Comments Add Comment

चीनमा सुँगुर वर्ष सकियो, मुसा वर्ष सुरु भयो !

१५ दिन बिदा हुने चिनियाँ नयाँ वर्षको कथा

उत्तरतिरको विशाल छिमेकी चीनले नेपालमा आफ्नो प्रभाव फैलाउँदै गएको कुरा नौलो होइन । नेपाल र चीनबीच राजनीतिक र कूटनीतिक स्तरमा पछिल्ला केही वर्षमा विभिन्न सन्धि सम्झौता भएका छन् भने जनस्तरमा चिनियाँ व्यापारी र पर्यटकको नेपालमा उपस्थिति निरन्तर बढ्दो छ । नेपालका मुख्य सहरहरूमा चिनियाँ स्वाद पस्कने रेस्टुरेन्ट खुलिसके । यससँगै काठमाडौंमा चिनियाँ चाडपर्वको पनि चर्चा हुन थालेको छ ।

चर्चा मात्र होइन, महत्वाकाङ्क्षी अन्तर्देशीय रेलवेको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदनका लागि नेपाल आउन लागेको टोली पनि नयाँ वर्षपछि मात्रै आउने भनेर साइत कुरेर बसेको समाचार आइसक्यो ।

चिनियाँ नयाँ वर्ष शनिबारबाट सुरु भएको छ । आखिर के–के हुन्छ नयाँ वर्षमा ? कस्तो चाड हो यो ?

चन्द्रमासको गणना

चिनियाँ नयाँ वर्षको एकिन मिति छैन । प्रायः जनवरी २० भन्दा पछाडिको एक महिनामा नयाँ वर्ष परेको देखिन्छ । झट्ट हेर्दा यो हचुवाजस्तो देखिए पनि हचुवा भने होइन । हिन्दु संस्कृतिका प्रायः पर्वहरूको पनि मिति पहिल्यै थाहा हुँदैन र घटबढ भइरहन्छन्, चिनियाँ पात्रो पनि त्यस्तै हो ।

अर्थात्, नेपालको तिथिवाला पात्रोजस्तै चिनियाँ पात्रो पनि सूर्य नभई चन्द्रमाको गतिमा निर्धारण गरिएको हुन्छ । चन्द्रमाको गति सधैँ एउटै नहुने हुँदा एउटै चाड पनि वर्षैपिच्छे फरकफरक हुन्छ ।

एक वर्ष : एक जनावर

चिनियाँ पात्रोमा वर्षहरूलाई १२ वटा जनावरको क्रममा विभाजन गरिएको छ । यस नयाँ वर्षपछि मुसा वर्ष सुरु हुँदै छ । अहिले सकिएको वर्ष सुँगुर वर्ष थियो ।

मुसापछि क्रमशः गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, बाख्रा, बाँदर, कुखुरा र कुकुरको पालो आउँछ । कुकुरपछि सुँगुरदेखि पुनः त्यही चक्र घुम्छ । चिनियाँ ज्योतिषशास्त्रमा यी वर्षहरूमा १२ राशीले फरकफरक फल पाउँछन् । साथै तिनले जनजीविकाका अन्य पक्षहरूमा पनि फरक पार्दछन् । हाल त्रासका रूपमा फैलिएको कोरोनाभाइरसको प्रकोप पनि नयाँ मुसा वर्षको सम्भाव्य अपशकुनको प्रभाव हो भन्ने कतिपयको आँकलन छ ।

वसन्तोत्सव

चीनमा नयाँ वर्षलाई वसन्तोत्सव (स्प्रिङ फेस्टिबल)का रूपमा मनाइन्छ । नयाँ वर्ष सुरु भएपछि चिसो कम हुने र न्यानो बढ्दै जाने विश्वास छ । त्यसपछि क्रमशः नयाँ बाली लगाउने बेला आउँछ, रुखहरूमा नयाँ पालुवा पलाउँछन् ।

परम्परागतरूपमा राम्रो कृषिबालीका लागि देवतासँग प्रार्थना गर्दै चिनियाँ नयाँ वर्ष मनाइन्छ । आधुनिकीकरण अगाडि चिनियाँ समाज पनि पूर्णतः कृषिप्रधान समाज नै थियो ।

नयाँ वर्षको अघिल्लो रात जागै बसी पटकाहरू पड्काउने र झिलिमिली पार्ने चलन पनि छ । यसो गर्दा राक्षसी शक्तिहरू भाग्छन् र सम्पूर्ण वर्ष सुखमय हुन्छ भन्ने विश्वास छ । नयाँ वर्षको उत्सव मनाउने क्रममा ‘लालटिन उत्सव’ (ल्यान्टर्न फेस्टिबल) पनि मनाइन्छ ।

सबैभन्दा लामो बिदा

चिनियाँ नयाँ वर्षमा प्रायः कार्यालय र शैक्षिक संस्थाहरू १५ दिन बिदा हुन्छन् । त्यसमध्येका सुरुवाती पाँच दिन सबैभन्दा महत्वपूर्ण मानिन्छन् र परम्परा पछ्याउने हो भने ती पाँच दिन परिवार छाडेर बाहिर जानुहुँदैन । तर, नयाँ वर्ष मनाउने क्रम भने त्यसभन्दा अगाडि नै सुरु भइसकेको हुन्छ ।

नयाँ वर्ष आउनै लाग्दा संसारका विभिन्न देशमा कार्यरत लाखौँ चिनियाँ घर फर्कन्छन् । चिनियाँहरू संसारभरि फैलिएकाले विश्वका विभिन्न सहरहरूमा पनि उनीहरूलाई बिदा दिने चलन सुरु भइसक्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment