Comments Add Comment

‘ए’ डिभिजन लिगमा आज ३ खेल हुँदै

२८ माघ, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज पनि १२औं चरणका तीन खेल हुँदैछन् । सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ ।

बिहान पौने ९ बजे सुरु हुने खेलमा दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लबसँग खेल्नेछ । ११ खेलबाट २६ अंकसहित आर्मी दोस्रो स्थानमा छ । ब्रिगेडलाई पराजित गरेमा आर्मी मछिन्द्रलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लनेछ र उपाधि होड बलियो हुनेछ । मछिन्द्र १२ खेलबाट २६ अंकसहित शीर्ष स्थानमा छ । आर्मीले ब्रिगेडलाई पराजित गरेमा अन्तिम खेलमा मछिन्द्रसँग बराबरी खेलेमात्र पनि उपाधि जित्नेछ ।

ब्रिगेडसँग बराबरी वा हारको नतिजाले भने आर्मीले उपाधिका लागि अन्तिम खेल जित्नैपर्छ ।

यस्तै, उपाधि होडबाट बाहिरिसकेका मनाङ मर्स्याङ्दी र नेपाल पुलिस तथा थ्री स्टार र एनआरटी पनि आजै भिड्दैछन् । दिउँसो सवा १२ बजे सुरु हुने खेलमा चौथो स्थानको थ्री स्टार र सातौं स्थानको एनआरटी भिड्नेछन् । शीर्ष ३ मा पर्नका लागि थ्री स्टारलाई जित आवश्यक छ । यस्तै, एनआरटीलाई पनि शीर्ष ६ मा पर्न जित आवश्यक छ । थ्री स्टार ११ खेलबाट २० अंकसहित चौथोमा छ भने एनआरटीको १५ अंक छ ।

यस्तै, दिउँसो साढे ३ बजे साविक विजेता मनाङ र पुलिसबीच खेल हुनेछ । ११ खेलबाट २२ अंक जोडेको मनाङ उपाधि होडबाट टाढिसकेको छ । अब मनाङ दोस्रो वा तेस्रो स्थानको होडमा छ । उता, ११ खेलबाट १७ अंकसहित छैटौं स्थानमा रहेको पुलिसले मनाङलाई हराएमा शीर्ष ६ मा लिग सकाउने सम्भावनालाई बलियो बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment