Comments Add Comment

ट्यांकरको भन्दा पनि खराब जारको पानी- अध्ययन

९२ प्रतिशत बढी जारको पानीमा मापदण्डभन्दा धेरै कोलिफर्म

काठमाडौंमा ट्यांकरको पानीभन्दा जारको पानी असुरक्षित रहेको अध्ययनबाट खुलेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले विभिन्न समयमा गरेको अध्ययनले ट्यांकरको पानीमा भन्दा जारको पानीमा धेरै कोलिफर्म ब्याक्टेरिया हुने गरेको देखाएको हो ।

गत वर्ष नास्टको वातावरण तथा मौसम अध्ययन प्रयोगशालाको लागि सुजन महर्जन, टिस्टा प्रसाईं जोशी, सुजनमान श्रेष्ठको टोलीले गरेको अध्ययनले यस्तो देखाएको हो । अध्ययनले सूक्ष्म जीववैज्ञानिक दृष्टिले हेर्दा काठमाडौं उपत्यकामा उपभोग हुने पानीको ६६ प्रतिशत प्रदूषित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । नमुना संकलन गरिएको पानी मध्ये ९२ प्रतिशत जारको पानीमा, ७७ प्रतिशत ट्यांकरको पानीमा, ६९ प्रतिशत प्रशोधित पानी र २० प्रतिशत बोटलको पानीमा तोकिएको मापदण्डभन्दा धेरै क्लोरिर्फम भेटिएको हो ।

नास्टले नै २०१७ मा गरेको अर्काे अध्ययनले समेत जारको पानीमा धेरै हानिकारक तत्वहरु रहेको औल्याएको थियो ।  त्यतिबेला नास्टका वरिष्ठ वैज्ञानिक डा. भोजराज पन्तको नेतृत्वमा अध्ययन भएको थियो । गत वर्ष प्रसाईंको नेतृत्वमा सो अध्ययन भएको हो ।

यो पनि पढ्नुहोस कस्तो पानी पिउँदैछन् काठमाडौंवासी ?

पन्तको नेतृत्वमा भएको अध्ययनले बोतलको पानीहरुमा प्रचुर मात्रामा दिशामा हुने जीवाणुहरु समेत भेटिएको जनाएको थियो । सन् २०१७ मा नास्टले उपत्यकामा पानी वितरण गर्ने ५० वटा जार कम्पनीहरुमा नमुना संकलन गरी ल्याबमा परीक्षण गर्दा अधिकांश पानीमा हानिकारक जीवाणु भेटिएको पन्तले जानकारी दिए । उनका अनुसार सो अध्ययनका अनुसार एक सय मिलिलिटर पानीमा ३ सयभन्दा धेरै समूहमा कोलिफर्म भेटिएको थियो । ७४ प्रतिशतमा भने दिशामा हुने जीवाणु ‘इकोली’ भेटिएको थियो । राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०६२ अनुसार पानीमा कोलिफर्म र इकोली दुबै शून्य हुनुपर्छ ।

काकाकुल काठमाडौंबासीलाई पानीको संकट

काठमाडौंबासीहरु तिर्खाएको संसारमा बाँचिरहेका छन् । यसको बारेमा कुनै प्रश्न छैन । २५ वर्षसम्मको मेलम्चीको आशामा प्रदूषित पानी पिउन बाध्य काठमाडौंबासीको तिर्खा यति बढेर गएको छ कि पानी केवल हामी तत्कालीन प्यास मेटाउनको लागि मात्रै पिउने गरेका छौं न कि आवश्यक पौष्टिकताको लागि । पानीको अभाव हाम्रो समयको मुद्दा बन्दै गएको छ । जलवायु परिवर्तन बढ्दै गइरहेको छ । यसले केवल नेपाललाई मात्रै होइन अमेरिकाको क्यालिफोर्नियादेखि केन्याका किसानहरूलाई समेत असर गरिरहेको छ । त्यसैको एउटा पाटो हो काठमाडौंबासीको पानीको समस्या पनि ।

