Comments Add Comment

मनाङ र थ्रीस्टारले अंक बाँडे

४ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी र थ्रीस्टार क्लबले अंक बाँडेका छन् । शनिबार भएको खेलमा थ्रीस्टारले मनाङलाई २-२ को बराबरीमा रोक्दै अंक बाँडेको हो ।

यसको प्रत्यक्ष फाइदा भने नेपाल आर्मीलाई भएको । यदि उसले अब हुने खेल जितेमा लिग लिडर मात्र हुने छैन, सातौं राउण्डमा ३ अंकको अग्रता बनाउनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ स्टेडियममा भएको खेलको पाँचौ मिनेटमै मनाङका विमल रानाले निशान लिम्बुको पासमा हानेको प्रहार पोष्टमा लागेर फर्केको थियो ।

१९ औं मिनेटमा भारतिय खेलाडी लाल राम्मभराले फ्रिकमा गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । मनाङका पुजन उपरकोटीले बकस बाहिर हृयाण्ड गरेपछि पाएको फ्रिकिकमा उनले गोल गरे । उनले डेब्यू खेलमै गोल गरेका हुन् ।

२९औं मिनेटमा मनाङले उस्तै ठाउँमा फ्रिकिक पाएको थियो । तर अन्जन विष्टको फ्रिकिक थ्रीस्टारका गोलकिपर प्रिसोले बचाए । ४१औं मिनेटमा मनाङले बराबरीको अवसर गुमायो । पेनाल्टी एरियामा निशान लिम्बुले मिलाएको पासमा विमल राना गोल गर्न चुके । उनको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।

पहिलो हाफको इन्जुरी टाइममा थ्रीस्टारले अग्रता दोब्बर पार्ने मौका गुमायो । निशान्त खड्काको क्रसमा लाल राम्मभराको हेडर पोष्ट नजिकैबाट बाहिरियो ।

पहिलो हाफमा पाएको अवसरमा गोल गर्न चुकेको मनाङले दोस्रो हाफको शुरुवातबाटै थ्रीस्टारमाथि दबाब बनायो । ४८औं मिनेटमा मनाङले पेनाल्टी पायो, जसमा अन्जन विष्टले बराबरी गोल गरे । थ्रीस्टारका शिव सुवेदीले अन्जनलाई पेनाल्टी एरियामा फाउल गरेपछि मनाङले पेनाल्टी पाएको थियो ।

खेलको ६२औं मिनेटमा मनाङका निशान लिम्बुको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । निरन्तर दबाब बनाएको मनाङले ६९औं मिनेटमा अग्रता लिन सफल भयो । थ्रीस्टारका रुपेश केसीले हृयाण्ड गरेपछि कप्तान कमल श्रेष्ठको फ्रिकिकमा अन्जनले हेडमार्फत गोल गर्दै मनाङलाई २-१ को अग्रता दिलाए ।

तर त्यो अग्रता लामो समय टिकेन । ८३औं मिनेटमा थ्रीस्टारले बराबरी गोल फर्कायो । यस पटक पनि लाल राम्मभराले गोल गरे । निशान्त खड्काको पासमा अनन्त तामाङको हेडर मनाङका गोलकिपर दिप कार्कीले पूर्णरुपमा क्लियर गर्न नसक्दा लाल राम्मभराले गोल गर्दै खेल बराबरी गरे ।

बराबरीसँगै साविकको विजेता मनाङ ७ खेलबाट १३ अंक भएको छ । उसको समान आर्मी र मछिन्द्रको अंक छ र, आर्मीले एक खेल कम अर्थाथ कुल ६ खेल खेलेको छ ।
थ्रीस्टार भने ११ अंकसहित चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment