८ माघ, सप्तरी । जनमत पार्टीका अध्यक्ष सीके राउत सप्तरी निर्वाचन क्षेत्र-२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।
गत निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेर संसद् पुगेका राउत यसपटक आफ्नै पूर्वसहकर्मीको घेराउमा परेका छन् ।
यहाँ जनमत पार्टीबाटै मधेश प्रदेशका मुख्यमन्त्री बनेका स्वभिमान पार्टीका नेता सतीशकुमार सिंह उम्मेदवार बनेपछि राजनीति सरगर्मी बढेको छ ।
भदौ २३ र २४ को जेनजी आन्दोलनको क्रममा अध्यक्ष राउतसँग टकराव बढेपछि मुख्यमन्त्री पद गुमाएका सिंहले जनमतबाट विद्रोह गर्दै बाहिरिएर स्वाभिमान पार्टीबाट उम्मदवारी दिएका छन् ।
यस्तै जनमत पार्टीको राष्ट्रिय प्रवक्ता भएर काम गरेका डा.शरद सिंह यादव आफ्नै नेतृत्वमा जन अधिकार पार्टी खोली चुनावी प्रतिस्पर्धामा छन्।
नेपाली कम्युनिस्ट पार्टी परित्याग गरी जनता समाववादी पार्टी प्रवेश गरेका पूर्वसिंचाइ मन्त्री उमेश कुमार यादव र दुई पटक समानुपातिक सांसद बनेकी रञ्जुकुमारी झा ठाकुरले नेपाल जनता पार्टीबाट उम्मेदवारी दिएका छन् ।
त्यस्तै पूर्वसांसद सूर्यनाथ प्रसाद यादवलाई नेपाली कम्युनिस्ट पार्टीले यही क्षेत्रबाट उम्मेदवार बनाएको छ।
यससँगै नयाँ अनुहारको रुपमा नेपाली कांग्रेसबाट सप्तरीका जिल्ला उपसभापति रामकुमार यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादव, उज्यालो नेपाल पार्टीका डा. दीपक चौधरी छन्।
यस्तै नेपाल मजदुर किसान पार्टीबाट निलम कुमारी यादव लगायत ३४ जनाको मनोनयन दर्ता भएको छ ।
निर्वाचन क्षेत्र नम्बर—२ मा २०७४ को प्रतिनिधि सभा नर्विाचनमा निर्वाचित भएका जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा जनमत अध्यक्ष राउतसँग १८ हजार ६२ मतले पाराजय भएपछि २०८० सालमा भएको उपनिर्वाचनमा बारा क्षेत्र—२ बाट निर्वाचित भई संसद् छिरेका थिए।
जसपा अध्यक्ष यादव र जनमतका अध्यक्ष राउतबीच पुनः चुनावी प्रस्तिपर्धा हुने अवस्था आएपछि यादव निर्वाचन क्षेत्र परिर्वतन गरी सप्तरीकै क्षेत्र नम्बर—३ बाट उम्मेदवारी दिएका छन् ।
दोस्रो संविधान सभा निर्वाचनमा निर्वाचित पूर्वसिंचाई मन्त्री उमेश यादव जसपा नेपाल प्रवेश गरी राउतलाई चुनौती दिएका छन् ।
पूर्वमन्त्री यादव जसपा नेपाल र लोसपाको एकीकरणले हौसिएका छन् भने जनमत अध्यक्ष राउतलाई उनकै पुरानो सहकर्मीले चुनौती थपेका छन् ।
त्यस्तै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहनिकटका रामजी यादवको उम्मेदवारीले पनि यहाँको चुनावी माहोल गर्माएको छ ।
प्रतिक्रिया 4