Comments Add Comment

ए डिभिजन लिग : पाँच चरणको खेल बाँकी, रोमाञ्चक बन्दै उपाधि होड

काठमाडौं खेलमा कुनै रोमाञ्चकता छैन । दर्शकको उल्लेखनीय उपस्थिति छैन ।  क्लबले आफ्नो फ्यान तान्न सकेका छैनन् । अनि नाम चलेका खेलाडी आफ्नो प्रदर्शन देखाउन चुकेका छैनन् । कोही स्टार बन्ने लाइनमा छैनन् । तैपनि उपाधि होडमा भने प्रतिस्पर्धा छ ।

एक टिम मात्र रेलिगेसन हुने भएकोले अधिकांश क्लबलाई त्यसको कुनै चिन्ता छैन । अहिलेसम्म सरस्वती युथ क्लब रेलिगेसनको एक्लो दाबेदारको रुपमा छ । उपाधि होडमा भने ४ क्लब छन्।

नेपालको सबैभन्दा ठूलो फुटबल लिग भनिने शहीद स्मारक ए डिभिजन लिगमा आठौं चरणसम्मको खेल सकिँदाको अवस्था हो यो ।

कूल १४ क्लबले अहिले दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा भइरहेको लिग खेलिरहेका छन् । जम्मा १३ चरण हुने लिगमा कूल ९१ खेल हुनेछन् । जसमध्ये ५६ खेल सकिसकेका छन् ।

हुनत लिग शुरु हुनु अघि नै लिगको उपाधि कसले जित्दा भनेर चर्चा शुरु भइसकेको थियो । आठौं चरणसम्म पनि त्यो कायमै छ । कुनै पनि क्लब उपाधि होडमा एक्लै अगाडि छनै । साविक विजेता मनाङ मर्स्याङ्दीसहित थ्री स्टार क्लब र विभागीय त्रिभुवन आर्मी क्लब स्वधाविक रुपमा लिगको उपाधि दाबेदार टिम हो । त्यसमा यसपटक नाम चलेका खेलाडी भित्र्याएको मछिन्द्र क्लब पनि थपिएको छ उपाधि रेसमा ।

अहिले चार क्लब उपाधि होडमा छन् । उनीहरुलाई पनि बाँकी क्लबले पछ्याइरहेका छन् । गत वर्षको उपविजेता संकटा क्लब अनि लिगकै पूर्वच्याम्पियनहरु एनआरटी र नेपाल पुलिस पनि अंक तालिकामा खासै टाढा छैनन् । पहिलोदेखि आठौं स्थानसम्म रहेको क्लबबीच ६ अंकको मात्र फरक छ ।

यस लिगमा कुनै पनि क्लबले कुनै पनि क्लबलाई हराउन सक्ने अवस्था छ । प्रशिक्षकहरुले पनि त्यो मानिसकेका छन् । उपाधि दाबेदार थ्री स्टार फ्रेण्ड्ससंग पराजित हुँदा मछिन्द्र हिमालयन शेर्पा क्लबसंग पराजित भइसकेको छ । मनाङले पनि लगातार चार बराबरी खेलिसकेको छ । आर्मीले २ बराबरी खेल्दा एक हार बेहोरेको छ ।

उपाधि होडमा यीनै चार टिम छन् । तर बाँकी टिमले यी टिमसंग कस्तो खेल्छन् र अन्य टिमको खेलको नतिजा कस्तो आउँछ त्यसैले उपाधि विजेता निर्धारण गर्नेछ । अब हुने ५ चरणका ३५ वटै खेल त्यसका लागि महत्वपूर्ण हुनेछ ।

आर्मी रोकिँदा उपाधि होड खुल्ला

आठौं चरणको खेल समाप्त हुँदा उपाधि होड भने रोमाञ्चक बनेको छ । आठौं चरणमा उपाधि दाबेदारहरु मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र क्लब र थ्री स्टार क्लबले जीत हात पार्दा त्रिभुवन आर्मी भने बराबरीमा रोकियो । यसले पनि उपाधि होडलाई खुल्ला पारेको छ।

सातौं चरणमा आर्मीले मछिन्द्र र मनाङमाथि ३ अंकको स्पष्ट अग्रता बनाएको थियो । तर आठौं चरण सकिँदा आर्मीको अग्रता १ अंकमा झरेको छ । आर्मीसंगै मनाङ र मछिन्द्र र थ्री स्टार उपाधिको दाबेदारमा अगडि छन् । आर्मी १७ अंकसहित शीर्ष स्थानमा रहँदा मछिन्द्र दोस्रो र मनाङ तेस्रोमा छ । दुवैको समान १६ अंक छ तर गोल अन्तरमा मछिन्द्र अघि छ । यस्तै ८ खेलबाट १४ अंकसहित थ्री स्टार चौथोमा छ । त्यसपछि तीन टिमको समान १२ अंक छ । तर गोलअन्तरमा एनआरटी अगाडि रहँदै पाँचौ छ । संकटा छैटौं र जाउलाखेल सातौंमा छ । नेपाल पुलिस ११ अंकसहित आठौं स्थानमा छ ।

अंकतालिकामा शीर्ष चार टिमबीच जम्मा ३ अंकको फरक छ । यसले पनि उपाधि होडलाई अझ रोचक बनाएको छ ।

आठौं चरणमा सातमध्ये ६ खेलको जित/हार नजिक आएको थियो भने एक खेल मात्र बराबरीमा सकिएको थियो । एक मात्र बराबरी खेल्नेमा त्रिभुवन आर्मी र एनआरटी रहे । लिग लिडर आर्मीले एनआरटीसंग गोलरहित बराबरी खेलेको थियो ।

उपाधि होड रोमाञ्चक बन्दा सरस्वती युथ क्लब रेलिगेसन जोनमा छ । ८ खेलबाट जम्मा १ अंकसहित सरस्वती अंक तालिकामा पूछारमा छ । सरस्वती भन्दा ४ अंक बढी रहेको विभागीय टोली एपीएफ १३औं स्थानमा छ ।

सातौं चरणमा २१ गोल भएको थियो । तर आठौं चरणमा त्यसको आधा भन्दा कम गोल भयो । पाँचौ चरणमा २० गोल हुँदा छैटौं चरणमा जम्मा ५ गोल भएको थियो । सातौं चरणमा २१ गोल भयो । तर आठौंमा फेरी गोलसंख्या घट्यो । आठौं चरणमा जम्म ९ गोल भयो । एक खेलमा ४ गोल हुँदा पाँच खेलमा १-१ गोल भएको थियो । ९ फरक खेलाडीले गोल गरे ।

च्यासल युथ क्लबका सन्तोष साहुखल सर्वाधिक गोलकर्तामा अगाडि छन् । उनले ८ खेलमा ६ गोल गरेका छन् । उनलाई पछ्यारहेका नेपाल पुलिसका सुमन लामा र एपीएफका आशिष लामाले समान ५ गोल गरेका छन् । यस्तै मनाङका विमल राना र आर्मीका नवयुग श्रेष्ठले ४-४ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment