Comments Add Comment

सेतो बाघ र डायमनशमशेरको भित्री कथा

नेपाली साहित्यमा ऐतिहासिक उपन्यास भन्नेवित्तिकै पहिलो नम्बरमा आउँछ–सेतो बाघ । ऐतिहासिक उपन्यासकार भन्ने वित्तिकै पहिलो नम्वरमा नाम आउँछ– डायमन शम्शेर राणाको ।

डायमन त्यस्ता लेखक थिए, जो भन्दथे म लेखेरै बाँचेको छु । उनी सगर्व भन्थे, सार्वजनिकरुपमै भन्थे । तर कताकता मलाई चाहीं शंका लाग्थ्यो । साँच्चै होला त ? लेखेर उनलाई खान पुग्छ होला त ? कति आउँछ होला रोयल्टी ?

डायमन शम्शेरको नाम मैले हेटौंडा छँदै सुनेको हुँ । स्कूले विद्यार्थी थिएँ । गोरखापत्रमा यौटा विज्ञापन छापिएको थियो, साझा प्रकाशनबाट प्रकाशन हुँदै गरेको पुस्तक “ऐतिहासिक उपन्यास सेतो बाघ’’ को । अनि हल्ला चलेको थियो त्यो उपन्यास त व्याण्ड भयो रे । प्रतिवन्ध लाग्यो रे ।म साहित्य बुझ्दििनथें, न पढ्थें । हल्ला सुनें, त्यत्तिकै भयो ।

सेतोबाघ ग्रेटा राणाले अङ्ग्रेजीमा अनुवाद गरिन् । त्यही अनुवादको बुई चढेर सेतोबाघले विश्व यात्रा गर्‍याे । यो उपन्यास जर्मनी, जापानी, फ्रेन्च, चिनियाँ र कोरियाली भाषामा अनुवाद भयो

कालान्तरमा काठमाडौं आएपछि म साहित्यको पाठक बनें । लेख्न थालें । तिनै नाम सुनेका ऐतिहासिक उपन्यासकार सेतो बाघका लेखकसँग भेट भयो, चिनाजानी भयो, सँगै खानपान भयो र यौटा समारोहमा त सँगै सम्मानित नै भयौं–२०५१ सालमा बानेश्वरको युवाहरुको समुहले उनलाई अभिनन्दन र मलाई सम्मान एउटै समारोहमा गरेको थियो ।

डायमन शम्शेरले २००६ सालमा पहिलो उपन्यास “बसन्ती’’ जनसमक्ष ल्याएका थिए । त्यो उपन्यासको प्रकासन सनसनीपूर्ण घटना भयो राणा परिवारहरुमा, काठमाडौंमा, नेपालमा । त्यो एउटै उपन्यासले उनलाई उपन्यासकारको दर्जा दिलायो । नाम दिलायो र ख्याति दिलायो । तर त्यो समय पुस्तक विक्रीको युग थिएन । पाठकहरु अत्यन्त कम थिए, पाठ्यपुस्तकमा रहेको र पढ्नै पर्ने बाहेकका कितावको विक्री सहज थिएन । त्यो उपन्यास उनले आफैं छापेका थिए प्रकाशकमा नाम मोहनकुमारी देवी राखेर । त्यो उपन्यासले दोश्रो संस्करण पाउन १६ बर्ष कुर्नु पर्‍याे । २०२२ सालमा रत्न पुस्तक भण्डारले दोश्रो संस्करण प्रकाशनमा ल्यायो । त्यसपछि मात्रै २०३० सालमा दोश्रो उपन्यास “सेतो बाघ’’ प्रकाशित भएको थियो ।

सेतो बाघले प्रकाशन हुने वित्तिकैदेखि उल्का मच्चाउन शुरु गरेको थियो । यस उपन्यासलाई व्याण्ड गर्ने रे, गरियो रे, व्याण्ड हुन्छ रे भन्ने हल्लाले नै पाठकहरुलाई कुतुहलता जन्माएर पढौं न त के रहेछ भन्ने पारेको थियो । यो उपन्यासले त्यस बर्षको मदन पुरस्कार पाउँछ भन्ने चर्चाले फेरि वजार तात्यो । तर त्यही २०३० सालमै दौलत विक्रम विष्टको “ चपाईएका हनुहारहरु’’ पनि प्रकाशित भएको थियो र त्यो पनि सर्वाधिक रुचाइएको उपन्यास थियो । यो दुई उपन्यास मदन पुरस्कारको भीडन्तमा छ भन्ने चर्चा चल्यो । तर जब मदन पुरस्कारगुठीले त्यो बर्षको मदन पुरस्कारको बारेमा समाचार प्रवाह गर्‍याे , त्यो लोक अपेक्षित थिएन । त्यो बर्ष मदन पुरस्कारका लागि उपयुक्त कृति प्राप्त नभएकोले कसैलाई पुरस्कार दिने निर्णय नभएको जनाइएको थियो ।

त्यसपछि फेरि साहित्यिक वृत्तमा चर्चा चल्यो, जाँचकीमध्ये एक डा.तारानाथ शर्मा पनि थिए । उनी दौलतको “ चपाईएको अनुहार’’को पक्षमा अडिए अनि गुठीका सदस्य सचिव कमल दीक्षित “ सेतो बाघ’’को पक्षमा उभिए । अनि कसलाई दिने भन्ने निर्णय हुन नसकी कसैलाई नदिने निर्णय भयो ।

यो के भएको हो, साँच्चै के भएको थियो ? त्यो जान्ने उत्सुकता ममा थियो । मैले कमल दीक्षितसँग त्यो घटनाको ३९ बर्षपछि २०६९ सालमा प्रकाशित “ कमल दीक्षितसँग ईमेल वार्ता’’ पुस्तकका लागि यो प्रश्न गर्दा उनले बताएका थिए, “ कति कुरा सत्य हो भने, मलाई “सेतो बाघ’’ मन परेको हो र त्यसले पुरस्कार पाओस् भन्ने मेरो भित्री ईच्छा पनि थियो । तर म सदस्य सचिब, मैले बोल्ने ईजाजत नै थिएन । सारै दिग्गज दिग्गज व्यक्तिहरु थिए बोर्डमा, मैले मान्ने, मान्नु पर्ने विद्वानहरु थिए ।मैले सम्झेसम्म त्यहाँ सबभन्दा “कान्छा’’ सदस्य भन्नु तारानाथ नै थिए कि ।

मुख्यतः अहिले भन्दा “ राजावादी’’ विद्वानहरुले यो किताव सरकार विरोधी छ भनेर कुरा उठाएपछि त्यहाँ भएका अरु दिग्गजहरु चामचुम परे । परीक्षकले “पुरस्कारयोग्य ’’ भनेर सिफारिस गरेको भए पनि सेतो बाघ अस्वीकृत भयो । अनि अर्काे कुनै किताप सिफारिस नै नभएर आएकोले त्यस बर्ष कुनै ग्रन्थ पुरस्कृत भएनन् । ’’

यसरी २०३० सालमा मदन पुरस्कारको जोग नमिलेपछि उनले कुनै पनि भविष्यका पुस्तकका लागि मदन पुरस्कार पाएनन्, बरु २०५९ सालमा मदन पुरस्कार गुठीले नै प्रदान गर्ने “ जगदम्वाश्री पुरस्कार’’ पाए । दौलत विक्रम बिष्टले भने २०४५ सालमा “ ज्योतिज्योति महाज्योति’’ कृतिका लागि मदन पुरस्कार पाए ।

“ सेतो बाघ’’ पहिलो संस्करण साझाबाट प्रकाशन भए पनि दोश्रो संस्करण रत्न पुस्तक भण्डारबाट आयो २०३१ सालमा । यो उपन्यासको लोकप्रियताले यस्तो शिखर चुम्यो कि डायमन शम्शेरको जीवनमै उलटपुलट ल्याईदियो । विक्री पनि राम्रो भयो र निरन्तर भईरह्यो । आजपर्यन्त यसको विक्रीमा निरन्तरता छ । यसकै विक्रीको कारण र यसबाट आएको रोयल्टीकै कारण उनलाई म लेखेको भरमा बाँचेको हुँ भन्न सक्ने बनाएको हो । यस उपन्यासले सेतो बाघ भनेको डायमन शम्शेर, डायमन शम्शेर भनेको सेतो बाघ वनाईदियो । लेखकको नाम र पुस्तकको नाम एक अर्काको पर्याय बन्यो । मदन पुरस्कार नपाए पनि यसले पाठकको माया अनन्त रुपमा पायो, अविछिन्न पायो ।

सेतो बाघको दोश्रो खण्डको रुपमा आएको सत्प्रयासले सेतो बाघको जस्तो मायाँ त पाउन सकेन तर सत्प्रयास पनि सेतो बाघको लेखकको अर्काे कृतिका रुपमा पाठकले लिए । स्वीकारे । पढे । प्रतिबद्ध उपन्यासमा रहेको यौनपक्षले अलिकति मान्छेलाई नाक खुम्च्याउने त बनायो, तर उनले यस उपन्यासमा यौनको प्रयोग राजनीतिलाई छोप्नलाई गरेका थिए । धनको धब्बा अपेक्षाकृत कमजोर देखियो भने अनिता पनि खासै उम्दा हुन सकेन । तर सेतो बाघले बनाएको साखले अरु उपन्यासलाई पनि तान्ने काम भने सदा गर्‍याे र गरिरहेको छ ।

बसन्ती उपन्यास हिन्दी भाषामा अनुवाद भयो र नीर शाहले ठूलो पर्दाको चलचित्र पनि बनाए ।

सेतो बाघको पनि ठूलो पर्दाको चलचित्र बन्यो ।

सेतो बाघ गे्रटा राणाले अङ्ग्रेजीमा अनुवाद गरिन् । त्यही अनुवादको बुई चढेर सेतो बाघले विश्व यात्रा गर्‍याे । यो उपन्यास जर्मनी, जापानी, फ्रेञ्च, निनियाँ र कोरियाली भाषामा अनुवाद भयो । ती भाषामा अनुवाद भएर जाँदा उनलाई रोयल्टी पनि त्यही अनुसार प्राप्त भयो ।

उनले फ्रेञ्च भाषामा अनुवाद भएर प्रकाशन तथा बुक रिलिज हुँदाको विषयमा भनेका कुरा रमाईलोका साथै गम्भिर थियो ।

एकपल्ट उनको घरमा एउटा विदेशीको फोन आयो–ठमेलको कुनै होटलबाट । ती विदेशीले उनलाई खानाको लागि आमन्त्रण गर्न चाहे । उनले सहर्ष स्वीकारे । अनि उनले वताएको आफ्नो घरमा गाडी लिएर विदेशीका एक जोडी आए र खानाले स्वागत गरे ठमेलमा । अनि घर ल्याएर छाडिदिए । फेरि अर्काेपल्ट पनि निम्ता गरे । साहित्यिक कुरा गरे । सेतो बाघको कुरा गरे । अनि बल्ल ती विदेशीले भने– “हामी सेतो बाघ फेञ्चमा अनुवाद गरेर प्रकाशन गर्न चाहन्छौं । अनुमति दिनुहुन्छ ?’’

डायमनले फुरुङ्ग पर्दै भने–किन नदिनु । खुशीसाथ दिन्छु भने ।

त्यसपछि उनीहरु डायमन शम्शेरको सेतो बाघ अनुवाद तथा प्रकाशनको अनुमति लिएर पेरिस फर्किए । तर जानु अघि उनीहरुले उनको हातमा पेश्की स्वरुप पचास हजार पनि दिंदै भने– पुस्तक रिलिज प्रोग्राममा हामी निम्तो गर्छाैं, आउनु हुन्छ ?’’

डायमनले भने–“आउन त आउने, तर कसरी आउने ?’’

“हामी टिकट पठाइदिन्छौं । होटलको व्यवस्था गर्छौं । सवै व्यवस्था गर्छाैं ।’’ उनीहरुले वताए ।

अनि एक दिन त्यो दिन पनि आयो । पेरिसका लागि टिकट र निम्ता आयो । डायमन पेरिस उडे । पेरिसमा उनका लागि सुईटकै व्यवस्था थियो । ड्राईभरसहितको गाडी व्यवस्था थियो । पेरिसमा उनलाई घर जग्गा दलालहरुले घर किनाउन पिछा पनि गरे । उनीहरु डायमनको पुस्तक प्रकाशित भएपछि आउने रोयल्टीले घर किनाउन पछि लागेका थिए । प्रकाशकहरु उनको पुस्तकको डिमाण्ड हुनेमा आश्वस्त थिए । तर उनको नमूना प्रतिले कुनै डिमाण्ड निम्त्याएन । प्रकाशकहरु हैरान भए । उनीहरुको सपना तुहियो । तर उनीहरुले नेपाली पचास हजार हुने रकम हातमा राखेर दुःखी मनले विदा गरे । डायमनले नगद एक लाख र निशुल्क पेरिस भ्रमण गर्न पाए, यो उनको लागि एक प्रकारले उपलब्धि नै थियो । तर उनको निष्कर्ष थियो उनको पहिचान नभएकोले, नेपाली साहित्यको पहिचान नभएकोले उनको किताबको डिमाण्ड भएन । प्रकाशक फ्लप खायो ।

डायमन शम्शेर ब्यवहारमा अत्यन्त शालिन र मित्रबत् थिए । बूढो उमेरमा पनि राणाकालीन दरबारमा सानै उमेरमा सुसारेहरुवाट सेक्स शिक्षाको शुरुवात हुन्थ्यो भनेर थोता मुखले हाँस्तै पुराना कुरा बताउन उत्सुक हुन्थे ।

उनी सेनाको लेफ्टिनेण्टबाट जागिर खाएर मेजरसम्म भएका थिए । २००७ सालको वेला काँग्रेसको झण्डा बोकेर जेल परेका थिए र जागिरबाट खोसिएका थिए । पछि राजा त्रिभुवनले दरवारबाट बोलाएर थमौती गराएका थिए । पछि उनले सेनाको जागिरवाट राजिनामा गरेका थिए । २०१७ सालको कदम पछि उनी पुनः जेल परेका थिए । सात सालमा जेल पर्दा उनका जेलका सहयात्री बालकृष्ण सम, जनार्दन सम, पवन शम्शेर, मणि शम्शेर थिए भने २०१७ सालमा जेल पर्दा गिरिजाप्रसाद कोईराला र तारिणीप्रसाद कोईराला सहयात्री थिए । उनले सेतो बाघ यही जेल अबधिमा लेखेका थिए ।

एकपल्ट परशु प्रधानले यौटा अँग्रेजी भाषाको फारामहरुको यौटा बिटो मलाई दिंदै भनेका थिए, “ गोविन्द बाबु, यो फाराममा सिफरिस लेख्नुपर्‍याे ।’’

त्यो फाराम थियो जापानको फुकुओका पुरस्कारका लागि र सिफारिस गरिने व्यक्ति थिए, डायमन शम्शेर राणा । त्यो पुरस्कारका लागि सिफारिसहरु त गए, तर उनले पुरस्कार चाहीं पाएनन् । कति संघसंस्थाबाट गएको थियो सिफारिस त, तर काम लागेन । परशु प्रधानले यसमा निकै मिहिनेत गरेका थिए । अन्तरराष्ट्रिय क्षेत्रको त्यो पुरस्कार हात नपरे पनि, मदन पुरस्कारका लागि सिफारिस भएर नपाए पनि उनले जगदम्बाश्री पुरस्कार, भारती खरेल पुरस्कार, बाबा ओमवीरसिंह पुरस्कार, भूपालमान सिंह पुरस्कार, बसुन्धराश्री पुरस्कार लगायतका पुरस्कारहरु प्राप्त गरेका थिए ।

डायमन शम्शेरको जीवनमा यौटा ठूलो चोट परेको थियो । त्यो विषयमा उनी खासै खुलेर कुरा गर्न रुचाउँदैनथे । उनका एक छोरा खुश्वु शम्सेरको बेलायतमा मृत्यु भएको घटनाको चोटले उनलाई सधैं नै पीडा दिन्थ्यो । नेपालमा छँदा खुश्वु दोहोरो चरित्रका थिए । दिनभरि हाहा हुहुमा विताउने, कलेज गए पनि पढाईमा ध्यान उतिसारो नदिने, तर जाँचमा सधैं प्रथम हुने वा अब्बल दर्जामा आउने । कारण उनी दिनभर हाहा हुहुमा लागे पनि राती टुप्पी कसेर पढ्थे, जो उनका दौंतरीहरुलाई थाहा हुन्नथ्यो । उनका छिमेकीलाई मात्र यो कुरा थाहा हुन्थ्यो । किनभने उनको कोठामा आधारातमा वत्ती वल्थ्यो र विहानीपखसम्म निभ्दैनथ्यो । यो कुरा तिनै प्रत्यक्षदर्शी छिमेकीले मलाई बताएका थिए । त्यही मेधावी छोरा उच्च अध्ययनका लागि वेलायतमा गएका थिए र उतै अचानक विते । के कसरी उनी विते, त्यो कारण सधैं अज्ञात रह्यो ।

उनी कोपुण्डोलमा छोरीको घरमा बस्थे जीवनको उत्तरकालमा । अनि उनका छोरा रघु शम्शेर वेला वखत आएर बाबुले लेखेको “ बसन्ती’’ उपन्यास वाचन गरेर सुनाउने गर्थे । अनि डायमन शम्शेर आँखा चिम्लेर आफ्नै रचना आफ्नै छोराको मुखारवृन्दवाट सुनेर मुग्ध हुन्थे । राणाकालीन ती दिनहरुमा पुग्थे । पुरानो संसारमा हराउँथे ।

उनको भनाइ थियोः

“ पहिले वा अहिलेका ९९ प्रतिशत मानिसहरुमा जङ्गवहादुर राणा शक्तिमा षडयन्त्र, धोका, बेईमानी गरेर आए भने धारणा आजसम्म ब्याप्त छ । तर यो कुरा विल्कुल असत्य हो । कुनै पनि मानिस बेईमानी षडयन्त्र गरेर लामो समयसम्म सत्तामा रहिरहन सक्तैन । यसो भनेर मैले राणा शासनलाई राम्रो भन्न खोजेको हैन । तर जङ्गबहादुर राणाको समयसम्मको राणा शासनलाई राम्रो मान्नुपर्छ । उनको शेषपछि विस्तारै राणाहरु अयोग्य , भ्रष्ट, ईष्र्यालु हुँदै गए जसको फलस्वरुप राणा शासन पतनतर्फ उन्मुख हुन थाल्यो । यस्तै सत्य तथ्यलाई जनसमक्ष ल्याउने एकमात्र बाटो मैले लेखनलाई देखे ।’’

यौटा संयोग मान्नु पर्छ नेपाली काँग्रेशप्रति समर्पित ऐतिहासिक उपन्यासकार डायमन शम्शेर राणा र नेपाली काँग्रेशका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको देहान्त एकै दिन भयो । नेपाली जनताको मलामीको जुलूस कृष्णप्रसाद भट्टराईको पछिपछि थियो । डायमन शम्शेरको देहान्तको समाचार छायाँमा पर्‍याे ।

फल्स चर्च, भर्जिनिया ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment