+
+
Shares

फेवा बाँधले बस्ती नै जोखिममा, स्थानीय भन्छन् – ताल बचाउन मान्छे मार्न पाइँदैन

विकास रोकामगर विकास रोकामगर
२०७६ फागुन ४ गते १४:२९

४ फागुन, पोखरा । पोखरा महानगरपालिका-२३ का राजकुमार विकको घर हुँदै बगेको हर्पन खोला केही तल फेवातालमा मिसिन्छ । वर्षायाममा हर्पन खोला बढेर बस्तीसम्मै आइपुग्थ्यो ।

केही वर्षयता खोलाको बाढी वस्तीमा पुगेको छैन । तर, गत भदौ ३० र ३१ गते लगातार परेको पानीले खोला बढेर गाउँसम्मै पुग्यो । आधारातमा आएको बाढीले गाउँमा बस्नै नसकेपछि त्यहाँका स्थानीय राती नै लालापाखा लागे ।

‘रातको समय अचानक बाढी बस्तीमा पस्यो । त्यतिबेला कसलाई खबर गर्ने ? खबर गरेर पनि त्यति राति के गर्ने ?’ विकले सुनाए, ‘यहाँका सबै मान्छे आफन्तकोमा गए । कोही माथि डाँडामा गएर ज्यान बचाए ।’

उनीहरुले प्रदेश सरकारलाई गाउँमा बाढी पसेको खबर गरे । केही दिनभित्रै त्यहाँ पक्की बाँध बन्ने भयो । गाउँले खुसी भए । तर, त्यो खुसी धेरै दिन टिकेन । ‘सुरुमा ड्याम बन्ने खबरले धेरै खुसी भयौं । तर, खोलाको बीचमा रहेको ड्याम हाम्रो जमीनभन्दा अग्लो हुन थालेपछि फेरि चैन हराएको छ,’ विकले गुनासो पोखे, ‘त्यसरी जमीनभन्दा माथि ड्याम भएपछि त त्यसले छेकेको पानी झनै हाम्रो बस्तीमा आउने भयो नि !’

अहिले गण्डकी प्रदेश र पोखरा महानगरपालिकाले हर्पन खोलाका विभिन्न ३ ठाउँमा बाँध निर्माण गरिरहेको छ । तर, बाँधले बस्ती सुरक्षित हुनेमा भने स्थानीय सशंकित छन् । ‘महानगर, प्रदेश सबैलाई यो कुरा भनिसक्यौं । कसैले सुन्दैनन्,’ स्थानीय दानबहादुर सुनारले भने, ‘इन्जिनियरलाई पनि भनेका हौैं । तर, हाम्रो कुरै खानु भएन ।’

पोखरा महानगरपालिकाको वडा नं २३ फेवातालको माथिल्लो भागमा पर्छ । फेवातालको तल्लो भाग लेकसाइड पर्यटकीय क्षेत्रका कारण ‘मालामाल’ भइरहँदा भने माथिल्लो क्षेत्र महानगरकै विकट मानिन्छ । पुग्नलाई न राम्रो बाटोको व्यवस्था छ न खानेपानीको । नजिकैको पोखरा बजार जान पनि घन्टौं लाग्ने गरेको उनीहरुको गुनासो छ ।

आफैंले मागेको बाँध निर्माण नै समस्या भइराखेका बेला उनीहरुलाई अर्को समस्या आइलागेको छ । त्यो हो फेवाताल बचाउन निर्माण भइरहेको सिल्टेसन ड्याम । फेवातालमा खोलाबाट पानीसँगै ढुंगा, बालुवा र माटोको गेग्रान पनि जाने र त्यसले फेवाताल पुरिँदै जाने भएपछि प्रदेश सरकार र महानगरले अहिले तालका मुहानहरुमा पानी थिग्राउने गरी ड्याम बनाइरहेका छन् ।

४ वटा खोलामा बनिरहेका ५ वटा ड्याममध्ये एउटा हर्पन खोलामा पनि बनिरहेको छ । जसको जिम्मा खड्का कृष्ण पिके जेभीले लिएको छ । बस्ती छेउमै बनिरहेको त्यस ड्यामले पनि वर्षायामममा आपत पार्ने शंका स्थानीयको छ ।

‘यहाँ बन्ने ड्यामले पानीलाई रोक्छ । रोकिएको पानी बस्ती छिर्ने नै भयो । यहाँ आएको बादीले बामदी, दौडियाँ फाँट, चन्दौते, नयाँ बस्ती लगायतका बस्तीलाई डुबानमा पर्छौं,’ स्थानीय चेतबहादुर क्षेत्रीले गुनासो गरे, ‘फेवाताल बचाउने नाममा मान्छे मार्न पाइँदैन ।’ उनले बाँध बनाउँदा लालपूर्जा भएका व्यक्तिको जग्गामा बाँध बनाइराखेको तर, त्यसको क्षतिपूतिसमेत नपाएको सुनाए ।

फेवाबाँधले आफूहरु सुरक्षित महसुस गर्नुको साटो त्रासपूर्ण दैनिकी गुजारिरहेको दानबहादुर सुनार सुनाउँछन् । उनले हर्पन खोला वरिपरि भएका बस्ती बनिरहेको बाँधले उच्च जोखिममा रहेको बताए । ‘ड्यामको काम के भइराख्या छ भन्ने यहाँका स्थानीयलाई नै थाहा छैन,’ सुनारले आक्रोश पोखे, ‘हाम्रो माग समयमै सुनिएन भने भोलिका दिनमा जनता आफैं घन लिएर बाँध भत्काउन जाने दिन नआओस् ।’

खहरे खोलामा बनिरहेको बाँधमा पनि २० जनाभन्दा बढी व्यक्तिको जग्गा परेकोले त्यसको क्षतिपूति दिइनुपर्ने स्थानीयले माग गरेका छन् । उनीहरुले सिल्ट्रेसन ड्याममा परेको व्यक्तिको जग्गा क्षतिपूर्ति नदिएसम्म त्यहाँको काम अघि बढाउन नदिने चेतावनी दिइसकेका छन् ।

बाँधमा सांसदको अनुगमन

हर्पन खोलामा बनिरहेको बाँधका कारण बस्ती डुबानमा पर्ने गुनासो बढेपछि गण्डकी प्रदेश सांसद राजीव पहारीले शुक्रबार बाँधको निरीक्षण गरेका छन् । उनले बाँधले बस्ती डुबानमा पर्ने देखिएकाले तत्काल त्यसको नक्सा डिजाइनमा परिवर्तन गर्न पहल गर्ने आश्वासन दिए ।

सांसद पहारीले स्थानीयलाई भने, ‘सबैभन्दा ठूलो मान्छेको जीवन हो । चेक ड्याम र सिल्ट्रेसन डयाम बनाउँदा बस्तीलाई असर नपर्ने गरी बनाउन म पहल गर्छु ।’

लेखक
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?