+
+
WC Series
Nepal Women
93/6 (15.6)
VS
२४ बलमा ४८ रन आवश्यक
Netherlands Women
140/5 (20)
Shares
प्रतिनिधि सभा निर्वाचन २०८२ :

सर्लाही ४: उम्मेदवारको लक्ष्य प्रधानमन्त्री, जनताको अपेक्षा पानी–बिजुली

कांग्रेसको गढ मानिने सर्लाही–४ मा यस पटक गगन थापा र अमरेश सिंह जस्ता नेताहरू राष्ट्रिय राजनीतिको एजेन्डा बोकेर चुनावी मैदानमा छन्, अर्कातिर पुस्तौँदेखि उही पानी, बिजुली र मलखादको सास्ती झेलिरहेका स्थानीय मतदाता। नेता फेरिए पनि नियति नफेरिएका सर्लाहीका किसानहरूको आँखाबाट देखिएको चुनावी नालीबेली।

बिनु सुवेदी शैलेन्द्र महतो बिनु सुवेदी, शैलेन्द्र महतो
२०८२ माघ ८ गते ११:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही–४ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका छन्।
  • सर्लाही–४ मा अमरेशकुमार सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीबाट तेस्रो पटक चुनाव जित्ने दाबी गरेका छन्।
  • सर्लाही–४ का मतदाताहरूले उखु उत्पादन, सिँचाइ, बाढी जोखिम र शिक्षा क्षेत्रमा समस्या भोगिरहेका छन्।

८ माघ, सर्लाही । ‘अबकी बार गगन सरकार !’ नेपाली कांग्रेसका सभापति गगन थापाको पूर्ण कदको तस्बिरसहितको ब्यानर टाँसिएको छ । टाढैबाट देखिन्छन्, राता–हरिया झन्डाहरू ।

मान्छेहरूको भीड बढेको बढ्यै छ । ‘दिनको पाँच सयभन्दा धेरै नचिनेका मान्छेहरूको फोन आइरहन्छ, भेट्न आउनेहरू तपाईंले देखिहाल्नुभयो,’ नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र सिंह घडी हेर्दै थिए, ‘हेर्नुस्, साँझको चार बजिसक्यो, मैले बिहानको खाना पनि खाएको छैन ।’

सिंहको यही घरबाट कांग्रेस सभापति गगन थापाको आगामी चुनावी अभियान सञ्चालन हुँदै छ । पार्टीको विशेष महाधिवेशनपछि ढिलोगरी टिकट वितरण सुरु गरेका थापा स्वयंले पनि अन्तिम अवस्थामा सर्लाही–४ बाट टिकट लिने निर्णय गरेका थिए ।

वारेसबाट उम्मेदवारी दर्ता गरेका थापा अहिलेसम्म निर्वाचन क्षेत्र आइपुगेका त छैनन् तर, आफ्नो क्षेत्रमा थापा आउँदै छन् भन्ने मतदाताहरूले थाहा भने पाएका छन् ।

सर्लाही–४ का नागरिकका लागि थापा नयाँ भए पनि चुनाव भने नयाँ होइन । प्रत्येक निर्वाचनमा हर्षोल्लास र आशा बोकेर आएका नेताहरू उनीहरूले व्यहोरेका छन् । निर्वाचन जिताएर पठाएका पनि छन् ।

गोडैता नगरपालिका–४ का ७२ वर्षीय रूपलाल राउतले जीवनमा कति पटक मत खसाले, हिसाब गरेका छैनन् । तर कसलाई किन भोट हालेका थिए— एक–एक सम्झना छ । प्रत्येक चुनावमा नयाँ नारासहित आउने उम्मेदवार देख्दा उनलाई पनि ‘अब त केही हुन्छ’ भन्ने आशा पलाउँथ्यो ।

नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र सिंह

तर, जितेर गएका उम्मेदवार फेरि अर्को चुनावमा मात्र देख्दा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनप्रति उनलाई खासै चासो छैन । चुनाव आए–गए पनि त्यसले आफ्नो जीवन र परिवारको अवस्थामा कुनै परिवर्तन नल्याएको उनको भनाइ छ ।

‘भोट खसाउँदै बुढो भइयो । चुनावमा मत माग्न आएका नेता फेरि अर्को चुनावमै मात्र भेटिन्छन्,’ बुधबार दिउँसो गाउँको छेउमा गाई चराउन गएका रूपलालले सुनाए, ‘चुनाव आउँछ, जान्छ । सबैले आफ्नै लागि गर्छन्, गरिबका लागि कोही छैनन् ।’

सर्लाही क्षेत्र नं. ४ का मतदाता रूपलाल गाउँकै रहुवा मठका ३२ वटा गाई दैनिक तीन सय रुपैयाँ ज्यालामा चराउँछन् । एक छोरा–बुहारीसहित आठ जनाको उनको परिवारको गुजारा ज्याला–मजदुरीमै चलेको छ । ‘यस पटक नयाँ पनि आएका छन्, केही गर्छन् कि !’ उनी केही आशावादी सुनिए ।

सर्लाही क्षेत्र नम्बर–४ बाट अमरेशकुमार सिंहले निरन्तर तेस्रो पटक चुनाव जितेका छन् । बितेका दुईवटा चुनाव नेपाली कांग्रेस र गत चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर जितेका उनले यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् ।

कांग्रेसका थापा पनि यस क्षेत्रमा प्रवेश गरेपछि अबको मुख्य प्रतिस्पर्धा यी दुईबीच नै हुने देखिन्छ, जो एकताका एउटै राजनीतिक दलका सहयात्री थिए । थापा काठमाडौँबाट सर्लाही पुगे र सिंहले कांग्रेस छोडेर स्वतन्त्र हुँदै रास्वपा रोजे । उनीहरूको यो राजनीतिक दाउपेचले स्थानीयको जीवनमा के फरक पार्छ ? स्पष्ट छैन ।

मूलतः यी दुई नेताहरूको चुनावी एजेन्डा राष्ट्रिय राजनीतिसँग सम्बन्धित छ । तर, जनताका समस्या घरआँगन र खेतबारीकै वरिपरि केन्द्रित छन् ।

यस क्षेत्रका अधिकांश जनता कृषि पेसामा निर्भर छन् । उखु उत्पादनका लागि परिचित यो क्षेत्रमा किसानका पीडा उस्तै छन् । धनकौल नगरपालिका–३ बसबरियाका भुटन साह बुधबार अपराह्न काटेको उखु चिनी मिल लैजानका लागि श्रीमती र छोराको सहारामा बयलगाडामा लोड गर्दै थिए ।

दुःख र लगानी गरेर उब्जाएको उखुको भाउ अझ बढे हुन्थ्यो भन्ने चाहना भुटनको छ । ‘उखु उब्जाउन धेरै दुःख गर्नुपर्छ, भाउ बढाइदिए हुन्थ्यो,’ उनले भने । विगतका चुनावमा यही आशासहित मत दिए पनि खासै केही नभएका कारण अब नयाँ कि पुरानामध्ये कसलाई मत दिने भन्ने पछि निधो गर्ने उनको भनाइ छ ।

उखुको उत्पादन र बजारीकरण मात्र होइन, वैकल्पिक सिँचाइ र समयमा मलखाद नपाउँदा भोग्नुपरेको समस्याप्रति धनकौल नगरपालिका–१ सखौनारका ५७ वर्षीय विनेकी रायको गुनासो पनि उस्तै छ । ‘लगानी र मिहिनेतअनुसार उखुको भाउ पाइँदैन । बेच्न बिचौलियाकै भर पर्नुपर्छ,’ उनले भने, ‘विगतका उम्मेदवार जितेर गए, तर केही गरेनन् । कम्तीमा वैकल्पिक सिँचाइ र समयमा मलखादको व्यवस्था गरिदिने उम्मेदवार भए हुन्थ्यो, तर त्यस्तो देखिँदैन ।’

गाउँ भएर बग्ने मनुसमारा सिँचाइ आयोजनाको नहर गत वर्षको खडेरीमा सुक्दा यहाँका कृषकले ठूलो समस्या झेले । यी पीडा र गुनासा सर्लाही क्षेत्र नं. ४ का किसानको साझा समस्या हुन् ।

धनकौल नगरपालिका सखौनारका ५७ वर्षीय विनेकी राय

यसै क्षेत्रअन्तर्गत पर्ने बलरा नगरपालिका–१ कुशवाहा टोलमा डुबान र बाढीको जोखिम छ । गाउँको छेउबाट बग्ने मनुसमारा नदीको बाँध पछिल्लो समय कमजोर बन्दै गएको छ । बाँध कमजोर भएकाले बस्तीलाई नै बगाएर लाने वा डुबाउन सक्ने जोखिम रहेको स्थानीय महेन्द्र महतोले बताए ।

उसो त, महतोले यो समस्या मत माग्न आउने र चुनाव जितेपछि बजेटको व्यवस्था गरिदिनुपर्ने नेताहरूलाई नसुनाएका पनि होइनन् । बितेका चुनावका बेला आएका उम्मेदवारहरूले बाँध बनाइदिने प्रतिबद्धता पटक–पटक गरेका पनि थिए । तर चासो कसैले दिएनन् । बाँध नबन्दा कुशवाहा टोलका ९० घरपरिवार बर्सेनि त्रासमा रहन्छन् ।

महेन्द्र महतो

‘कुनै दिन मनुसमारा नदीले पूरै बस्ती बगाउने जोखिम छ । वर्षाको बेला करिब ९० घरधुरी त्रासमै बस्नुपर्छ,’ स्थानीय ६७ वर्षीय महेन्द्रले भने, ‘विगतमा आएका उम्मेदवारले प्रतिबद्धता मात्र गरे, पूरा गरेनन् ।’ त्यसैले यस पटक नयाँ उम्मेदवार रोज्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

यस टोलमा विद्युत् आपूर्तिको समस्या पनि छ । गर्मीयाममा बिजुली राम्रोसँग नचल्ने गुनासो स्थानीयको छ । शिक्षा क्षेत्रमा समेत टोल पछाडि परेको छ । करिब ९० घरधुरी रहेको यस बस्तीबाट अहिलेसम्म कोही पनि सरकारी सेवामा पुगेका छैनन् । हालै आधारभूत विद्यालय सञ्चालनमा आएको भए पनि कक्षा ३ सम्म मात्र पढाइ हुन्छ । यहाँ भेटिएका केही युवाले बालेनको प्रभावका कारण घण्टी चिह्नमा मत दिने मुडमा रहेको बताए ।

यस्तै, यसै क्षेत्रमा पर्ने गोडैता नगरपालिका–१२ मधुवनी टोलमा नालाको समस्या प्रमुख रहेको छ । विभिन्न जातजातिको मिश्रित तथा विपन्न बस्ती रहेको यस टोलका महिलाहरूले जितेर गएका नेताहरू पछि फर्केर नआउने गरेको गुनासो गरे । ‘चुनावमा आउँछन्, भोट लिन्छन्, त्यसपछि नेता बेपत्ता हुन्छन् । नालाको समस्या छ । राहत वितरणमा विभेद हुन्छ । विपन्नका लागि आएको राहत धनीलाई बाँडिन्छ,’ स्थानीय शिवपुजारी जयसवालले गुनासो पोखिन् ।

गोडैता नगरपालिका–१२ मधुवनी टोल

यस टोलमा सबै दलका मिश्रित मतदाता छन् । केहीले नयाँलाई र केहीले पुरानैलाई मत दिने मनस्थितिमा रहेको देखिन्छ । स्थानीय युवा दिनबन्धुप्रसाद यादवले भने यस पटक मत परिवर्तन गर्ने बताए । ‘पुराना दल र उम्मेदवारलाई देखिसकें । अब नयाँलाई अवसर दिनुपर्छ,’ उनले भने ।

गोडैता नगरपालिका–१ भवानीपुरका ७० वर्षीय ननु रायले भने पटक–पटक मत खसाले पनि अपेक्षित विकास नभएको गुनासो गरे । ‘शिक्षा र स्वास्थ्यमा सुधार आएन । जितेपछि नेता चुनावमा मात्र फर्किन्छन्,’ उनले छेउकै भवानीपुर प्रहरी चौकी देखाउँदै भने, ‘प्रहरी बस्न समेत राम्रो घर छैन ।’ तर यी गुनासो हुँदाहुँदै पनि उनी यस पटक मत परिवर्तन गर्ने मनस्थितिमा भने देखिएनन् ।

गोडैता नगरपालिका भवानीपुरका ७० वर्षीय ननु राय

गडबडीमा परेको कांग्रेसको गढ

सर्लाही क्षेत्र नम्बर ४ लाई नेपाली कांग्रेसको गढ मानिन्छ । यस क्षेत्रमा २०३४ सालको निर्वाचनबाहेक सबै निर्वाचनमा नेपाली कांग्रेसले नै जित्दै आएको थियो । गत निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि अमरेश सिंहले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी कांग्रेस मतदाताहरूकै मतदानबाट विजयी भएका थिए ।

सर्लाही क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका रूपमा दुई पटक लगातार निर्वाचित अमरेश सिंहले यसपालि तेस्रो पटक पनि उम्मेदवारी दर्ता गराएका छन् । तर यसपटक उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गरेका हुन् ।

यसै क्षेत्रमा विशेष महाधिवेशनबाट केही दिनअघि केन्द्रीय सभापति निर्वाचित भएका नेपाली कांग्रेसका नेता गगन थापाले उम्मेदवारी दिँदा देशकै ध्यान तानेको छ । यहाँ नेपाल कम्युनिस्ट पार्टीबाट रजनिश राय, नेकपा एमालेबाट अमनिषकुमार यादवसहित स्वतन्त्रसमेत गरी कुल ३९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिएपछि विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका अमरेश सिंह २० हजार १७ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनले कांग्रेसका आधिकारिक उम्मेदवार नागेन्द्र कुमारलाई १ हजार ७६४ मतले पराजित गरेका थिए । नागेन्द्र कुमारले १८ हजार २५३ मत प्राप्त गरेका थिए ।

तेस्रो स्थानमा तत्कालीन नेकपा (माओवादी केन्द्र) की उम्मेदवार शिवपुजन रायकी छोरी मधुमाला रायले १४ हजार ६२२ मत पाएकी थिइन् । चौथो स्थानमा जसपा उम्मेदवार राकेश मिश्रले ५ हजार ५३ मत ल्याउँदा छैटौँ स्थानमा बहुजन एकता पार्टीका उम्मेदवार राजाराम पासवानले ५ हजार १५ मत प्राप्त गरेका थिए ।

त्यसअघि, २०७४ सालको निर्वाचनमा अमरेश सिंह २९ हजार ६७५ मतसहित निर्वाचित हुँदा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार राकेश मिश्रले २८ हजार १३६ मत ल्याएका थिए । अन्य उम्मेदवारहरूले जमानतसमेत जोगाउन सकेका थिएनन् ।

संविधानसभा निर्वाचनमा सर्लाही क्षेत्र नं. ६ रहेको यस क्षेत्रमा २०६४ सालमा मधेसी जनअधिकार फोरम नेपालबाट शिवपुजन रायले कांग्रेसका अमरेश सिंहलाई पराजित गरेका थिए । २०७० सालमा पार्टी परिवर्तन गर्दै किसान छापबाट प्रतिस्पर्धा गरेका शिवपुजन रायलाई कांग्रेसका उम्मेदवार अमरेश सिंहले हराएका थिए ।

शिवपुजनले भने यस पटक आफ्ना छोरा अमनिषकुमार यादवलाई एमालेबाट उम्मेदवार बनाएका छन् । यस पटक नेकपाबाट टिकट नपाएपछि उनले छोरालाई एमालेबाट उम्मेदवार उठाएका हुन् । २०७९ सालको चुनावमा अर्का छोरा राजाबाबु यादवलाई रामनगर गाउँपालिका अध्यक्ष जिताएका थिए । उनले २०७९ सालको प्रतिनिधिसभा चुनावमा छोरी मधुमाला यादवलाई उम्मेदवार बनाएका थिए ।

तस्बिरहरू : शंकर गिरी/अनलाइनखबर 

लेखक
बिनु सुवेदी

शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?