Comments Add Comment

लिगमा मनाङको पहिलो हार, उपाधि होडमा धक्का

२० माघ, काठमाडौं । साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजनमा पहिलो हार ब्यहोरेको छ । सोमबार च्यासल युथ क्लबले मनाङलाई २-० ले स्तब्ध बनाएको हो । यससँगै उसको उपाधि रक्षा होडमा धक्का लागेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको दुबै हाफमा च्यासलले एक एक गोल गरेको थियो ।

खेलको पहिलो मिनेटमै मनाङका फेमी जोसुअले हानेको हाई बल च्यासलका डिफेण्डरले क्लियर गरेका थिए । तेस्रो मिनेटमा च्यासलका अमिर श्रेष्ठले पेनाल्टी बकस बाट हानेको बल पोष्ट भन्दा केही माथिबाट बाहिरियो ।

२५ औं मिनेटमा थायगा नाकामुराले च्यासललाई अग्रता दिलाए । मनाङका दयानन्दले हायतो अकिनोलाई फउल गरेपछि पाएको फ्रिकिकमा नाकामुराले गोल गरेका हुन् । उनको प्रहार मनाङका गोलकिपर दीप कार्कीले सही जज गरे पनि बचाउन सकेनन् ।

२८ औं मिनेटमा च्यासलका सन्तोष साहुखलले पेनाल्टी बक्स बाहिरबाट हानेको प्रहार पोष्ट माथिबाट बाहिरियो भने ३७ औं मिनेटमा मनाङका अञ्जन विष्टले पेनाल्टी बक्सबाट प्रहार गरेको बल पोष्टको दिशा लिन सकेन ।

पहिलो हाफमा अग्रता बनाएको च्यासलले दोस्रो हाफमा पनि शुरुदेखि नै मनाङमाथि आक्रमण गर्न थाल्यो । मनाङ भने बराबरी गोल फर्काउने प्रयासमा थियो तर इन्जुरी टाइमको तेस्रो मिनेटमा सन्तोष साहुखलले गोल गर्दै च्यासलको जित पक्का गरे ।

खेलमा च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले भने रातो कार्ड पाए । निर्धारित समयको अन्तिम मिनेटमा रेफ्रीको निर्णयमा असहमति जनाएको भन्दै रेफ्री सुदिश पाण्डेले प्रशिक्षक बालगोपाललाई दुई पहेँलो कार्ड देखाएका हुन् ।

यो हारसँगै मनाङको उपाधि रक्षा होडमा धक्का लागेको छ भने त्रिभुवन आर्मी र मछिन्द्रलाई फाइदा भएको छ । किनकी यो हारले शीर्ष स्थानको आर्मीभन्दा ४ अंकले पछाडि परेको छ । आर्मी १० खेलबाट २३ अंकसहित शीर्ष स्थानमा छ भने मछिन्द्र २२ अंकसहित दोस्रो र मनाङ १९ अंकका साथ तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment