Comments Add Comment

भूकम्प सुरक्षा दिवस : भक्तपुरमा विशेष कार्यक्रम हुँदै

२०७२ को भूकम्पले चर्किएको भक्तपुरको सडक ।

२ माघ, काठमाडौं । विक्रम संवत् १९९० माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा बिहीबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ नाराका साथ दिवस मनाउन लागिएको हो ।

दिवसका अवसरमा मूल समारोह समितिले दिउँसो साढे १ बजे भक्तपुर दरबार स्क्वायरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । मूल समारोहको कार्यक्रमअघि भक्तपुरमा जनचेतनामूलक दुई पदयात्रा हुने प्रचारप्रसार उपसमिति संयोजक एवं शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिए ।

पहिलो पदयात्रा लामगाल पुखु, नवदुर्गा, गछेँ सकोलान् दत्तात्रय, इनाचो गोल्मढी, सुकुलढोका, त्रिपुरासुन्दरी हुँदै भक्तपुर दरबार क्षेत्रमा पुग्नेछ । यसैगरी दोस्रो पदयात्रा भाज्या पुखु इनागा भार्वाचो, टेखापुखु, वंशगोपाल, तालाक्व, टौमढी, क्वोछेँ, साकोठा हुँदै भक्तपुर दरबार क्षेत्र पुगेर मूल समारोहको कार्यक्रममा सहभागी हुनेछ ।

दिवसका अवसरमा गत पुस १५ देखि माघ १५ गतेसम्म नै विभिन्न कार्यक्रम आयोजना गरी चेतना जगाइएको छ । दिवस मनाउन सात प्रदेश, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७५३ वटै स्थानीय तहलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ । टोलस्तरसम्म जनचेतनामूलक कार्यक्रम गर्न स्थानीय तहलाई पनि प्रशासनले नै समन्वय गर्ने जनाइएको छ । यस अवसरमा काठमाडौँ र ललिपुर महानगरपालिकाले पनि आज विशेष कार्यक्रम गर्ने विभागले जनाएको छ ।

भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालेको थियो ।

दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्यायो । अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो ।

यसको पुनःनिर्माणका लागि चार वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र बीचमा रहेको बालगोपालेश्वर मन्दिरबाट शुभारम्भ गरेका थिए । राष्ट्रपतिले पुनःनिर्माणको शुभारम्भ गरेकै स्थल रानीपोखरीको काम चार वर्ष बित्दासमेत सम्पन्न हुनसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment