Comments Add Comment

रंगमञ्चका ‘टुल्के’

२५ पुस, काठमाडौं । नख्खुको एक चिया पसलमा भेटिए आशान्त शर्मा । खैरो ज्याकेट र शिरमा ऊनको कानेटोपी लगाएका उनी चियाको दाग लागेको भित्तामा अडेस लागेर चिया पिउँदै थिए ।

पेशाले उनी रंगमञ्च कलाकार । त्योबाहेक नृत्य सिकाउने गुरु पनि हुन् । अनि केही टेलिचलचित्रमा सहायक निर्देशनसमेत गरेका छन् । केही चलचित्रमा पनि अभिनय गर्न भ्याएका छन् ।

आशान्तको हुलिया एकदम सामान्य छ । उनलाई तडकभडक त्यति मन पर्दैन पनि । नाटकमा चलेको कलाकार भएर पनि उनमा ‘सेलिब्रिटी फिल’ पाइँदैन ।

भन्छन्, ‘तडकभडक गरेर हिँड्न थालियो भने कामपट्टि ध्यान हुन्न । त्यसैले म यस्तै छु । मेरो स्वभाव नै यस्तै हो ।’

आशान्तले आजको स्थानसम्म आइपुग्न धेरै दुःख गरेका छन् । उनले भुलेका छैनन् संघर्षका दिनहरु । कहिले भोकै सुत्नुपर्ने, कहिले गाडी भाडा तिर्ने पैसा नभएर पैदल हिँड्नुपर्ने । अहिले बल्ल उनको अर्थतन्त्र केही स्थिर बनेको छ । अभिनय तथा प्रशिक्षणबाट राम्रै कमाइरहेका छन् । आफ्नो कमाइले परिवार पालिरहेका छन् ।

आशान्त भन्छन्, ‘शोखका रुपमा मात्र काम गर्नेहरुलाई टिक्न गाह्रो हुन्छ । तर, व्यावसायिक रुपमा लाग्ने हो भने यसैबाट जीवनयापन गर्न सकिन्छ ।’

हरेक कलाकारको जीवनमा आरोह–अवरोह त हुन्छन् नै । तर, असफलतामा नआत्तिने र सफलतामा नआत्तिने सूत्र अशान्तले पछ्याउँदै आएका छन् ।

‘आफूसँग भएको बाइक बेचेर साइकल चढ्नुपर्ने हुनसक्छ । साइकल पनि नहुँदा पब्लिक बस चढ्नुपर्ने हून्छ । कहिले त गाडीभाडा पनि हुन्न । त्यो बेला हिँड्नुपर्छ । तर, कुनै पनि परिस्थितिमा हरेश चाहिँ खानु हुन्न,’ आशान्त आफ्नो भोगाइमिश्रित निश्कर्ष सुनाउँछन् ।

मुख्य भूमिकाको ‘चिठ्ठा’

आशान्त बाल्यकालदेखि नै कलाकारितामा आकर्षित भए । सानै उमेरदेखि कलाकार बन्ने इच्छाले उनलाई डो¥यायो । गीत बज्यो कि नाच्न थाल्थे । गाउँमा हुने नाटकहरु नछुटाई हेर्थे । रामलीला त छुट्ने कुरै भएन ।

पढाइ चल्दै गर्दा आशान्तले गाउँकै एक समुहसँग मिलेर नाटकमा काम गरे । विराटनगरबाट वुटवल आएका नाट्य समूहको व्यवस्थापन उनले सम्हाले । त्यहीँ टिमले देशव्यापी रुपमा गर्न लागेको एक नाटकको व्यावस्थापनको जिम्मा आशान्तलाई दियो ।

आशान्तको रुचिको विषय थियो, नाटक । त्यसैले नाई भन्ने कुरै भएन । प्रकाश घिमिरेको निर्देशनमा बनेको नाटक ‘माई राम’ को उनी व्यवस्थापक बने ।

तर, नाटक सुरु हुने अघिल्लो दिन मुख्य कलाकारले हात झिके । त्यसले आशान्तलाई नसोचेको चिठ्ठा पर्‍यो । मुख्य भूमिका उनकै भागमा आयो ।

आशान्त भन्छन्, ‘नाटकको मुख्य कलाकार नारायण दाहाल हुनुहुन्थ्यो । उहाँले छोडेपछि दीपक सुनामले मलाई छनोट गर्नुभयो । मुख्य कलाकारकै अफर पाएपछि मैले नाई भन्ने कुनै थिएन ।’

एकैचोटि मुख्य भूमिका पाएपछि आशान्तको मन अशान्त पनि बन्यो । एकातिर खुशी र उत्साह थियो त अर्कोतिर के होला, कस्तो होला भन्ने डर ।

‘रुचिको क्षेत्रमा काम पाएकाले त्यो मेरा लागि अवसर थियो । तर, अनुभवी कलाकारसँग काम गर्दा आफूले नसक्ने हुँ कि भन्ने डर पनि थियो,’ आशान्तले त्यो पल सम्झिए ।

मात्र एक दिनको अभ्यासपछि उनी नाटकको लागि तयार भएका थिए । २० वर्षीया आशान्त सोही नाटक लिएर देशभर डुले । उनलाई निकै राम्रो प्रतिक्रिया मिल्यो ।

उक्त नाटकपछि ५१ सालमा संविधानको विषयमा बनेको ‘जनता आफैँ बुझौं’ भन्ने सडक नाटकमा काम गरे । त्यो नाटक पनि देशका विभिन्न शहरहरुमा देखाइएको थियो ।

सोही समूह थियटरमा स्टेज नाटक गर्ने सोचसहित पोखरा पुग्यो । तर, त्यहाँ सफल भएन । सबै आफ्नो आफ्नो बाटो फर्किए । आशान्त पनि मलिन अनुहार लिएर काठमाडौं आए ।

नाटकका लागि जागिर त्याग

‘माई राम’ नाटकमा काम गर्नु पूर्व आशान्त जागिरे थिए । उनले पूर्णकालीन रुपमा नाटकमै काम गर्ने भनेर जागिर नै छोडिदिए । तर, नाटकमा काम पाएनन् । केही महिना वेरोजगार बने ।

त्यही बेला उनलाई पुलिस क्लबका एक साथीले बारमा नाच्ने अफर गरे । सानैदेखि राम्रो नाच्न जान्ने आशान्तले उक्त अफरलाई पनि नकारेनन् । त्यहाँ नाचेर उनी आफ्नो जीवन चलाउन थाले ।

नाचेर केही पैसा कमाएपछि उनले नयाँ समूह बनाए, ‘कलाप्रेमी युवा समूह’ । २०५३ सालमा स्थापना भएको यस समुहले पनि सडक नाटक आयोजना गर्‍यो । २०५५ सालमा आशान्त आफैँले ‘दोषी को ?’ नामक नाटक लेखे । यो नाटक प्रज्ञा भवनमा प्रस्तुत गरिएको थियो ।

उक्त नाटकको मञ्चन सकिएपछि आशान्तले विवाह गरे । त्यसको केही समयमा नै श्रीमती बिरामी परिन् । श्रीमती स्याहारेर ३ महिना हस्पिटलमा बसे । आशान्त भन्छन्, ‘मैले श्रीमतीलाई समय दिनुपर्ने भएपछि काममा ध्यान दिन सकिनँ । त्यसैले धेरै साथीहरुले मलाई छोड्नुभयो ।’

साथीहरु छुटेपछि एक्लो बनेका आशान्तले सोही वर्ष गोविन्द राईको सहायक निर्देशक भएर काम गर्ने मौका पाए । उमेरले कान्छा गोविन्द कामले अनुभवी थिए । आशान्त भन्छन्, ‘वेरोजगार बस्नुभन्दा सहायक निर्देशक भएर नै काम गर्नु बेस लाग्यो । त्यसैले काम गरे ।’ गोविन्दको सहायक बनेर आशान्तले केही चलचित्रमा नृत्य सिकाएका छन् ।

गोविन्दले नै आशान्तलाई परिवर्तन नेपालमा परम्परागत नृत्य सिकाउन काम लगाइदिएका थिए । जीवन जसोतसो चलिरहेकै थियो । दिमागबाट नाटकको भूत हट्दै थियो ।

पुनः नाटकको भूत

२०५९ सालमा आशान्तलाई नाटकबाट अफर आयो । नाम थियो, ‘दूरी’ । त्यो अफरले फेरि उनको मन नाटकमा फर्कियो । त्यसमा काम गरे । त्यसपछि पनि अफर आएका नाटकहरु छोडेनन् ।

उनी भन्छन्, ‘नाटक निर्देशनको लागि त ६ महिना तयारी गर्नुपर्छ भने चलचित्र अझै मल्टिमास मिडियामा जाने कुरा हो । हावामा बनाएर भएन । त्यसैले केही समय लाग्छ ।’

उनी टिभी सिरियलहरुमा पनि काम गर्न थाले । कलाकारदेखि सहायक निर्देशकसम्म बनेर सिरियलमा काम गरिरहेका थिए । काम र कमाइ राम्रै भइरहेको थियो ।

सिरियलमा राम्रो छाप बनाइरहेका आशान्तलाई अनुप बरालको नाटकबाट अफर आयो । आशान्तले अनुपको विषषमा सुनेका थिए । नाटक पनि हेरेका थिए । अनुपसँग काम गर्ने इच्छा् मनमा थियो । त्यसैले आशान्त केही नसोची ‘एस’ भनिदिए ।

तर, त्यहाँ सर्त राखियो । ४/५ महिनासम्म पूरै समय दिनुपर्ने । आशान्त यसमा पनि राजी भए । आफ्नो नृत्य कक्षा नै छोडिदिए । काम गरिरहेको सिरियल पनि छोडे । र, अनुपको निर्देशनमा काम गर्न एक्टर स्टुडियो पुगे । उनीसँगै दयाहाङ, सिर्जना सुब्बा, रविन पाण्डेलगायत पनि त्यहाँ पुगेका थिए । ३ महिना वर्कसप गरे । ३ महिना रिहर्सल । नाटक थियो, ‘टलकजंग भर्सेस टुल्के’ ।

यस नाटकको मुख्य भूमिकामा खगेन्द्र लामिछाने रहने कुरा थियो । तर, खगेन्द्रले उक्त नाटकमा काम गर्न भ्याएनन । त्यसैले सोही नाटकमा काम गर्ने ३/४ जनाले अडिसन दिए ।

आशान्त भन्छन्, ‘मेरो भूमिका सानो थियो । तर, साथीहरुले भनेपछि ठूलो भूमिकाको लागि अडिसन दिएँ । अन्ततः मुख्य भूमिका (टुल्के) मा म नै छनोट भए ।’

नाटक निकै हिट भयो । यो नाटक लिएर देश–विदेशसम्म पुगे आशान्त र टिम ।

उक्त नाटकपछि एक्टर स्टुडियोमा नै तेस्रो व्याचका विद्यार्थी बने, आशान्त । चौथो व्याचमा असिस्ट भए । छैटौँ व्याचमा पुगेपछि सहायक शिक्षक । सातौँ ब्याचबाट उनी पढाउन नै सुरु गरे ।

चलचित्र यात्रा

अनुप बरालसँग आशान्तको सम्बन्ध राम्रो बनिसकेको थियो । अनुपले जे कुरामा पनि उनलाई अगाडि सार्थे । चलचित्रको हकमा पनि त्यही भयो । ‘कुसुमे रुमाल’ बन्ने तयारीमा थियो । कलाकार छान्ने जिम्मा अनुपले पाएका थिए । त्यसमा अनुपले आशान्तलाई रोल अफर गरे ।

आशान्तलाई चलचित्रमा काम गर्ने उति रुचि थिएन । खासमा उनलाई चलचित्र क्षेत्रसँग नै वितृष्णा थियो । आशान्त भन्छन्, ‘नेपाली चलचित्रहरु यो राम्रो छ है भन्ने कुनै थिएनन् । त्यसैले काम गर्ने रहर नै थिएन । तर, अनुप सरको आग्रहमा गरेँ ।’

उक्त चलचित्रपश्चात् ‘के यो माया हो ?, रेड मनसुन, बाधशाला, छाया’ लगायतका चलचित्रमा छोटो भूमिकामा काम गरे । यी चलचित्रबाट भने थोरै सन्तुष्टि मिल्यो ।

आशान्तले पछिल्लो समय ‘धनपति’, ‘कान्छी’, ‘डमरुको डन्डीवियो’ लगायत चलचित्रमा काम गरे । उनी अभिनित नयाँ चलचित्र ‘आमा’ रिलिजको तयारीमा छ ।

नाटक होस्, वा चलचित्र । आशान्त स्वभाविक अभिनयका लागि चिनिन्छन् । को अभिनय सबै स्वाभाविक लाग्छ । वास्तविक लाग्छ । उनी आफूले गर्नुपर्ने भूमिकामा निकै मेहनत गर्छन् ।

भूमिका पाउनसाथ सबैभन्दा पहिले त्यो क्यारेक्टरमा पस्न खोज्छन् । कुन परिवेशको हो, भाषा कस्तो छ, ड्रेस कस्तो छ ? यो सबै विषयमा उनी खोजी गर्छन् । आशान्त भन्छन्, ‘आफूलाई नै त परिवर्तन गर्न सकिन्न । तर, त्यो भूमिकालाई महसुस गरेर काम गर्ने हो भने राम्रो गर्न सकिन्छ ।’

कुनै क्यारेक्टरमा आफू देखिन्छु भनेर काम गरियो भने असफल हुने उनको अनुभव छ । उनी भन्छन्, ‘म हो, म आफैँ देखिन्छु भनेर काम गर्न हुन्न । चरित्रलाई बनाउने भन्दा पनि चरित्रलाई आत्मासात गर्‍यो भने वास्तविक बन्नेमा शंका छैन ।’

निर्देशक बन्ने सोच

आशान्तले धेरै नाटकहरु निर्देशन गरिसकेका छन् । अनुभवको हिसाब भने उनी पुरानाको कोटीमा पर्न थालिसके । तर, चलचित्र निर्देशनको आँट गरिसकेका छैनन् । केही समय उनी पूर्व तयारीमा नै छन् ।

उनी भन्छन्, ‘नाटक निर्देशनको लागि त ६ महिना तयारी गर्नुपर्छ भने चलचित्र अझै मल्टिमास मिडियामा जाने कुरा हो । हावामा बनाएर भएन । त्यसैले केही समय लाग्छ ।’

अहिले बनिरहकै विषयमा चलचित्र बनाउने इच्छा उनको होइन । आशान्तलाई केही फरक विषयमा काम गर्ने मन छ । उनी भन्छन्, ‘मलाई पैसा कमाउनको लागि चलचित्र निर्देशन गर्नु परेको छैन । यदि गर्ने हो भने अहिले नै सक्थे । तर, मलाई केही फरक कन्टेन्टमा काम गर्ने मन छ । त्यसैले समय कुरिरहेको छु ।’

आफूलाई मन छुने कुनै विषयबस्तु पाएपछि चलचित्र निर्देशकको काम सुरु गर्ने सोचमा आशान्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment