Comments Add Comment

एकै वर्ष तीनवटा एयरबस थप्दै हिमालय एयरलाइन्स

९ माघ, काठमाडौं । नेपाल-चीन संयुक्त उद्यमका रुपमा स्थापित निजी लगानीको हिमालय एयरलाइन्सले तीन एयरबस जहाज थप्ने भएको छ । अहिले तीन वटा जहाजबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको कम्पनीले सन् २०२० भित्रै तीन नयाँ जहाज भित्र्याउने भएको छ ।

आक्रामक बजार विस्तारमा लागेको हिमालयले फेब्रुअरीबाटै जहाजहरु काठमाडौं ल्याउन थाल्ने भएको छ ।

कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले देशको नम्बर १ वायुसेवा कम्पनी बन्ने लक्ष्यसहित कम्पनीले नयाँ नयाँ गन्तब्य बिस्तारमा लागेको उल्लेख गरेका छन् ।

देशको सबैभन्दा धेरै पर्यटक बोक्ने, धेरै विदेशी मुद्रा आर्जन गर्ने, धेरै कर तिर्ने कम्पनीका रुपमा स्थापित हुने लक्ष्यमा हिमालय केन्द्रित रहेको उनले उल्लेख गरे ।

ए ३१९ जहाज थप्ने

कम्पनीले एयरबस कम्पनीको ३१९ सिरिजका जहाज थप्न लागेको छ । खासगरी चीनको ल्हासासहित उच्च भेगका विमानस्थलमा सजिलै उड्न सक्ने जहाजहरु कम्पनीले भित्राउने भएको छ । अहिले हिमालयसँग ए३२०-२१४ सिरजिका ३ वटा न्यारोबडी जहाज रहेका छन् ।

हिमालय एयरलाइन्सले बिहीबारबाट चिनियाँ शहर छोङछिङमा उडान थाल्यो । यो चीनमा हिमालयको पाँचौ गन्तब्य हो । यसअघि चीनको राजधानी बेइजिङसहित गुइयाङ, चाङसा, शेन्जेङ्गमा उडान बिस्तार गरिरहेको छ ।

यसबाहेक आबुधावी, दोहा, ढाका र क्वालालाम्पुरलाई समेत हिमालयले काठमाडौंसँग जोडिरहेको छ । हिमालय एयरलाइन्स पछिल्लो समय चीनका नयाँ नयाँ शहरमा उडान बिस्तारमा केन्दि्रत रहेको छ ।

कम्पनीका अनुसार सन् २०२० भित्र नाङचाङ, सङ्घाई, अली र ल्हासामा हिमालयको उडान शुरु हुने भएको छ ।

नयाँ जहाज आइसके पछि नयाँ गन्तब्य थपिने कम्पनीले उल्लेख गरेको छ । सन् २०१४ मा स्थापना भएको यो कम्पनीले  पहिलो अन्तर्राष्ट्रिय उडान सन् २०१६ मा कतारको दोहामा गरेको थियो ।

 ४ हजार चिनियाँ यात्रुलाई सेवा

हिमालय एयरलाइन्सका अध्यक्ष झाउ इन योङका अनुसार हिमालयले अक्टोवर २०१९ मा चीनको राजधानी बेइजिङमा उडान थालेयता चार चिनियाँ गन्तब्यमा उडान बिस्तार गरिसकेको छ । ती गन्तब्यबाट तीन महिनाको अवधिमा हिमालय एयरलाइन्स चढेर नेपाल आएका छन् ।

कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार साविकमा हिमालय एयरलाइन्सले उडाइरहका रुटका अतिरिक्त थपिने लागेका रुटबाट वर्षमा थप ५० हजार पर्यटक नेपाललाई भित्राउने लक्ष्य कम्पनीले लिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य प्राप्तिमा हिमालयले समेत महत्वपूर्ण योगदान गर्ने उनले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment