Comments Add Comment

बैंकले तोक्न थाले कर्जामा ‘फिक्स्ड ब्याजदर’

१५ माघ, काठमाडौं । गत शुक्रबार राष्ट्रिय वाणिज्य बैंकको ५५ औं वाषिर्कोत्सवलाई सम्वोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले ‘फिक्स्ड ब्याजदर’ को विषय उठान गरे । उनले दीर्घकालीन कर्जा लिनेहरुका लागि स्थिर ब्याजदर कायम गर्न निर्देशन नै दिएका थिए ।

बैंकहरुले बुधबारदेखि नै ‘फिक्स्ड ब्याजदर’ नीति कार्यान्वयनमा ल्याएका छन् । बुधबार ३ वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । ब्याजदर सार्वजनिक गरेका लक्ष्मी बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमध्ये इन्भेष्टमेन्ट बैंकले फिक्स्ड ब्याजदर तोकेको छ ।

बैंकले १ वर्षको लागि निश्चित कर्जाहरुका लागि स्थिर ब्याजदर तोकेको हो । बैंकले कृषि क्षेत्रको कर्जाका लागि १०.५० प्रतिशत ब्याज तोकेको छ भने अर्थ कर्जा भनेर बैंकले १०.५० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले एसएमई नामको कर्जामा भने ९.९९ प्रतिशतमात्रै ब्याज लिने बताएको छ ।

संघमा छलफल हुँदै

अर्थमन्त्री खतिवडाभन्दा पहिले नै फिक्स ब्याजदरको विषयमा उद्योगी व्यवसायीहरुले आवज उठाउदै आएका थिए । बैंक तथा वित्तीय संस्थाले आफूले दिने -निक्षेपको) ब्याजदर भने स्थिर राख्ने तर आफूले पाउने -कर्जाको) ब्याजदर भने बढाएको बढायै गरेको भन्दै व्यवसायीहरुले विरोध गर्दै आएका थिए ।

गत साल कर्जाको ब्याजदर धेरै बढाएको भन्दै उद्योगी व्यवसायीहरु सडकमै उत्रिएका थिए । त्यसपछि प्रधानमन्त्रीसम्म कुरो पुगेर अहिले यो समस्या समाधान जस्तै बनेको छ । तर दीर्घकालीन समस्या समाधान भने नभएको भन्दै अर्थमन्त्रीले फिक्स ब्याजदरको कुरा उठाएका थिए ।

यस विषयमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको छाता संस्था नेपाल बैंकर्स संघले भने आधिकारिक निर्णय गरिसकेको छैन ।

संघका कार्यकारी प्रमुख अनिल शर्माले केहि अनौपचारिक छलफल भए पनि के-कसरी अघि बढ्ने भन्ने निर्णय नभइसकेको उनले बताए । उनले यस विषयमा संघमा छलफल हुने तयारी भइरहेको उनले बताए ।

‘सुझाव कार्यान्वयन भयो, खुसी लाग्यो’

बैंकहरुले मनपरी ब्याजदर बढाएको भन्दै विशेष गरेर गत वर्ष प्रदेश एकको विरानटरमा विरोध भयो । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेको नेतृत्वमा उद्योगी/व्यवसायीहरुको टोली सडकमा समेत उत्रियो ।

ब्याजदर विरुद्धको आन्दोलनको नेतृत्व गरेका घिमिरेले बैंक तथा वित्तीइ संस्थाहरुलाई ‘नवसामन्तवाद’ भएको भन्दै चर्को आलोचना गरेका थिए । स्थिर ब्याजदर कार्यान्वयनमा आएकोमा घिमिरेले खुसी व्यक्त गरे ।

एक साताअघि अर्थमन्त्रीसँग विरानटरमै छलफल भएको र छलफल अनुसार नै कार्यान्वयन समेत भएको भन्दै उनले अर्थमन्त्री र सरकारलाई धन्यबाद दिए ।

‘अर्थमन्त्रीज्यूसँग विशेष गरेर ब्याजदरको विषयमा २ वटा कुरा भएको थियो, एउटा कसरी हुन्छ कम गर्ने र अर्को ३ वर्षसम्म ब्याजदर घटबढ नगर्ने’ उनले भने, ‘अर्थमन्त्री ज्यूकै कारण यो शुरु भएको हुनुपर्छ, धेरै खुसी लाग्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment