Comments Add Comment

भ्रमण वर्षको सुरुमै बिच्छुक : हिटरदेखि हिमपहिरोसम्म

१२ माघ, काठमाडौं । एक वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित देशमा भ्रमण वर्ष चलिरहेको छ । वर्षमा साढे ११ लाख पर्यटक भित्र्याइरहेको नेपालले यो वर्ष त्यसमा साढे आठ लाख पर्यटक बढाउनु छ ।

तर वर्षको सुरुमै पर्यटन क्षेत्रमा केही अप्रिय घटनाहरू भएका छन्, जसले भ्रमण वर्षलाई प्रभावित पार्छ कि भन्ने डर पैदा भएको छ । पर्यटक बस दुर्घटना, पदमार्गमा हिमपहिरो, होटलमा निस्सासिएर भारतीयहरूको मृत्युलगायतका घटनाले पर्यटक सुरक्षाको प्रश्नलाई जटिल बनाइदिएको छ ।

अध्यागमन विभागको प्रारम्भिक तथ्यांकअनुसार सन् २०१९ मा ११ लाख ५२ हजार ५०१ जनामात्र पर्यटक भित्रिएका थिए । सन् २०१८ मा यो संख्या ११ लाख ७३ हजार ७२ थियो । पर्यटक घटिरहेको अवस्थामा घोषणा गरिएको नेपाल भ्रमण वर्षको सुरुआतमा भएका केही दुखद् घटनाहरूले चिन्ता थपेको पर्यटन मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव रुद्रसिंह तामाङ यस्ता घटनाले सरकारलाई सचेत गराएको बताउँछन् । ‘विपत्तिबाट हुने क्षति कम गर्न, लापरबाही गर्नेलाई कारबाही गर्न, घटनाहरू दोहोरिन नदिन सरकार गम्भीर छ,’ उनले भने, ‘नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश दिन काम भइरहेका छन् ।’

विदेशमा हुनुपर्ने भ्रमण वर्षको प्रचार–प्रसार स्वदेशमा मात्र भएको गुनासो पनि सुनिन्छ । त्यसमाथि भ्रमण वर्षको पहिलो २० दिनमै भएका घटनाहरूले राम्रो संकेत नगरेको पर्यटन व्यवसायीहरू बताउँछन् । अप्रिय घटना रोक्न सरकारले विशेष प्रयास थाल्नुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ । सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपालका पूर्वअध्यक्ष यम खड्का सरकारले भूमिका देखाउने बेला आएको बताउँछन् । ‘घटना–दुर्घटनाले पर्यटक आगमनलाई असर गर्छ,’ भन्छन्, ‘यस्तो बेला सरकारको सक्रियता बढी अपेक्षित हुन्छ ।’

विवादबाट भएको सुरुआत

भ्रमण वर्ष सुरु भएकै दिनदेखि नै पर्यटन क्षेत्रका विविध पक्षमा आलोचनात्मक टिप्पणी सुरु भएका थिए ।

विदेशीले समेत यस्तो आलोचना गरे पनि सुधारका लागि सरकारले खासै ध्यान दिएको देखिएको छैन । लम्बेतान उद्घाटन कार्यक्रम गरेको सरकारले विदेशी पर्यटकलाई आकर्षित गर्न भिषा शुल्क घटाउने घोषणा गर्न सकेन । यही १ जनवरीमा दशरथ रंगशालामा भ्रमण वर्ष उद्घाटनपछि अन्तर्राष्ट्रिय अभियान गर्न भन्दै २२ पुसमा अष्ट्रेलिया पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई विवादमा तानिए । भीषण डढेलोका कारण संकटमा रहेको देशको सडकमा नेपाल भ्रमण वर्षको कार्यक्रम गरेपछि ‘संवेदनाहीन’ भन्दै अष्ट्रेलियाका नेपाली समुदायले नै आलोचना गरेको थियो ।

जनवरी ३ मा काठमाडौं ओर्लिएका बेलायती पर्यटक भिक्टोरिया लुइसले त्रिभुवन विमानस्थलको शौचालय पसेर आफूले गल्ती गरेको र सफाइका लागि २० वर्षसम्म नुहाउनुपर्ने भन्दै ट्विट गरेकी थिइन् । त्यसलाई धेरैले रिट्विट गर्दै शौचालय सफा राख्न पर्यटनमन्त्रीलाई गुहारेका थिए । पूर्वाधारमा पर्यटन वर्षको पूर्वतयारी कस्तो छ भन्ने यही एउटा ट्विटले देखायो ।

यसलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि पर्यटनमन्त्री भट्टराई पुस २६ गते विमानस्थल अनुगमन गर्न पुगेका थिए । शौचालयमा टिष्यु पेपर नभएको देखिपछि उनी विमानस्थलका हाकिमलाई ‘काम गर्न नसक्ने भए ठाउँ खाली गर्नुस्’ भन्दै झपारेर फर्किएका थिए ।

सवारी दुर्घटनामा पर्यटक

पर्यटन वर्षको सुरुआतबाट नै देशिभत्रका सडक पूर्वाधार र सडक तथा सवारी सुरक्षाको प्रश्न उठिरहेको थियो । सडकहरूको खाल्डा र धुवाँधूलोले पर्यटकलाई सास्ती दिएको भन्दै सुधार्न पर्यटन व्यवसायीले माग गरिररहेका थिए । यसबीचमै माघ ३ गते काठमाडौंबाट चिनियाँ पर्यटक बोकेर सौराहा जाँदै गरेको पर्यटक बस चितवनमा दुर्घटनामा पर्‍यो। घटनामा दुई जना पर्यटकले ज्यान गुमाए भने एक दर्जन घाइते भए ।

नेपालमा पर्यटक बस दुर्घटनाको दर निकै कम छ । तर गुडिरहेको ट्रकमा गएर पर्यटक बस जोतियो । घटनामा चालकको लापरबाही रहेको प्रहरी अनुसन्धानको देखाएको छ । चालकले भने सडकको अवस्थालाई दोष दिएका छन् ।

यस्तो दुर्घटनाले नेपालका सडक असुरक्षित रहेको सन्देश प्रवाह हुने जोखिम छ ।

असावधानीले हिमपहिरोमा पुरिए पर्यटक

माघ ३ गते अर्को अप्रिय खबर आयो– अन्नपूर्ण आधार शिविर जाने बाटोमा गएको भीषण हिमपहिरोमा चार कोरियाली पर्यटक र तीन जना नेपाली गाइड वेपत्ता भए ।
त्यो घटना हुनुभन्दा तीन दिन अघिबाटै जल तथा मौसम विज्ञान विभागले हिमाली क्षेत्रमा भारी हिमपात हुने भन्दै निरन्तर मौसम बुलेटिन सार्वजनिक गरेको थियो । यस्तो समयमा उच्च हिमाली भेगतर्फ गइरहेका पर्यटकलाई सचेत गराइएन । सूचना प्रवाहमा सरकार चुक्दा दुर्घटना भयो ।

घटनापछि पनि सरकारी उद्धार संयन्त्र तुरुन्तै परिचालित भएन । त्यसले पदयात्रामा जाने पर्यटकको सुरक्षा र उद्धारमा सरकारी उदासीनता देखायो ।

अन्नपूर्ण क्षेत्रमा ठूलो हताहती भएको हुनसक्ने समाचार प्रवाह भइरहँदा सरकारी संयन्त्रहरूबाट आधिकारिक सत्यतथ्य आएन । यसले पर्यटक सुरक्षाको पाटोमा नेपालको कमजोर तयारी झल्काएको बताउँछन् व्यवसायीहरू ।

पूर्वाधारविहीन होटलमा पर्यटकको मृत्यु

दुखद् घटनाहरूको सिलिसिला त्यतिमै रोकिएन । माघ ८ गते मकवानपुरको दामनमा एभरेष्ट पानोरमा रिर्सोटमा आठ जना भारतीय पर्यटकले ज्यान गुमाउन पुगे । त्यसको कारण थियो, कोठाभित्र बालिएको हिटर ।

वैशाख–जेठमा समेत चिसो हुने दामनमा माघमा पुगेका पर्यटकहरूले चिसो कोठामा निदाउन नसकेपछि हिटर बालेका थिए । यो घटनाले नेपालका होटलहरूले कोठामा एयर कन्डिसनर (एसी) जस्तो न्यूनतम पूर्वाधार नै राखेका छैनन् भन्ने सन्देश प्रवाह गरेको छ ।

भारतको केरलाजस्तो गर्मी ठाउँबाट आएका पर्यटकहरू यही कारण हिटर बालेर सुते, तर झ्यालढोका बन्द हुँदा मृत्युको मुखमा पुगे । यो घटनाबारे सरकारले छानबिन त थालेको छ, तर नेपालको मुख्य पर्यटन स्रोत भारतमा नकारात्मक सन्देश प्रवाह भइसकेको छ ।

होटलको न्यूनतम मापदण्ड तोक्ने र त्यसको अनुगमन गरेर सेवा प्रभावकारी बनाउन सरकार चुक्दा त्यसको दुष्परिणाम पर्यटन क्षेत्रले भोग्नु परिरहेको छ ।

नेतृत्वविहीन बोर्ड र निगम

निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन प्रवद्र्धन गर्न बनेको नेपाल पर्यटन बोर्ड अहिले नेतृत्वविहीन छ । पर्यटन प्रवद्र्धनको जिम्मा पाएको निकायमा भ्रमण वर्षको सुरुमै प्रमुख कार्यकारी अधिकृत (सीईओ) छैनन् । यसअघिका सीईओ दीपकराज जोशी पुस ७ गते अवकास लिएका थिए ।

यसका कारण पर्यटन क्षेत्रमा हुनुपर्ने जति पहल र काम हुन पाएका छैनन् । बरु राजनीतिक खिचातानी सुरु भएको छ । सीईओका लागि बोर्डको सञ्चालक समितिले खुला प्रतिस्पर्धाका आधारमा सिफारिस गरेको तीनजना मध्ये कोही पनि सत्तारूढ दल समर्थक नपरेपछि नियुक्ति प्रक्रियामै अलमल भएको छ ।

यही समयमा पर्यटन वर्षको आधिकारिक एयरलाइन्स तथा नेपालमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय हवाई यात्रुलाई सेवा दिने नेपाल वायुसेवा निगम पनि नेतृत्वविहीन छ ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले माघ ५ गते राजीनामा दिएका छन् । नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया सुरु नहुँदै एयरबसमार्फत अन्तर्राष्ट्रिय उडान गर्ने पाइलटहरूले बिहीबार सामूहिक राजीनामा दिएका छन् । उनीहरूले सेवा सुविधा बढाउनुपर्ने माग गरेका छन्, तर नेतृत्व नै नभएको अवस्थामा माग पूरा गर्न एयरलाइन्सलाई सकस पर्ने देखिन्छ । यस्तो अवस्थामा नेपाल एयरलाइन्सका पाइटलहरूले काम छाडे भने पर्यटन क्षेत्र झन् संकटतर्फ धेकेलिने जोखिम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment