
२० माघ, काठमाडौं । गृह मन्त्रालयका सचिव प्रेमकुमार राईको सोमबारदेखि निजामती सेवाबाट विदा भएका छन् ।
३० वर्षे सेवा अवधि पूरा गरेका राईको विदाईमा गृह मन्त्रालयमा एक कार्यक्रम आयोजना गरिएको थियो । २२ महिना गृह सचिवको जिम्मेवारी सम्हालेका राईले आइतबारदेखि लागू हने गरी राजीनामा दिएका थिए ।
विदाई कार्यक्रममा बोल्दै गृहमन्त्री रामबहादुर थापा बादलले गृहसचिवबाट विदाई गरिए पनि राईलाई नयाँ जिम्मेवारीमा पठाउने तयारी भएको बताए । ‘उहाँ गृहसचिवबाट मात्रै विदाई हुनुभएको हो । उहाँलाई नयाँ अभियान, नयाँ सेवा र नयाँ जिम्मेवारीमा पठाउँदैछौं’, मन्त्री थापाले भने ।
थापाले राईको इमान्दारिता, योग्यता र राष्ट्रप्रेमका कारण मन्त्रालयले धेरै सफलता पाएको बताए । विदाई कार्यक्रममा सचिव राईले गृहमन्त्री र मन्त्रालयका अन्य कर्मचारीहरुको सहयोगबाट २२ महिनामा धेरै सुधारका काम गरिएको बताए ।
प्रशासन सुधार, सुशासन कायम गर्न, प्रहरी प्रशासनमा लामो समयदेखिको बढुवा प्रक्रियालगायतका सुधारका काम आफ्नो कार्यकालमा भएको उनले बताए ।
राईको विदाइमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक सैलेन्द्र खनाल, गृह मन्त्रालयका अधिकारीहरु सहभागी थिए ।
प्रतिक्रिया 4