी नाटकमा भएको उनी बताउँछन् । उनले भने–‘अहिले त जुनसुकै कुरामा पनि सरकारले निषेध गरिरहेको अवस्था छ । नाटकका कथाहरुमा पनि बन्देज गर्दिन सक्छ । त्यहीँ नाटकलाई विदेशी हो भनेर प्रस्तुत गरियो भने सहज हुन्छ । त्यसैले पनि विदेशी नाटकमा झुकाव बढेको हुनसक्छ ।’

आशान्तको बुझाईमा भने आयातित नाटकको मात्रा बढ्दै गएको छ । यसले गर्दा नेपाली मौलिक कथालाई पछाडि धकेलिरहेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment