Comments Add Comment
कुष्ठरोगको वृतान्त :

‘सामान्य रोग रहेछ, आफ्नै मान्छेले त्रासमा बाँच्न बाध्य पारे’

नेपालमा कुष्ठरोग निर्मूल भएको छैन, कुष्ठरोगीमाथि भेदभाव कायमै छ

जतिबेला बुझ्ने भएँ, त्यहीबेलादेखि म बिरामी भएको थाहा पाएँ ।

तर, के बिरामी ? कसैलाई थाहा थिएन । म बच्चीलाई झन थाहा हुने कुरै भएन ।

कोही भन्थे– यो त पूर्व जन्मको पापको फल हो ।

कोही सुनाउँथे – बाउआमाले गरेको पापको सजाय छोरीले भोग्दैछे ।

यस्तो कुरा सुन्दा मेरो बाल मष्तिष्कमा हजाराैं प्रश्नहरु उठ्थे । पूर्वजन्मको फल ? के गल्ती गरेँ र पूर्वजन्ममा मैले ? अनि मलाई मात्र किन यस्तो ?

जवाफ दिने कोही थिएनन् ।

म चिन्तित भावमा एउटा कुनामा बस्थेँ । साथीहरु खेल्थे । मलाई उनीहरुको नजिक जान अनुमति थिएन । मेरो नजिक आउन सबै घिनाउँथे ।

म सावित्री श्रेष्ठ । वि सं २०२९ सालको जन्म हो । घर बुटवल ।

म मेरो कहालिलाग्दो विगतबारे सुनाउँदैछु, जुन विगत सम्झँदा अहिले पनि डर लाग्छ । मन अमिलो हुन्छ । अनायासै आँशु खस्छ । ती दिनको सम्झनाले मलाई अर्कै मनस्थितिमा पुर्‍याउँछ ।

जबदेखि आफूलाई बुझ्न थालेँ, म सबैको नजरमा घृणाकी पात्र थिएँ । बिचरा भन्ने पनि कोही थिएनन् । किनकि, कोही मेरो नजिक पर्दैनथे । म हिँडेको बाटो हिँड्न मानिसहरु घिनाउथेँ । म हिँडिरहेका बेला त्यो बाटो नहिँडेर मानिसहरु अर्को बाटो हिँड्थे ।

यी सब भोगिरहँदा मलाई कस्तो हुन्थ्यो ? म भन्न सक्दिनँ । त्यो सकस व्यक्त गर्न मलाई आउँदैन ।

पहिला हातखुट्टा चिलाउँथे मात्र । तर, पछि झन गाह्रो हुँदै गयो । खटिराहरु बढ्न थाले । अझ भनौं, मेरो जवानीसँगै रोग पनि जवान भयो । अंगभंग हुन सुरु भयो । तर, के गर्ने ? म लगायत कसैको समझमा थिएन ।

त्यहीबेला गाउँलेहरुले घरमा आएर भने ‘यो केटीलाई यहाँबाट टाढा जंगलमा लगेर राख्दिनुपर्छ । यहाँ बसिराखी भने गाउँका अरु केटाकेटीलाई पनि रोग सार्छे ।’

यी शब्दले मलाई नमज्जाले पीडा दियो । हरबखत दिमाग र मनमा यही कुरा घुमिरहन्थ्यो ।

त्यतिबेला नै मैले थाहा पाएको थिएँ, ‘मलाई कुष्ठरोग भएको रहेछ ।’

त्यो थाहा पाउँदा म दिनभर रोएकी थिएँ ।

‘म किन जंगलमा बस्ने ?’ भनेर सोध्दा, आमा धर्धरी रुनुभएको थियो ।

त्योबेला मैले आमालाई भनेकी थिएँ, ‘म दिनभर जगंलमै बस्छु, तर रात परेपछि घर आउँछु नि ।’

त्योबेला आमा झन रुनुभएको थियो ।

तपाईहरुलाई लाग्ला, ‘यत्ति ठूलो पीडा भोग्दा पनि किन उपचार नगरेको ?’

यो समयमा भएको भए म पनि त्यस्तै सोच्थेँ होला । तर, यो २०३५/०४० सालतिरको कुरा हो । त्यतिबेला न गाउँमा अस्पताल थिए, न त डाक्टर। कुष्ठरोगको उपचार हुन्छ भन्ने थाहा पनि थिएन ।

मेरो बाआमाले मेरो उपचारका लागि प्रयास नगरेका पनि होइनन् । तर, मेरो दुर्भाग्य ! अस्पताल पुग्दा पनि डाक्टरले मलाई के भएको भन्न सकेनन्।

त्योबेला म ११ वर्षजति भएकी हुँदी हुँ । बुवाआमाले मलाई पाल्पाको मिसनरी अस्पताल लिएर जानुभयो । त्यो अस्पतालमा चाइनिज डाक्टरहरु थिए । उनीहरुले रोग पत्ता नलगाइकन फर्काए । त्यतिबेला ‘म यत्तिकै कुहिएर मर्छु’ भन्ने लागेको थियो ।

अहिले ती दिनहरु सम्झँदा म आफूलाई भाग्यमानी पनि ठान्छु । र, अभागी पनि ।

कहिलेकाहीँ समयले नै ठगेको हो कि जस्तो लाग्छ । कहिलेकाहीँ चेतनशील समाज र परिवारमा जन्मन नपाएकाले यस्तो भएको हो कि भन्ने सोच्छु । म अलि शिक्षित समाजमा जन्मन पाएको भए यो भोग्नु पर्दैनथ्यो कि भनेर घोत्लिरहन्छु ।

तर, खुशी हुनुपर्ने एउटै कुरा, म जंगलमा बस्नुचाहिँ परेन । आफूलाई भाग्यमानी ठान्नुको कारण यही मात्रै हो ।

जगंलमा बसेको भए त्यहीँ कुहिएर मर्न पनि सक्थेँ । जंगली जनावरले खान पनि सक्थे । अथवा, अरु भवितव्य आइलाग्न सक्थ्यो ।

मलाई जंगलमा लगेर छाड्ने तयारी गरिरहेका बेला गाउँका एकजना मानिस पोखराबाट आएका थिए । ती मानिसले सुनाए, ‘पोखरामा कुष्ठरोगको उपचार गर्ने अस्पताल खुलेको छ ।’

त्यो खबर सुन्नासाथ म यति धेरै खुशी भएँ कि एकछिनसम्म खुशीले रन्थनिएँ । त्यहीबेला महसुस भयो, मान्छे दुःखमा मात्रै होइन, खुशीमा पनि रन्थनिँदो रहेछ । दुःखको रन्को त भोगिरहेकै थिएँ, खुशीको रन्को त्यही बेला भोग्न पाएँ ।

त्यसबेला आफ्ना हातखुट्टामा घाउ खटिरा नभएको कल्पना गरेँ। अनि रगत, पिप आउञ्जेल कन्याउनु नपरेको सम्झिएँ । झिँगा नभन्किएको सफा हात कल्पना गरेँ । मसँग कोही घीन नमानिकन कुरा गरेको सम्झँदा मात्रै पनि आनन्द आयो । साथीभाइहरु म सँगसँगै खेलिरहेको कल्पना गर्दा अर्कै संसारमा भएको महसुस गरेँ ।

मलाई थाहा थिएन, कल्पना गर्दा मात्रै पनि यति धेरै खुशी मिल्दोरहेछ । थाहा पाएको भए सायद, म पहिलेदेखि नै यस्तै कल्पना गरेर खुशी खुशी दिन कटाउँथे कि !

त्यसपछि मैले आमालाई पोखराको हरियोखर्क अस्पताल जान्छु भनें । आमाले नाई भन्नु भएन ।

त्यो अस्पतालमा मजस्ता मानिसहरु धेरै थिए । कोही कोही त अंगभंग भइसकेका पनि देखिन्थे । म तीन वर्ष पोखरामै बसें । तीन वर्ष अस्पतालमा बसेर औषधि खाइसकेपछि निको भएँ । निको हुदाँ मेरा हात गोडा लाटा थिए । चोइटिएर अरुको जस्तो भुईमा झरेका भने थिएनन् ।

घर फर्किएँ । मेरो परिवर्तित अवस्था देख्दा सबैले छक्क पर्दै भनेका थिए, ‘कुष्ठरोग निको हुने रहेछ । झण्डै हामीले यसलाई जंगल नपठाएको ।’

उपचार गर्न जाँदा म त्यस्तै १५/१६ वर्षकी थिएँ, फर्किँदा १९ की । उपचार सकेर आउनासाथ मेरो बिहे भयो । बिहेपछिको दुःखको कथा छुट्टै छ ।

काम गर्दागर्दै मेरो हात चोइटिँदै चोइटिँदै गयो । सद्धे हात अति धेरै काम गर्नुपरेकाले डुँडे भयो । बिहेपछि २ छोरा भए । कुष्ठरोगी देखेरै बिहे गरेका श्रीमानले यही कारण देखाएर मलाई छाडे ।

अहिले जिन्दगीका उतार–चढाव सम्झँदा आफैलाई अचम्म लाग्छ ।

यति सामान्य रोग लाग्दा पनि मैले त्यति धेरै भेदभाव भोगें । दुःख पाएँ । आफ्नैहरुले डर देखाइदिँदा धेरै त्रास भोगें ।

अहिले थाहा पाएँ, ‘कुष्ठरोग त झाडापखाला भन्दा पनि सामान्य रहेछ ।’

बुटवलकी सावित्रीले ३० वर्ष अघि कुष्ठरोग लागेका कारण भेदभाव भोगिन् । धेरैलाई लाग्न सक्छ, सावित्रीले जस्तै अहिलेका कुष्ठरोगीहरुले भेदभाव भोग्नुपर्दैन । के वास्तवमा अवस्था त्यस्तै छ त ?

अर्को कथा– कविताको

रुपन्देहीकी कविता चौधरी भन्छिन्, ‘होइन, अहिले पनि हामीले भेदभाव भोग्नुपर्छ ।’

अब कविताको कथा उनकै शब्दमा–

तीन वर्षअघि मेरो खुट्टामा फोस्रो दाग आयो । त्यो दाग अलिअलि चिलाउँथ्यो । सामान्य जस्तो लाग्दा लाग्दै बढ्दै गयो । दाग बढ्दै जादाँ डर पनि बढ्दै गयो । त्यो दाग सहन नसक्ने गरी चिलाउँथ्यो । कन्याइरहनुपर्ने भएकाले मान्छेका अगाडि लाजमर्नु हुन्थ्यो ।

तर, म सहेरै बसेकी थिएँ । कमजोर आर्थिक अवस्थाका कारण अस्पताल जान नै डर हुन्थ्यो । अस्पताल जानु भनेको ऋण बोक्नुजस्तै लाग्थ्यो ।

अति चिलाउन थालेपछि म त्यो दाग देखाउन नजिकको क्लिनिकमा गएँ । जाँच गरेर औषधि दिए । औषधिले काम गरेन । दाग झन बढ्दै गयो । के गर्ने, कसो गर्ने थाहा थिएन । दुःख मात्रै लाग्थ्यो । समस्याको समाधान कसरी गर्ने, उपाय फुरेको थिएन ।

घुडाँभन्दा मुन्तिरको दाग भएकाले प्रष्ट देखिन्थ्यो । कन्याइरहनुपर्ने भएकाले साथीहरु जिस्काउँथे । सर्ला भनेर मसँग टाढिन खोज्थे । मदेखि भन्दा पनि मेरो दागदेखि साथीहरुलाई डर थियाे।

त्यहीबेला एकदिन कक्षा कोठामा केही व्यक्तिहरु आएर कुष्ठरोगबारे जानकारी दिन थाले । उनीहरुले बताएको लक्षणसँग मेरो समस्या मिल्यो । मैले आफ्नो समस्या बताएँ । समस्या बताउनासाथ उनीहरुले स्कुल पछाडि रहेको स्वास्थ्य चौकीमा लगेर जाँच गरे । मलाई कुष्ठरोग भएको थाहा भयो ।

कुष्ठरोग भएको थाहा पाएपछि मलाई झनै डर लाग्यो । साथीहरु पहिलेको भन्दा धेरै डराए । कोही नजिक नपर्न थालेपछि त झन डर दोब्बर बढ्यो । मानिसहरुले हेला गर्दा दुःख लागेर धेरै रोएँ ।

भयानक रोग लागेको हो कि भन्ने डरले कति दिन त निदाउनै सकिनँ । अलि पछि महसुस गरेँ, हाम्रा नजिकका मान्छेले नै डर बढाइदिँदा रहेछन् । आफ्नैहरुले साथ नदिने र बेवास्ता गर्ने भएपछि हामी कमजोर हुदाँ रहेछौँ । डरकै कारण संसार सकिएको जस्तो लाग्दोरहेछ ।

तर, त्यस्तो होइन रहेछ । ६ महिना औषधि खाएर निको हुने कुष्ठरोग त सामान्य रहेछ ।

अहिले म ‘कुष्ठरोग सामान्य हो, भेदभाव नगरौं’ भनेर आफ्नो गाउँ समाजका मानिसहरुलाई सम्झाउन सक्ने भएकी छु ।’

तर, मलाई अझै डर छ, ‘कुष्ठरोग सामान्य भन्दा कसले बुझ्ने, कसले पत्याउने ?’

कुष्ठरोग शून्यमा झार्ने लक्ष्य

वि.सं. २०६६ मा प्रति १० हजार जनसंख्यामा एकजना भन्दा कम कुष्ठरोगी भएको अवस्थामा राष्ट्रिय स्तरमा कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो ।

त्योबेला कुष्ठरोगको प्रकोप दर ०.७७ थियो । तर, त्यो दर बढेर अहिले ०.९९ पुगेको छ ।

यो प्रकोप दर कुनै समयमा राष्ट्रिय स्तरमा निवारणको सूचकभन्दा बढी हुन सक्ने त्रास बढ्दै गएको तथ्याकंले देखाउँछ ।

कुष्ठरोग निवारण घोषणा गरेको १० वर्षपछि स्वास्थ्य सेवा विभाग, कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाको तथ्यांक भन्छ, ‘आर्थिक वर्ष २०७५/७६ मा कुष्ठरोगका तीन हजार २८२ नयाँ बिरामी भेटिए । १७ जिल्लामा कुष्ठरोग अझै निवारण भएको छैन।’

यसको मतलब नेपालमा अझै कुष्ठरोग निर्मूल भएको छैन । र, कुष्ठरोगीहरुमाथि भेदभाव कायमै छ ।

त्यही तथ्यांक भन्छ, ‘उक्त आर्थिक वर्षमा १४ वर्षमुनिका ३३७ नयाँ बिरामी फेला परे।’

यसरी वर्षेनी नयाँ बिरामीहरु भेटिइरहदाँ किन मानिसहरु खुलेका छैनन् त ?

आनन्द वन अस्पतालका निर्देशक डाक्टर महेश शाह भन्छन्, ‘यो रुघाखोकी जस्तो झट्ट आएर झट्ट ठीक हुने रोग होइन । सामाजिक बहिष्कार हुने डरका कारण मानिसहरु रोग लुकाउन बाध्य छन् ।’
सन् २०१८ मा भएको पहिलो कुष्ठरोगको सर्वेक्षणले नेपालमा एक लाख कुष्ठरोगका बिरामी भएको अनुमान गरेको थियो । यही तथ्याकंलाई आधार मानेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुष्ठरोगलाई शून्य बनाउन मध्यम तथा दीर्घकालीन मार्गदर्शक दस्तावेज (रोडम्याप) बनाउन लागेको छ ।

नेपालले २०२० जनवरीसम्ममा राष्ट्रियस्तरमा कुष्ठरोग निवारण गर्ने घोषणा गरेको थियो । सोही उद्देश्य पूरा गर्न कुष्ठरोगको राष्ट्रिय रणनीति २०१६—२०२० बनाइएको थियो । तर, उक्त लक्ष्य पूरा नभएपछि मन्त्रालयले नयाँ रोडम्याप बनाउन लागेको हो । अहिले मन्त्रालयले सन् २०३० सम्म कुष्ठरोग शून्यमा झार्ने लक्ष्य लिएको छ ।

आनन्दवन अस्पतालका निर्देशक डाक्टर शाहका अनुसार उक्त लक्ष्य पूरा गर्न कुष्ठरोगविरुद्ध कुनै खोप नभएकाले रोगको शंका लाग्नासाथ चाँडोभन्दा चाँडो उपचार गर्नुपर्छ । समयमै उपचार गरे अंगभंगबाट जोगिन सकिन्छ । रोग लुकाउने प्रवृत्तिले कुष्ठरोग भयानक हुने बताउँदै उनी भन्छन्, ‘यो रोग नेपालबाट हटिसकेको भन्ने चिकित्सकहरुमा समेत भ्रम रहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment