+
+

वीरगञ्जमा कोरोना भाइरस जाँचका लागि हेल्प डेक्स स्थापना हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २१ गते १८:२६

२१ माघ, वीरगञ्ज । भारतमा पनि कोरोना भाइरस देखिन थालेपछि सीमा क्षेत्रमा सतर्कता अपनाउन सुरु भएको छ । भाइरस नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाले नेपाल भारत सीमा क्षेत्रमा हेल्प डेस्क स्थापना गर्ने भएको छ । मंगलबार बसेको जिल्ला स्तरीय महामारी नियन्त्रण बहुनिकाय समन्वय बैठकले शंकराचार्यद्वार क्षेत्रमा हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले नारायणी अस्पताल लगायत निजी अस्पतालले समेत कोरोना भाइरसका शंकास्पद बिरामीका लागि छुट्टै आइसोलेसन वार्डको स्थापना गर्ने र रुघाखोकी, ज्वरो लागेका बिरामीहरुको उपचार विशेष निगरानीका साथ छुट्टै उपचारको प्रबन्ध मिलाउने निर्णय बैठकले गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

त्यसैगरी स्थानीय तहसँग समन्वय गरेर सञ्चार माध्यम, सामाजिक सञ्जाल र सिनेमा हलहरुमा प्रचार प्रसारको व्यवस्था मिलाउने, पर्चा पम्पलेट, ब्रोसर, जस्ता प्रचार सामाग्री व्यापक रुपमा वितरण गर्ने, १४ वटै स्थानीय तहले तत्काल विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयहरुमा सचेतना कार्यक्रम सञ्चालन गर्ने र सीमा नाकामा खटिएका सुरक्षा निकायहरुले पनि उच्च सतर्कताका साथ निगरानी गरी सम्भावित बिरामी देखिएमा हेल्प डेक्समा पठाउने निर्णय बैठकले गरेको छ ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको संयोजकत्वमा बसेको बैठकमा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्याय, महानगरपालिका स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख अरुण कुमार महतो, नेपाल रेडक्रस सोसाईटी, वीरगञ्ज स्थित निजी अस्पतालका प्रमुख तथा प्रतिनीधि लगायत अन्य सरोकारवाला सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?