+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कोरियामा किन पार्छन् नेपाली कामदार आफैंलाई पासोमा ?

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७६ माघ ७ गते २०:०९

७ माघ, काठमाडौं । अघिल्लो हप्ता दक्षिण कोरियाको छल्लाबोक्दोस्थित बंगुुर फार्ममा काम गर्ने पाँचथरका विवेक राईले आत्महत्या गरे । कोरिया पुगेको ३ महिना पनि नबित्दै उनले राति गलामा पासो लगाए । अविवाहित उनले मृत्युको बाटो रोज्नुको कारण खुल्न सकेको छैन ।

तनहुँका नरबहादुर रानाले पनि गत हप्ता कार्यस्थलको दुर्घटनामा ज्यान गुमाए । सामान उचाल्न प्रगोग हुने गाडी मर्मत गर्दागर्दै दुर्घटनमा परेका उनी पहिला पनि पाँच वर्ष कोरिया बसेर फर्केका थियो । तर दोस्रो पटक ज्युँदो फर्किन सकेनन् ।

कोरियामा अन्य श्रम गन्तव्य मुलुकमा भन्दा बढी नेपाली कामदारले आत्महत्या गर्ने गरेका छन् । सन् २००८ देखि हालसम्म कोरियामा १ सय ११ जनाभन्दा बढीले ज्यान गुमाएको ईपीएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । उनले कोरियामा अनेकन प्रयासका बाबजुद पनि कामदारको मृत्युदर घट्न नसकेको बताए ।

१ सय ११ मध्ये २२ जनाले आत्महत्या गर्नुको कारण खुलेको छैन । सुतेकै अवस्थामा २५ जनाको ज्यान गयो भने कार्यस्थलको दुर्घटनामा १४ जनाको मृत्यु भयो । त्यस्तै, ८ जनाको मृत्यु सवारी दुर्घटनामा भएको छ । दुई जनाको हत्या भयो भने तीन जनाको कालगतिले मृत्यु भएको थियो ।

ईपीएस कोरिया शाखाको तथ्यांकमा १ सय ११ जना भनिए पनि अन्य प्रक्रिया र अवैध बाटोबाट गएका कामदारसहित करिब १ सय ७५ जनाको मृत्यु भएको र तीमध्ये ४० जनाले आत्महत्या गरेको कोरियास्थित नेपाली दूतावास स्रोत बताउँछ ।

नेपालीका लागि सबैभन्दा बढी कमाइ हुने वैदेशिक रोजगारीको गन्तव्य हो, कोरिया । भाषा र सीप परीक्षा पास गरेर कोरिया जान चाहनेहरू नै वर्षमा एक लाख हाराहारी हुन्छन् । राम्रो कमाइ हुने कोरियाको रोजगारी भने सबैभन्दा कठिनमा गनिन्छ ।

शारीरिक तथा मानसिक रूपमा सवल भएकाहरूले कोरियामा मासिक डेढ लाख रूपैंयाभन्दा बढी कमाउँछन् । ओभरटाइम पनि भए अझ बढी कमाइ हुन्छ । कोरियामा अधिकांश कम्पनीले खाने–बस्ने सुविधा दिन्छन् ।

कोरियामा आत्महत्या गरेका केदार तिमल्सिनाको अन्तिम पटक अनुहार हेर्दै उनकी धर्मपत्नी बन्दना

कोरियामा अहिले ४० हजारभन्दा बढी नेपाली ईपीएसबाट भाषा परीक्षा पास गरेरै कोरिया पुगेकाहरू छन् । उनीहरू कडा शारीरिक परिश्रम गर्नुपर्ने श्रममा संलग्न छन् । कोरियाको कृषि र औधोगिक क्षेत्रमा नेपाली कामदारको माग छ । त्यसका लागि वर्षमा औसत ८ हजार कामदारको माग आउँदा ९२ हजारभन्दा बढीले प्रतिस्पर्धा गर्छन् ।
सन् २००८ यता भाषा परीक्षा पास गरेर ६६ हजारभन्दा बढी नेपाली कामदार कोरिया पुगे । तीमध्ये कति फर्किएर नेपालमै विभिन्न पेसा व्यवसायमा संलग्न छन् भने कति दोहोर्‍याएर कोरिया पुग्दैछन् ।

नेपालीलाई गाह्रो काम

कोरियामा भाषा परीक्षा पास गर्न सक्ने मध्यमवर्गका पढेलेखेका नेपाली युवा धेरै छन् । तीमध्ये कतिपय युवा कोरिया पुगेपछि काम गर्न नसक्ने, खिन्न भएर बस्ने, तनावमा पर्ने बताउँछन्, कोरियाका पूर्वश्रम सहचारी अनीलकुमार गुरुङ ।

उनका अनुसार, गाउँ र सहरबजारमा खासै दुःख नगरेकाहरूलाई कोरिया सजिलो गन्तव्य होइन । खटेर काम गर्न नसक्नेहरू कोरिया पुगेपछि शारीरिक–मानसिक तनाव र डिप्रेसनमा पर्ने गुरुङ बताउँछन् ।

कोरियाको औद्योगिक क्षेत्रमा नेपालीहरूले मुलतः फलाम घोट्ने, पगाल्ने, पिट्ने, रिसाइक्लिङ गर्ने, सवारी साधनका पार्टपुर्जा बनाउने, वेल्डिङ गर्ने, कलर गर्नेजस्ता काम गर्नुपर्छ । त्यस्तै, कृषि क्षेत्रमा जानेहरूहरूले खेतबारी र फार्मभित्र वस्तुभाउ हेरचाहको काम गर्नुपर्छ । पशु फार्महरूमा पूर्ण शारीरिक क्षमताका साथ गाई, बंगुर, घोडा, कुखुरा पालनको काम गर्नुपर्छ ।

कसरी निम्तिँदैछ मृत्यु ?

कोरियाका कारखानाहरूमा रात–दिन काम हुने भएकाले आलोपालो मिलाई सात सिफ्ट दिउँसो र सात सिफ्ट राति काम गर्नुपर्ने हुन्छ । कतिपय कम्पनीमा चार–पाँच घण्टा ओभरटाइम अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ ।

काममा लापरवाही वा ढिलाई गरे रोजगारीमा समस्या पर्ने भएकाले कामदारको रूपमा कोरिया जानुअघि नै मानसिक–शारीरिक रूपमा तयार हुनुपर्ने बताउँछन्, कोरियामा काम गरेर फर्र्र्र्किएका चितवनका प्रकाश कँडेल । उनी भन्छन्, ‘जुनसुकै काम र समयका तयार छु भन्ने शारीरिक र मानसिक तयारी भएन भने टिक्न गाह्रो हुन्छ ।’

उनका अनुसार, काम गर्न कोरिया गइसकेपछि यति पढेको छु, उति गरेको छु भन्नेजस्ता सबै कुरा बिर्सेर म मिहिनेती छु, लगनशील छु भन्ने सोचेर काम गर्नपर्छ । ‘बिदाको दिन साथीसंग घुम्न जानुपर्छ, घर–परिवारसँग फोनमा नियमित बात मार्नपर्छ’, कँडेल भन्छन्, ‘नत्र तनाव बढ्छ ।’

कतिपय कम्पनीमा एक जनामात्र पनि कामदार हुन्छन् । केही कम्पनी अति टाढा र एकान्तमा हुने भएकाले एक्लै पनि काम गर्न तयार हुनुपर्ने कँडेल बताउँछन् । उनका अनुसार भाषामा दक्ष हुन सकियो भने कोरियामा काम गर्न निकै सहज हुन्छन् ।

पूर्वश्रम सहचारी गुरुङका अनुसार, कोरिया पुगेपछि केही दिन तालिम दिएर सम्बन्धित कम्पनीमा लगिन्छ । ‘तीव्र गतिमा चल्ने मेसिनमा काम गर्दा दुर्घटना भएर अंगभंग हुने, ज्यानसमेत जाने सम्भावना बढी हुन्छ,’ उनी भन्छन्, ‘धेरैजस्तो दुर्घटना कामदारले काम सुरु गरेकै अवस्थामा भएको पाइएको छ ।’

कोरियामा हप्तामा ६ दिन काम गर्नैपर्छ । कामको चाप भएको बेला आइतबार बिदाको दिन पनि काम गर्नुपर्ने हुन्छ । त्यसबापत उचित पारिश्रमिक पाइन्छ । सातै दिन काम गर्नुपर्ने अवस्थालाई पनि सहज रूपमा लिनुपर्ने गुरुङ बताउँछन् ।

‘त्यसविपरीत अवस्थामा काममा रमाउन नसक्ने, रोजगारदातासँग कुरा नमिलेर झगडा वा दुव्र्यवहार हुने, खानेबस्नेलगायत व्यस्त दैनिकीको व्यवस्थापन गर्न नसक्ने हुन्छ’, उनी भन्छन्, ‘त्यस्तो बेला साथीभाइ र घर–परिवारसँग भेटघाट–संवाद पनि नभएर धेरै जना डिप्रसेनको शिकार भएको पाइएका छन् ।’

कोरिया जानुअघि त्यहाँको समाज, संस्कृति र औद्यौगिक क्षेत्रबारे यथेष्ट जानकारी लिनपर्ने गुरुङ बताउँछन् ।

मानसिक तनावमा अत्याधिक मद्यपान गरेर सुत्ने, पर्याप्त उज्यालो र हावा सञ्चार नहुने कोठामा बस्ने, धेरै अनिदो हुनेजस्ता कारणले हृदयघात भएर कोरियामा ज्यान गुमाउने नेपाली कामदार धेरै छन् ।

स्वास्थ्य बिग्रँदा समयमै अस्पताल नजाने समस्या पनि ठूलो छ । त्यस्तो बेला साथीभाइ र घर–परिवारलाई बताउनेहरू डिप्रेसन वा दुर्घट्नाबाट जोगिने कँडेल बताउँछन् ।
कोरियाका नेपाली कामदारमा उनीहरू आफैं, साथीभाइ र आफन्तका कारण डिप्रेसनलगायतका समस्या उत्पन्न भइरहेको गुरुङ बताउँछन् । ट्राफिक नियम नजान्दा र नमान्दा पनि नेपालीहरू जोखिममा परेको उनले बताए । ‘नेपालभन्दा विल्कुलै फरक परिवेशमा भिज्न नसकेर पनि कति डिप्रेसनमा जान्छन्,’ उनी भन्छन्, ‘त्यही डिप्रेसनले कतिलाई मृत्युको मुखमा पुर्‍याएको छ ।’

कमजोर मानसिक अवस्थामा रहेको बेला परिवारले आर्थिक र अन्य पारिवारिक मामिलामा दिने तनावका कारण पनि कतिले आत्महत्या गरेको गुरुङ बताउँछन् । तर, कोरियामा राम्रो आम्दानीका कारण सन्तुष्ट हुने नेपालको संख्या नै धेरै रहेको उनको ठम्याइ छ ।

‘दिइएको जिम्मेवारी पूरा गर्नेहरू कोरियाका ज्वाइँजस्तै हन्’, उनी भन्छन्, ‘शारीरिक श्रम गर्न सक्नेहरूलाई युरोपका कतिपय देशभन्दा कोरिया राम्रो छ ।’

असफल सरकारी प्रयास

ईपीएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनाल कोरियामा नेपाली कामदारमा हुने डिप्रेसन कम गर्नकै लागि करार अवधिमा एक पटक परिवारलाई भिसा लगाएर निश्चित अवधिका लागि लैजान सक्ने व्यवस्था गरिएको बताउँछन् ।

यो व्यवस्थाले पाँच वर्षसम्म परिवारबाट टाढिएर एक्लो बस्नुपर्ने बाध्यता हटाउने र आत्महत्याको घटनामा कमी ल्याउने उनको भनाइ छ । गत वर्षबाट कामदारले आफ्नो खर्चमा परिवारका सदस्यलाई कोरिया लैजान पाउने व्यवस्था भएको थियो ।

लेखक
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?