+
+

भन्सार स्तरबाट सल्टिएन नेपाल-चीनबीचको ‘लेबल’ विवाद

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २ गते १५:४१

२ माघ, काठमाडौं । नेपाल र चीनको स्थानीय बजारमा खपत हुने खाद्य वस्तुको ‘लेबल’ विवाद भन्सार तहको बार्ताबाट हल हुन नसकेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

नेपालको भन्सार विभाग र तिब्बतको ल्हासा भन्सार विभागका अधिकारीबीच काठमाडौंमा भएको बार्तामा पनि समाधान ननिस्किएको रसुवा भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले बताए ।

छलफलमा नेपाली अधिकारीहरुले चीनबाट नेपाल निर्यात हुने खाद्य वस्तुमा नेपाली कानुनअनुसार अंग्रेजी भाषाको लेबल उल्लेख गरिदिन आग्रह गरेका थिए । यस्तै अंग्रेजी भाषामा लेबल भएका नेपाली खाद्य वस्तु निर्वाध रुपमा चीनमा प्रवेश पाउनुपर्ने अडान नेपाली पक्षको थियो ।

तर, चिनीयाँ पक्षले आफ्ना नागरिकले अंग्रेजी भाषा नबुझ्ने भएकाले स्थानीय बजारमा खपत हुने सामान्य खाद्य वस्तुमा चाईनिज भाषामा लेबल हुनुपर्नेमा जोड दिएका थिए ।

ल्हासा भन्सार विभागका उपमाहानिर्देशक मिङ्मा छिरिङले तत्तकाल यस विषयमा समाधान खोज्ने अधिकार आफूहरुमा नभए बताए पछि उपल्लो स्तर (वाणिज्य तहमा) मा छलफल हुनेगरी लेवल विवादको विषय स्थगन भएको छिरिङलाई उदृत गर्दै खड्काले बताए ।

‘समाधान निस्किन्छ कि भन्ने थियो, तर तत्काललाई टर्‍यो विवाद उस्तै छ,’ खड्काले भने । तीन दिनसम्म काठमाडौंमा चलेको बैठकमा तातोपानी नाकाको सहज र पूर्ण सञ्चालन, दुई देशका भन्सार प्रसासनबीच सूचना आदान-प्रदान, अवैध व्यपार नियान्त्रण, क्वरेन्टाईन परीक्षण जस्ता विषयमा सहजीकरण गर्ने समझदारी बनेको थियो ।
छलफलमा ल्हासा भन्सार विभागका उपमाहानिर्देशक मिङ्मा छिरिङ नेतृत्वमा पाँच सदस्सीय टोली नेपालीतर्फबाट भन्सार विभागका उपमाहानिर्देशक श्यामप्रसाद भण्डारी नेतृत्वको सात सदस्सीय टोली सहभागी थियो ।

भन्सार बैठकमा पनि विवाद नसल्टिएपछि दुई मुलुकबीच खाद्य वस्तुको लेवलमा लेखिने भाषा विवादले आयत निर्यातको गाँठो झनै कसिएको छ । डिसेम्बर महिनाको दोस्रो साता काठमाडौंमा बस्ने भनिएको वाणिज्य बार्ता अनिश्चित बनेपछि लेवल विवाद जहाँको त्यँही छ ।

चिनियाँ भाषामा लेवल नलेखिएको खाद्य वस्तु निर्यातमा चिनियाँ भन्सारले रोकेको छ भने नेपालले पनि चिनियाँ भाषामा मात्रै लेबल लेखिएको खाद्य वस्तु आयात हुन दिएको छैन् । पछिल्लो ६ महिनादेखि नेपाली र अंग्रेजी लेबलका खाद्य वस्तु पैठारी चिनियाँ भन्सारले रोक्ने र चीनियाँ भाषामा मात्रै लेबल भएका वस्तु नेपाली भन्सारले रोक्ने विवाद रसुवागढी नाकामा जारी छ ।

जसका कारण स्थानीय बजारमा खपत हुने अचार, रोटीका परिकार, तारेका माछा, बिस्कुट, चाउचाउ जस्ता परिकारहरुको निर्यात ठप्प बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?