काठमाडौंबासीले कस्तो पानी पिउने गरेका छन् त ? अनलाइनखबरले केही समय अघि तयार यसैको खोजी गर्दै पानीको मुहानमा पुग्दा देखिएको फोहोर नै काठमाडौंबासीको मूल समस्या हो । जुन पानीमा पर्याप्त मात्रामा खनिज भेटिन्छ । त्यो पानीमा अधिकमात्रामा हानिकारक पदार्थ भेटिएको छ भने जुन पानी आफैंमा स्वास्थ्यको लागि हानिकारक छ । त्यसमा प्रशोधन गर्नुको पनि औचित्य नरहेको जानकारहरु बताउँछन् ।

त्यसैमाथि हामीले शुद्ध र खनिजयुक्त भनेर पिउने गरेको बोतलको पानी झनै हानिकारक हुने गरेको भेटिएको छ । एकातिर बोतलको पानीमा धेरै मात्रामा सूक्ष्म प्लास्टिकका कणहरु हुने गरेको छ । त्यही कारण देखाउँदै संयुक्त राज्य अमेरिका र क्यानडाका स्थानीय सरकारहरूले यसको बिक्रीमा प्रतिबन्ध लगाउने तयारी गरिरहेका छन् । तर, काठमाडौं यही प्लास्टिकमा रहेको हानिकारक पदार्थका साथ पानी पिउन बाध्य भएको विभिन्न अध्ययनहरुले देखाएको छ ।

ढुंगेधारा मासियो, पानीमा छैन खनिज

काठमाडौं उपत्यकामा जेनतेन बाँचेका ढुंगेधाराहरु यतिबेला संकटमा छन् । ढुंगेधारामा आउने पानीका स्रोतहरु शहरीकरणसँगै काटिँदैछन् । हामी पूर्ण रुपमा बोतल या त जारको पानीमा निर्भर हुँदैछौं । तर, बोतल र जारको पानीले तत्कालीन प्यास मेट्ला । तर, हाम्रो शरीरमा पानीबाट प्राप्त हुने पौष्टिक तत्वहरु भने रत्तिभर पनि नपाइने जानकारहरु बताउँछन् ।

तर, नेपालमा अधिकांश व्यक्तिहरु त्यही प्याकेटमा राखिएको पानीलाई नै शुद्ध र पौष्टिक मानेर धेरै प्रयोग गर्ने गर्छन् । विभिन्न अन्तराष्टि्रय अध्ययनहरुले स्पष्ट भनेको छ प्लास्टिकका पानी बोतलहरूका कारण वातावरणमा मात्रै नभएर स्वास्थ्यका लागि समेत गम्भीर समस्या हुने गर्छ ।

त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक डा अच्युत अधिकारी प्लास्टिकका बोतलहरुमा राखिएका पानीहरु मिनेरलयुक्त पानी नभएर केवल प्याकेटमा राखिएको पानी मात्रै रहेको बताउँछन् ।  अनलाइनखबरसँग कुराकानीमा उनी भन्छन् ‘काठमाडौं उपत्यकाको आसपासबाट बग्ने पानीमा पर्याप्त खनिज पदार्थहरु पाइन्छ । यो आफैंमा सकारात्मक पक्ष हो । तर, रिभर्स ओस्मोसिर र ओजोन ग्यासद्वारा उपचार गर्न महंगो पर्ने र ०‍.२ माइक्रोनको फिल्टरले छान्दा उत्पादन थोरै हुने भएकोले धेरै उद्योगहरुले यस्तो छान्ने विधि अपनाउँदैनन् । जसका कारण पनि पानीमा कोलिफर्म भेटिन्छ । उनले प्लास्टिकको बोतलमा धेरै समय राख्दा पानीमा सुक्ष्म प्लास्टिक मिसिने र त्यो हाम्रो शरीरमा पुगेपछि त्यसले हामीलाई नोक्सान गर्ने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment