+
+
Shares

वीरगञ्जमा औद्योगिक सम्पत्तिका बारेमा छलफल

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १५ गते १९:१३

१५ माघ, वीरगञ्ज । ट्रेडमार्क दर्ता अनिवार्य र स्थायी हुने व्यवस्था ल्याउन वीरगञ्जका उद्योगीले माग गरेका छन् । उनीहरुले दर्ता अनिवार्य नहुँदा र नविकरण गर्नुपर्ने बाध्यताले विविध समस्या आइरहेको बताएका छन् ।

विभागले वीरगञ्जमा बुधबार आयोजना गरेको औद्योगिक सम्पत्ति सम्बन्धी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले त्यस्तो बताएका हुन् । उनीहरुले ट्रेडमार्कका सवालमा उद्योग विभागको अभिलेख पनि कमजोर रहेको आरोप लगाए ।

धागो उद्योगी मुर्ली जालनले उद्योग खोल्दा नै ट्रेडमार्कका बारे जानकारी नदिँदा पछि उद्योगी समस्यामा पर्ने गरेको बताए ।

‘पहिलो कुरा त उद्योग खोल्दा नै औद्योगिक सम्पत्तिको बारेमा जानकारी गराउनुपर्छ । अन्यथा व्यवसायीले यसको जानकारी नपाउँदा आफूले स्थापित गरेको ब्रान्ड, डिजाइन अरुले चोर्न सक्छन्,’ उनले भने, ‘ दर्तापछि भन्सार नाका हुँदै त्यस्ता मालबस्तु नआओस् भन्नका लागि पेटेन्ट, डिजाइन र ट्रेडमार्कको अभिलेख भन्सार विभागमा पनि पठाउनुपर्छ । ’

विभागले ५० हजार भन्दा बढी ट्रेडमार्क दर्ता गरिसकेको जनाएको छ । विदेशी कम्पनीले नेपालमा ट्रेडमार्क दर्ता नगराएको अवस्थामा नेपालमा सोही ट्रेडमार्क दर्ता गर्न सक्ने कानुनी व्यवस्था छ । त्यसैले जापानको चर्चित पेन्ट कन्साई नेरोलेकले नेपालमा केएनपी भनी उत्पादन गरिरहेको छ ।

कार्यक्रममा विभागका तर्फबाट उनीहरुलाई निर्देशक विन्दा आचार्य, सुप्रभा ढुंगेल लगायतले पेटेन्ट, डिजाइन र ट्रेडमार्कका बारेमा जानकारी गराएका थिए । उनीहरुले वीरगञ्ज, विराटनगर, भैरहवा जस्ता सीमावर्ती सहरमा ट्रेडमार्कको सवालमा विविध समस्या आइरहेको बताए ।

इमान्दारीता गुमाएका उद्योगीले छिटो व्यवसाय वृद्धि गर्नका लागि अरुको ट्रेडमार्क, डिजाइन चोरी गर्ने निर्देशक आचार्यको भनाइ छ । ‘विदेशीको मात्रै होइन नेपाली व्यवसायीले स्थापित गरेको ट्रेडमार्क, डिजाइन चोरी भएका छन् । उस्तै खाले ट्रेडमार्क लिन खोज्ने प्रवृत्ति पनि छ । अझ कतिपयले धेरै ब्रान्डहरु होल्डमा राखेर अरुलाई बेच्ने गरेको पाइएको छ,’ उनले भनिन्, ‘नयाँ आउने कानूनले धेरै समस्याको समाधान गर्छ ।’

पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले चलेको ब्रान्ड प्रयोग गर्ने महत्वकांक्षाले गर्दा डुब्लिकेट बस्तु उत्पादनमा व्यवसायी आर्कषित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?