Comments Add Comment

चेम्बरलाई सार्वजनिक जमिन दिन नहुने भन्दै प्रदर्शन

२३ माघ, बुटवल । सार्वजनिक जमिन व्यापारिक संस्थालाई भवन बनाउन दिन लागेको भन्दै तिलोत्तमा नगरपालिका ५ विद्यापीठ टोलका स्थानीयले विरोध प्रदर्शन गर्दै नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् ।

नगरपालिकाले तिलोत्तमा चेम्बर अफ कमर्सको सचिवालय भवनका लागि तीन कठ्ठा जमिन दिन थालेको भन्दै स्थानीयले सार्वजनिक जमिन जथाभावी संघसंस्थालाई बाँड्न नहुने माग गरेका हुन् । उनीहरुले सार्वजनिक जमिनमा पार्क बनाउन समेत माग गर्दै वडा कार्यालय र नगरपालिका कार्यालयमा असहमतिपत्र बुझाएका छन् ।

नगरपालिकाले स्थानीय टोलबासीको सहमतिविना व्यापारिक संस्थालाई जमिन दिन खोजेकाले विरोधमा उत्रिनुपरेको टोल विकास संस्थाका सचिव सन्जीव बस्यालले बताए । ‘नगरपालिकासँगको छलफलमा स्थानीयले असहमति जनाएर हिंडेपछि एकतर्फीरुपमा निर्णय गरेर जमिन दिन खोजियो,’ बस्यालले भने, ‘नगरपालिकाले एक वडा एक पार्क बनाउने भनेको छ तर व्यापारिक संस्थालाई यसरी जमिन बाँडेपछि कसरी पार्क बन्छ ?।’

तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जनप्रतिनिधि आउनु अगाडि नै २०७१ सालमा सर्वदलीय बेठकबाटै उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्सलाई ५–५ कठ्ठा जमिन दिने निर्णय भएको बताए । चार महिना अगाडि नै भवनको शिलान्यास समेत भइसकेकाले अहिले विरोध गर्नु राजनीतिक प्रतिशोध मात्रै भएको उनले बताए । भवन शिलान्यासका बेला पनि केही स्थानीयले विरोध जनाएका थिए । उक्त स्थानमा १७ कठ्ठा जमिन रहेकाले तीन कठ्ठा जमिनमा चेम्बरको भवन बनाउने र अन्य स्थानमा पार्क र हरियाली बनाइने प्रवक्ता श्रीले बताए । स्थानीयको माग अनुसार पार्क पनि बनाइने र चेम्बरको भवन पनि बन्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment