+
+
Shares

व्यवसायीलाई थुनेर राजश्व उठ्ला र व्यवसाय सुध्रेला भन्नेमा छैनौं : अर्थमन्त्री खतिवडा

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २६ गते ८:०१

२६ पुस, वीरगञ्ज । अर्थमन्त्री डा. युवराज खतिवडाले व्यवसायीलाई पक्राउ गरेर राजश्व उठ्ला र व्यवसाय सुध्रेला भन्नेमा सरकार नरहेको बताएका छन् । तर, व्यवसायको नाममा अपराध गर्नेले भने छुट नपाउने उनले बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघको ४४ वार्षिक साधारण सभालाई शुक्रबार सम्बोधन गर्दै उनले व्यवसायीलाई विश्वासमा लिएर सरकार अघि बढ्न चाहेको बताए । अपराध गरेमा आफू पनि जेल जानुपर्ने बताउँदै उनले भने, ‘मैले पनि उन्मुक्ति पाउँदिनँ, अख्तियारप्राप्त अधिकारी पनि जेल गएका छन् । जघन्य अपराधमा कसैलाई छुट दिन सकिन्न ।’

तर पारदर्शी र व्यवस्थित कारोबार बनाउँदै व्यवसायीलाई विश्वासमा लिएर अघि बढ्न चाहेको अर्थमन्त्री खतिवडाले बताए । उनले भने, ‘हामी व्यवसायीलाई थुनेर राजश्व उठ्ला, व्यवसाय सुध्रेला भन्नेमा छैनौं ।’

सरकार व्यवसायीका मागप्रति सकारात्मक रहेको बताउँदै उनले भने, ‘राजश्व चुहावट नियन्त्रण ऐनमा हिजो ५० लाखसम्मको कसुर गर्दा विगो र तीन वर्षसम्म कैद थियो । हामीले ५० लाखसम्मको विवरण त राजश्व अनुसन्धान विभागले नै सल्टाउन सक्ने बनाएका छौं । जेल सजाय घटाएका छौं र स्वविवेकीय अधिकार हटाएका छौं, सामान्य मुद्दाहरु राजश्व अनुसन्धान विभागले नै हेर्ने अदालत नजाने व्यवस्था गरेका छौं ।’

सामान्य व्यवसायिक त्रुटीमा व्यवसायी जेल जान नपरोस् भन्ने धारणा सरकारको पनि रहेको उनले बताए । मन्त्री खतिवडाले सरकार व्यवसाय सुधार गर्नतर्फ नै उन्मुख रहेको दावी गरे ।

‘चोरी पैठारी बढी भयो, वास्तविक व्यवसायीले व्यवसाय गर्न नसक्ने वातावरण भयो भन्नुभयो, त्यही भएर भिसिटिएस लागु गर्‍यौं । त्यसमा पनि सुधार गर्नुपर्छ भन्नुभयो । हामीले त्यसलाई पनि मानेका छौं । अहिले हजारौं व्यवसायी भिसिटिएसमा आवद्ध भएका छन् । प्यानको विषयमा आत्तिनुपर्ने अवस्था छैन । अर्को वर्षबाट लागु हुने कुरा हो । सरकार एक्लै हिँडिरहेको छैन । व्यवसायीले बुझ्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?