Comments Add Comment

राजेश हमालको आग्रह–‘मलाई हेर्ने चश्मा फेर्नुहोस्’

नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल– ‘निफ’को तेस्रो सिजन चलिरहेको छ । बिहीबार सुरु भएको यस फेस्टिभलको चौथो दिन अर्थात् आइतबार अभिनेता राजेश हमालले आफ्नो कथा सुनाउने कार्यक्रम थियो ।

उपस्थित चलचित्रकर्मी र दर्शकलाई कथा सुनाउने तयारी सहित राजेश हमाल राष्ट्रिय शभा गृहको स्टेजमा उपस्थित भए । राजेश स्टेजमा प्रवेश गर्दै दर्शकदीर्घाबाट ताली र सिठ्ठी लामै समय गुन्जिरह्यो ।

राजेशले आफूले चलचित्र क्षेत्रमा गरेको संघर्ष, परिवारको साथ र चलचित्र क्षेत्रबारे आफ्नो धारणा विस्तृतमा राखे ।

राजेशले आफ्नो कथा यसरी अघि बढाए : 

म धेरैथरी कार्यक्रमहरुमा सहभागी भइरहेको हुन्छु, तर चलचित्रका कार्यक्रममा र चलचित्र सम्बन्धित कुरा गर्न पाउँदा खुशी लाग्छ । किनभने यो आफ्नो विधा हो, आफ्नो क्षेत्र हो ।

जब कोही व्यक्ति आफ्नो लक्ष्य भेट्नको लागि संघर्ष गर्छ, उसले धेरै कुरा सोचेको हुन्न । त्यो कलाकार होस्, संगीतकार होस् वा खेलाडी नै होस् । सुरुवातमा जो जे बन्न लाग्छ त्यो त्यही विधामा लागेर काम गरिरहेको हुन्छ । खेलाडी खेलिरहेको हुन्छ, अरुको मतलब गर्दैन । कलाकारको पनि त्यही हो, निरन्तर रुपमा अभिनयमा नै ध्यान गरिरहेको हुन्छ ।

तर, कालन्तरमा गएर जब त्यो व्यक्ति सफल हुन्छ त्यसलाई विभिन्न विधाको प्रश्न सोधिन्छ । धारणा बुझ्न खोजिन्छ । कलाकार सफल भएपछि त्यसलाई राजनीतिको विषयमा सोधिन्छ, समसामयिक बिषयमा सोधिन्छ, विज्ञानको बिषयमा पनि सोधिन्छ । जबकी सुरुवाती दिनमा उसले कलाकारिताको बारेमा भन्दा अन्य बिषयलाई सोचेको पनि हुन्न ।

मैले सम्मान पाएँ वा पुरस्कार पाए भन्दा पनि सबैभन्दा खुसी लाग्ने कुरा के भने जब मेरो पहिलो चलचित्र रिलिज भयो त्यसपछि एउटा क्रान्ति नै भयो ।

उहाँहरुलाई खुसी लाग्ने कुरा भनेको आफ्नै क्षेत्र, आफ्नै बिषयमा बोल्दा हुन्छ । आज मैले मेरो यात्रा, चलचित्र क्षेत्र र आफ्नो क्षेत्रको बिषयमा बोल्ने अवसर मिलेको छ । त्यो नै खुसीको बिषय हो ।

यात्रा त मेरो लामै छ, उमेरले २१ भए पनि…. । यो भन्दै गर्दा ३५ वर्ष भयो म चलचित्र क्षेत्रमा लागेको । जब म चलचित्र क्षेत्रमा प्रवेश गर्छु भन्दा यत्तिका लामो अवधिसम्म निरन्तरता दिन्छु भन्ने कुनै झिनो मसिनो आधार थिएन । त्यस्तो अवस्थाबाट मैले आफ्नो पहिलो पाइला सारेको हुँ ।

यहाँहरुलाई थाहै छ, मेरो पहिलो गाँसमा नै ढुंगा परेको थियो । पहिलो चलचित्रबाट म निकालिएको थिएँ । चलचित्रको ५–१० प्रतिशत छायांकन सकिएपछि मलाई निर्माण टिमले काम गर्न सक्दैनस् भन्दै निकालिदिएको थियो ।

तर, मेरो उमेरले हो कि, मलाई चलचित्र क्षेत्रमा काम गर्ने अगाध रुचि भएर हो कि ? म कत्ति पनि हत्तोसाहित भएको थिइनँ । ममा सीप नभएर उहाँहरुले निकालेको होइन । उहाँहरुको दृष्टिकोणमा मात्र कमजोर भएको हुँ भन्ने सोचेँ र म निराश भइन । मैले आफूलाई सक्षम ठानेँ र कलाकार नै बन्छु भनेर लागेँ । मेरो रुचिमा कुनै ह्रास आएन ।

संयोगवश के भयो भने, मलाई जसले चलचित्रबाट निकाल्नु भएको थियो उहाँहरुले नै दुई वर्षपछि मलाई अर्को चलचित्रका लागि लिनुभयो । त्यो बेला मलाई मलाई खुबी नभएर निकाल्नु भएको होइन रहेछ । उहाँहरुले ५ प्रतिशत छायांकन भएको फुटेज हेर्नुभयो होला र ममा केही खुबी देखेर अर्को चलचित्रमा अफर गर्नुभयो होला । त्यो चलचित्रको नाम थियो, ’युगदेखि युगसम्म’ ।

युगदेखि युगसम्म गर्दा पनि मेरो अगाडिको यात्रा के हुन्छ भन्नेमा अन्योल नै थियो । म प्रवेश गर्दै गर्दा मेरो अगाडि कुनै उदाहरण पनि थिएन । चलचित्र क्षेत्र छ भनेर पनि ढुक्कका साथ भन्ने अवस्था थिएन । दुई–तीन वर्षमा एउटा चलचित्र बन्थ्यो । सबैले सोखको लागि चलचित्र गर्नुहुन्थ्यो । व्यवसायिक रुपमा काम गर्नेहरु त हुनुहुन्न थियो ।

युगदेखि युगसम्म हिट भए पनि यसको परिणम के भन्ने नै उत्तर थिएन । अर्को चलचित्र पाउने हो कि होइन भन्ने नै प्रश्न थियो । युगदेखि युगसम्म रिलिज हुँदासम्म एक दर्जन चलचित्र बनेका थिए ।

अहिले पछाडि फर्केर हेर्दा, मैले सम्मान पाएँ वा पुरस्कार पाए भन्दा पनि सबैभन्दा खुसी लाग्ने कुरा के भने जब मेरो पहिलो चलचित्र रिलिज भयो त्यसपछि एउटा क्रान्ति नै भयो ।

क्रान्ति यस अर्थमा कि, दोस्रो चलचित्र कहाँबाट आउँछ भन्ने अवस्थामा डेब्यु गरेको थिएँ । तर, त्यसको २ वर्षपछि म दिनको १२ घण्टा चलचित्रमा काम गर्न सुरु गरिसकेको थिएँ । एउटै समय २–३ वटा चलचित्रमा काम गर्थेँ । युगदेखि युगसम्मले एउटा तंरग नै पैदा गरिदिएको थियो ।

मैले त्यो बेला धेरै भन्दा धेरै चलचित्र बनोस् भन्ने सोचेँ । धेरै भन्दा धेरै चलचित्र बने भने नै चलचित्र क्षेत्रको विकास हुन्छ र टिक्छ भन्ने लाग्यो । मलाई लिएर चलचित्र बनाउने निर्माताहरुलाई पनि हतोत्साही गरिनँ ।

मैले व्यस्त भएर काम गर्ने समय छोटो थिएन । कम्तीमा पनि १२ वर्ष त मैले कम्तीमा १४ घण्टादेखि १८ घण्टासम्म निरन्तर काम गर्थेँ । एकैचोटी धेरै चलचित्रमा आबद्ध थिएँ ।

अहिले मलाई आजको चश्मा लगाएर पुरानो बिषयमा प्रश्न गर्नुहुन्छ, ’किन धेरै चलचित्रमा काम गर्नुभयो ?’ यसमा केही अन्योलता भएको हो कि भन्ने लाग्छ । पहिलाको समयलाई अहिलेको चस्मा लगाएर हेर्नु हुन्न भन्ने लाग्छ ।

मैले त्यो बेला धेरै भन्दा धेरै चलचित्र बनोस् भन्ने सोचेँ । धेरै भन्दा धेरै चलचित्र बने भने नै चलचित्र क्षेत्रको विकास हुन्छ र टिक्छ भन्ने लाग्यो । मलाई लिएर चलचित्र बनाउने निर्माताहरुलाई पनि हतोत्साही गरिनँ । धेरै चलचित्र बन्दा धेरै व्यक्तिले काम पाउनुहुन्थ्यो । एकै चोटी ४ चलचित्र छायांकन भयो भने प्राविधिकहरुको अभाव हुन्थ्यो । त्यसपछि सहायक छायांकार पूर्ण छायांकार भए, मेकअप आर्टिस्ट पनि पूर्ण मेकअपमा लागे । उहाँहरुले चाँडै अवसर पाउनुभयो । धेरैले रोजगारी पाएका थिए ।

चलचित्रमा म एक्लै गएर काम गर्ने होइन । त्यहाँ त ८० जनासम्मको टिम बन्छ । मसँगै प्रविधिकदेखि कलाकारसम्मले काम पाउनुहुन्थ्यो । त्यसैले नै क्षेत्र विस्तार हुन्थ्यो । त्यसैले मैले धेरै काम गरेँ ।

नेपाली चलचित्रले सबैभन्दा ठूलो उपलब्धी के दियो भने, मलाई आम नेपाली समुदायसँग नजिक बनाइदियो । चलचित्रमा लागेपछि सबैमाझ परिचित हुने मौका पाएँ । नेपाली चलचित्रबाट आम नेपालीसँग गासिन पाए । पछि दर्शकको चाहाना र मनोविज्ञानलाई नै बुझेर चलचित्रमा काम गर्न सुरु गरेँ ।

उहाँहरुकै आवाज, उहाँहरुकै कथा, उहाँहरुकै दुःख भन्दै गर्दा उहाँहरुले मलाई आफ्नो प्रिय पात्र मान्नुभयो । उहाँहरुले मलाई मनैदेखि माया गर्नुभयो । हामीबीच आत्मीयताको सम्बन्ध छ । अहिले केही वर्ष भयो म विभिन्न ठाउँहरुमा पुगिरहेको छु । उहाँहरुसँग भेट्दा मलाई गर्ने व्यवहार र मायाले पनि आत्मीयता देखाउँछ ।

म नयाँ चलचित्रको छायांकनको लागि नारायणगढमा थिएँ । त्यहाँको हलमा दर्शकसँग बसेर ‘भरिया’ चलचित्र हेर्ने माहोल बन्यो । चलचित्र हेरेपछि म गाडीमा बस्दै थिए, सबैले घेरिरहनु भएको थियो । त्यही भीडमा एकजना भरियाजस्तै देखिने व्यक्ति सबैलाई छिचोलेर मसम्म आइपुग्नुभयो र भन्नुभयो, ’तपाई त अर्कै मान्छे होला भन्ने लाग्थ्यो । आखिर तपाई पनि त भरिया नै हो रहेछ नि ।’

यस्तै घटना अर्को पनि छ । म ठमेलमा थिएँँ । त्यहाँका सडक बालबालिकालाई उठाएर आइसक्रिम खुवाउन लगेँ । आइसक्रिम खाएपछि उनीहरुलाई गाडीमा राखेर फर्किदै थिएँ । एक जनाले सोध्यो ‘राजेश दाईले किन यति धेरै माया गर्नुभएको ?’ अर्को बच्चाले उत्तर दियो, ‘हाँ पनि पहिला खाते नै हुनुहुन्थ्यो नि त ।’

यो चाहिँ मेरो क्यारेक्टरले दर्शाएको मेरो सफलता हो ।

म कुनै पनि भूमिका गर्नको लागि त्यसबारे अध्ययन गर्दिन । १० दिनको भोको मान्छे बन्नको लागि म १० दिन भोको बसिनँ । मसँग १० दिनको भोकोलाई अनुभूत गर्ने क्षमता थियो । उहाँहरुलाई बुझ्न सक्थे । त्यहीँ सामथ्र्यले पनि मलाई काम गर्न सजिलो बनायो ।

परिवारको साथ थिएन 

मेरो बुबाले बनारसबाट मास्टर्स गर्नुभएको थियो । ममीले पनि पढ्नुभएको थियो । बनारसमै उहाँहरुको प्रेम भयो र पछि विवाह भयो ।

२२ वर्षको उमेरमा पद्मोदया हाइस्कुलमा हेडमास्टर हुनुभयो । उहाँ र म बीच एकमात्र भिन्नता देख्छु – म चाहिँ जहिल्यै जवान बन्न खोज्छु । मेरो बुबा चाहिँ पाको देखिन खोज्नुहुन्थ्यो । स्कुलमा आफूलाई पत्याओस् भनेर उहाँ अलिक बुढो हुन चाहनुहुन्थ्यो । उहाँले फुलेको कपाललाई गर्वका साथ देखाउनुभएको थियो ।

म पाल्पामा जन्मिएको हुँ । जन्मेको एक वर्ष नपुग्दै हामी काठमाडौं आयौं । मलाई चलचित्र क्षेत्रमा आउन साथीभाई तथा घर परिवारको कुनै सपोर्ट थिएन । परिवारमा सबैजना कलाप्रेमी हुनुहुन्थ्यो । तर, नेपाली चलचित्रमा भविष्य छैन भनेर उहाँहरुले मलाई सपोर्ट गर्नुहुन्न थियो । त्यसपछि केही समय परिवारसँग केही समय टाढा भएँ । तर, म अहिले जति सफल भएँ त्यसको श्रेय उहाँहरुलाई नै दिन्छु ।

मेरो बुबा कुटनीतिक सेवामा हुनुहुन्थ्यो । उहाँको पहिलो पोस्टिङ र अन्तिम पोस्टिङ पनि पाकिस्तान नै भयो । उहाँको त्यहीँ हुँदा असामयिक निधन भयो ।

मैले मेरो बाबालाई ‘गुड बाई’ पनि भन्न पाइन । उहाँ अन्तिम पटक पाकिस्तान जाँदा मलाई नभेटी जानुभयो । म चलचित्रकै छायांकनमा थिए । भर्खर ५७ वर्षको हुनुहुन्थ्यो । पछि सफल हुन्छु अनि खुशी हुनुहुन्छ भन्ने थियो । तर, त्यो सम्भाव भएन ।

म त्यो बेला वान मेन आर्मी थिए । कसैको सपोर्ट थिएन, एक्लै भिडिरहेको थिएँ । मैले केही कुरा भन्नलाई साथी पनि थिएन, परिवार पनि थिएन । घरमा त मैले कुन चलचित्र गरिरहेको छु भन्ने बिषयमा चासो हुँदैनथ्यो ।

मेरो डेब्यु चलचित्र ’युगदेखि युगसम्म’को प्रिमियरमा परिवार र साथीहरु थिएनन् । तर, त्यो कुराले पनि मलाई हतोत्साहित गरेन ।

चलचित्र कलामात्र होइन ब्यापार पनि हो 

अहिले राम्रो–राम्रो चलचित्र बनिरहेको छ । यसै क्षेत्रमा काम गरेर कलाकारहरु देश–विदेश पुग्नुभएको छ । स्टार कहलिएर राम्रो आम्दानी गरिरहनुभएको छ, घरखर्च चलाइरहनु भएको छ । त्यो देख्दा मलाई गर्व लाग्छ । कुनैदिन गरेको संघर्षले खुशी बनाउँछ ।

खुसी लाग्छ भन्दैमा चलचित्र क्षेत्रमा धेरै विकास गरिसक्यो म भन्दिनँ । गर्न बाँकी धेरै छ । चलचित्र भन्दैमा कलामात्र हुनुपर्छ भन्ने होइन, यसलाई व्यापारिक रुप पनि दिनुपर्छ । खर्च गरेपछि लगानी उठाउनुपर्छ । नभए अर्को चलचित्र बन्न सक्दैन ।

चलचित्र भनेको किताव जस्तै हो । जुनसुकै विषयमा बन्न पनि सक्छ । हल्का, गम्भीर, ऐतिहासिक, मनोरन्जनात्मक आदि । आफूले चाहेको विषयमा चलचित्र बनाउन सकिन्छ । तर, दर्शकलाई रुचि हुने विषयलाई प्रस्तुत गर्नुपर्छ । सिर्जनामा परिधि लगाएर काम गर्ने पनि होइन ।

अहिले म युवाहरुलाई के भन्छु भने, तपाईको युवा उमेरमा काम गर्न अल्छी नगर्नुस् । यही उमेर नै हो तपाईले गर्ने । अहिले म सोच्छु, मैले कसरी त्यस्तो गरे भनेर । तपाईहरु चुनौती आयो भन्दैमा पछि नहट्नुस् । सामना गर्नुस्, सफलता टाढा छैन । लगानशीलता र आत्माविश्वास भयो भने सफल हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment