Comments Add Comment
मेरो कथा :

त्रिकोणात्मक सिरिजमा शतक हान्न सकूँ

१६ माघ, काठमाडौं । त्यस्तो ठाउँमा जन्मिएँ, जहाँ माहोल नै क्रिकेटमय थियो । अझ बुवाले पनि क्रिकेट फलो गर्ने भएकाले त्यसको प्रभाव ममाथि हुने नै भयो ।

तर सानोमा रहरले क्रिकेट खेलिन्थ्यो, अहिले देशका लागि खेलिरहेको छु । जब राष्ट्रिय झण्डा अंकित जर्सी लगाएर मैदान उत्रिन्छु र नेपालको राष्ट्रिय गान्छ, मनमा छुट्टै आनन्दको अनुभूति हुन्छ ।

००००

मेरो घर वीरगञ्जको नारायणी क्रिकेट रंगशालाको छेउमै छ । तराईतिर प्रायः धेरै क्रिकेट नै खेलिन्छ । त्यसैले म पनि क्रिकेटतिर नै आकर्षित भएँ । त्यसमाथि मेरो बुवा पनि क्रिकेटको ठूलो फ्यान । घरमा जहिल्यै क्रिकेट खेल हेर्नुहुन्थ्यो । त्यसैले म पनि उहाँसँगै क्रिकेट हेर्थेँ । हेर्दाहेर्द मलाई पनि यसरी खेल्नुपर्छ भनेर सिकाउनु पनि भयो ।

ममीले लुगा धुने काठको मुङ्ग्रोलाई ब्याट मानेर म र भाइ खेल्ने गर्थ्यो । पछि मैले सरप्राइज गिफ्टका रुपमा ब्याट पाएँ । मेरो जन्मदिनमा बुवाले ब्याट उपहार ल्याउनुभयो । भाइले बलिङ गथ्र्यो भने म ब्याटिङ गर्थे । भाइ पनि क्रिकेटमै छ ।

म पनि सिभिल इन्जिरियरिङ पढ्न चाहन्थे । तर क्रिकेटमा राम्रो हुँदै गयो । क्रिकेट मेरो पहिलो प्राथमिकतामा पर्न थाल्यो । प्लस टु पढ्दापढ्दै राष्ट्रिय टिममा परेँ । त्यसपछि त क्रिकेट नै सबथोक भयो ।

स्कुलमा पनि क्रिकेट लेखिरहेँ । हाम्रो स्कुलको प्रिन्सिपलले राम्रो खेल्यो भने छात्रवृत्ति दिनुहुन्थ्यो । एकातिर खेल्न पनि पाइने, अर्कोतिर परिवारको आर्थिक बोझ कम हुने भएपछि सहज भयो । स्कुल टिमको कप्तानी गर्न थालेँ । धेरै जसो म बेस्ट ब्याट्सम्यान म्यान अफ दि सिरिज बन्थे ।

विद्या सदन सेकेण्डरी स्कुलबाट एसएलसी गरेपछि अध्ययनका लागि काठमाडौ आएँ र यहाँ पनि क्रिकेटलाई सहयोग होस् भनेर गोल्डेनगेट कलेजमा भर्ना भएँ । यसको पनि एउटा संयोग छ, त्यसबेला नेपाल प्रिमियर लिग (एनपीएल) भएको थियो । सन्जय सर आउनुभाएको थियो । त्यही मैले गोल्डेनगेट पढ्न चाहन्छु भनेँ । उहाँले आउँदा हुन्छ भन्नुभयो । नभन्दै मैले छात्रवृत्ति नै पाएँ ।

त्यसबेलासम्म पनि परिवारको पहिलो प्राथमिकता पढाई नै थियो । म पनि सिभिल इन्जिरियरिङ पढ्न चाहन्थे । तर क्रिकेटमा राम्रो हुँदै गयो । क्रिकेट मेरो पहिलो प्राथमिकतामा पर्न थाल्यो । प्लस टु पढ्दापढ्दै राष्ट्रिय टिममा परेँ । त्यसपछि त क्रिकेट नै सबथोक भयो । कुनै बेला टिमबाट बाहिर हुन्थेँ तर अझै राम्रो गर्नुपर्छ भनेर मेहनत बढाएँ । पछिल्लो समय तीना वर्षदेखि टिममै छु, धेरथोर अनुभवी पनि भएको छु ।

०००

मसँगै भाइ आशिफ पनि क्रिकेटमै करियर बनाउन संघर्षरत छ । उमेर समूहबाट आएको उसले राष्ट्रिय टिममा स्थान पनि बनाएको हो तर निरन्तरता छैन । एउटै घरबाट दुई जना क्रिकेटरभन्दा खुशी लाग्छ । एउटै टिममा खेल्दा त झन् आनन्द ।

बुवाले सुनाएअनुसार उहाँले पनि सानोमा क्रिकेट खेल्नुहुन्थ्यो रे । पछिसम्म पनि क्रिकेट खेल्ने सपना थियो, तर पारिवारिक अवस्थाका कारण खेल्न पाउनुभएन । अहिले वर्कसप चलाउनुहुन्छ । आफूले पुरा गर्न नसक्नु भएको क्रिकेटको सपना हामीमार्फत पुरा भएको हेर्न चाहनु भएको छ । त्यसैले हामीलाई जहिल्यै सहयोग गर्नुहुन्छ । हामीले राम्रो गर्दा बधाई दिनुहुन्छ र नराम्रो भएमा सच्याउन भन्नुहुन्छ । भन्नुहुन्छ, राम्रो खेल, हरेक म्याचमा तिमीहरुकै खेलले जिताओस् । तिमीहरुकै नाम सुन्न पाऊँ । वीरगञ्न्ले राष्ट्रिय प्रतियोगिता जित्दा, म संलग्न टिमले डीपीएल, पीपीएल जित्दा एकदमै खुशी हुनु भएको थियो ।

मैले राष्ट्रिय टिमबाट खेल्दा पनि ३(४ वटा म्याचमा राम्रो गरेको छु । त्यसबेला पनि बुवाले हाँसेर तिमीले राम्रो गर्‍यौ भन्नुभाथ्यो । खेलका क्रममा मैले गरेको कमजोरी पनि यसो भयो, यसो गर्नुपथ्र्यो भनेर सम्झाउनुहुन्थ्यो । मैले नराम्रो सट खेलेर आउट हुँदा घर पुग्ने बित्तिकै सम्झाउनुहुन्छ ।

००००

२०१४ भएको एकदिवसीय राष्ट्रिय प्रतियोगिता मेरो जीवनकै उत्कृष्ट मध्ये एक थियो । किनकी मैले हरेक खेलमा राम्रो स्कोर गरेको थिएँ । हरेक म्याच हाम्रो टिमले जितेका थियो । फाइनलमा दबावमा थियौं तर मैले अमित दाइसँग १४७ रनको साझेदारी गरेँ । र, हामीले एपीएफलाई हराएर उपाधि जित्यौं । वीरगञ्जले धेरै पछि जितेको उपाधि थियो र त्यो क्षण अझै यादगार छ ।

त्यो प्रतियोगितामा मैले म्यान अफ दि सिरिजको अवार्ड पनि जितेँ । यो मेरो लागि एकदमै खुशीको क्षण थियो । फाइनलमा मैले ७० रज बनाए, एक विकेट पनि लिएँ । प्रतियोगिताभर २६१ रन बनाएको मैले ११ विकेट पनि लिएछु । त्यही प्रदर्शनका कारण मलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइयो । अनि राष्ट्रिय टिममा पनि स्थान बनाउन सफल भएँ ।

००००

उमेर समूहमा सिधै यू–१९ मा खेल्ने मौका पाएँ । राष्ट्रिय टिममा पनि चाँडै डेब्यू भयो । २०१४ मा यू१९ एसिया कप खेलेँ । त्यसपछि राष्ट्रिय प्रतियोगिता खेल्दै सिनियर टिमसम्म पुगेँ ।

पहिलो पटक राष्ट्रिय टिममा पर्दा एकदमै खुशी लागेको थियो । कुनै पनि देशको खेलाडी क्रिकेट खेल्छ भने उसको लक्ष्य नै राष्ट्रिय टिमबाट खेल्ने हुन्छ । मेरो पनि थियो । बन्द प्रशिक्षणपछि अन्तिम लिस्टमा मेरो पनि नाम आयो । एकदमै खुशी भएँ । शुरुमा मैलै मेरो कोच जहुर अन्सारीलाई फोन गरेर धन्यवाद दिएँ । त्यसपछि घरमा फोन गरेँ, ममीलाई धन्यवाद दिएँ ।

२०१४ मा मलेसियामा भएको एसीसी प्रिमियर लिगबाट राष्ट्रिय टिममा डेब्यु गरेँ । शुरुवाती खेलमा अवसर नपाएपनि मैले हङकङविरुद्ध डेब्यु गरेँ । ब्याटिङमा त मौका पाइनँ, तर बलिङमा अवसर पाएँ । मैले २ बलमा २ विकेट लिएँ, त्यो पनि विपक्षी कप्तानको विकेट । त्यो क्षण मेरो अर्कै जोश आएको थियो । अर्को खेल अफगानिस्तानसँग खेले । त्यसमा पनि मैले २ विकेट लिएँ । ब्याटिङ भने राम्रो भएन । प्रतियोगिता अरु खेलमा भने त्यति राम्रो भएन । प्रतियोगिता सकेर फर्किदा महसुस भयो कि यो लेभलमा यसरी हुँदैन, छुट्टै मिहिनेत गर्नुपर्छ । त्यतिबेला मेरो रुममेट सुवास खकुरेल दाइ हुनुहुन्थ्यो । मलाई उहाँसहित सबै सिनियर खेलाडीले एकदमै सहयोग गर्नुभयो, मोटिभेट गर्नुभयो ।

त्यसपछि राष्ट्रिय टिममा पर्ने बाहिरिने क्रम चलिरह्यो ।

००००

२०१८ मा नामिबियामा भएको डिभिजन टु नेपालका लागि महत्वपूर्ण प्रतियोगिता । त्यो प्रतियोगितामा राम्रो गर्दा विश्वकप क्वालिफायरमा पुग्थ्यौं भने नराम्रो गर्दा नेपाली क्रिकेट ५ वर्ष पछाडि धकेलिन्थ्यो । सबै खेल उत्तिकै महत्वपूर्ण थियो । हरेक म्याच एकदमै प्रेसरमा जित्यौं । अन्तिम ओभर, अन्तिम बलमा पनि जित्यो । अहिले पनि त्यो क्षणहरु सम्झिँदा प्रेसर फिल हुन्छ ।

यो प्रतियोगितामा पनि एउटा खेल छ, जुन मलाई सम्झना आइरहन्छ । केन्यासँगको खेल थियो त्यो । टार्गेट १७८ । लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको हामीले ८२ मै ५ विकेट गुमाइसकेका थियौं । त्यो बेला म र रोहितकुमार पौडेलले पार्टनरसिप गरेर नेपाललाई जितसम्म पु‍र्‍यायौं । त्यसबेला हाम्रो योजना थियो कि पुरै ५० ओभरसम्म टिकेर खेल्ने । तर अन्तिम दुई ओभरमा आउट भयौं तर नेपालले खेल जित्यो । खेललाई अन्तिममा पुर्‍याएर पनि गेम फिनिस गर्न सकेनौं, त्यसमा खिन्न लाग्यो ।

अन्तिम खेल क्यानडासँग थियो र हामीलाई जित्नैपर्ने दबाव थियो । त्यो खेलमा यादगार इनिङ्स करण केसीले खेलेका थिए । यो मैले जीन्दगीभर नबिर्सने म्याच हो । असम्भव ठानिएको त्यो खेल करण दाइले जिताउनुभयो ।

००००

डिभिजन टू मा शीर्ष दुईमा रहेर हामी जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोटका लागि छानियौं । यो नेपाललाई एकदिवसीय मान्यता दिलाउने बाटो समेत थियो ।

जिम्बाब्वे, स्कटल्याण्ड जस्ता राम्रो टिमहरु हाम्रो समूहमा थियो । घरेलु टोली जिम्बाब्वेसँग राम्रो खेल्यौं । हामीले २५० प्लस स्कोर बनायौं । स्कटल्याण्डसँग पनि राम्रो खेल्यौं । तर खेल जित्न सकेनौं । त्यो लेभलमा खेल्न अझै धेरै मिहिनेत गर्न बाँकी छ भन्ने बुझ्यौं । समूहको शीर्ष तीनमा नपरेपछि ओडीआई स्ट्यास पाउन प्लेअफ खेल्नुपर्ने भयो ।

पपुवा न्यूगिनीसँग प्लेअफ थियो । र त्यसमा पनि कन्डिसन थियो । हामीले पिएनजीलाई हरायौं र नेदरल्यण्ड्सले हङकङलाई हराइदियो भने त्यो एकदिवसीय मान्यता पायौं । नभए अर्को खेलको नजिता कुनुपर्ने । हामीले सोचेको जस्तै भयो । र ओडीआई स्टाटस पायौं । त्यो टिको सदस्य बन्न पाउँदा म पनि खुसी भएँ । अब नेपाली क्रिकेटले एउटा गति लिन्छ भन्ने विश्वासमे पनि खुसी थियौं हामी ।

००००

ओडीआई नेशनको मान्यता पाएपछि हामी पहिलो सिरिज खेल्न नेदरल्याड्स गयौं । हाम्रो लागि गर्वको विषय पनि त्यो । कतिसम्म भने यो सिरिज खेल्न जानुअघि मैले सोचिसकेको थिएँ, डेब्यु क्याप पाएपछि फ्रेममा राख्छु, यसो गर्छु, उसो गर्छु ।

सिरिज १–१ मा सकियो । नेदरल्याण्ड्सलाई उसकै घरेलु मैदानमा हराएर सिरिज ड्र गर्नु सहज थिएन । तर सबैले मेहनत गरे र हामी सफल भयौं । त्यसको धेरै समयपछि हामीले गत वर्ष युएईमा अर्को सिरिज खेल्यौं । सबै खेलाडीमा जोश थियो । र त पहिलो खेल हारेर पनि पुनरागमन गर्दै बाँकी दुई खेल जितेर सिरिज जित्यो । त्यो हाम्रो पहिलो सिरिज जित थियो ।

यदि क्रिकेट संघ भइदिएको भए हामीले ओडीआई स्टाटस पाएपछि अझ राम्रा टिमहरुसँग खेल्न पाउँथ्यौं । जिम्बाब्वे जस्ता टिमहरु इच्छुक पनि थिए । तर संघ निलम्बनमा भएका कारण हामीले धेरै खेल्न पाएनौं जस्तो लाग्छ । अब क्रिकेट संघ आएको छ । सबै कुरा सिस्टममा जान्छ र क्रिकेटका लागि राम्रो वातावरण हुन्छ होला । र, हुनुपर्छ पनि ।

००००

अहिले हामी घरेलु मैदानमा ओडीआई सिरिज खेल्ने तयारीमा छौं । यसलाई लिएर म एकदमै उत्साहित छु । कुनै पनि क्रिकेटरको लागि होम ग्राउण्डमा खेल्नु भनेको छुट्टै एक्ससाइटमेन्ट हुन्छ । आफ्नै ग्राउण्ड, आफ्नै दर्शक … सम्झिँदा पनि आनन्द लाग्छ ।

हुन त अमेरिका र ओमनसँग हामीले यसअघि खेलेका छौं । तर अहिले परिस्थिति फेरिएको छ । दुवै टिममा अनुभवी खेलाडी छन् । अमेरिका त अंक तालिकामा पनि शीर्ष स्थानमा छ ।

तर हामीले ५० ओभरको खेल धेरै खेल्न पाएका छैनौं । अझभन्दा प्रेसर वाला म्याच खेल्न पाएको छैन । ब्याटिङमा पनि राम्रो गर्न सकिरहेका छैनौं । त्यसैले सिरिजमा हामीलाई चुनौती छ ।

००००

अहिले क्रिकेट मेरा लागि सबथोक हो । किनकी क्रकेट बाहेक अरु केही छैन । आज जहाँ छु, जे छु, क्रिकेटले गर्दा नै छु । त्यसैले क्रिकेटबाट के पाउँछु भन्दा पनि नेपाली क्रिकेटका लागि के गर्न सक्छु भन्ने छ ।

हिजोको दिनमा नेपाललाई ओडीआई नेशन बनाउन योगदान गर्न चाहन्थेँ । नेपालले एकदिवसीय मान्यता पाउने बेला टिमको सदस्य भएको गर्व छ । अब टेष्ट खेल्ने लक्ष्य छ । मलाई यो पनि थाहा छ कि टेष्ट खेल्न हामीसँग अहिले स्ट्रक्चर छैन । यसका लागि धेरै मेहनत गर्नुछ ।

त्यसअघि अहिले भने म अरु सदस्यहरु जस्तै त्रिकोणात्मक सिरिजमा केन्द्रित छु । ५० ओभरको खेलहरुमा मिडल अर्डरमै राम्रो गरेको छु । त्यसैले यो सिरिजमा पनि ४ र ५ नम्बरमा ब्याटिङ गर्छु होला । हाम्रो टिममा दुई जना राम्रा सिम बलर छन् । त्यसैले मैले खासै बलिङ गर्नुपर्दैन होला । तर परेको बेला बलिङ पनि गर्न तयार छु ।

र, सिरिजमा नेपालले खेल्ने चार मध्ये कुनै एक खेलमा शतक बनाउन चाहन्छु । त्यही शतकको बलमा नेपाललाई जिताउन सकुँ । अनि बलिङ आयो भने विकेट लिने र ५ विकेट लिन सकु भन्ने छ ।

मेरो अर्को लक्ष्य पनि छ । यस्तो अवस्था होस् जहाँ एक बलमा ६ रन चाहिएको होस्, र त्यो बेला मैले छक्का हानेर नेपाललाई जिताउन पाऊँ ।

(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समेटिने अनलाइनखबरको श्रृङ्खला ‘मेरो कथा’को ७० औं अंकमा यो हप्ता क्रिकेट खेलाडी आरिफ शेखको कथा ।)

प्रस्तुति : गोविन्‍दराज नेपाल

तस्वीर : आर्यन धिमाल /अनलाइनखबर

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment