Comments Add Comment

कसले लग्यो प्रहरीले बरामद गरेको ४१४ वटा सर्ट ?

यसलाई लापरबाही मानौंः प्रमुख भन्सार प्रशासक

सर्ट बरामद गर्दै प्रहरी अधिकारी । अनलाइनखबर अर्काइभ ।

२० माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरणबाट ४१४ वटा सर्ट गायब भएको पाइएको छ ।

प्रहरीले बरामद गरी बुझाएर भर्पाइसमेत लिएको सर्ट भन्सारको गोदामबाटै गायब भएको हो । बरामद गर्दा प्रहरीले गरेको मूल्यांकनअनुसार यो एउटा सर्टको मूल्य करिब  एक हजार रुपैयाँ थियो । भन्सारको गोदामबाट ४ लाख रुपैयाँ भन्दा बढी मूल्यको सर्ट गायब भएको छ ।

महानगरीय प्रहरी प्रभाग, बूढानीलकण्ठले २ असोजमा टुरिष्ट बसबाट भन्सार छलेर ल्याइएको ३ हजार ७ सय ४ वटा रेडिमेट सर्ट बरामद गरेको थियो ।

तर, बरामदी मुचुल्कासहित कपडा बुझाएको १८ दिनपछि ४ सय १४ वटा सर्ट अपुग भएको भन्दै भन्सारले चलानी नं. २०२ मा प्रहरीलाई पत्राचार गरेको भेटिएको छ । स्रोतबाट अनलाइनखबरलाई प्राप्त पत्र ३० असोजमा पठाइएको देखिन्छ ।

पत्र पठाउनुअघि भन्सारको मुद्दा शाखाका कर्मचारी प्रेम सुवेदीले पटकपटक प्रहरीलाई फोन गरेर सर्ट घटेको विषयबारे ताकेता गरेको अर्को पत्रमा उल्लेख छ ।

घटनामा प्रहरी अधिकारीले बाटोमा ल्याउँदा त्रुटि भएको हुनसक्ने भन्दै प्रमुख भन्सार प्रशासक ढकालले यसलाई ‘इस्यू’ नबनाउन अनलाइनखबरकर्मीसँग आग्रह गरे

भन्सारले पठाएको पत्रको जवाफ लेख्दै महानगरीय प्रहरी वृत्त, बूढानीलकण्ठले भनेको छ, ‘मिति २०७६/०६/१२ गते त्यहाँ भन्सार कार्यालयमा कार्यरत प्रेम सुवेदी भन्ने कर्मचारीसँग टेलिफोनमार्फत यस कार्यालयका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले कुरा गर्दा १००/१५० पिस जति रेडिमेड सर्ट अपुग भनी जानकारी गराएको ।’

दोस्रो पटक टेलिफोनमार्फत कुरा हुँदा करिब २००/३०० पिस अपुग भएको सुवेदीले नै भनेको पत्रमा उल्लेख छ । यो पत्रको बोधार्थ प्रहरीले भन्सार विभाग त्रिपुरेश्वर र महानगरीय प्रहरी वृत्त, महाराजगञ्जलाई पनि पठाएको देखिन्छ ।

तर विमानस्थलका प्रमुख भन्सार प्रशासक विष्णुराज ढकालले प्रहरीले पत्रको जवाफै नदिएको दाबी गरे । उनले अनलाइनखबरसँग भने, ‘प्रहरीले मुचुल्का गरेर ल्याइसकेको सामान भन्सारमा फेरि भेरिफाइ हुन्छ । त्यतिबेला घटबढ हुनसक्छ ।’

यो घटनामा प्रहरी अधिकारीले बाटोमा ल्याउँदा त्रुटि भएको हुनसक्ने भन्दै ढकालले यसलाई ‘इस्यू’ नबनाउन आग्रह गरे ।

मुद्दाका शाखाका सुवेदी पनि भन्सारबाट सामान हराउनै नसक्ने दाबी गर्छन् । ‘हामीले सामान राख्ने ठाउँ नेपाली सेनाको सुरक्षा घेराभित्र पर्छ । प्रत्येकको बाहिर जाँदा झोला जाँच हुन्छ’, उनले अनलाइनखबरसँग भने, ‘प्रज्ञापन पत्रबिना सामान कतैबाट पनि जाँदैन । त्यति मात्र होइन, त्यहाँ सीसी क्यामरा पनि छ । त्यसैले यहाँबाट सामान हराउने भन्ने हुनै सक्दैन ।’

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख उमेश लम्साल भने भन्सारलाई १२ असोजमा कपडा बुझाएर भरपाई लिएर प्रहरी कर्मचारी कार्यालयमा आएको बताए ।

‘हामीले भन्सारमा बुझाउँदा ३७ सय ४ पिस सामान छ’, प्रहरी नायब उपरीक्षक (डीएसपी) लम्सालले भने, ‘बुझाइसकेको कुरा कसरी कम भयो भन्ने विषय चाहिँ भन्सारले नै जवाफ देला ।’

यदि कम भएको भए त्यतिवेलै भन्सारले नबुझ्नुपर्ने उनले सुनाए । तर भन्सारले बुझिलिएपछि प्रहरीको कुनै भूमिका नहुने उनले बताए । प्रहरी निरीक्षक गिरीले पनि यसबारे भन्सारमै सोध्नुपर्ने अनलाइनखबरलाई बताए ।

‘यसलाई लापरबाही मानौं’

विष्णुराज ढकाल

प्रमुख भन्सार प्रशासक

बूढानीलकण्ठ प्रहरीबाट लिइसकेको सामान १८ दिनपछि कसरी आफैं घट्यो ?

– यसबारे सबै डाटा त मुद्दामा हुन्छ, तर तपाईंले अहिले सोध्नु भएकै चाहिँ कसरी फरक पर्न सक्छ भनेर सामान्य कुरा गर्दा उहाँहरुले पहिले आफ्नो ‘पेरिफेरी’मा गन्नु हुन्छ । त्यहाँबाट मुचुल्का गराएर ल्याउनु हुन्छ । भन्सारमा भेरिफाइ गर्नुहुन्छ । त्यतिवेला उहाँहरुले गन्दा खेरि घटीबढी हुनसक्छ । तर उहाँहरुले ल्याउँदा कम भयो अनि फेरि ल्याउन भनेको अवस्था जस्तो लाग्छ । हामीले लेखेको पत्रको जवाफ पनि त्यहाँबाट जवाफ आएन कि जस्तो लाग्छ ।

गणनामा गल्ती हुँदा वा बाटोमै झर्दा पनि १०/२० वा ५० पिससम्म कम हुनुपर्ने हो । चार सयको संख्यामा कसरी कम हुनसक्छ ?

– यो लापरबाही मानौं । उहाँहरुले आफ्नो क्षेत्रमा गन्नु भयो । भन्सारसम्म ल्याउन गाडीमा कसलाई हालेर पठाउनु भयो । कुन चालकलाई पठाउनु भयो । को थियो संलग्न त्यसलाई भेरिभाइ गर्न सोध्नुपर्ने होला । अब त्यो मुद्दाको प्रक्रिया अघि बढ्दै जाला । बाटोमा एउटा पोका झारिदियो भने सय पिस त्यहीँ खस्ला नि त । यहाँको सुरक्षामा २४ सै घन्टा नेपाली सेना र प्रहरी हुन्छ । सामान बाहिर लिएर जाँदा जोखिम हुन्छ । कसैले सामान लिएर जान सकिन्न । उहाँहरुले नै कतै ल्याउँदा बाटोमा त्रुटी भएको हुनसक्छ ।

तर, सामान लिएर भरपाई नै दिनुभएको रहेछ नि ?

– होइन, भरपाइ भन्दा पनि मेरो मान्छेले लिइदिनु पर्‍यो नि त । हेर्दा यति घटी भएछ, भोलि सच्चाएर ल्याउछु भनेर लग्यो । पछि नआएपछि भन्सारले चिठी लेख्यो । त्यसपछि जवाफ नआएको होला । ल्याइसकेको सामान फर्काएर दुःख दिनु त भएन । त्यो सहजीकरण गर्नु पर्‍यो । त्यसैलाई यस्तो गर्नु भएन ।

भनेपछि घटी भएको सामान प्रहरीले भोलि ल्याउँछु भनेको थियो ?

हो ।

प्रहरीको को अधिकारी थिए भन्ने याद छ ?

सबै कुरा फोनमा गर्न सकिन्न, मुद्दाका साथीसँग बुझ्नुपर्छ । तर अहिले यसलाई तपाईंले इस्यू बनाउनुभन्दा प्रक्रियामा भएकाले भोलि ल्याउने मान्छे झिकाएर बयान गराउँदा कुनै पनि निर्णय हुनसक्छ । प्रक्रियामै भएको कुरा हो । त्यसैले अहिल्यै तपाईंले यसलाई त्यति इस्यू नगराउँदा राम्रो हो । प्रहरीले कि त लेखेको पत्रको जवाफ दिनु पर्‍यो । अहिले यतातिर नजाऊँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment