Comments Add Comment

काष्ठमण्डप पुनर्निर्माणमा काठको अभाव, महानगरले थप ५ करोड दिने

९ माघ, काठमाडौं । भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले थप ५ करोड रुपैयाँ बजेट दिने भएको छ । पुनर्निर्माणमा बजेटको कमी हुने देखिए पछि महानगरले ५ करोड रुपैयाँ थप रकम दिन लागेको हो ।

महानगरले ५० लाख र ५ करोड रुपैयाँ गरेर ५ करोड ५० लाख रुपैयाँ समितिलाई दिइसकेको छ । यसमा बिहीबार थप ५ करोड रुपैयाँ दिन लागेको हो ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उक्त रकम बिहीबार पुनर्निर्माण समितिलाई हस्तान्तरण गरिने जानकारी दिए । काष्ठमण्डप पुनर्निर्माणका लागि वागमति प्रदेशका प्रदेशसभा सदस्य राजेश शाक्यको अध्यक्षमा उपभोक्ता समिति बनाइएको थियो । शाक्य नेतृत्वको समितिले अहिले पुननिर्माणको काम गरिरहेको छ ।

२ वर्षमा पुर्ननिर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७५ वैशाख ३१ मा काम शुरु भएको थियो । पुनर्निर्माणका लागि बजेट अभाव हुन काठमाडौं महानगरपालिकाले नदिए पनि काठ अभावका कारण केहि समस्या भएको समितिका अध्यक्ष शाक्यले बताए ।

हालसम्म काष्ठमण्डपमा ५ हजार क्यूफिट काठ उपभोग भइसकेको छ । अझै १० हजार क्यूफिट भन्दा धेरै काठ आवश्यक पर्ने समितिले बताएको छ । आवश्यक काठहरु तराई क्षेत्रबाट ल्याउन प्रक्रिया भने चलिरहेको समितिले बताएको छ ।

सातौं शताब्दीमा निर्माण भएको मानिएको काष्ठमण्डप २०७२ को भूकम्पले क्षति पुगेपछि यस वर्षदेखि उपभोक्ता समितिमार्फत पुनर्निर्माणको काम भइरहेको छ ।

भूकम्पले क्षतिग्रस्त काठमाडौंको हनुमानढोका दरबार क्षेत्रको काष्ठमण्डप पुनर्निर्माणको काम हाल धमाधम चलिरहेको छ । उपभोक्ता समितिमार्फत भइरहेको पुनर्निर्माणका लागि ४० जना भन्दा बढी खटिएका छन् ।

पुनर्निर्माणको काम अहिले आधा भन्दा धेरै भइसकेको पुनर्निर्माण समितिका संयोजक शाक्यले जानकारी दिए । समितिले गत भदौंमा नै ५० प्रतिशत काम पुरा भइसकेको बताएको थियो । पाँचौ शताब्दीमा निर्माण भएको मानिने उक्त सत्तल मौलिक स्वरुपमै पुनर्निर्माण हुँदैछ ।

समितिले दिएको जानकारी अनुसार चार घेराको काष्ठमण्डपमा १०० वटा थाम हुनेछन् । संकल्प पूजा गरेर गत माघमा ठड्याइएका २५ फिट अग्ला चारवटा मूल थाम पहिलो घेरा हो । दोस्रो घेरामा जोडाका दरले ३२ वटा थाम ठड्याइनेछ । तेस्रो र चौथो घेरामा एक-एक वटाका दरले क्रमशः २८ र ३६ वटा थाम राखिनेछ ।

दोस्रो घेरामा १२ फिट, तेस्रो घेरामा १५ र चौथो घेरामा १२ फिट अग्ला थाम हुनेछन् । सबैलाई चुकुलले अड्याइने छ । मूल थामहरु उठाएर त्यसमाथि सिंहमुखी र शंखमुखी मेथ राखिएको छ । मेथमाथि मूल निदालहरु राख्ने काम पनि सकिएको छ ।

विश्व प्रसिद्ध यो काण्ठमण्डपलाई हिन्दुको नाथ सम्प्रदायसँग जोडेर हेरिन्थ्यो । यसलाई बौद्ध धर्मसँग जोड्नेहरु पनि थिए । तर, सत्तलको अर्थ र उपयोगिता कुनै एक धर्मसँग मात्र नजोडिने सम्पदाविदहरु बताउँछन् ।

त्यसो त राजा लक्ष्मीनरसिंह मल्लको पालामा एउटै सालको रुखबाट काष्ठमण्डप बनेको भन्ने किम्बदन्तीलाई दुरहाम् विश्वविद्यालयले गरेको ‘कार्बन डेटिङ्ग’ परीक्षणले काल्पनिक सावित गरिसकेको छ । परीक्षणले काष्ठमण्डपको मूल थाम माथिको मेथ पाँचौं, भित्री जगको गारो सातौं र त्यस बाहिरको जग नवौं शताव्दीको बनाइएको प्रमाणित गरेको छ ।

अनुसन्धानले काष्ठमण्डप दुई चरणमा बनेको पुष्टि गरेको छ । सत्तल (काष्ठमण्डप) निर्माण हुनुभन्दा करिब दुई हजार वर्षअघि त्यहाँ खेती हुने गरेको दुरहाम विश्वविद्यालयको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले काष्ठमण्डपलाई उपत्यकाको सबभन्दा पुरानो र ठूलो सार्बजनिक स्थल मानेको छ । उपत्यकाको नाम काष्ठमण्डपबाटै काठमाडौं भएको मानिन्छ ।

हरेक १ माघमा काष्ठमण्डपमा वाषिर्क पूजा (बुसादँ) गर्ने परम्परा छ । सत्तल स्थापना दिवसको बुसादँमा ज्यापू गुठीको अहं भूमिका रहने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment